20090128

माधवकुमार नेपालको मानसिक सन्तुलन गुमेको प्रचण्डको घोषणा !!! ???


प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका शीर्षस्थ नेता एवम् संविधानसभा संवैधानिक परिषद्का अध्यक्ष माधवकुमार नेपालको मानसिक सन्तुलन गुमेको घोषणा गर्नुभएको छ। गत सोमबार बिहान रेडियो नेपालको समय सन्दर्भ कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले घोषणा गर्नुभयो, 'माधव नेपालजीको मानसिक सन्तुलन गुमिसकेको छ र उहाँका अभिव्यक्तिहरू आपराधिक छन्।' यसो भनिरहँदा उहाँले मानसिक सन्तुलन गुमिसकेको व्यक्तिलाई संविधान निर्माणजस्तो संवेदनशील कार्यका लागि विशेष जिम्मेवारी किन दिइएको हो सो भने खुलाउनुभएन।
उहाँले नेपालमाथि यस्तो टिप्पणी गर्नुको कारण भने माधव नेपालले यसै साता माओवादी भ्रातृ संस्थाको उच्छृङ्खल व्यवहारलाई लिएर दिनुभएको अभिव्यक्तिलाई लिएर हो। पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीसँगको भिडन्तमा घाइते भई अस्पतालमा भर्ना भएका अनेरास्ववियुका कार्यकर्ताहरूलाई भेट्ने र उनीहरूको अवस्था बुझ्ने क्रममा घाइतेहरूको दारुण अवस्था देखेर दुःखी एवम् आक्रोशित हुनुभएका नेपालले आक्रमणकारीहरूलाई 'अपराधी' भनी आलोचना गर्नुभएको थियो। उहाँले वाईसीएललगायत माओवादीको भ्रातृ संस्थाका कार्यकर्ताहरूलाई आपराधिक जत्था भनेर टिप्पणी गर्दै तिनलाई हथकडी लगाएर जेलमा थुन्नुपर्ने बताउनुभएको थियो।

चैत महिनासम्म राज्यका सम्पूर्ण निकायमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने : तीन महिनापछि सत्ता कब्जा

- निरन्तर शर्मा
एकीकृत नेकपा माओवादीले जसरी पनि सत्ताबाहिर नबस्ने नयाँ रणनीति बनाएको छ। सरकार सञ्चालनको पाँच महिना असफल सिद्ध भएपछि माओवादीले चैत महिनासम्म राज्यका सम्पूर्ण निकायमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने रणनीति बनाएको हो। गत आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा गरेको सम्बोधन सत्ता–रणनीतिको पहिलो खुट्किलो भएको माओवादी वरिष्ठ नेताहरूले दाबी गरेका छन्। आफ्नो सत्ता–रणनीति सफल हुने वा नहुने भन्ने कुराको परीक्षण तीन महिनाभित्रै हुने निष्कर्ष माओवादीका नेताहरूले निकालेका छन्। 'तीन महिनामा सुधार गर्न खोजिनेछ, यदि सकिएन भने त्यसपछि सम्पूर्ण सत्ता कब्जा गरेर आमूल परिवर्तन गर्ने स्टेप चालिने छ,' माओवादीका एक वरिष्ठ नेताले घटना र विचारसँग भन्नुभएको छ।
'अब नयाँ कामका बारेमा बोलिन्छ, त्यसपछि तत्काल निर्णय गरिन्छ र लागू गरिन्छ,' माओवादीको सत्ता–रणनीतिका बारेमा नाम नछाप्ने सर्तमा एक पोलिटब्युरो सदस्यले भने, 'सरकारका तर्फबाट गर्ने निर्णय लागू गर्छौँ, त्यहाँ अवरोध भए सडक तताउँछौँ र सडकबाट नयाँ घोषणा गर्छौँ।'
सरकार सञ्चालनको पाँच महिनामा तीन्ा पक्ष टुटेको निष्कर्ष माओवादीको छ। माओवादी उच्च स्रोतका अनुसार सरकारका राम्रा कामको समर्थन सडकबाट हुन नसक्न्ाुले पनि सरकार सफल हुन नसकेको पहिलो निचोड उसको छ। दोस्रो, व्यवस्थापिका संसद् एवम् संविधानसभामा काङ्ग्रेस तथा तराईका क्षेत्रीय दलहरूले घेराउ गरेका कारण पनि सरकार असफल हुन नसकेको निचोड माओवादीले निकालेको छ। विगतमा आफूले पनि सदन घेर्ने गरेको स्मरण गर्दै माओवादीले त्यसलाई गलत भने निचोड निकालेको छैन्ा। राजतन्त्र फाल्ने बेलासम्म कायम भएको दलहरूबीचको समझदारी टुटेको तर नयाँ समझदारी नबनेका
कारण पनि सरकार अप्ठेरोमा परेको निचोड माओवादीको छ। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा र आइतबारको सम्बोधनमा पनि नयाँ समझदारीको आवश्यकतामा जोड दिएका छन्। 'हाम्रो निष्कर्ष नै प्ा्रधानमन्त्रीले भन्नुभएको हो,' माओवादी उच्च स्रोतले जानकारी दियो। तर, तिनै अभावभित्र आफ्नो कमजोरी के हो त भन्नेबारेमा माओवादी मौन छ। बजेटबिना नै गर्न सकिने सुशासन, अनियमितता, महँगी नियन्त्रणलगायतका दर्जनौँ काम गर्न नसकेको वा नचाहेको आफ्नो कमजोरीलाई भने माओवादील्ो सहयात्री एवम् विपक्षी दल, तथा विदेशी मुलुकहरूप्रति खन्याइदिएको छ।
स्रोतका अनुसार अब तीन महिनामा पनि 'राम्रा' काम गर्न नसके आफ्नो राजनीतिक भविष्य नै खतरामा पर्ने निष्कर्ष माओवादीको छ। 'अब चैतसम्म पनि यस्तै चाला हो भने फेल भइन्छ,' माओवादीका एक शीर्ष नेताले भन्नुभयो, 'तर, अहिलेसम्म फेल भइएको छैन भन्ने नै मूल्याङ्कन छ।'
सरकारमा गएपछि अन्तर्राष्ट्रिय जगत्सँग सम्बन्ध सुधार भएको एवम् नेपालका सुरक्षालगायत संवेदनशील राज्यसंयन्त्र बुझ्न सफल भएकोले यो अवधिलाई माओवादीले महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ। माओवादीको निष्कर्ष यो पनि छ, 'माओवादी सरकारमा गएपछि प्रतिक्रान्ति टरेको छ। प्रतिक्रान्तिका लागि भड्किनबाट नेपाली सेनालाई ब्लक गर्न सकिएको छ।' तर, सेनाको नियमित भर्ती रोक्न रक्षामन्त्री रामबहादुर थापा बादल असफल भएकोचाहिँ माओवादीले स्वीकार गरेको छ। सेनाप्रति माओवादीको वास्तविक धारणा बताउँदै एक वरिष्ठ नेताले भने, 'अहिले नेपाली सेनाको कमान्डर कोही छैन, उसले हामी (प्रधानमन्त्री र रक्षामन्त्री) लाई पनि मानेको छैन। त्यसकारण अहिले हामीले छाड्यौँ भने उसको आडमा राजा अगाडि आउन सक्छन्। त्यो स्टेप ब्लक गर्न पनि हामी सरकारमै बस्नुपर्छ।'
माओवादीले आफ्नो दीर्घकालीन रणनीतिअनुरूप नै तीनमहिने एकता जागरण तथा विकास अभियान सञ्चालन गर्ने भएको छ। र, त्यसलाई नै माओवादीले जीवनमरणको सवाल भनेको छ। भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजले झैं सरकारी विकास अभियानमा कार्यकर्ता परिचालन गर्ने र स्वयम् प्रधानमन्त्री परिचालित हुने नयाँ रणनीतिले जनतालाई आश्वस्त्ा पार्न सकिनेमा माओवादी ढुक्क देखिएको छ।
तर, बिनातयारीको प्रधानमन्त्रीको घोषणाप्रति प्रधानमन्त्री प्रचण्ड स्वयम् भने आश्वस्त हुन नसकेको बताइन्छ। आफू निकटका केही बुद्धिजीवीहरूलाई अस्ति सोमबार बालुवाटार बोलाएका प्रधानमन्त्री सिरियस नभएको एक भेटमा सहभागी एक बुद्धिजीवीले बताए। उनका अनुसार प्रधानमन्त्रीले भन्नुभयो, 'मैले देशवासीका नाममा घोषणा त गरेँ, तर त्यसअनुरूपको तयारी नै भएको छैन। त्यसकारण कार्यान्वयन हुन अलि समय लाग्ला।'
माओवादीले सरकारका कदम कार्यान्वयन नभएमा सडकबाट पनि दबाब दिने रणनीति बनाएको छ। सुरुमा सरकारले आफ्नो कार्यक्रम सार्वजनिक गर्ने, त्यसको पक्षमा सदनबाट माहोल बनाउने र कार्यान्वयनका लागि सडकबाट दबाब दिने माओवादीको योजना छ। 'तर सडकको मागबमोजिम कार्यान्व्ायन गर्न दिइएन भने सडक झन् तताइनेछ र सडक तातिरहेका बेला सरकारबाट हटेर सडकबाटै सत्ता कब्जा गरिनेछ,' माओवादीका एक शीर्ष नेताले भने, 'अब हामी जनयुद्ध सुरु भएको बेलामा जस्तै दबाबमूलक शान्तिपूर्ण स्टेप चाल्दैछौँ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक