20090417

तीन गोलीमै मर्नु प्रचण्ड थैबको दोष !!!!

बचेका थैबहरू नेतृत्वसँग निराश , बधशालाका अपराधीलाई दशरथ रंगशालाबाट एमाले नेतृत्वको सफाइ


मानव बधशालामा परिणत माओवादी शिविरका अपराधी लडाकुलाई दशरथ रंगशालाबाट एमाले नेतृत्वले सफाइ दिएको छ। बुटवलका कार्यकर्ता प्रचण्ड थैबको हत्यामा संलग्न वाईसीएल केन्द्रीय सदस्य सुजित विकलाई सजायबाट उन्मुक्ति दिलाउने माओवादी चाँजोपाँजोमा एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेका हुन्। प्रचण्ड थैबलगायत एमाले कार्यकर्ताका हत्यारा लडाकुहरूलाई कारवाही नगर्दै केन्द्रीय कमिटीले घोषणा गरेका आन्दोलनका कार्यक्रम खनाल र प्रचण्डबीच ९ बुँदामा हस्ताक्षरपछि फिर्ता लिइएको थियो। एमाले केन्द्रीय कमिटीको प्रथम बैठकले थैबका हत्यारालाई प्रहरीसमक्ष नबुझाएसम्म आन्दोलन जारी राख्ने भनी गरेको निर्णय विपरीत खनालले ९ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। ९ बुँदामा थैबका हत्यारा सुजित विक प्रहरीसमक्ष आत्मसमर्पण गराउन लैजाने क्रममा फरार रहेको उल्लेख छ। एमाले कार्यकर्ता र निहत्था नागरिकको माओवादी लडाकुहरूबाट हत्या भइरहने, चर्को दबाबपछि मात्र माओवादी नेतृत्वले त्यसलाई स्वीकार गरी हत्यारा लुकाउने र एमाले नेतृत्व भने माओवादी नेतृत्वको सरकारको भविष्यको मात्र चिन्तामा रहने प्रवृत्ति पछिल्लो सम्झौताले पनि पुष्टि गरेको छ।
सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्रीसहित सहभागी भएको एमालेका प्रचण्ड थैब, निर्मल पन्त, पुष्कर डंगोललगायत कार्यकर्ताहरूको यही अवधिमा माओवादीले हत्या गरेको छ। यी सबै एमाले कार्यकर्ताको हत्यामा पहिले माओवादी संलग्नता अस्वीकार गर्योि र हत्यारालाई भगाएपछि मात्र हत्या स्वीकार गर्दै कानुनी कारवाहीको प्रतिबद्धता जनाउँदै आयो। एमाले सहभागी सरकारकै कार्यकालमा माओवादीको संरक्षणमा एमाले कार्यकर्ताका हत्यारा रहेपछि केन्द्रीय कमिटीको बैठकले उनीहरूलाई प्रहरीसमक्ष नबुझाएसम्म संसद र क्याविनेटको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। जुन निर्णय आइतबार साँझ दशरथ रंगशालामा अध्यक्ष खनालले ९ बुँदे सम्झौतामा हस्ताक्षर गरेपछि तोडिन पुगेको छ।
माओवादीको सामाजिक फासीवादसँग जुध्दै आएका तल्ला तहका एमाले कार्यकर्ताहरू माओवादी नेतृत्वको सरकार जोगाउनकै लागि आफ्नो नेतृत्वले सामाजिक फासीवादी चरित्रको समर्थन गरेकोमा आक्रोशित छन्। एमाले नेतृत्वले माओवादीसँग उच्च तह र तल्ला तहमा यस्ता सम्झौता पटक–पटक गर्दै र त्यसबाट धोका खाँदै आएको छ। सामाजिक फाँसीवादसँग लड्दै आएका कार्यकर्ताहरू आफ्नो नेतृत्वले देखाएको माओवादीभक्तिबाट निराश हुन पुगेका छन्। कार्यकर्ता मारिँदा पनि ल्याप्चे लगाएरै माओवादी नेतृत्वको सरकार टिकाउने अभियानमा पार्टी नेतृत्व देखिएपछि यस्तो निराशा छाएको हो।

मंगलबार पार्टीको संसदीय दलको बैठकमा पनि सांसदहरूले ९ बुँदे सहमतिको विरोध गर्दै मन्त्रीहरूलाई सरकारबाट फिर्ता गर्न नेतृत्वसँग माग गरेका थिए। पार्टीका कार्यकर्ताहरूको बलिदानी दिएर माओवादी रणनीतिको सेवा गरिएको प्रति सचेत रहन उनीहरूले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्।
समाजको तल्लो तहमा स्थापित एमाले कार्यकर्ता पंक्तिलाई हिंसाको त्रासमा थकित बनाउने र केन्द्रीय नेतृत्वलाई पटक–पटकका सम्झौताले थाङनामा सुताउँदै धम्कीको भरमा सत्ता कब्जाको रणनीतिमा माओवादी छ। माओवादी सत्ता कब्जाको आफ्नो रणनीतिप्रति स्पष्ट पनि छ र त्यसैको सेवाका लागि सत्ता साझेदार कार्यकर्ताको हत्या र नेतृत्वसँग सम्झौता पनि निरन्तर गर्दै आइरहेको छ। तर एमाले नेतृत्व भने माओवादीलाई रुपान्तरणको दिवास्वप्नमा रमाउँदै दिनुहुँ आफ्ना कार्यकर्ताको बली माओवादीसामु चढाइरहेको छ। यो क्रम अझै लम्ब्याउने र त्रासकै साम्राज्यमा सत्ता कब्जा गर्ने माओवादी आफ्नो रणनीति मुताविकै हत्या गर्ने, अस्वीकार गर्ने, अपराधी भगाउने, स्वीकार गर्ने र कारवाहीको प्रतिबद्धता जनाउने गर्दै आएको छ। सत्ता कब्जा नगरुन्जेल कार्यकर्तालाई शिकार बनाउने र नेतृत्वलाई रिझाउने मनोविज्ञानमा रहेको माओवादी सत्ता कब्जापछि नेताहरूलाई नै अहिलेका कार्यकर्ताको हालतमा पुर्यारउने तयारी गरिरहेको छ। माओवादी नेतृत्वको सरकारका केही थान मन्त्रीको लोभमा नेतृत्व फसेपछि आउने दिनमा एमाले नेता माओवादीको शिकार बन्ने निश्चितछ। - साभार: सम्बोधन

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक