
मलाइ छातीमा गोली हानिएको थियो
-ज्ञानेन्द्रराज मिश्र (वीरगन्जमा बिहीबार गोली हानिएका पत्रकार)

हातबाट रगत निस्कियो। मनमा डर बढ्यो। पछाडि दोहोर्याएर फर्कने आँट गरिन किनकि उनीहरु गोली हानिसकेपछि पनि भागेका थिएनन्। बरु म नै डरले भागें। छिट्टै सडकछेउ रहेको भारतीय महावाणिज्य दूतावासछेउ आइपुगें। अनि साथी सुदीप र आकारलाई फोन गरेर बोलाएँ। उनीहरु तुरुन्तै आए। रगत बगिरहेको पाखुरामा उनीहरुले रुमाल निकालेर बाँधिदिए।
छिट्टै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याए उनीहरुले नै। चिकित्सकले गोली निकाल्ने प्रयास गरे। गोली वारपार भइसकॆको रैछ। पट्टी बाँधेर आराम गर्न थालें। त्यतिञ्जेल अस्पतालमा सञ्चारकर्मीको भीड लागिसकेको थियो।
यतिबेलासम्म घरमा रहेकी बिरामी आमालाई केही पत्तो थिएन। जानकारी दिन पनि चाहिन। भाइलाई चाहिँ खबर गरेर बोलाएको थिएँ। डाक्टरले खतरामुक्त भन्दै २ बजे डिस्चार्ज गरे। घरमा पुग्दा आमाको आँखामा गहभरि आँसु देखें। आमाले रुँदै अंगालो हाल्नुभयो।
अहिले घरको ओछ्यानामा आराम गरेर बसिरहेको छु। दिनभर सोच्न नसकेका कुरा अहिले सोचिँदैछ। मोटरसाइकलको सन्तुलन अलिकति मात्र बिग्रॆको भए…? अहिले पो मन आत्तिरहेको छ।
ठूलो भाग्यले बाँच्न सकेको महसुस भइरहेको छ। मलाई कसले किन गोली हाने त्यो त थाहा छैन। तर अहिले अनुभव हुँदैछ, मलाई तिनीहरुले मार्न खोजेका थिए। अहिले म प्रष्ट हुँदैछु- उनीहरुले गोली चलाएको दिशा र मेरो मोटरसाइकलको गतिबारे। तिनीहरुको निशाना मेरो पाखुरा हैन, छाती थियो। जुन संयोगले पाखुरामा लाग्न पुग्यो। नत्र ...
वीरगञ्जका पत्रकार ज्ञानेन्द्र मिश्र माथि गोली प्रहार
वीरगञ्जका पत्रकार ज्ञानेन्द्र मिश्रलाई अपरिचित समूहले गोली हानेको छ । वीरगन्जको गढीमाई एफएमका कार्यक्रम संयोजक ज्ञानेन्द्र मिश्रलाई सवा १२ बजे ५ जनाको संख्यामा रहेका युवाले गोली हानेको प्रहरीले जनाएको छ । देव्रे हातमा गोली लागेका मिश्रको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । पावर हाउसवाट प्रतिमा चोक जाने बाटोको बीचमा मिश्र माथि गोली हानिएको थियो ।
भारतको डिजाइनमा प्रचण्ड : देश टुक्राटुक्रा हुने मातृका यादवको दाबी

नेपालगन्जमा आयोजित नयाँ नेपालमा क्रान्तिकारीको भूमिका विषयक कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी परित्याग गरेका नेता मातृका यादवले "उत्पीडितलाई अधिकार नदिए देश टुक्राटुक्रा हुन्छ, सेना समायोजन गरिनुहुँदैन, प्रचण्ड वैचारिकसँगै बोलीमा पनि विचलित हुँदै गएका छन्, बालुवाटारमा अमेरिकी र भारतका सिआइडी बस्छन्, उत्पीडित मधेशी पहाडी मिलेर उत्पीडकविरुद्ध लड्नुपर्छ, माओवादी पार्टी कांग्रेस र एमालेकै लाइनमा गएकाले जनयुद्धका बेला उत्पीडितहरुको मुक्ति गर्न बाँडेको सपना पूरा गर्न क्रान्तिको झण्डा बोकेर आफू अगाडि बढेको" बताए । ´राणाकालदेखि अहिले प्रचण्ड (पुष्पकमल दाहाल) प्रधानमन्त्री भएको बेलासम्म एउटै वर्गको हालीमुहाली रहेको छ। सिपाहीबाट क्रान्तिको झण्डा उठाउने कमान्डर बनेको छु´ उनले भने। उनले प्रधानमन्त्री दाहालमा वैचारिक विचलन आएको दाबी गरे। ´प्रचण्ड वैचारिक विचलनसँगै बोलीमा पनि विचलित हुँदै गएका छन्। प्रचण्ड पुष्पकमल दाहालमा झरिसके। प्रचण्ड मुक्तिका लागि लड्थे। दाहाल आफ्नो परिवार र आफ्ना लागि काम गर्छन्´ उनले भने। यादवले प्रधानमन्त्रीमाथि जनविरोधी काम गरेको र भ्रष्टलाई अघि बढाएको आरोप लगाए। ´मुखले प्रचण्ड सबभन्दा बढी क्रान्तिकारी छन्। व्यवहारमा अवसरवादी र जनविरोधी काम गरिरहेका छन्। भ्रष्टाचार, कमिसनखोर र चाकरी चाप्लुसी गर्नेलाई अघि बढाइरहेका छन्।´
´क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी सेना, क्रान्तीकारी पार्टी र क्रान्तिकारी मोर्चा हुनुपर्छ´ भन्दै उनले माओवादीले तीनै कुरा त्यागेको दाबी गरे। यादवले प्रधानमन्त्रीसहित माओवादीका नेता काग्रेस, एमालेका जस्तै सुविधाभोगी र कुर्सीभोगी भएको आरोप लगाए । ´भ्रष्टाचार, तस्करी र कमिसनखोरीमा माओवादीका नेता नै संलग्न छन्´ भन्दै उनले पहिले आफूले रक्तचन्दन तस्करीमा पक्रिएकालाई समेत माओवादी नेताले छाड्न दबाब दिएको दाबी गरे। माओवादीले क्रान्तिकारीसँग संयुक्त मोर्चा बनाउनुपर्नेमा राष्ट्रघाती र अवसरवादीसँग मोर्चा बनाएको आरोपसमेत उनले लगाए । प्रधानमन्त्री दाहालले सत्तालोलुप भएर बालुवाटारमा नै बलिदानी दिने कुरा गरिरहेको उनले बताए। सत्ताका लागि प्रधानमन्त्री भारतलगायत्र जसले भनेको पनि मान्न तयार रहेको दाबीसमेत उनले गरे। प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी र भारतका सीआईडी बस्ने गरेको दाबीसमेत यादवले गरे। प्रधानमन्त्रीले भारत भ्रमणमा रहेका बेला जनमुक्ति सेना विघटन गर्ने भनेर भारतीय प्रधानमन्त्रीसँग सम्झौता गरेको दाबीसमेत नेता यादवले गरे। ´बिरामी भएर उपचार गर्न त्यही बेला भारत गएको थिएँ। प्रचण्डले त्यो सम्झौता गरेको विशेष दूतले मलाई बताएका थिए´ उनको दाबी थियो। माओवादी सुधारवाद, संशोधनवाद हुँदै विसर्जनवादतिर उन्मुख भइरहेको दाबीसमेत यादवको थियो। उनले प्रधानमन्त्रीबाट मधेशलाई भारतीय दलालको जिम्मा दिन लागिएको उल्लेख गर्दै उत्पीडित मधेशी र पहाडी मिलेर उत्पीडकका विरुद्ध लडेमात्र मुक्ति सम्भव हुने बताए। ´मधेशमा सबभन्दा उपेक्षित थारु जाति छन्। थारु र मधेशीलाई फुटाउन षडयन्त्र भइरहेको छ´ उनले भने ´संघर्ष गर्नु रहर होइन, मुक्तिका लागि हो।´
´भ्रष्ट हाकिमको विरोध गर्ने प्रहरी जेलमा छन्´ भन्दै उनले भ्रष्टाचारविरुद्ध काम गर्ने इमानदारी देखाउने भए ती जेलमा रहेका पूर्व प्रहरीलाई रिहा गरेर देखाउन नवनियुक्त प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई चुनौती दिएका छन्।
केही दिनअघि घोषणा गरेर मातृकालाई समर्थन गरेका थारुवान् राज्यसमितिका सचिवालय सदस्य र मधेशी मुक्ति मोर्चाका सचिव परमानन्द झाले पत्रकार सम्मेलन आयोजना गरेका थिए। सभाकक्षमा उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा केही कार्यकर्ताले मञ्चमा नै यादवको समर्थन गरेको घोषणा गरेका थिए। -दिलबहादुर छत्याल
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक