20240412

२०८१ सालको वर्षफल ज्योतिषिका आँखाबाट !

 - प्रा. माधवप्रसाद पाण्डेय (विद्यावारिधि)

राजा – मंगल, मन्त्री – शनि

कालयुक्तनाम संवत्सरका ग्रहपरिषद्मा (१) राजा – मंगल, (२) मन्त्री – शनि, (३) सस्येश – मंगल, (४) निरसेश – मंगल, (५) धनेश – मंगल, (६) मेघेश – शनि, (७) दुर्गेश – शनि, (८) रसेश – गुरु, (९) धान्येश – चन्द्र, (१०) फलेश – शुक्र रहेका छन् ।

ज्योतिषिका आँखाबाट:

यस वर्षका राजा मंगल र मन्त्री पदमा शनिको अधिकार रहेको छ । यस वर्षको जगल्लग्नमा धनु लग्न रहेको छ । जगल्लग्नको अधिपति गुरु पञ्चम भावस्थ मेष राशिमा नवमेश सूर्यका साथमा रहेका छन् । त्यसैगरी पञ्चमेश र द्वादशेश मंगल तृतीय भावस्थ कुम्भ राशिमा स्वगृही शनिका साथमा छन् । ती पञ्चम र तृतीय दुवै भावका बीचमा रहेको चतुर्थ भावस्थ मीन राशिमा सप्तमेश र दशमेश बुध तथा षष्ठेश र एकादशेश शुक्र राहुका साथमा रहेका छन् भने अष्टमेश चन्द्रमा सप्तम भावस्थ मिथुन राशिमा तथा दशम भावस्थ कन्या राशिमा केतु स्थित छन् । यसरी तृतीय भावदेखि पञ्चम भावसम्म क्रमशः तृतीय भावमा कुम्भस्थ शनि, मंगल तथा चतुर्थ भावमा मीनस्थ शुक्र, बुध, राहु एवं पञ्चम भावमा मेषस्थ सूर्य, बृहस्पति छन् भने सप्तम भावमा मिथुनस्थ चन्द्रमा र दशम भावस्थ कन्या राशिमा केतु रहेका छन् ।

जगल्लग्नमाथि लग्नेश बृहस्पति र अष्टमेश चन्द्रमाको दृष्टि छ भने अरू कुनै पनि ग्रहको दृष्टि लग्नमाथि परेको छैन । तापनि, लग्नेशका साथमा सूर्य र त्यसका एकातिर स्वउच्च शुक्रका साथ बुध, राहु ग्रह र तिनका पनि एकातिर पाप ग्रह शनि, मंगल रहेका छन् । उच्चराशिस्थ सूर्यका साथमा मित्रगृहस्थ लग्नेश बृहस्पतिको पञ्चम भावबाट लग्नमाथि शुभ दृष्टि पुगेको छ ।

यस वर्ष संवत्सरारम्भ र वर्षारम्भ दुवैमा एउटै लग्न परेको छ । ती दुवैमा लग्नदेखि ६, ८, १२ र २ मध्ये कुनै पनि भावमा ग्रह छैनन् । प्रायः ३, ४, ५ भावमा ग्रहहरू समेटिएका छन् । लग्नेश र भाग्येश गुरु तथा सूर्यको पञ्चमभाव मेष राशिमा युति, पञ्चमेश, द्वादशेश, धनेश र तृतीयेश मंगल, शनि तृतीयभावस्थ कुम्भ राशिमा एकसाथ गतिशील र लाभेश शुक्र चतुर्थभावस्थ मीन राशिमा उच्च आदि ग्रहस्थितिमा वर्षारम्भ भएको छ ।

लग्नेश शुभग्रह उच्च ग्रहका साथमा त्रिकोणस्थ मित्रराशिमा हुनाले मुलुकमा सुख, शान्ति र स्थिरता हुने देखिन्छ । जगल्लग्नमा ६, ८, १२ र २ भावमा ग्रह नहुनाले लग्नको बललाई बढाएको छ । तर, नेपालको वृश्चिक राशि जगल्लग्नको १२औं भावमा परेकाले केही उपद्रवको संकेत गरेको छ । त्यसबाहेक अन्य फलमा बुद्धिमतापूर्ण र साधिकार कठोर निर्णय, कठोर परिश्रम, उद्यमशीलताको परिचय र लाभका अवसरहरूको भरपुर उपयोग गर्न सक्नेगरी वर्षारम्भ भएको छ । त्यसमा महत्वाकांक्षी निर्णय र त्यसको कठोर कार्यान्वयनको दृष्टिकोण देखिनेछ भने शासकमा सुखविलासको लालसा यसमा हानिकारक हुने देखिन्छ । यसर्थ, राज्याधिकारी प्रबल र राज्य कमजोर हुने स्थिति यथावत देखिन्छ ।


कूर्मचक्रका आधारमा यस वर्षको सुरुमा मुलुकको उत्तर दक्षिणतर्फ केही अनिष्टको संकेत देखिएको छ भने तुलनात्मक रूपमा पूर्वतर्फ सकरात्मक प्रभाव रहने देखिन्छ ।


पठित संवत्सर, ग्रहपरिषद् तथा तिनको स्थितिका आधारमा थप वर्ष विश्लेषण गर्दा कालयुक्त नामक संवत्सरमा प्रजा सुखी हुन्छन्, धनधान्य र फलोत्पादनमा वृद्धि हुनाले सुभिक्ष हुन्छ ।


‘वत्सरे कालयुक्ताख्ये सुखिनः सर्वजन्तवः । फलिता वृक्षजातिस्तु सस्यवृद्धि सुभिक्षकृत् ।।’ जगन्मोहन १०० ।


ग्रहपरिषद्मा राजा मंगल तथा मन्त्री पदमा शनि छन् । मंगल राजा भएको वर्ष खण्डवृष्टि, मेघगर्जन बढी तर वर्षा कम, पशुधनमा हानि, अग्निभय, दुःखव्याधि, वायुको तीव्रता, दुर्घटना, प्रचण्ड गर्मी, अग्निताप, वर्षामा कमी, शासक कर्तव्यपथमा उदासीन, महँगी, आतंक, चोरी, सर्वत्र अन्याय र सम्भावित युद्ध, रक्तपात आदि फल बताइएको छ ।


शनि मन्त्री भएको वर्ष मध्यम वृष्टि, मध्यम सस्योत्पादन, खण्डवृष्टि र खण्डसमृद्धि, प्रजा र गाईमा पीडा हुनेछ भने ‘म्लेच्छ’हरू बढ्नेछन् । शासक लोकविरुद्ध र नीतिविरुद्ध हुनाले प्रजामा दुःख र असन्तोष देखिनेछ । शनि मेघेश हुँदा फुटकर वर्षा, रोगवृद्धि र राजकीय नीति जनक्षोभकारक देखिनेछ । शनि दुर्गेश हुनाले बालीनालीमा कमी, शासक प्रशासकबीचको वैरभावले जनजनबीच आतंक देखिनेछ ।


मंगल सस्येश हुँदा पशुचौपायामा रोगव्याधि, वर्षामा कमी र अन्न उत्पादनमा पनि कमी रहने देखिन्छ । भौम नीरसेश भएमा सम्पूर्ण राता वस्तुको मूल्य बढ्छ । भौम धनेश हुँदा हिउँदे खेतीमा कमी, मुलुकमा अस्थिरता र शासन जनविरोधी हुनेछ ।


चन्द्रमा धान्येश भएको वर्ष उत्तम वर्षा, अन्न उत्पादनमा वृद्धि र जनतामा उत्साह हुनेछ । गुरु रसेश हुँदा जनतामा सुख, फलादि उत्पादनमा वृद्धि, तर कहीँ कतै शस्त्र प्रदर्शन पनि देखिनेछ । शुक्र फलेश हुँदा रूखबिरुवामा प्रवद्र्धन, लोकप्रिय शासन नीति तथा धर्मअनुकूल आचरण देखिनेछ ।


वर्षभरिमा चार महिनाका संक्रान्तिमा शुभ वार र बाँकी आठ महिनाका संक्रान्तिमा शनि, मंगलबार, विष्कुम्भादि योगमध्ये सात महिनाका संक्रान्तिमा शुभ र पाँच महिनाका संक्रान्तिमा अशुभ योग, ६ महिनाका संक्रान्तिमा शुक्लपक्ष र ६ महिनाका संक्रान्तिमा कृष्णपक्ष प्रतिपदा परेकाले सालाखाला शुभफलमा वृद्धि हुने देखिन्छ ।


मेषमा सूर्य संक्रमण गर्दा चन्द्रस्थ नक्षत्र श्रवणदेखि सूर्यस्थ नक्षत्र अश्विनीपर्यन्त सातौं संख्या हुँदा रोहिणीवास तटमा र संवत्सरवास रजकस्थानमा रहेको छ । तटमा रोहिणीवास भएको वर्ष समुचित वर्षा हुन्छ ।


‘समुद्रे तु महावृष्टिस्तटे वृष्टिः सुशोभना । पर्वते बिन्दुमात्रेण खण्डवृष्टिश्च सन्धिषु ।। धोवी÷रजक स्थानमा संवत्सरवास हुँदा सर्वत्र प्रसन्नता रहन्छ । संवत्सरसंहिता पृ. ४९–५० ।


यस वर्षको संवत्सरवाहन नौका रहेको छ । जसले गर्दा पृथ्वीमा उत्पादनमा कमी, जनतामा अस्थिरता, आतंक र चौपायामा कष्ट सम्भावना देखिन्छ ।


विफला सकला धात्री नौकारुढे तु वत्सरे । जनोद्वासः पशूनां च पीडा भवति भूयसी ।।


चैत्र शुक्ल प्रतिपदा र रेवतीको संयोग २० घडी ३५ पला मात्र रहेको हुँदा यस वर्षको जलस्तम्भ निर्बल देखिएको छ । वैशाख शुक्ल प्रतिपदा र भरणीको संयोग १३ घडी शून्य पला मात्र रहेकाले यस वर्षको तृणस्तम्भ तुलनात्मक रूपमा अति बलहीन रहेको छ । ज्येष्ठ शुक्ल प्रतिपदा र मृगशिराबीच ५०ः५८ घडी पला सम्बन्ध स्थापित भएको छ । त्यसैले, यस वर्षको वायुस्तम्भ नितान्त सबल देखिएको छ । आषाढ शुक्ल प्रतिपदा र पुनर्वसुको संयोग ५८ः४४ घडी पला रहेको छ । त्यसैले, यस वर्षको अन्नस्तम्भ अत्युत्तम बली रहेको छ ।


आर्षमानअनुसार संवत्सर शुभाशुभ विचार गर्दा (१) वैशाख शुक्ल तृतीया र रोहिणी मिलन १६ः५८ घडी पलासम्म मात्र, (२) गत पौष अमावस्या र मूल मिलन ००ः०० घडी पलासम्म, (३) श्रावण पूर्णिमा र श्रवण मिलन १६ः१२ घडी पलासम्म मात्र भेट हुन्छन् भने (४) कार्तिक पूर्णिमा र कृतिकाको भेट ११ः११ घडी पलासम्म हुन्छ ।


अतः ठाउँठाउँमा पेयजलको आपूर्तिमा बाधा, वर्षामा अनियमितताका कारण घाँसमा कमी, कृषिजन्य मुख्य अन्न उत्पादन, जडीबुटी, वनस्पति आदिमा कमी, तुफान, बबन्डर, भूकम्प आदिको प्रकोपमा न्यूनता, घरेलु उत्पादन र खाद्यान्नमा मध्यम आदि दृष्टिले वर्षलाई सबल बनाउन सकेको देखिँदैन ।


नवमेघमध्ये वरुण मेघमा बाढी आउनेछ भने चतुर्मेघमध्ये आवर्त नामक मेघमा वृष्टि हानि हुन्छ ।


‘आवर्ते मन्दतोयं तु’ ‘वरुणस्त्वर्णवाकारम्’ । जगल्ललग्नकाल सन्ध्या वा रात्रिमा हुँदा अनुकूल वर्षा र सुभिक्ष हुन्छ ।


रात्रौ सुभिक्षमतुलं सन्ध्ययोर्वृष्टिरुत्तमा ।।


संवत्सर प्रवेशकालिक बार, नक्षत्र, योग र करण प्रतिकूल छन् । त्यसैले शासकमा हानि र दुर्घटना हुने देखिन्छ ।


भौमे निधनमादिशेत् ।


त्यसैगरी, अद्र्राप्रवेश दिनमा भएको छ । त्यस दिन शनिबार र मूल नक्षत्र परेको छ । जसले अन्नबालीमा हानि, मध्यम वर्षा र अनेक प्रकारका भय हुने भनिएको छ ।


समग्रमा यस वर्षको शुभाशुभ विवेचन गर्दा ग्रहपरिषद्का दस अधिकारीमध्ये सात पदमा शनि, मंगलग्रहको अधिकार रहेको छ भने वर्षफल निर्धारण गर्दा आवश्यक पर्ने ग्रहपरिषद्, संवत्सर आदि न्यूनतम आधारहरूमध्ये अधिकतम स्थान प्रतिकूल फलदायक रहेका छन् । यसरी हेर्दा प्रतिकूल पक्ष २३ तत्व र अनुकूल तत्व १९ रहने देखिन्छ । जसमा वर्षा, हावा, पानी र अन्नसम्बद्ध फलाफल विवेचन गर्ने आधार मानिने वर्षका चतुःस्तम्भमध्ये जलस्तम्भ २५ प्रतिशत, तृणस्तम्भ १० प्रतिशत, वायुस्तम्भ ६० प्रतिशत र अन्नस्तम्भ ७० प्रतिशत बलप्राप्त छन् । जसले गर्दा जल र तृणसम्बद्ध पक्ष असन्तुलित वर्षा र वनस्पतिको न्यून सन्तुलन रहनेछ भने वायु स्वच्छ वातावरण र अन्न उत्पादनमा केही सन्तोषजनक स्थिति देखिन्छ । यसबाहेक राजनीति र राज्यव्यवस्थामा केही उग्रता तथा असहिष्णुता चरम बिन्दुमा पुग्ने देखिन्छ । अतः जनसाधारणले सावधानीपूर्वक जीवननिर्वाह गर्नु बुद्धिमानी हुनेछ । ठूलै विनाश नहोस् त्यसका लागि सबैको प्रयास अपेक्षित रहनेछ । ’cause, जगल्लग्न र लग्नेश सर्वसिद्ध शुभग्रह हुनु, त्यो पनि भाग्येश उच्च सूर्यसँग त्रिकोणमा मित्रगृही हुनु र त्यसको अधिपति मंगल पराक्रमस्थानमा स्वगृही ग्रहसँग रहनु यो पनि उच्च सक्रियताको द्योतक हो । यी ग्रह स्थिति आफैंमा सिर्जनशील छन्, तर भौम शनिको युति, भौम, शनि नै राजा मन्त्री, दस अधिकारीमा अत्यधिक स्थानमा ती दुवैको अधिकार रहेको र देशान्तराधिपति पाप ग्रह पाप ग्रहकै साथमा अनि राज्येश नीच स्थितिमा देखिएकाले केही शंका रहेको छ । तापनि पराक्रमस्थ पापयुति र शुक्रसँगको राज्येशलाई लग्नेश र भाग्येशको युतिको लाभ लिनेगरी कार्यक्रममा गति दिन सकिने तर्क पनि यहाँ गर्न मिल्छ ।


त्यसबाहेक अन्तर्राष्ट्रिय केही मुलुकको पनि यहाँ संकेत गरिएको छ । जसमध्ये अमेरिकाका लागि २०८१ सालको भविष्यसंकेतको प्रारूप यसप्रकार छ ।


शिक्षा, स्वास्थ्य, सौखिनवस्तु, वैदेशिक सम्बन्ध, अर्थ, प्राविधिक प्रवद्र्धन तथा केही जोखिम एवं अपव्यय आदि अमेरिकाका प्रमुख पक्ष हुन् ।


त्यसैगरी, पाकिस्तानमा पनि केही सावधानी अपनाउनुपर्ने देखिन्छ । जस्तै, मूर्खतापूर्ण र अपरिपक्व निर्णय, कार्यक्रममा उपेक्षादृष्टि आदि पाकिस्तानका लागि सावधानयोग्य विषय हुन् ।


भारतमा केही मिश्रित फल रहने देखिन्छ । जस्तै, शिक्षा र स्वास्थ्यमा नयाँ आयाम, सत्ताका प्रतिपक्ष प्रबल र मुलुकको आन्तरिक पक्ष दुर्बल रहने देखिन्छ ।


नेपाल र जापानको २०८१ सालको ग्रहस्थिति एउटै रेखाबाट गुज्रिएका छन् भने अस्ट्रेलियाका लागि यस वर्ष केही क्षति, केही कीर्तिवद्र्धक, धेरै सम्बन्धविच्छेद र राजनीतिमा केही आप्रवासीको प्रभाव बढ्ने देखिन्छ ।

***************

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक