20240314

काठमाडौंको भृकुटीमण्डपमा सहकारी पीडितहरूले बिहीबार प्रदर्शन गरे, ठगिएका पीडित देशभरबाटै जम्मा

 
काठमाडौंको भृकुटीमण्डपमा सहकारी पीडितहरूले बिहीबार  प्रदर्शन गरेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने तथा फरार रहेका सहकारी सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने लगायत माग राखेर पीडितहरुले प्रदर्शन गरेका हुन् । विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडित लामो समयदेखि आन्दोलरत छन् । सहकारीमा बचत गरेको पैसा सञ्चालकहरूले फिर्ता नदिएर ठगिएका पीडित देशभरबाटै काठमाडौंमा जम्मा भएका छन् । सहकारीको बचत फिर्ता गर्न माग गर्दै करिब एक महिनादेखि पीडितहरु काठमाडौंमा धर्ना बसिरहेका थिए । एक महिनासम्म माग सम्बोधन नभएपछि सशक्त आन्दोलन सुरु गरिएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका वरिष्ठ उपाध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए ।


सहकारी ठग्ने सञ्चालकलाई कारबाहीको माग गरेर नयाँ बानेश्वरस्थित सहकारी विभाग जान लाग्दा प्रहरीले लाठीचार्ज गरेको उनले बताए । बचत फिर्ता माग गर्दै धर्ना थालेको एक महिना हुँदा पनि माग सम्बोधन नभएपछि देशभरका ३० हजार सहकारी पीडितहरु आएर विरोध गरेको उनले जानकारी दिए । उनका अनुसार ५ सयभन्दा बढी सहकारी बचतकर्ताको बचत फिर्ता नगरेर भागेका छन् । करिब ६४ अर्ब रुपैयाँ साँवामात्र सहकारीले दिनु पर्नेछ । देशभर ७४ लाख सहकारीमा बचतकर्ता छन्, जसमा १४ लाख पीडित छन् ।

यसअघि सहकारी सञ्चालकले बचतकर्ताको पैसा फिर्ता नगरेपछि पीडितले ६३ दिन लामो आन्दोलन गरेका थिए । गत साउन १८ गते सरकारसँग भएको ७ बुँदे सम्झौतापछि पीडितले आन्दोलन फिर्ता लिएका थिए । तर, सम्झौता कार्यान्वयन नभएपछि गत फागुन ६ गतेबाट काठमाडौंमा धर्ना सुरु गरेका थिए । सरकारले फागुन मसान्तसम्म माग सम्बोधन नगरे चैत १ देखि काठमाडौंमा बृहत् आन्दोलन गर्ने चेतावनी पीडितले यसअघि नै दिएका थिए । माग पूरा नहुँदासम्म धर्ना जारी रहने उनीहरुको भनाइ छ ।

संसद्मा प्रतिपक्षीको प्रश्न

सहकारीको बचत हिनामिना गरेर सर्वसाधारण ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएकामा प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ । बिहीबारको बैठकमा प्रतिपक्षी दलहरुले यस्तो प्रश्न उठाएका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस र अन्य दलका सांसदले विगतमा विवादित मन्त्रीको उदाहरण दिँदै सहकारी ठगीका व्यक्ति पनि मन्त्रिपरिषद्मा रहन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए । कांग्रेसले यो विषयलाई प्रमुख मुद्दा बनाउने र प्रधानमन्त्रीको जवाफ नआए सहज रूपमा संसद् चल्न नदिने चेतावनीसमेत दिएको छ ।

यसअघि अख्तियारमा बयान दिन पुगेका मन्त्रीलाई राजीनामा गर्नुपर्ने विषयम एमाले र रास्वपाले संसद्मा प्रश्न उठाएको नजिर दिँदै सांसदहरूले सहकारी ठगी आरोप लागेका गृहमन्त्री लामिछानेका विषयमा के हुन्छ भनेर प्रश्न उठाएका थिए । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि कांग्रेसले सहकारी ठगी र गृहमन्त्री लामिछानेबारे प्रश्न उठाएको थियो ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक