20090129

"१२ बुँदे समझदारी भारतको पहल, सहयोग र सल्लाहमा" : कार्यवाहक भारतीय प्रधानमन्त्री

भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले भारतको सहयोग र सल्लाहमा माओवादी बन्दुक र हिंसाको राजनीति छाडी सरकारको नेतृत्वसम्म पुगेको बताएका छन् । दोहास्थित अरबिक अल जजिरा टेलिभिजनलाई बुधबार दिएको लामो अन्तर्वार्तामा उनले भारत छिमेक र विश्वमा शान्ति कायम गर्न प्रयासरत रहेको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रिया त्यसको उदाहरण भएको बताएका हुन् । माओवादी र राजनीतिक दललाई निरंकुश राजतन्त्रविरुद्ध आन्दोलनको आधार तय पार्ने १२ बुँदे समझदारीमा आफ्नोसमेत प्रयास रहेको उनले बताए । दिल्लीमा भएको उक्त समझदारीमा भारतले समेत सहयोग गरेको भए पनि भारतीय उच्च सरकारी अधिकारीबाट औपचारिक रूपमा स्वीकार गरिएको थिएन ।
मुम्बई आक्रमणपछिको अवस्थामा बढी केन्द्रित अन्तर्वार्तामा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका मुखर्जीले विश्व मानचित्रमा भारतको बढ्दो प्रतिष्ठाका रूपमा नेपालप्रतिको भूमिकालाई प्रस्तुत गरेका छन् । 'वास्तवमा इमान्दार प्रयासमा हामी नजिकका छिमेक र विश्वमा समेत शान्तिलाई निरन्तरता दिन चाहन्छौं,' उनले अन्तर्वार्तामा भनेका छन्, 'म तपाईंलाई उदाहरण दिँदैछु, जब हाम्रो एक हिमालयन छिमेक नेपालमा समस्या थियो, हामीले बन्दुक र हिंसालाई माध्यम बनाएको माओवादी हिंसा त्याग्न लगाई र अन्य राजनीतिक दललाई समेत मिलाई उनीहरूलाई राजनीतिक गतिविधिको मूलधारमा सहभागी हुन सम्झायौं ।'
भारतको त्यस्तो पहललाई नेपालका माओवादी र राजनीतिक दलले मानेर सम्झौता गरेको मुखर्जीले बताए । 'उनीहरू सहमत भए, उनीहरूले हाम्रो सल्लाह सुने र अहिले अन्य राजनीतिक दलसमेत मिली सरकार बनेको छ । माओवादी त्यसको नेतृत्व गरिरहेका छन्,' मुखर्जीले भनेका छन् । भारतको बढ्दो विश्व प्र्रतिष्ठालाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा उनले नेपाल, सार्क र आसियनको सन्दर्भ उठाएका छन् । 'सहयोगी र साथीका रूपमा हामी प्रस्तुत भइरहेका छौं र हामी उनीहरूविरुद्ध केही लाद्न खोजेका छैनौं,' उनले भनेका छन्, 'हामी विकासका साझेदार हुन चाहन्छौं ।' - कान्तिपुर

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक