20090222

माओवादी जनसेनालाई नेपाली सेनासरह हेलिकोप्टरको माग, युद्ध कलेज र 'वार' कलेज खोल्दै !!!

माओवादी जनमुक्ति सेनाले स्टाफ कलेज र 'वार' कलेज सञ्चालन गर्ने भएको छ । जनसेनालाई नेपाली सेनासरह व्यावसायिक बनाउन कलेज सञ्चालन गर्न लागिएको उसले जनाएको छ । १४ भागको पाठ्यक्रम, सहरी युद्धसमेत समेटिने 'जनमुक्ति सेनालाई दक्ष बनाउन काठमाडौंमा स्टाफ कलेज सञ्चालन गर्ने तयारीमा छौँ,' जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेवले भने । बलदेवका अनुसार जनसैन्य प्रतिष्ठानले तयार गरेको पाठ्यक्रम स्टाफ कलेजमा पढाइनेछ । 'वार कलेजको अवधारणा पनि लागू गर्ने हाम्रो योजना छ,' उनले भने, 'स्टाफ कलेजमा सैद्धान्तिक कुरा मात्रै सिकाइन्छ, तर वार कलेजमा सैद्धान्तिक र व्यावहारिक दुवै ।' जनयुद्धकालमै वार कलेजको कोर्स तयारी भएको उनको भनाइ छ । नन्दकिशोर पुन पासाङको नेतृत्वमा रहेको जनसैन्य प्रतिष्ठानले १४ भागको वार कलेज कोर्स तयार गरेको छ । त्यसमा सहरी युद्धको समेत पाठ्यक्रम समेटिएको बलदेवले जानकारी दिए । प्रतिष्ठानको केन्द्रीय कार्यालय नवलपरासीको हात्तीखोरस्थित चौथो डिभिजनअन्तर्गतको परिवर्तन स्मृति बि्रगेडमा रहेको छ । छापामार युद्ध सञ्चालन, चलायमान मोर्चा र त्यसको विकसित स्वरूप, सानो टुकडीले कसरी आक्रमण गर्नेलगायतका विषय कोर्समा समेटिएको उनले बताए ।बलदेवका अनुसार वार कलेज कोर्स जुनियर अधिकृत र जनसेनाका सदस्यका लागि तथा स्टाफ कलेज कोर्स बि्रगेड, सहकमान्डर र त्यसभन्दा माथि डिभिजन कमान्डरसम्मका लागि हुनेछ । 'हामीले अफिसर कोर्स, इन्फेन्ट्री कोर्स, सप्लाइ कोर्स, निर्माण कोर्स, लजिस्टिक कोर्ससमेत समावेश गरेका छौँ,' बलदेवले भने । यी कोर्समा युद्धमा बम निर्माण, बम तथा सामान आपूर्ति, लत्ताकपडा व्यवस्थापनसँग सम्बन्धित विषय जनसेनालाई सिकाइन्ोछ । बलदेवका अनुसार जनसेनाले हाल आर्टिलरी र इन्फेन्ट्री बटालियन स्थापना गरिसकेको छ । राजनीतिक दलका नेताहरूको प्रतिक्रिया, विविध राजनीतिक गतिविधि एवं वैदेशिक चासोका बारेमा अध्ययन/विश्लेषण गर्न जनसेनाको गुप्तचर विभाग सक्रिय रहेको छ । 'यो पहिलेदेखि नै थियो, अहिले पनि सक्रिय छ,' बलदेवले भने । जनमुक्ति सेनाले गत वर्षको १ फागुनदेखि यस वर्षसम्मलाई तालिम वर्षका रूपमा लिएको र अब पूर्ण व्यावसायिक बन्न लागेको बलदेवको भनाइ छ । 'हामी डेपुटी कमान्डर, कमान्डरले समेत विभिन्न सैन्य तालिम लियौँ,' उनले भने ।
जनसेनालाई पार्टीको कमान्डबाट क्रमशः अलग गरिँदै लैजानेसमेत बलदेवले बताए । 'जनसेना अब सेना समायोजनसम्बन्धी विशेष समितिअन्तर्गत रहन्छ, पार्टीको फ्याक्सन वा कमान्डबाट अलग्गिन्छ,' उनले भने ।
हतियार तथा सामग्री अभावका कारण पर्याप्त तालिम गर्न नसकिएको गुनासो जनमुक्ति सेनाको छ । उसले सरकारसँग हेलिकोप्टरको मागसमेत गरेको छ । 'तालिमसँग बुलेट, हतियार पनि छैन, हतियार चलाउने अनुमति पनि सम्झौतामा छैन,' बलदेवले भने, 'काठका डमी हतियार बनाएर तालिम दिइरहेका छौँ ।' जनसेनाका सदस्य तथा कमान्डरहरूको तलब समान रहेका कारण दज्र्यानी चिह्न नलगाइएको बलदेवले बताए । 'सरकारसँग तलबको माग गरेका छौँ, पदअनुसारको तलबको व्यवस्था भएपछि मात्रै त्यहीअनुसार दज्र्यानी चिह्न लगाउँछौँ,' उनले भने । ०६० सालमै दज्र्यानी चिह्नसम्बन्धी अवधारणा बनाइएको तर युद्धकालमा कमान्डरको पहिचान हुँदा सुरक्षामा खतरा हुने त्रासका कारण नलगाइएको उनको भनाइ छ । बलदेवका अनुसार नेपालका जाति, क्षेत्र, वर्ग र माओवादीको विचारसमेत समेटेर जनसेनाका सबै तहका लागि फुली छुट्टयाइएको छ र त्यससम्बन्धी निर्णय जनरल स्टाफको बैठकले गर्नेछ ।
सेना समायोजनका क्रममा आफ्ना बटालियनस्तरसम्म सामूहिक समायोजन गर्नुपर्ने जनमुक्ति सेनाको धारणा छ । 'सकेसम्म बि्रगेडस्तरमै समायोजन गर्ने कोसिस हुनेछ,' डेपुटी कमान्डर बलदेवले भने, 'बटालियनभन्दा तल समायोजन हुन सक्दैन । व्यक्तिगत रूपमा समायोजन गर्ने त प्रश्नै आउँदैन ।'
नयाँ सेनाको उच्च तहमा समानुपातिक रूपमा दुवै सेनाका कमान्डरहरू रहनुपर्नेमा उनले जोड दिए । 'तर सबैको कमान्ड एउटै रहनुपर्छ, आ-आफ्ना फौजको कमान्ड आफ्ना कमान्डरले गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,' बलदेवले भने, 'यससम्बन्धी धारणा विशेष समितिले नै बनाउनेछ ।' उनले सेनाको संख्या प्याकेज बनाएर घटाउनुपर्ने पनि बताए । 'एउटा अवधारणा बनाएर सेनाको संख्या ३० हजारजति बनाए पुग्छ,' उनले भने, 'त्यसमा नेपाली सेना र जनमुक्ति सेना दुवैको संख्या समानुपातिक रूपमा घटाउनुपर्नेर्छ ।' -पर्शुराम काफ्ले

नौ दिनअघि गठित नेपाल प्रज्ञा प्रतिष्ठान विघटन !

सरकारले नौ दिनअघि गठित नेपाल प्रज्ञा प्रतिष्ठान विघटन गरेको छ। संस्कृति तथा राज्य पुनसंरचना मन्त्री गोपाल किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले विरोध बढ्दै गएपछि आफैंले गठन गरेको सभा विघटन गरेका हुन्। तर, ललित कला र संगीत नाट्य प्रतिष्ठानको नियुक्ति भने यथावत् राखिएको छ। गोरखापत्रमा प्रकाशित समाचारअनुसार प्रज्ञाका पदाधिकारी र सभासद् नियुक्तिसँगै साहित्य जगतमा यसको आलोचना भएको थियो। साथै सरकारले गठन गरेको प्रज्ञासभा नियुक्ति सिफारिस समितिका रमेश भट्टराई र बलराम तिम्सिनाले पनि बिनासल्लाह मन्त्रीले एक्लै नियुक्ति गरेको भन्दै विरोध गरेका थिए। मन्त्रीले आफ्नै अध्यक्षतामा रहेको सिफारिस समिति पनि विघटन गरेका छन्। माओवादी निकट इश्वचन्द्र ज्ञवालीलाई कुलपति तथा भूपाल राई उपकुलपति नियुक्त भएका थिए। ज्ञवाली यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष थिए। ´यसलाई अझै समावेशी बनाउनका लागि अहिलेलाई नियुक्ती स्थगन गरिएको हो´ विघटनका बारे मन्त्री किराँतीले भनेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक