20240416

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै प्रदर्शन


भैरहवा / रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार प्रदर्शन गरेका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिनको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवल र भैरहवामा रहेको सो सहकारीका पीडित बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब स्वरुप विरोधमा उत्रिएको बताएका छन् । 

सुप्रिम सहकारी पीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले रकम हिनामिनामा संलग्न सो संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न पनि माग गरेका छन् । बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए । प्रदर्शनमा सहभागीहरुले गृहमन्त्री लामिछानेले मुख्य आरोपित जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार लामिछानेमाथि छानबिनको माग गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा प्रमाण समेटेर लामिछानेले सहकारीबाट दुई करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ । 

रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् । संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितले संघर्षलाई निरन्तरता दिने बताउनुभयो । सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं आएर संघीय सदन घेराउ गर्ने उहाँले चेतावनी दिनुभयो । 

यसै बिच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताए ।

“सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भन्यो,” थापाले मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा भने, “सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा छुट्याउन सकिनँ भनेर प्रहरीले भनिसकेपछि त्यो खोज्नुपर्‍यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ त ?”

उनले रवि लामिछानेको ठाउँमा कांग्रेसको मान्छे, एमालेको, माओवादीको वा अरू कुनै मान्छे भएको भए पनि यही गर्नुपर्ने बताए ।

“पुराना दलको जो भए पनि यही गर्नुपर्थ्यो भने नयाँ दलको मान्छेलाई गर्नुपर्दैन ? यहाँ पुरानो वा नयाँ भन्ने हुन्छ ? कांग्रेसी एमाले वा माओवादी भन्ने कुरा हुन्छ ? सत्तापक्ष वा प्रतिपक्ष भन्ने कुरा हुन्छ ?,” प्रश्न गर्दै थापाले भने, “भ्रष्टाचारको सन्दर्भमा हामी गम्भीर छौँ । हामी आफ्नो पार्टीको, अर्को पार्टीको भन्दैनौँ, कानुनको शासनको सन्दर्भमा हामी प्रस्ट छौँ, कानुनभन्दा माथि कोही पनि हुँदैन ।”

उनले जनतामा लोकप्रिय छु भनेर वा सरकारमा शक्तिशाली छु भनेर कानुन भन्दा माथि नहुने बताए ।

“म जनतामा लोकप्रिय छु भनेर कोही कानुनमाथि हुँदैन, सरकारमा शक्तिशाली छु भनेर कोही कानुनमाथि हुँदैन, मसँग पारिवारिक विरासत छ भनेर कोही कानुनमाथि हुँदैन । कोही पनि कानुनमाथि हुँदैन भन्ने सत्यलाई हामीले स्थापित गर्नुछ,” थापाले भने ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक