20090124

गिरिजालाई राष्ट्रपति बन्न प्रचण्डको प्रस्ताव

"राष्ट्रपति पद खोसेर कम्युनिस्टकै हातमा लैजाने दुराशयको कडी"

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फकाउन माओवादी नेतृत्वले नयाँ पहल सुरु गरेको कांग्रेस सूत्रले उल्लेख गरेको छ। सूत्रका अनुसार, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेस सभापति कोइरालालाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको छ। गत शनिबार प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री कोइरालालाई भेट्दा यस्तो प्रस्ताव गर्नुभएको दाबी गर्ने सूत्रले सो प्रस्तावप्रति कोइरालाको कस्तो प्रतिक्रिया रह्यो भन्ने चाहिँ बताउन चाहेन।
प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै सूत्रले बतायो– 'हिजो जेजे भएका छन् सबैले बिर्सौं। हामीबाट पनि गल्ती भए, तपाईंहरुबाट पनि गल्ती भए। तर, तपाईं समकालीन राजनीतिमा 'टावर पर्सनालिटी' र शीर्षनेता हुनुभएकाले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र नयाँ गणतान्त्रिक संविधान बनाउन तपाईंको सहयोगविना असम्भव प्राय रहेकाले तपाईं राष्ट्रपति बनिदिनुहोस्।' नेता कोइरालालाई राष्ट्रपति हुनका लागि वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई राजीनामा गराउनुपर्ने कोइरालाले भन्दा राष्ट्रपतिले मान्ने र यसरी रिक्त रहन गएको राष्ट्रपति पदमा माओवादी र एमालेको समर्थनमा उहाँ (गिरिजाप्रसाद) लाई राष्ट्रपतिमा निर्वाचित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको सूत्र बताउँछ। यस क्रममा उहाँ (प्रधानमन्त्री)ले माधवकुमार नेपाललाई संविधानसभामा छिराउन सभासद् सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएको उदाहरण प्रस्तुत गर्नुभएको थियो। सभापति कोइरालाले राष्ट्रपति बन्न मन्जुर गरेमा राष्ट्रिय सहमति कायम हुने र बहुमतीय प्रणालीमा फसेको राजनीति सहमतीय प्रणालीमा फर्किने तर्क पनि प्रधानमन्त्रीले कांग्रेस सभापति कोइरालासमक्ष राख्नुभएको सूत्र बताउँछ। सूत्रले यतिसम्म बताएको छ कि प्रधानमन्त्री दाहालले कांग्रेस सभापतिसमक्ष राख्नुभएको यो नयाँ प्रस्तावले कोइराला क्याम्पमा निकै उत्सुकता र हलचल ल्याएको छ, प्रसस्त चर्चापरिचर्चा सुरु भएको छ। र, सम्भवतः यो नयाँ प्रस्तावलगायत अन्य विषयमा समेत विचारविमर्शका लागि कांग्रेसले नेतृ एवं विदेश विभाग प्रमुख सुजाता कोइराला नयाँदिल्लीतिर लाग्दै हुनुहुन्छ। तर एकथरि कांग्रेसीजनले प्रधानमन्त्रीको सो प्रस्ताव गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने नभई कांग्रेसका हातमा रहेको राष्ट्रपति पद खोसेर कम्युनिस्टकै हातमा लैजाने दुराशयको कडी हुने आशंका व्यक्त गरेका छन्। केही अघिसम्म अनिश्चय र अस्थिरताको चक्रव्यूहमा फसेको प्रचण्ड नेतृत्वको वर्तमान सरकार अहिले क्रमशः अनुकूल अवस्थामा फर्किंदै गएको छ। माधवकुमार नेपालले अनायास संविधानसभामा प्रवेश गरेपछि एमाले सत्ताबाट बाहिरिने खतरा टरेको छ भने कांग्रेसका अमरेशकुमार सिंहले 'टि्रट' गरेपछि मधेसी जनअधिकार फोरम पनि फुट्नबाट जोगिदै उपप्रधानमन्त्रीको पार्टीमा रूपान्तरण हुने भएको छ। अब रामवरण यादवको राष्ट्रपतिको पगरी गिरिजाप्रसाद कोइरालालाई लगाइदिन पाए प्रचण्डसत्ता अकण्टक र अभेद्य बन्ने विश्वास माओवादीको रहेको छ। -Bharat Roka Chhetry/Nepalipatra eu.

Ram Prasad Khanal's nepali folk song "America Green Card Ko Khel"


माओवादीसँग अनैतिक गठबन्धन नगर
- रामकुमारी झाँक्री, अध्यक्ष- एमाले अखिल

एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष रामकुमारी झाँक्रीले आफ्ना पार्टी कार्यकर्तामाथि आक्रमण गर्ने पार्टीसित सरकारमा बसेर अनैतिक कार्य नगर्न एमाले नेतृत्वलाई आगह गरेकी छन्। आफ्ना पार्टी कार्यकर्ता र विद्यार्थीमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमण रोक्न पार्टीलाई आग्रह गर्दै उनले भनिन्, ´आफ्ना पार्टी कार्यकर्तामाथि यस्तो ज्यादतीपूर्ण व्यवहार गर्नेसँग मिलेर सरकार चलाउनु अनैतिक गठबन्धन गर्नु हो।´ उनले भनिन्, ´कि हत्या हिंसाको श्रृंखला बन्द हुनुपर्‍यो, कि पार्टी प्रतिपक्षमा बस्न तयार रहनुपर्‍यो।´
यसैबीच सत्तारूढ दोस्रो ठूलो दल नेकपा एमालेका महासचिव झलनाथ खनालले एकीकृत नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारबाट आफ्नो पार्टी बाहिरिन सक्ने चेतावनी दिएका छन्।
माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) ले पृथ्वीनारायण क्याम्पस पोखरामा बुधबार गरेको आक्रमणमा घाइते भएर राजधानीस्थित शिक्षण अस्पतालमा उपचाररत एमाले अखिलका कार्यकर्तासितको भेटपछि खनालले आफ्ना कार्यकर्तामाथि श्रृंखलाबद्ध आक्रमण नरोकिए माओवादीसँगको गठबन्धनबारे एमालेले पुनर्विचार गर्ने चेतावनी दिएका हुन्।
क्याम्पसभित्रै प्रवेश गरेर विद्यार्थी कुट्नेहरूलाई जुनसुकै पार्टीसँग सम्बन्धित भए पनि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै खनालले भने, ´सरकारमा बसेपछि आफ्नो मर्यादाभित्र रहेर काम गर्नुपर्छ। माओवादीको भातृ संगठनबाट भएको यस्तो क्रियाकलापको एमाले घोर भर्त्सना गर्दछ।´


'चाँदनी चोक टु चाइना' का निर्माता रोहन सिप्पीले माफी मागे

मन्त्रिपरिषद्को निर्णयबाट प्रदर्शनीमा रोक लगाइएको विवादास्पद हिन्दी चलचित्र 'चाँदनी चोक टु चाइना' का निर्मातामध्येका एक सीपी फिल्म्सका रोहन सिप्पीले माफी मागेका छन् । 'फिल्मको एक दृश्यमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख भएकामा नेपालमा उक्त भनाइलाई गलत बताइएको छ,' निर्देशकसमेत रहेका सिप्पीले भने, 'नेपालका जनताको भावनामा चोट पुर्‍याउनु हाम्रो उद्देश्य थिएन ।' उक्त गल्तीले हुन गएको क्षतिप्रति सर्तरहित रूपमा क्षमा मागेको उनले समाचार संस्थालाई जनाएका छन् । काठमाडौंका आधा दर्जन हलमा चलिरहेको 'चाँदनी चोक टु चाइना' विद्यार्थी संगठन, चलचित्र कलाकार र युवा समूहको विरोधपछि बिहीबार प्रदर्शनीमा रोक लाइएको थियो । हलिउडको वार्नर ब्रोज र बलिउडको सिप्पी फिल्म्सले बनाएको उक्त चलचित्रमा अक्षय कुमार, दीपिका पोडुकोन र मिथुन चक्रवर्तीको अभिनय छ । चलचित्र दिल्लीको चाँदनी चोकका सब्जी काट्ने सिधु -अक्षय कुमार) को कथा हो जो प्रगति गर्न चाहिरहेको हुन्छ । यस्तैमा चीनबाट आएका दुई व्यक्तिले उसलाई युद्धको नायकको रुपमा चीन लैजान्छन् ।

January 24 headlines in Nepali dailies

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक