20240306

विस्तारित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट ५, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ र नेकपा एकिकृत समाजवादीबाट २ जना मन्त्री, मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण


 विस्तारित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट ५, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ र नेकपा एकिकृत समाजवादीबाट २ जना मन्त्री बनाइएको छ । गत सोमबार नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले ३ जना विना विभागीय मन्त्री नियुक्त गरेकोमा आज मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेबाट रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय, पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, हरि उप्रेतीलाई, रक्षा मन्त्रालय, भगवती चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राजेन्द्र राईलाई खानेपानी मन्त्रालय, दामोदर भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपक्षी  विकास मन्त्रालय, बलराम अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोक्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

यसैगरी, नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्रालय, वर्षमान पुनलाई अर्थ मन्त्रालय, शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालय, रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, रास्वपाबाट रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालय, डीपी अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र सुमना श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, एकीकृत समाजवादीबाट भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र धनबहादुर बुढालाई, सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

यसै बिच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । राष्ट्रपति पौडेलले नेकपा एमालेका सातजना, नेकपा (माओवादी केन्द्र)का चारजना, रास्वपाका तीनजना र नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीहरूलाई शपथग्रहण गराउनुभएको हो । तीनजना मन्त्रीहरूलाई सोमबार नै शपथ गराउनु भएको थियो ।


*****

आजको कविता : म बहुलाएको यो क्षण !

एउटा जङ्गली ब्वाँसो 
छिर्‍यो शहर शिकार गर्न छोडें भन्दै  ! 
कहिले कता, कहिले कता 
वेश्यालयका वेश्याहरू जस्तै !
आफूलाई भर्जिन छु भन्दै 
झुक्क्याउँदै, छक्क्याउँदै  
बिहान उ एउटा सँग 
दिउँसो अर्को सँग 
साँझ अर्को सँग 
गरिरहन्थ्यो अप्राकृतिक सहवास 
उ आफू बाँच्नकै लागि 
गर्थ्यो अनेक नाटक र नौटङ्कीहरू
रन भुल्ल पर्थे सोझा गाई र भैँसीहरू
केही भेडा, बाख्रा र गधाहरू  
केही स्याल र हुँडारहरू 
केही छेपारा र गोरुहरू 
यत्तिकैमा अचानक एउटा चाटिरहेको 
थारो भैँसीको साथ छोड्दै 
हुइँकियो उ तिल्के गोरु भए तिर ! 
जङ्गली ब्वाँसो लाई गन्दै नगन्ने 
आफू बाहेक कोही अरू छ भन्दै नभन्ने 
त्यो सिङ फुस्किएको बुढो रोगी गोरु 
कुन दिन भिरबाट गुल्टिने हो भर नभएको गोरु 
अघि पछि डुक्रिने र आफै कुना थन्किने गोरु 
यस पटक पनि पोहोर साल जस्तै 
लताक लुतुक्क भयो,
फुर्ती फार्ती पनि खोइ कुन्नि कता गयो
आयो ब्वाँसोका अगाडि र थाल्यो चाट्न 
थारो भैँसीले चाटे जसरी 
बुझी नसक्नु र अचम्मको कुरा 
अझ भनौँ आठौँ आश्चर्यको कुरा
अहिले जङ्गली ब्वाँसो र त्यो गोरु 
नारिएर हिँड्न थालेका छन् फेरी 
छुटिनु अघि पहिला पहिला जस्तै !
अझै भन्छन् ब्वाँसो र गोरुहरूको एकता गर्छौँ 
जङ्गललाई पनि शहर जस्तै सुन्दर पार्छौँ 
तर मलाई भने ब्वाँसो र गोरुहरूको एकता 
एकता होइन, "खोइ कता ??" भने जस्तै लाग्दै छ
यत्तिकैमा लह लहैमा पछि लागेका गधाहरू
रङ फेरिरहने छेपाराहरू 
आकाश थाम्छौँ भन्ने हुटिट्याउँहरू
अनि यी र यिनीहरूका पछाडि लाग्ने 
अरू पशुहरू देख्दा, 
मरी मरी हाँस्न मन लाग्छ !
म हाँस्छु पनि खित्का छोडेर   
तर उनीहरू मलाई नै भन्छन् रे यो बहुलायो
म बहुलाएँ या चाल पाएँ 
कुर्दै छु भोली बिहान सम्म 
उज्यालो त होस 
अनि बल्ल खुल्ने छ होस उनीहरूको 
र बुझ्ने छन् मलाई
थाहा पाउने छन् बल्ल   
म किन बहुलाएको रहेछु भनेर ! 

- रामप्रसाद खनाल, मार्च ५, २०२४, हाल अमेरिका

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक