20090210

माओवादीका पोलिटब्युरो सदस्य एवं प्रधानमन्त्रीका सचिव बस्नेतमाथिको आक्रमणमा भारतको हात रहेको आरोप


सत्तारुढ एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथिको आक्रमणमा भारतको हात रहेको आरोप लगाएका छन्।
आक्रमणको विरोधमा मंगलबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनको भनाई थियो-´बस्नेतमाथिको आक्रमण नेपालमा नयाँ संविधान बन्न नदिने षड्यन्त्रको शृंखला हो नेपाली जनताले यसको मुकाबिला गर्नेछन्।´ उनले माओवादीविरुद्ध यस्तै षड्यन्त्र भएमा नेपालमा अब अन्तिम विद्रोह हुने र त्यसको नेतृत्व माओवादीले गर्ने पनि बताए। संविधानसभाका सभासदसमेत रहेका विश्वकर्माले जनताको संविधान बनाउन माओवादीले हतियार उठाउने तर त्यो हतियार संविधानसभा हुने बताए। उनले माओवादीले सुरु गरेको जनक्रान्ति अझै नटुंगिएको पनि बताए। उनले भने- ´जबसम्म शोषित पीडित जनता राज्यसत्ताको मालिक बन्दैनन् तबसम्म माओवादीको जनक्रान्ति जारी रहन्छ।´ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं सभासद् मायाप्रसाद शर्माले प्रतिगामीहरुले माओवादीलाई गोली हानेर तर्साउने असफल प्रयास गरेको बताउँदै त्यसविरुद्ध नेपाली जनतालाई एकजुट हुन आह्वान गरे ।
यसैबीच एकीकृत माओवादीको वीरेन्द्रनगरमा चालू भेरी-कर्णाली राज्य समितिस्तरीय कार्यकर्ता प्रशिक्षणमा पार्टी नेतृत्व विलासी र सुविधाभोगी भएको भन्दै चर्को आलोचना भएको छ। स्रोतका अनुसार कार्यकर्ताले सरकारमा सहभागी नेताहरु जनयुद्धको धरातल बिसे्रर सुखसयलमा मस्त भएको आरोप लगाए। कार्यकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहालका लागि खरीद गरिएको एक करोडको गाडी पनि आलोचनाको केन्द्र बनेको प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले बताए।
भेरी र कर्णालीका करिब एक हजार कार्यकर्ता सहभागी उक्त कार्यक्रममा पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री रामबहादुर थापा, अर्का सचिवालय सदस्य नेत्रविक्रम चन्द र पोलिटब्युरो सदस्य खड्कबहादुर विश्वकर्मालगायतले प्रशिक्षण दिएका छन्।
यसैबीच माओवादीका प्रवक्ता दिनानाथ शर्माले प्युठानको प्रहरी चौकीदेखि राजधानीमा प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि भएका आक्रमणलाई आफ्नो पार्टीलाई असफल पार्न गरिएका षड्यन्त्रको संज्ञा दिएका छन्।
राजधानीको सिंहदबार परिसरमा मंगलबार अपराह्न साचारकर्मीहरुसित कुराकानी गर्दै उनले देशीविदेशी प्रतिक्रियावादी र यथास्थिति तत्वबाट संविधानसभाबाट नयाँ संविधान निर्माण हुन नदिन तथा आफ्नो पार्टीको नेतृत्वको सरकारलाई असफल बनाउन नियोजितरुपमा त्यस्ता आक्रमण भएको दाबी गरे। उनले आक्रमणको भत्सर्नासमेत गरे।
´प्युठानमा प्रहरी चौकीदेखि राजधानीमा प्रधानमन्त्रीका स्वकीय सचिवमाथि भएका श्रृंखलाबद्ध आक्रमणलाई हामीले देशीविदेशी यथास्थिति र प्रतिक्रियावादी तत्वको षड्यन्त्रको एउटा कडीका रुपमा लिएका छौं´ उनले भने।
शर्माले देशीविदेशी यथास्थिति र प्रतिकि्रयावादी तत्व को हुन् भन्ने खुलाएनन्। उनले समयमा संविधान बनाउन नचाहने शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्‍याउन नदिने र अस्थिरतामा आफ्नो राजनीतिक रोटी सेकाउन चाहनेहरुबाट माओवादीलाई असफल बनाउन नियोजित रुपमा त्यस्तो षड्यन्त्र भएको दाबी गरे।
उनले ओखलढुंगामा एमालेले माओवादी जिल्ला पार्टी कार्यालयमा आक्रमण गरेको आरोप लगाए। उनले ओखलढुंगालाई माओवादी निषेधित क्षेत्र बनाउने भन्दै एमालेले आक्रमण गरेको दाबी गर्दै उनले कुनै जिल्लालाई कुनै राजनीतिक दल निषेधित क्षेत्र बनाउँछु भन्नु लोकतान्त्रिक मान्यताविपरीत हुने बताए।-दैनिकी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक