20080915

प्रहरीको उच्चनेतृत्व तहमा अनुभवहीनहरूको भीड

छ महिनाका लागि गुरुङ आईजी

प्रधानमन्त्री निवासमा शनिबार अपरान्ह एमाले महासचिव झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमबीच वरिष्ठ प्रहरी अधिकृतहरूको म्याद थप्ने अथवा नथप्ने भन्नेबारे लामो छलफल भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई सहयोग गर्दै आएका ओमविक्रम राणालाई निरन्तरता दिउँ भन्ने प्रस्ताव अघि सार्नुभयो।
त्यस्तै, एमाले महासचिव खनालले पनि केशव बरालको मात्र म्याद थप्ने प्रस्ताव अघि सार्नुभएको थियो। तर गृहमन्त्री गौतमले एकजनाको मात्र म्याद थप्दा प्रहरी फोर्समा असन्तोष उत्पन्न हुन्छ भनेपछि राणा र बरालको म्याद थप्ने प्रस्ताव त्यत्तिकै तुहिएको थियो।
प्रधानमन्त्री दाहाल र महासचिव खनालले प्रस्ताव गरेका राणा र बरालको म्याद नथप्ने सहमति भएपछि गृहमन्त्री गौतमले एआईजी अमरसिंह शाहलाई आईजी बनाउने प्रस्ताव अघि सार्नुभयो। शाह गृहमन्त्री गौतमको नातामा सम्धी पर्छन्। शाहलाई आईजी बनाउने लगभग तय भइसकेपछि त्यसको सुइँको कृष्ण सेन इच्छुककी विधवा तक्मा केसीले पाउनुभयो। केसीले मेरा श्रीमान्को हत्यालाई कसरी आईजी बनाउँदा रहेछौ, म पनि हेर्छु, भनेर बालुवाटर पुग्नुभएको थियो। भ्याली डीआईजी हुँदा मेरा श्रीमान्लाई बोरामा हालेर कुटीकुटी मार्ने हत्यारलाई आईजी बनाउने हो भने म यहीँ धर्ना बस्छु भनेर केसीले अड्डी लिनुभएपछि प्रधानमन्त्री दाहालले शाहलाई आईजी नबनाउन गृहमन्त्रीसँग आग्रह गर्नुभएको थियो।
अन्ततः प्रधानमन्त्री दाहाल, महासचिव खनाल र गृहमन्त्री गौतमबीचको सहमतिअनुसार तीस वर्षे सेवा अवधि पूरा गरेका एघारजना उच्च प्रहरी अधिकृतहरूलाई हटाउँदै साढे ३१ वर्ष सेवा अवधि पूरा गरेका एआईजी हेमबहादुर गुरुङलाई आईजी बनाइएको छ। २०३५ साल असोज २ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका आईजी ओमविक्रम राणा, एआईजीहरू केशव बराल, कृष्ण बस्नेत, दीपक थाङ्देन, रूपसागर मोक्तान, देवीलाल तामाङ ३० वर्षे सेवा अवधि पूरा गरेका कारण रिटायर्ड हुने भएका छन्। ३० वर्षे सेवा अवधि पूरा गरेकालाई दुई वर्ष म्याद थप्ने अधिकार सरकारलाई छ।
तर यसपटक म्याद थप गरिएन। २०६३ फागुन ४ गते ३० वर्षे सेवा अवधि पुगेका एआईजी हेमबहादुर गुरुङ,
श्यामसिंह थापा, रमेश श्रेष्ठ र दीपेन्द्रबहादुर विष्टलाई पूर्ववर्ती सरकारले दुई वर्ष म्याद थपेको थियो। तीमध्ये गुरुङ आईजीपी भए उनको सेवा अवधि आगामी फागुनमा ३२ वर्ष पुग्नेछ। ठूलो संख्यामा एआईजी रिटायर्ड भएपछि रिक्त हुन आएको पदमा सरकारले डीआईजी रवीन्द्रप्रताप शाह र रमेश चन्द ठकुरीलाई बढुवा गरेको छ। उनीहरूभन्दा सिनियर कल्याण तिमिल्सेना र किरण गौतम बढुवामा परेनन्। तसर्थ, आगामी फागुनपछि शाह र ठकुरीमध्ये एकजना आईजीपी हुनेछन्। आईजीपी हुने दौडमा लागेका केशव बरालले दुईवर्षे पदावधि थप्नका लागि गरेको प्रयास विफल भएको छ। रिटायर्ड हुन लागेको समूहको भन्दा शाह र ठकुरीको पहुँच माओवादीभित्र बलियो भएका कारण पदावधि नथप्ने निर्णयमा सरकार पुगेको हो। जसका कारण प्रहरीको उच्चनेतृत्व तहमा अनुभवहीनहरूको भीड बढेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक