20090213

"आन्तरिक विषयमा बोल्न मिल्दैन, त्यसबारेमा जहाँ कुरा गर्नुपर्ने हो त्यहाँ कुरा गर्छु"

- प्रधानसेनापति रुक्मांगत कटवाल

प्रधानसेनापति रुक्मांगत कटवालले राष्ट्रिय सेनालाई राजनीतिक विवादमा ल्याइएमा मुलुक, सरकार र कसैको हितमा नहुने बताएका छन्। संविधानसभाको राष्ट्रिय हित संरक्षणसम्बन्धी समितिको शुक्रबार बसेको बैठकमा बोल्दै उनले राष्ट्रिय सेनाका रुपमा रहेको नेपाली सेनालाई राजनीतिक विवादभन्दा माथि राख्नुपर्ने बताए। समितिलॆ नयाँ संविधानमा राष्ट्रिय सेनाको भावी स्वरुप कस्तो बनाउने भन्नेबारेमा छलफल गर्न सेना प्रमुखलाई बोलाएको हो। ´राष्ट्रिय सेनालाई राजनीतिक विवादमा ल्याउनु राम्रो होइन। विवाद ल्याइएमा राज्य सरकार र कसैलाई पनि राम्रो गर्दैन। सेनालाई राजनीतिक विवादभन्दा माथि राख्दा नै राष्ट्रिय हिताको जगेर्ना हुन्छ´ कटवालले भने। संविधानसभाले नयाँ संविधान निर्माण गर्दा मुलुकको राजनीतिक र शासकीय स्वरुप जस्तो बनाउँछ, त्यसलाई नेपाली सेनाले सहर्ष स्वीकार गरेर अघि बढ्ने प्रधानसेनापति कटवालले बताए। उनले सरकारबाट गरिने हरेक निर्णयको पालना सेनाले गर्दै जाने जानकारी दिए। ´सरकारले जे निर्णय गर्छ त्यसको सेनाले पालना गर्छ´ उनले भने ´नेपाली सेना आफू खुसी कहिल्यै बाहिर निस्किएको छैन। कतै साँध सिमाना मिचियो भने उफ्रने होइन।´प्रधानसेनापति कटवालले नेपालमा सैनिक शासन लागू हुन नसक्ने बताए। ´नेपालमा कहिल्यै पनि आर्मी शासन लागू हुन सक्तैन र हुनेवाला पनि छैन´ उनको भनाइ थियो। समितिका सदस्यहरुले सैन्य भर्नाका सम्बन्धमा रक्षा मन्त्रालय र जंगी अड्डाबीच भइरहेको विवादका बारेमा जिज्ञासा राखेका थिए। ´राष्ट्रिय सेनाका भावी स्वरुपबारे छलफल गर्न बोलाइएको यो बैठकमा त्यो आन्तरिक विषयमा बोल्न मिल्दैन। त्यसबारेमा जहाँ कुरा गर्नुपर्ने हो त्यहाँ कुरा गर्छु´ उनले भने।उनले सेनाद्वारा तयार पारिएको मूल नीति र राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा समितिलाई दिएका छन। मस्यौदामा अन्तरिम संविधान २०६३ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्तलाई आधार मानी राजनीतिक साधन परिचालन कानुन न्याय तथा मानव अधिकार समाज कल्याण परराष्ट्र विभिन्न विषयमा नीति बनाइएको छ। उनले पेस गरेको मूल नीति र सुरक्षा नीतिको मस्यौदाप्रति आपत्ति जनाउँदै केही सभासद्ले भने ´देशकै मूल नीति सेनाले दिनु कति उचित हुन्छ।´ जवाफमा कट्वालले भने ´सेनाले गर्नुपर्छ भनेर होइन राय सल्लाह भनेर ल्याएको हो।´आफ्ना सहयोगी चार जना वरिष्ठ जर्नेलसहित बैठकमा पुगेका उनले सभासदका जिज्ञासामा अत्यन्त सटिक र छोटो जवाफ दिएका थिए। सेना भर्ना विवादमा सभासद्ले सोधेको प्रश्नमा उनले भने ´यो आन्तरिक कुरा हो जहाँंछलफल गर्नुपर्ने हो त्यहीँ गर्छौ, यो छलफल गर्ने ठाउँ होइन।´उनको जवाफ दिने शैलीप्रति टिप्पणी गर्दै समितिका सभापति शेरचनले भने ´उहाँले त पत्रकारिता पढेजस्तै जवाफ दिनुभयो नि ?´ सभासद्हरुले सेना भर्ना विवादलगायत समसामयिक विषयमा प्रश्न राखेका थिए। सभासद्ले राय सुझाव दिन आएका कटवालले आफूहरुलाई प्रशिक्षण दिन खोजेको भन्दै आपत्ति प्रकट गरे। प्रतिउत्तरमा उनले सेनाले शासनसत्तामा जस्तो परिवर्तन भए पनि त्यसलाई मान्ने जनाउँदै भने ´बढ्ता भन्नु केही छैन। प्रशिक्षक बन्न आएको होइन।´ सिंहदरबार र सैनिक मूख्यालयको दुरी बढेको भन्ने सभासद्को जिज्ञासामा उनले भने ´सेना र सिंहदरबारबीच धागो जति पनि दूरी छैन। हाम्रो नैतिकता र इमानदारी कति छ भन्ने छाती चिरेर देखाउन सक्दिन।´सेनाले नागरिक सर्वोच्चताका बारेमा प्रश्न नउठाउने उनले स्पष्ट पारे। परिवर्तनको चाहनालाई कदर गरेर नै राष्ट्रिय झण्डा समातेर बस्ने कसम खाएर आएको उल्लेख गर्दै उनले भने ´शान्तिको समयमा सेना भविष्यमा हुन सक्ने क्रान्तिको प्रतिकार गर्न तयारी गरेर बस्छ।´द्वन्द्वकालमा सेनाद्वारा बिच्छ्याइएका बारुदी सुरुङ धेरैजसो हटाइसकिएको उनले जानकारी दिए। संयुक्त राष्ट्रसंघसँग मिलेर योजनाबद्धरुपमा काम भइरहेको जनाउँदै उनले भने ´कतै बाँकी छ भने यसप्रति सजग र्छौ।´-हरिहर योगी

तिम्रा बाउको बिर्ता होइन !!!
गणेश खड्का ” प्रतिक्षा “


जहिले पनि झुक्नु पर्ने नेपालीको शिर‘ता होइन

उर्वर भूमि मेची-काली बन्कर खेल्ने भिर‘ता होइन

खेल चलाउँछौ मर्ने-मार्ने आफु चाहिँ लुकी-लुकी

तिमी आफैँ मरे पनि अब कुनै पिर‘ता होइन

अधिकार हो शान्तिपूर्वक बाँच्न पाउने सबै जनको

लड्यौं, लियौं, राख्छौं आफैँ अब फेरी फिर्ता होइन

नेपाल आमा, आफ्नी आमा, दुबै आमा बराबरी

यी आमाको इज्जत कुनै द्रौपदीको चिर‘ता होइन

रणभूमि किन पार्छौ शान्तिभूमि नेपाललाई

देश हामी सबैको हो तिम्रा बाउको बिर्ता होइन ।

तिवारी भञ्ज्याङग-४, भोजपुर

हाल : भिक्टोरिया (सिसेल्स) ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक