20240422

विश्व पृथ्वी दिवस, विश्वभर यो दिवस मनाइरहँदा पृथ्वीको अस्तित्व भने बढदो प्रदूषण र तापक्रम बृद्धिका कारण संकटमा


 - धुर्ब सागर शर्मा /  आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । विश्वभर यो दिवस मनाइरहँदा पृथ्वीको अस्तित्व भने बढदो प्रदूषण र तापक्रम बृद्धिका कारण संकटमा पर्दै गइरहेको छ । सन् १८८० पछि प्रत्येक दशकमा ०.०८ डिग्रीका दरले भइरहेको तापक्रम वृद्धि र त्यसबाट उत्पन्न मानवीय वा प्राकृतिककारणले सिर्जित प्रदूषणका कारण पृथ्वीको अस्तित्व संकटमा पर्दै गइरहेको वैज्ञानिकहरुको भनाइ रहेको छ । ‘हरियो पिण्ड’ को नामले चिनिने पृथ्वीमा प्राणी जीवनको अस्तित्व सुरक्षित रहने भए पनि बढ्दो वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तात्दै गएको छ । मानवीय क्रियाकलापकै कारण पृथ्वी संकटतर्फ धकेलिँदै गएको वातावरणवीद्हरुको भनाइ छ ।

पछिल्लो समय पृथ्वीको १.१ डिग्री तापक्रम वृद्धिले ‘हिटवेभ’, खडेरी, बाढी, हुरी, आँधीका समस्या देखा परिरहेका छन् । जनसंख्या वृद्धिसँगै ‘औद्योगिक क्रान्ति’ ले उच्च मात्रामा हरितगृह ग्यास उत्सर्जन भइरहेको र विश्वमा आठ अर्बभन्दा बढी मानिसको अस्तित्व नै संकटमा पर्न थालेको बताइएको छ ।

पृथ्वीको बढ्दो तापक्रमले वातावरण बिगार्न निकै भूमिका खेलेको युवा वैज्ञानिक भविन्द्र कुवँरले बताउनुभयो । प्राकृतिक विपत्, चरम मौसमी घटना, पानी तथा खाद्यान्नको असुरक्षा, आर्थिक अवरोध, द्वन्द्व तथा आतंक, हिमालमा हिउँ पग्लिने क्रम तथा समुद्री सतह बढ्दाका परिणाम देखिइसकेका उहाँको भनाइरहेको छ ।

संसारभरि नै डढेलो चुनौती बन्दै गइरहेको छ । सन् १८८० पछि प्रत्येक दशकमा ०.०८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको तथ्याङ्कमा देखिएको छ ।

पृथ्वीको संरक्षणको विषयमा विश्वव्यापी रूपमै वकालत गर्न थालिएको छ । कार्बन फुटप्रिन्ट घटाउने, विश्वव्यापी तापमान, जलवायुका क्षेत्रमा भएका विभिन्न सहमतिहरू पालना गर्ने, रिसाइकल, इवेस्ट तथा जीवनशैलीमा ल्याउनुपर्ने परिवर्तनका विषयमा पनि कुरा गर्ने गरिन्छ । जलवायु परिवर्तनका कारण बढाएको जोखिम, विषादीको प्रयोगले वातावरण खस्कँदो रहेको र अग्र्यानिक तथा स्थानीय जातको उत्पादनलाई बढावा दिनुपर्नेलगायतका विषय विश्वकै मुद्दा बन्न थालेका छन् ।

सन् १९६९ मा अमेरिकाको क्यालिफोर्निस्थित सान्टा बारबारामा तेलका ट्यांकरमा व्यापक विस्फोटन भयो । त्यसबाट समुद्रको पानी निकै प्रदूषित भयो । विस्कन्सिन राज्यका जुनियर सिनेटर गेलर्ड नेल्सन बिग्रँदो पर्यावरणप्रति निकै सचेत थिए ।सान्टा बारबारामा ट्यांकर विस्फोट देखेका नेल्सनले पर्यावरण चेतनाका लागि ‘पृथ्वी दिवस’ को तरिका सुझाए ।

सन् १९७० बाट प्रत्येक वर्ष यो दिवस मनाउन थालियो । संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो ।

जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका बुद्धिसागर पौडेलले पृथ्वीको महत्व र आवश्यकता किन र कस्तो हुन्छ भन्ने सन्देश दिन पृथ्वी दिवस कार्यक्रम मनाउने गरिएको बताउनुभयो ।


बेलायतको ग्लास्गोमा सम्पन्न कोपको २६ औं सम्मेलनमा विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्न नसकिएको विषयले निकै स्थान पाएको थियो। पेरिस सहमति २०१५ अनुसार १.५ डिग्री कायम गर्नका लागि सन् २०३० सम्ममा ५० प्रतिसत कार्बन उत्सर्जन न्यूनीकरण गर्नुपर्ने भनिएको थियो । तर, प्रमुख उत्सर्जन राष्ट्रहरू यस विषयमा गम्भीर नभएको बताइएको थियो ।


पृथ्वीमा उत्सर्जन भइरहेको हरितगृह ग्यासको मात्रा अत्यधिक बढ्दाको प्रत्यक्ष असर विश्वव्यापी तापमान वृद्धिमा परेको युवा वैज्ञानिक कुवँरको भनाइ छ । उहाँका अनुसार मिथेन उत्सर्जनका कारण २५ प्रतिशतभन्दा धेरै तापक्रम वृद्धि भएको पाइएको छ ।


जलवायु परिवर्तनमा सचेतना जोगाउन लगानी पूर्वाधार निर्माणलगायतका विषय प्रकृतिमैत्री हुनुपर्छ भन्ने मुद्दाहरू उठाउनुपर्ने वैज्ञानिकहरुको राय रहेको छ । पारिस्थितिक प्रणाली, वातावरण, जैविक विविधता संरक्षणलगायतका सवाललाई मुख्य मुद्धा बनाएर हरेक राष्ट्रले यसलाई राष्ट्रिय तहबाट नै मनाउनुपर्ने उहाँको भनाइरहेको छ ।


नेपालमा जलवायु परिवर्तनमा काम भइरहे पनि पर्याप्त नभएको बताउँदै युवा वैज्ञानिक कुवँरले भन्नुभयो “यसका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । प्रदूषण नियन्त्रणजस्ता विषयमा थप काम गर्नुपर्छ ।”


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक