20240419

टेक्सास डालस महायज्ञ : हजारौं व्यक्तिहरु ज्ञान महायज्ञको लागि आए पनि यो "धन महायज्ञ" बनेको अनुभव भयो यहाँ

 - लेखनाथ गौतम 


अमेरिकाको टेक्सास डालस नजिकै रहेको युलेस सिटीमा नवाह महायज्ञ बुधबार देखि सकिएको छ। यस भित्रका समस्या, अप्ठेरा र केहि व्यक्तिहरुका बाबजुद यो समग्रतामा हेर्दा ठिकै रुपमा सम्पन्न भएको छ। अहा  भन्ने अवस्था नभए पनि केहि भएन भन्न मिल्दैन।  

९ दिन भएको महायज्ञमा ३३ लाख डलर पैसा दिने कबुल गरिएको जानकारी गराईएको छ। १६ हजार भन्दा बढी मान्छे दर्ता भएका छन्। अन्य दिनहरुमा उपस्थिति पातलो भए पनि शनिवार र आइतबार परिसर निकै व्यस्त रह्यो। करिव ४ सय गाडी पार्क गर्ने ठाउँ नपुगेर अलि टाढा पार्किंगको ब्यबथा गरिएको थियो। अपबाद बाहेक पार्किङ्गको समस्या भएन।   

पैसा उठाउने हकमा भने ५० लाख डलर उठाउने उद्देस्य भए पनि त्यो पुरा हुन सकेन। ३३ लाख कबुल गरिए पनि पुरै पैसा असुल हुने सम्भावना कम नै छ किन भने यस अघि कबुल गरिएको रकम नै कतिपयले तिरिसकेका छैनन्। त्यसै माथि थप गरिएको रकम तिर्ने मान्छेले पनि बर्षौं पछि तिरिसक्छ। यो बिचमा बसाइ सराइ गर्ने, अवस्था परिवर्तन हुने र मन्दिर ब्यबस्थापनका रबैया मन नपरेर नतिर्नेहरुको संख्या उल्लेख्य हुनसक्छ।  

यो कार्यक्रममा नयाँ पुस्ताका स्वयंसेवकहरुको भूमिका उल्लेख्य रह्यो। राम्रो कुरा त के भने उनीहरुले जिम्मा लिएका सबै कामहरुमा निकै राम्रोसंग गरेर देखाईदिए। रजिस्ट्रेसन, पार्किंग जस्ता कामहरुमा निकै राम्रो ब्यबस्थापन थियो। बरु सहभागीहरुले पार्किङ्गका सामान्य शिद्धान्त पालन नगर्ने, जथाभावी पार्क गर्ने जस्ता काम गरेर ब्यबस्थापनलाइ चुनौती दिएका थिए।  

हज्जारौं व्यक्तिहरु ज्ञान महायज्ञको लागि आए पनि यो "धन महायज्ञ" मात्र भएको अनुभव गरेको प्रतिक्रियाहरु आए। पैसा उठाउने मुख्य लक्ष राखेर यो यज्ञ आयोजना गरिए पनि "ज्ञान" लाइ पनि मध्यनजर राख्नु पर्थ्यो तर गरिएन भन्ने गुनासाहरु प्रशस्त सुनियो। मूल बाचकले भागवत कथा भन्दा चन्दा दाताहरुको "भजन र चाप्लुसी" मा व्यतित गर्दा कथाको रसपान भन्दा चन्दादाताहरुको अनाबस्यक बखान सुनेर फर्किनु पर्यो। जति समय कथामा खर्च गरियो, त्यो पनि भागवत कथाको "भित्री रहस्य" को कुरा छोडौं,  बोक्रो भन्दा भित्र छिर्ने प्रयत्न गरेको पाइएन। ज्ञान महायज्ञ भनेर प्रचार गरिए पनि यो बास्तवमा "धन महायज्ञ" कै रुपमा समपन्न भयो।  

पैसा उठाउनु नै यो यज्ञको उद्देश्य हो भन्नेमा कुनै बिमति छैन। तर स्वतस्फुर्त हुनुपर्ने चन्दा पनि अलि दवावमुलक भएको गुनासो पनि सुनियो। अगाडी बाट आउँदा पैसा माग्छन भनेर पछाडीबाट मन्दिर प्रवेश गरेको सम्म कुरा सुनियो। नभने उद्देश्य अनुरुप चन्दा नउठ्ने तर भन्दा दवाव महशुस हुने अबस्थाको सिर्जना भयो। यति ठुलो र  सम्बृद्ध समाजमा पनि यति पबित्र कामको लागि पैसा उठाउन "औलो बाङ्गो" गर्नु पर्ने अवस्था किन आयो भन्ने कुरा नै हाम्रो आगामी छलफलको बिषय हुनुपर्छ।  

यो नवाह महायज्ञमा "चन्दा उठाउने ठेक्का" डाक्टर मुरली अधिकारीलाई परेको प्रस्ट देखिन्थ्यो। दुइटा कार्यसमितिका पदाधिकारीहरु ९ दिन पुरै घण्टा मन्दिरमा दिनु पर्नेमा प्राय दिन ढिला "लखर लखर" आइरहेका देखिन्थे। आउने पाहुनाहरुलाई राम्रो वातावरण दिएर "दिउँ दिउँ" भन्ने बनाउन सक्रिय हुने काम भएन। यसले पनि नवाहको प्रभावकारिता कम भयो। यति ठुलो कार्यक्रम एउटा "चेन अफ कमाण्ड" मा चल्नु पर्नेमा सबै जना फ्री ल्यान्सर स्वयंसेवक झैं प्रतित हुन्थ्यो। 

आगामी दिनको लागि : 

समाज ठुलो भैसकेको छ। समाजमा प्रशस्त पैसा पनि छ। यो समाजलाई सक्रिय बनाउन र समाजमा केहि गर्न पर्छ भन्ने भावना जागृत गराउने अवस्था सिर्जना गर्ने तर्फ समाजको नेत्रत्वले ध्यान दिनु आबस्यक हुन्छ। बिशेष गरी मन्दिर जस्तो अत्यन्त पवित्र ठाउँलाइ राजनीति मुक्त, बिबाद मुक्त र कुण्ठामुक्त बनाउनु पहिलो काम हो। मन्दिर भित्र हुने गतिबिधि र निर्णयहरु समग्र समाजको भावना प्रतिनिधित्व हुने खालको हुन जरुरी छ।  

मन्दिर सबैको साझा आस्थाको धरोहर हो भन्ने भावना समुदायमा अनुभूति हुनुपर्छ। त्यस्तो भावना भएको समुदायले मात्र त्यहाँ आफ्नो खुन र पसिनाको कमाइ दान गर्न अप्ठेरो मान्दैन। आफ्नो भवनमा अलिकति आंच आयो भने उसले चन्दा दिन मान्दैन। हाम्रो मन्दिरले बिबाद र बिबादास्पद निर्णय र कामहरुबाट टाढा बस्नु पर्छ। बिबादित काम र अभिव्यक्तिहरुमा कमसेकम मन्दिरमा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरुले लगाम लगाउनु पर्छ। यसमा मन्दिरको कार्यसमिति सजग हुनुपर्दछ।  

पक्कै कुनै कुरा "पर्फेक्ट" हुन सक्दैन तर "पर्फेक्ट' बनाउने प्रयास भने जारी राख्नु पर्छ। गल्ति र कमजोरीलाई ढाकछोप गर्ने वा अरुलाई थोपरेर होइन स्वीकार गरेर नै अर्को पटक कमजोरी नहुने वातावरण हुनसक्छ। त्यसैले हामी सबैले पनि आफ्ना कमजोरी हटाउने, समाजमा केहि देन दिने यात्रामा अघि बढौं। यसो गरे मात्र समाज र मन्दिर जस्ता समाजका सम्पत्ति सबल र फलदायी हुनसक्नेछन।


*********  


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक