20240503

विश्व प्रेस स्वतन्त्रता दिवस: चुनौती झन् बढी

आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको महत्त्व र आवश्यकताका सन्दर्भमा विश्वलाई जागृत गराउन यस दिवसको विशेष महत्त्व रहेको छ । मानव अधिकार र नागरिकको नैसर्गिक अधिकारसँग प्रेस स्वतन्त्रता जोडिएको हुन्छ । संयुक्त राष्ट्र संघको निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक सहरमा सन् १९९१ को डिसेम्बरमा भएको पत्रकार, प्राध्यापक र स्वतन्त्रता पक्षधरहरूको भेलाले स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणा-पत्र जारी गरेको थियो । तत्पश्चात्  युनेस्कोको सिफारिसमा सन् १९९३ मा भएको  संयुक्त राष्ट्र संघको महासभाले  मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने भनी घोषणा गरेको थियो । सोही घोषणासँगै विश्वभर मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो । 

प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तहरूको जगेर्ना गर्ने, विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याङ्कन गर्ने, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट बचाउने, निर्भीक पत्रकारिताका अवरोधको पहिचान गर्ने सन्दर्भमा यो दिवसको विशेष अर्थ रहेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सुरु गरेको वर्षदेखि अहिलेसम्म आइपुग्दा कुनै न कुनै रूपबाट पत्रकारिता र प्रेस स्वतन्त्रताको मुद्दालाई कमजोर पार्ने कार्य भइरहेको देखिन्छ । प्रेस स्वतन्त्रतालाई पूर्णत: उपयोग गर्न नदिने विभिन्न  तरिकाबाट प्रयास भइरहेको पाइन्छ । पछिल्लो समय नयाँ-नयाँ प्रविधि निर्माण र माध्यमको सुरुवातले पत्रकारितालाई सरल, सहज र सबैको पहुँचमा पुर्याउन विशेष सहयोग पुगे पनि यससँगै स्वतन्त्रतामा कुण्ठित हुन सक्ने चिन्तासमेत बढेर गएका छन् । यसतर्फ पनि चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । 


पछिल्लो समय विभिन्न कारणले बढ्दै गएको शक्तिराष्ट्रहरूबीचको तनाव र विभिन्न देशबीच, देशभित्र आन्तरिक द्वन्द्वहरूले पत्रकारमाथि खतरासमेत बढाएको छ । डर र त्रासका कारण स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न नसकिने खतरा उत्तिकै बढेको छ । यस अवस्थामा विश्व प्रेस स्वतन्त्रताको महत्त्व अझ बढी बुझाउनु आवश्यक बनेको छ । नेपालको सन्दर्भमा पनि लोकतान्त्रिक, संघीय शासन व्यवस्थाका बीच संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको अवस्था रहे पनि विभिन्न स्वरुपमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास भएको पाइन्छ । साइबर क्राइमका नाममा होस् वा सम्मानित अदालतको आदेशको भरमा होस् निर्भीक पत्रकारिता गर्ने अवस्थालाई कहीँ न कहीँ असहज अवस्था देखिने गरेको देखिन्छ । यी यस्ता प्रेस स्वतन्त्रतामा अंकुश लाग्न सक्ने सम्भावित अवस्थाप्रति बृहत् र खुला बहस  तथा छलफलको आवश्यकता खड्किएको छ । सँगसँगै नेपाल बाहिर पनि भावनाको ‘मिनी नेपाल’ हरेकजसो देशमा बन्दै गएको छ । त्यहाँ पनि नेपाली र नेपाल जोड्ने पत्रकारिता फस्टाइरहेको छ । त्यहाँको पत्रकारितासँग पनि जोडिएर धेरै प्रेस स्वतन्त्रताका सवालहरू सतहमा आउने अवस्था बन्दै गएको छ ।

आचार-संहिताभित्र रहेर गरिने पत्रकारिताभित्र पनि डरयुक्त संकोचले गर्दा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत गर्न नसकिएको अवस्था छ । यसतर्फ पनि सम्बद्व सबैले सोच्न जरुरी छ । साझा ढंगबाट आचार-संहिता निर्माण गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रयोग गर्न सक्ने गरी पत्रकारिता गर्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । 

युनेस्कोले हरेक वर्ष विभिन्न विषयवस्तु ‘थिम’मा रहेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ । यो वर्ष युनेस्कोले ‘अ प्रेस फर द प्लानेट: जर्नालिज्म इन द फेस अफ द इन्भाइरोमेन्टल क्राइसिस’ थिम दिएर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै छ । यस महत्त्वपूर्ण दिवसमा नागरिक अधिकारको विषय प्रेस स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक शुभकामना । 

सुरज भण्डारी

अध्यक्ष 

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

मे ३, २०२४ 





**********

विश्व प्रेस स्वतन्त्रता दिवशको अबसरमा शुभकामना ।

 
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबै पत्रकार मित्रहरूमा शुभकामना । प्रेस स्वतन्त्रता अपरिहार्य छ र यो प्रजातन्त्रको अर्थ, धर्म र मर्म पनि हो तर प्रेस स्वतन्त्रताका नाम अहिले फैलिइरहेको जसले जे भने पनि हुने, जे बोले पनि हुने, जे लेखे पनि हुने, पत्रकार र प्रेस कार्ड भिरे पछि जे गर्न पनि पाइने, पत्रकारिताका नाममा चलेको अलपत्रकारिता र अराजकता, समग्रमा मागी खाने भाँडो र ब्ल्याकमेलिङको आधार बनेको छाडा पत्रकारितालाई मर्यादित, विश्वसनीय बनाउँदै पत्रकारिताको धर्म निर्वाह गर्न सबै पत्रकार मित्रहरूमा चेत आओस् कामना पनि गर्न चाहन्छु । छापा पत्रकारिता देखी रेडियो, टेलिभिजन हुँदै अहिलेको अनलाइन पत्रकारिता सम्म आइपुग्दा, राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा संवाददाता देखी प्रधान सम्पादक सम्म भएर साढे तीन दशक बिताउँदै गर्दाको तीतो अनुभवका आधारमा माथिको कुरा भन्न मलाई कुनै अप्ठ्यारो लागेन । यसो भन्दै गर्दा पत्रकारिता क्षेत्रमा इमान्दारिता पूर्वक खटेका, पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्दै काम गरिरहेका पत्रकार अग्रजहरू, सहयात्रीहरू, जुनियरहरु प्रति भने म सधै सम्मान व्यक्त गर्दछु । सबैको जय होस । 

- रामप्रसाद खनाल, प्रधान सम्पादक - नेपाल मदर डट कम, अमेरिका  

******************   

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक