20240503

सत्तारूढ गठबन्धन खुकुलो बन्दै, तीव्र रूपमा असन्तुष्टि, गठबन्धन कतिखेर टुट्छ र नयाँ गठबन्धन बन्छ भन्न सकिन्न !

 सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको र नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । सत्तारूढ गठबन्धनका नेताहरूको तालमेल नमिल्दा गठबन्धन कतिखेर टुट्ने र नयाँ गठबन्धन बन्ने त्यसको टुंगो नभएका बेला यो भेटघाट भएको हो । सत्तारूढ गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन र सरकार बारेमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । परिस्थिति जटिल रहेको र छोटो समयभित्र गठबन्धन ‘ओल्टेकोल्टे’ गरेको बताउँदै केही दिनअघि मात्र अध्यक्ष नेपालले यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो नभएको टिप्पणी गरेका थिए । यस्तै, उनले वर्तमान गठबन्धनमा आफूले असहज महसुस गरेको समेत बताएका थिए ।

वर्तमान गठबन्धनबाट एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा) बाहिरिने अवस्था आएमा ‘कठोर’ कदम चाल्नसक्नेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सहमत छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा  गम्भीर छलफल गरेका प्रचण्ड र ओली आगामी दिनमा सत्तारूढ गठबन्धनमा आउनसक्ने दुर्घटनाका बारेमा कठोर निर्णयसमेत लिनबाट पछि नहटने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तापछि प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिएका थिए ।

पछिल्लो समय सत्तारूढ गठबन्धनबाट असन्तुष्ट रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सार्वजनिक कार्यक्रममै आफ्नो असन्तुष्टि पोख्दै आएका छन् । नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाउने गृहकार्य थालेको र त्यसमा एकीकृत समाजवादी पनि जानसक्ने बताइएको छ । एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेकका दलहरूलाई मिलाएर नयाँ गठबन्धन बनाउने गृहकार्यमा कांग्रेस रहेको छ ।

कांग्रेसभित्र सभापति देउवा एमाले, माओवादी र रास्वपाबाहेकको गठबन्धन बनाउने तयारीमा छन् भने कांग्रेसकै अर्का नेता शेखर कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू कांग्रेस र एमालेसहितको नयाँ गठबन्धन बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने लगायतका विकल्पका ’boutमा ‘कोठे बैठक’मा छन् ।

एमाले र माओवादी केन्द्रबाट असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कांग्रेस सभापति देउवाले प्रधानमन्त्री बन्नेगरी वैकल्पिक गठबन्धनमा सहभागी हुन आग्रह गरेको स्रोतको दाबी छ । सोही कारण वर्तमान गठबन्धनमा उकुसमुकुस भइरहेको बताउँदै नेपालले यो गठबन्धन जतिखेर पनि बदलिनसक्ने चेतावनी दिँदै आएका छन् । नेपालको पटकपटकको चेतावनी तथा असन्तुष्टि देउवाकै आडमा आइरहेको प्रचण्ड र ओलीको बुझाइ छ ।

प्रधानमन्त्री बन्न खोजेका नेपाललाई कुनै पनि हालतमा सरकारको नेतृत्व दिन नहुने भन्दै ओलीले अडान लिँदै आएका छन् । ओलीले प्रचण्डलाई समेत यस’boutमा प्रस्टसँग कुरा राखिसकेका छन् । प्रचण्डले पनि आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन खोजेको र ओलीको साथ पाएपछि नेपालको वास्ता गर्न छोडेको बताइएको छ ।

कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सिट जोड्दा १ सय ३८ सिट हुन्छ । जनमोर्चा र स्वतन्त्र सांसद पनि वैकल्पिक गठबन्धनमा सहभागी हुने आँकलन नेताहरूको छ । देउवाले संसद्भित्रको यही अंकगणितनुसार एमाले, माओवादी केन्द्र र रास्वपाबाहेकको गठबन्धन बनाउन खोजेका हुन् । -सुभाष साह

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक