20090224

केपी ओलीले हारेपछि माओवादीले रातभर विजय उत्सव मनाए

झलनाथ खनाल एमालेको अध्यक्षमा निर्वाचित

नेकपा एमालेको आठौ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनबाट नेता झलनाथ खनाल अध्यक्षमा निर्वाचित भएका छन्। आफना प्रतिद्वन्द्वी नेता केपी शर्मा ओलीलाई १ सय १७ मतले पछि पार्दै नेता खनाल विजयी भएका हुन्। खनालले ९ सय १३ र ओलीले ७ सय ९६ मत प्राप्त गरेका थिए। निर्वाचनको मत गणना भएदेखी नै खनालले नेता ओलीलाई पछि पार्दै आएका थिए। खनाल निवर्तमान महासचिव हुन्। । महासचिवमा नेता ईश्वर पोखरेल विजयी भएका छन्। उनले आफना प्रतिस्पर्धी प्रदीप नेपाललाई २ सय ३ मतले पछि पार्दै विजयी भएका हुन्। पोखरेलले ९ सय ३५ र नेपालले ७ सय ५१ मत प्राप्त गरेका थिए। एमालेमा खनाल र ओली समूहबीच प्यानल बनाएर प्रतिस्पर्धा भएको थियो । पोखरेलले खनाल र नेपालले ओली समूहबाट प्रतिस्पर्धा गरेका थिए। पार्टीमा संगठन विभाग प्रमुख भइसकेका पोखरेल पछिल्लो समय प्रचार विभाग प्रमुख थिए।
तीन उपाध्यक्ष पदमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी निर्वाचित भएका छन्। उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतम खनाल प्यानलबाट तथा भण्डारी ओली प्यानलबाट उम्मेदवार भएका थिए। राई दुवै प्यानलका साझा उम्मेदवार हुन्। त्यही कारण उनले उपाध्यक्षमा सबभन्दा बढी मत ल्याएका छन्। उपाध्यक्षमा राई सबभन्दा बढी मत ल्याउने नेता बनेका छन्। राईले ११ सय ९९, गौतमले ८ सय ६५ र भण्डारीले ८ सय ५१ मत प्राप्त गरेका छन्। पराजित प्रधानले ६ सय १८, अधिकारीले ६ सय र रावलले ७ सय २२ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा वरिष्ठ नेतात्रय साहना प्रधान, भरतमोहन अधिकारी र भीम रावल पराजित भए। रावल ओली समूहबाट र प्रधानले खनाल समूहबाट प्रतिस्पर्धा गरेका थिए। अधिकारी कुनै समूहले पनि समर्थन गरेको थिएन। अधिकारी र प्रधान निवर्तमान स्थायी कमिटीका सदस्य र रावल केन्द्रीय कमिटीका सदस्य थिए। तीन जना सचिव पदमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली निर्वाचित भएका छन्। उनीहरुले क्रमश: १२ सय ६२, १ हजार ५८ र ८ सय ३५ मत प्राप्त गरेका छन्। पराजित रामचन्द्र झाले ४ सय ८७, रघुवीर महासेठले ६ सय ९७ र राजेन्द्र श्रेष्ठले ६ सय ७२ मत प्राप्त गरेका थिए।

अध्यक्ष झलनाथ खनालमा पार्टी अप्ठ्यारो मोडमा पुगेको बेला होस् वा राष्ट्रिय राजनीतिमा संकट उत्पन्न भएको स्थितिमा एमालेलाई नेतृत्व दिएको अनुभव मा छ। जस्तो माघ १९ मा शाही कदमपछि तत्कालीन महासचिव माधव नेपाल थुनामा पर्दा होस् वा संविधानसभाको निर्वाचनमा एमालेले भोग्नुपरेको पराजयमा तत्कालीन महासचिवले राजिनामा दिदा नै होस् पार्टीलाई खनालले नै नेतृत्व दिए। पंचायतकालीन भूमिगत कालमा महासचिव बनी पार्टीलाई २०३९ सालदेखि २०४६ सालसम्म नेतृत्व दिएको अनुभव पनि उनमा छ। २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका खनाल २०३२ सालमा तत्कालीन कोअर्डिनेसनमा आवद्ध थिए। जेल ७ वर्ष भूमिगत १२ वर्ष भए। प्रतिनिधिसभा तीनपटक सांसद र हाल संविधानसभाका सदस्यमात्र नभई एमाले संसदीय दलको नेतासमेत छन्।
उनसँग मन्त्री २ पटक भएको अनुभवसमेत छ। २०४७ सालमा कृषि वन तथा भुसंरक्षण मन्त्री थिए। ०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको एमालेराप्रपा सरकारमा उनी सूचना तथा संचार मन्त्री थिए। संविधानसभाको निर्वाचनपछि दलको नेता भए। २००६ साल चैत्र ७ गते इलाममा जन्मिएका हुन्। महासचिव खनाल सैद्धान्तिक विषयमा चासो राख्छन्। उनीसँग लामो समय विदेश विभाग प्रमुख भएका अनुभपसमेत छ। महासचिव हुनुअघि पार्टीका विभिन्न अध्ययन कार्यदलमा संयोजकको हैसियतले काम गरेका खनाल अध्ययनशील नेताका रुपमा समेत परिचित छन्। पार्टीभित्र उनी तार्किक र भद्र नेताका रुपमा चिनिन्छन् ।
खनाल जति अध्ययनशील छन् त्यतिकै सकि्रयतामा भने उनको कमजोरी रहेको उनका आलोचक बताउँछन्। कार्यकर्ताबीच उतिसारो घुलमिल नगर्ने कमजोरी उनीमा छ। पार्टीका गतिविधिहरुमा उनको सहभागिता कमै रहेको आरोप उनीमाथि थियो। तर पछिल्लो समय महासचिवको जिम्मेवारी सम्हालेपछि चाहिँ पार्टीमा उनको सक्रियता बढेको थियो।

अपडेट : नेकपा एमालेको आठौं महाधिवेशनबाट निर्वाचित आठ पदाधिकारीसहित केन्द्रीय कमिटीका सबै १ सय १५ सदस्यको परिणाम घोषणा भएको छ। एमालेको निर्वाचन आयोगले बिहीबार अपराह्न बाँकी सबै केन्द्रीय सदस्यको निर्वाचित भएको परिणाम घोषणा गरेको हो। पूर्व महासचिव माधव नेपालसहित ३५ जना सदस्यहरु केन्द्रीय निर्वाचन क्षेत्र खुल्ला तर्फबाट निर्वाचित भएका छन्। पूर्व महासचिव नेपालले सबभन्दा बढी मत प्राप्त गरेका छन्। उनले १ हजार ४ सय १६ मत प्राप्त गरेका छन्। बुटवलका पत्रकार भवानीप्रसाद पाण्डेले दिएको जानकारीअनुसार अध्यक्षमा पराजित केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने भारी मत ल्याएर निर्वाचित भएका छन्। उनले १ हजार ३ सय १३ मत प्राप्त गरेका छन्। उनी केन्द्रीय सदस्यमा दोस्रो बढी मत ल्याउने सदस्य बनेका छन्। उपाध्यक्ष, महासचिव र सचिवमा पराजित सबै नेता पदाधिकारीमा केन्द्रीय सदस्य भने विजयी भएका छन्। महासचिवमा पराजित प्रदीप नेपाल १ हजार २ सय १४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका छन्। उपाध्यक्षमा पराजित नेतात्रय भरतमोहन अधिकारी १ हजार २ सय ७९ मत, साहना प्रधान ९ सय ८० मत र उपाध्यक्षमा पराजित भीम रावल १ हजार १ सय ९६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका छन्। अधिकारी तेस्रो बढी मत ल्याई निर्वाचित हुने नेता बनेका छन्। सचिवमा पराजित नेतात्रय रघुवीर महासेठ ९ सय ४७ मत, राजेन्द्र श्रेष्ठ ७ सय ३९ मत र रामचन्द्र झा १ हजार १ सय ३० मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पूर्व महासचिव नेपाल र पदाधिकारीमा पराजित हुने ओली, अधिकारी, रावल, महासेठ, श्रेष्ठ, झा र प्रधान सबैलाई केन्द्रीय सदस्यमा भने झलनाथ खनाल र केपी शर्मा ओली दुवै समूहले साझा उम्मेदारका रुपमा प्रस्तुत गरेको थियो । केन्द्रीय सदस्यमा विजयी भएकामा केशव बडाल, मुकुन्द न्यौपाने, अग्नि खरेल, अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, उर्मिला अर्याल, किरण गुरुङ, कृण्णगोपाल श्रेष्ठ, गोकर्ण बिष्ट, गुरु बराल, घनश्याम भुषाल, तुलबहादुर गुरुङ, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, बेदुराम भुसाल, विष्णु रिमाल, विजयकुमार पौडेल, विन्दा पाण्डे, वाचस्पति देवकोटा, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, रघुजी पन्त, रवीन्द्र श्रेष्ठ, राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे छन्। शाक्य, अर्याल, वडाल, रिमाल, महेन्द्र पाण्डे, न्यौपाने, पन्त र श्रेष्ठलाई खनाल र ओली दुवै समूहले केन्द्रीय सदस्यका लागि साझा उम्मेदारका रुपमा प्रस्तुत गरेको थियो। अरुण नेपाल, किरण गुरुङ, गोकर्ण विष्ट घनश्याम भुषाल, विजयकुमार पौडेल, रकम चेम्जोङ, राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे चाहिँ खनाल पक्षबाट प्रतिस्पर्धा गरेका थिए। यसरी खनाल पक्षमा मात्र नाम भएका ८ जनाले खुल्लातर्फको केन्द्रीय सदस्य हुने मौका पाएका छन्।
अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, तुल बहादुर गुरुङ, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बेदुराम भुषाल, विन्दा पाण्डे, वाचस्पति देवकोटा, भानुभक्त ढकाल र शंकर पोखरेल ओली पक्षबाट निर्वाचित भएका हुन्। यसरी ओली पक्षबाट खुल्ला कोटाबाट निर्वाचित भएकामा ११ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

पराजित हस्ती :
यसअघि केन्द्रीय कमिटीमा रहेका काशीनाथ अधिकारी, केदार न्यौपाने, गोपाल शाक्य, घनेन्द्र बस्नेत, देवराज घिमिरे, भीम आचार्य, युवराज कार्की, शान्ता मानवी, सिद्धिलाल सिंह, सुरेश कार्की, हेमराज राई र त्रिलोचन ढकाल पराजित भएका छन्।
पराजित हुनेहरुमा अधिकारी घिमिरे र कार्की ओली पक्षका हुन् । त्यस्तै न्यौपाने, बस्नेत, आचार्य, कार्की, सिंह राई र ढकाल खनाल पक्षबाट प्रतिस्पर्धा गरेका थिए। शाक्य र मानवीलाइ दुवै पक्षले आफनो समूहमा राखेका थिएनन्। शाक्य एमालेका तर्फबाट वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्री छन्।
केन्द्रीय निर्वाचन क्षेत्र वैकल्पिकमा अच्युत मैनाली, टुकराज सिग्देल, ठाकुर गैरे र रामेश्वर फुयाल निर्वाचित भएका छन्। मैनाली, सिग्देल र फुयाल ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए। गैरे भने दुवै पक्षको सूचीमा थिएनन्। यद्यपि उनी खनाल निकट मानिन्छन्। महिला निर्वाचन क्षेत्र पूर्णतर्फ कल्याणी खड्का, गंगादेवी डाँगी, गौरा प्रसाईं, जयन्ती राई, टुंका हमाल, थम माया थापा मगर, राधा ज्ञवाली र श्रीमाया थकाली निर्वाचित भएका छन्। प्रसाईं, राई, ज्ञवाली खनाल पक्षबाट र खड्का, डाँगी, हमाल, थापामगरले चाहिँ ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए। थकालीलाई दुवै पक्षले आ-आफनो सुचीमा राखेका थिए ।
महिला निर्वाचन क्षेत्र वैकल्पिक तर्फबाट निर्वाचित हुनेमा कल्पना चापागाईं, कमला सुवेदी, गरिमा शाह, गौरी वली, ममता गिरी, महिन लिम्वु र सुसिला नेपाल छन्। सुवेदी, शाह र गिरी खनाल पक्षबाट र चापागाईं, वली र नेपालले ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए । लिम्बु भने दुवै समूहको सूचीमा थिइन्। आदिवासी जनजातिबाट पूर्ण सदस्यमा गंगालाल तुलाधर, दलबहादुर राना, नागेन्द्र चौधरी थारु, परशुराम मेघी गुरुङ, विजय सुब्बा, विनोद श्रेष्ठ र वीरबहादुर लामा निर्वाचित भएका छन्। राना र गुरुङ खनाल पक्षबाट र तुलाधर, चौधरी, सुब्बा र श्रेष्ठ ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए । लामा भने दुवै पक्षको सुचीमा समावेश थिए । आदिवासी जनजातिबाट वैकल्पिक सदस्यमा अजम्बर राई काङ्गवाङ, कमल प्रकाश सुनुवार, गोकुल घर्ती मगर, जीवनराम श्रेष्ठ, विषमलाल अधिकारी दनुवार र वैजनाथ चौधरी थारु निर्वाचित भएका छन्। काङ्गवाङ, श्रेष्ठ र थारु खनाल पक्षबाट र सुनुवार र घर्तीमगर ओली पक्षबाट निर्वाचित भएका हुन् । अधिकारी भने दुवै पक्षको सूचीमा थिए।
मुस्लिम पूर्ण सदस्यमा महमुद आलम निर्वाचित भएका छन् भने वैकल्पिक सदस्यमा नजीर मियाँ छन्। आलम दुवै पक्षका साझा उम्मेदार थिए भने मिया ओली पक्षबाट चुनावी मैदानमा उत्रिएका थिए। पिछडिएको क्षेत्र पूर्ण सदस्यमा निर्वाचित हुनेमा कर्ण बहादुर थापा र वैकल्पिकमा गोरखबहादुर बोगटी चुनिएका छन्। थापा ओली पक्षबाट र बोगटी खनाल पक्षबाट प्रतिस्पर्धा गरेका थिए।
मधेशी तराईबासीका तर्फबाट पूर्ण सदस्यमा धर्मनाथ प्रसाद शाह, वंशीधर मिश्र, रामचन्द्र यादव, लालबाबु पण्डित र सत्यनारायण मण्डल निर्वाचित भएका छन्। मिश्रले ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए। अन्य निर्वाचित सदस्य शाह, यादव, पण्डित र मण्डलको नाम भने दुवै पक्षको सूचीमा समावेश गरिएको थियो । त्यस्तै मधेशी तराईवासीका तर्फबाट वैकल्पिक सदस्यमा कमला देवी महतो, गंगाप्रसाद यादव, योगनारायण यादव, रामचन्द्र साह तेली, शत्रुघन महतो र श्रीप्रसाद साह निर्वाचित भएका छन्। गंगाप्रसाद यादव, योगनारायण यादव र तेली खनाल पक्षका हुन् । कमलादेवी महत्तो, शत्रुधन महत्तो र शाहको नाम भने दुवै पक्षले आफनो सूचीमा समावेश गरेका थिए ।
दलित पूर्ण सदस्यमा छविलाल विश्वकर्मा, जितु गौतम र रामप्रित पासवान चुनिएका छन्। पासवान खनाल पक्षका र गौतम ओली पक्षका हुन् । विश्वकर्मालाई भने दुवै समूहले सूचीमा समावेश गरेका थिए।
वैकल्पिक सदस्यमा जगत् विश्वकर्मा, दलबहादुर सुनार, भागवत विश्वासी नेपाली र रविन्द्र बैठा निर्वाचित भएका छन्। नेपाली र बैठा खनाल पक्ष र विश्वकर्मा ओली पक्षका हुन्। सुनार भने दुवै पक्षको सुचीमा समावेश थिए ।
अनुसाशन आयोगमा निर्वाचित भएकामा अमर गिरी, अर्जुन राई, ओम थपलिया, खेम नारायण ढुंगाना, गणेश विक, जुटबहादुर खड्गी, जेबी टुहुरे, धर्मनाथ यादव, भरत प्रधान, भरतराज पहारी, भीम न्यौपाने, मंगलसिद्धि मानन्धर, राजकुमार राई, शान्तिदेवी खनाल, शेषमणि आचार्य र हरि सापकोटा छन्।
लेखा परीक्षण आयोग सदस्यमा चुनिएकामा किशोर अधिकारी, जागृतप्रसाद भेटवाल, टहलबहादुर खड्का, टंक पनेरु, धनेन्द्रराज घिमिरे, नरेश पोख्रेल पुष्प कँडेल, बलराम बास्कोटा, विष्णुबहादुर राउत, विष्णु पन्थी, विरोध खतिवडा, मस्तबहादुर गरन्ज. सरेश नेपाल, शिराज अहमद थारुकी र हरि पराजुली छन्।
अञ्चल निर्वाचन क्षेत्रतर्फको १६ स्थानका लागि खनाल पक्षधर ९ जना र ओली पक्षधर ५ जना निर्वाचित भएका छन् । २ जना भने त्यसअघि नै निर्विरोध भएका थिए। खनाल समूहबाट निर्वाचित भएकामा नरेश खरेल मेची, राजेन्द्र गौतम कोशी, केशवराज देवकोटा जनकपुर, पशुपति चौंलागाईं बागमती, योगेश भटराई उपत्यका, प्रकाश ज्वाला राप्ती, डिल्लीबहादुर महत कर्णाली, भानुभक्त जोशी सेती र झिल्लुप्रसाद तिवारी भारत प्रवास छन् । ओली समूहबाट जगन्नाथ खतिवडा सगरमाथा, देवीप्रसाद ज्ञवाली नारायणी, गणेश तिमिल्सिना धवलागिरी, खगराज अधिकारी गण्डकी र देवराज भार भेरी छन्। कुनै समुहमा नलागेका नेत्र पन्थी लुम्बिनी र उर्वादत्त पन्त महाकाली चाहिँ र्निविरोध निर्वाचित भएका थिए।

मैले हारेपछि माओवादीले म बसेनजिकै रातभर विजय उत्सव मनाए : ओली

अध्यक्षका प्रत्यासी केपी ओलीले अनिर्वाचित गैर प्रतिनिधिका कारण आफू चुनावमा पराजित भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनले महाधिवेसनमा संस्थापन पक्षले विभिन्न बहानामा मनोनीत गरेका साढे ५ सय प्रतिनिधि पराजयको कारक रहेको बताए। उनले आफू पराजित भए पनि पार्टीलाई लोकतान्त्रीकरण गर्न भने सफल भएको बताए। ´हारजित व्यक्तिका लागि महत्वपूर्ण होला तर प्रक्रिया र पद्धति पार्टीका लागि महत्वपूर्ण हुन,´- नेता ओलीले भने। ´मैले चुनाव हारेपछि माओवादीहरुले म बसेनजिकै रातभर विजय उत्सव मनाए´- उनले थपे।
शान्ति प्रक्रिया र नयाँ संविधान लेखन कार्य संकटमा पर्ने हो कि भन्ने शंका बढेको बताउँदै उनले त्यसमा आफू सजग रहेको वताए। उनले राष्ट्रिय सरकारमा जोड दिँदै भने- कांग्रेसलाई प्रतिपक्षमा राखेर संविधान लेख्न सकिँदैन। पत्रकार सम्मेलनमा ओलीसँगै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य रामनाथ ढकाल थिए।

माओवादी खहरे हो एमाले निरन्तर बग्ने नदी : खनाल

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष झलनाथ खनालले महाधिवेशनले पार्टीमा लोकतान्त्रिक पद्धतिको विकास गरेको उल्लेख गर्दै हार र जीतको मानसीकताबाट बाहिर आउन सबै नेता र कार्यकर्तालाई आग्रह गरेका छन्।
निर्वाचित भएको भोलिपल्ट बिहीबार प्रेस चौतारीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले योग्यता र क्षमता भएका हरेक नेता र कार्यकर्तालाई आफूले जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुटवलबाट पत्रकार भवानीप्रसाद पाण्डेले दिएको जानकारीअनुसार उनले वर्तमान सरकार ढलाएर अराजकता निम्त्याउने पक्षमा एमाले नरहेको बताएका छन्। खनालले नया संविधान बनाउने कार्यमा सरकार बनाउने र गिराउने खेलले नकारात्मक प्रभाव पार्ने बताए।
खनालले माओवादी र कांग्रेससँग एमालले सहकार्य गर्ने तर सम्बन्धलाइ समदुरीमा राखिनॆ बताए।
उनले माओवादीलाई खहरे खोलाको उपमा दिंदै आफनो पार्टी एमाले भने निरन्तर बगिरहने नदी भएको दाबी गरे। संविधान निर्माण राज्यको पुर्नसंरचना शान्ति सुरक्षा तथा राष्ट्रियताको सुदृढीकरण गर्नु अहिलेका लागि प्रमुख दायित्व भएको बताउदै अध्यक्ष खनालले माओवादी लडाकुको समायोजन र पुनःस्थापना १२ वुदे सहमतिअनुसार हुने बताए।
पत्रकार सम्मेलनमा नव निर्वाचित महासचिव ईश्वर पोख्रेल पूर्वमहासचिव माधवकुमार नेपाल र अनुशासन समितिका नवनिर्वाचित संयोजक अमृतकुमार बोहोरा सहभागी थिए। तर अध्यक्षका पराजित प्रत्यासी केपी ओली कार्यक्रममा अनुपस्थित थिए। - तिलक पाठक

ऋषि धमला बिरुद्ध अदालतमा मुद्दा दायर

तीन हप्ताअघि पक्राउ परेका रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला बिरुद्ध प्रहरीले काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । हातहतियार तथा खरखजना ऐन अर्न्तर्गत पक्राउ परेका धमलालाई जिल्ला प्रशासन कार्यालयबाट पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गरेको थियो । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले धमलालाई थुनामा राख्न लिएको म्याद आज सकिँदैछ । महानगरिय प्रहरी परिसर हनुमानढोकाका प्रहरी उपरीक्षक नवराज सिलवालले दिएको जानकारी अनुसार धमलाको अपराधबारे प्रहरीको तर्फाट गरिने अनुसन्धानको काम सकिएको छ । सशस्त्र गतिविधि सन्चालन गरिरहेको रणवीर सेना समूहसँग सम्बन्ध राखेर फिरौती उठाउन सक्रिय भएको आरोपमा धमलालाई प्रहरीले गएको माघ २१ गते पक्राउ गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक