20081222

माओवादीहरूको कडा भर्त्सना !!!


माओवादीहरूले हिमाल मिडियामा गरेको आक्रमणको मिडिया सोसाइटी र सम्पादक सञ्जालले कडा भर्त्सना गरेका छन् । सबै सदस्य पत्रपत्रिकामा सम्पादकीय खाली राखेर यसको विरोध सुरु भएको हो । कान्तिपुर, दी काठमान्डू पोस्ट, अन्नपूर्ण पोस्ट, दी हिमालयन टाइम्स, नेपाल समाचारपत्र, राजधानी, हिमालय टाइम्स, कान्तिपुर टीभी, कान्तिपुर एफएम, इमेज च्यानल, इमेज एफएम, नेपाल एफएम, ई-कान्तिपुर डट कम, माइरिपब्लिका डट कम, दैनिकी डट कम, नेपाली टाइम्स र हिमाल खबरपत्रिकामा यस्तो विरोध सुरु भएको हो । 'हाम्रा मिडिया उद्योगमा सत्तारूढ दलका संगठित आक्रमण तत्काल नरोकिए यो बृहत् विरोध शृंखलाको पहिलो कार्यक्रम हुनेछ,' विज्ञप्तिमा भनिएको छ, 'हिमाल मिडिया र अन्य मिडिया हाउसमा भइरहेको शृंखलाबद्ध आक्रमणबाट मुलुकमा प्रेस स्वतन्त्रता, लोकतन्त्र र बहुलवादमाथिको गम्भीर खतरा अनुभूति भएको छ । यसका पीडकहरू चुनाव जितेका र सरकारको नेतृत्व गरिरहेका दलसंग सम्बद्ध समूह हुनु दुःखद छ ।'राष्ट्रिय पत्रिका, म्यागजिन, टीभी स्टेसन र रेडियोका प्रकाशक तथा सञ्चालकको संस्था मिडिया समाज र सम्पादक सञ्जालको मंगलबार भएको बैठकले सञ्चार माध्यममा भइरहेको हिंसात्मक आक्रमणलाई गम्भीर रूपमा लिएको हो । १२ जना घाइते हुने गरी हिमाल मिडियामा गरिएको आक्रमण मुलुकभरका पत्रपत्रिका, टीभी र रेडियो स्टेसनमा गरिएको शृंखलाबद्ध आक्रमण र धम्कीको पछिल्लो शृंखला बनेको छ । 'यो अति भयो भन्ने हामीले महसुस गरेका छौं,' विज्ञप्तिमा भनिएको छ । विरोध स्वरूप पत्रिकामा र समाचार साइटले खाली सम्पादकीयका साथै टीभी र रेडियो स्टेसनहरूले समाचार प्रसारणका क्रममा मुख्य समाचारको साटो सांकेतिक आवाजबाट सन्देश प्रदान गर्नेछन् । प्रकाशक तथा सम्पादकहरूले आइतबार हिमाल मिडियामा आक्रमण गर्नेहरूमध्ये पहिचान गरिएका दुई जनालाई तत्काल पक्राउ गर्न माग राखेका छन् । यस घटनामा सरकारले चाल्ने कदमबाट मिडियामाथिको 'आपराधिक' आक्रमणप्रति सरकार संवेदशील भए/नभएको पुष्टि हुने उनीहरूले बताएका छन् । उनीहरूले हिंसात्मक आक्रमणको उक्त घटना राजनीतिक रूपले प्रेरित रहेको उल्लेख गर्दै माओवादीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने माग राखेका छन् । साथै माओवादीबाट प्रेसमाथि आक्रमण नदोहोरिने विश्वासिलो प्रतिबद्धता र विधिको शासन कार्यान्वयन गर्न माग गरेका छन् ।
विज्ञप्तिमा मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहिया र सम्पादक सञ्जालका संयोजक कुन्द दीक्षितले हस्ताक्षर गरेका छन् ।



सरकार असफल बन्दै गएको टिप्पणी

एमालेका केन्द्रीय सदस्यहरुले माओवादीको व्यवहार र आचरणका कारण सरकार असफल बन्दै गएको टिप्पणी गरेका छन्।
आसन्न आठौं महाधिवेशनको तयारीबारे छलफल गर्न सोमबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्ने क्रममा उनीहरुले यस्तो बताएका हुन्। माओवादीले तत्काल आफ्नो व्यवहार सच्याएमा मात्र सरकारमा बस्न हुने नत्र सरकार छाड्न तयार हुनुपर्ने धारणा केन्द्रीय सदस्यहरुले व्यक्त गरेका थिए। बैठकमा हिमाल मिडीयाको कार्यालयमा आइतबार माओवादी समर्थित मजदुरहरुले गरेको आक्रमणको निन्दा गरिएको थियो। उक्त आक्रमणको भत्सर्ना गर्दै उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका छन्। महासचिव झलनाथ खनालको अध्यक्षतामा पार्टी मुख्यालय बल्खुमा बसेको बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन तथा आसन्न आठौँ महाधिवेशनमा महासचिव खनालद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनबारे छलफल भएको छ। साथै सोमबारको बैठकमा संगठन विभाग प्रमुख अमृत बोहराले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नुभएको तथा सरकारको कामकारबाही, शान्ति सुरक्षालगायतको अवस्थाका बारेमा पनि छलफल भएको बैठकमा सहभागी एमाले नेता केशव बडालले जानकारी दिनुभयो। आठौं महाधिवेशनबाट एमाले बहुपदीय प्रणालीमा जाने निश्चित भइसकेकोले संशोधित विधानमा पार्टीको सांगठनिक संरचना समेटिएको उहाँको भनाई छ। सरकारमा सम्मीलीत अर्को प्रमुख घटक एमाले आगामी फागुन ५ गतेदेखि १० गतेसम्म बुटवलमा आठौं महाधिवेशनको तयारीमा जुटेको छ।


पत्रकारको जुलुसमाथि हस्तक्षेप, केही पत्रकार घाइते


प्रेसमाथि माओवादी हस्तक्षेपको विरोधमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले सोमबार राजधानीमा निकालेको जुलुसमा प्रहरीले धरपकड गरी आधादर्जनलाई घाइते तुल्याएको छ। राजधानीको नयाँ बानेश्वरबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुग्दा पह्ररीले ब्यानर खोसी लाठीचार्ज गरेको हो। प्रहरीको लाठी प्रहारबाट महासंघका सचिव रामजी दाहालसहित अन्य केही पत्रकार घाइते भएका छन्। प्रहरीको लाठीबाट घाइते सचिव दाहालको अहिले राजधानीको बागबजारस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ। पत्रकारको जुलुसमाथि भएको हस्तक्षेपमा भएको झडपपछि माइतीघर क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो। प्रहरीले पत्रकारको जुलुस निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि नियन्त्रणका लागि बल प्रयोग गरेको जनाएको छ।
हिमाल मिडियाको हात्तीबनस्थित कार्यालयमा आइतबार माओवादीनिकट मजदुरहरुले तोडफोड एवं हातपात गरेको विरोधमा महासंघले प्रदर्शन गरेको हो। पछिल्लो समयमा सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारहरु माओवादीको निसाना बनेको र उनीहरुले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएकोमा सरकार मौन बसेको भन्दै महासंघ आन्दोलित भएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक