20090414

रक्षामन्त्री र सेनाको जुहारी जारी, रक्षामन्त्रीद्वारा सेनाका हेलिकप्टरको चरम् दुरुपयोग्


सरकारी रकममा दुईवटा हेलिकप्टर चढी रक्षामन्त्री रामबहादुर थापाले गुल्मीमा आइतबार दिनभर उद्घाटन र कार्यकर्ता भेला भ्याएका छन्। बिहान १० बजे तम्घास उत्रेपछि उनले कार्यकर्ता भेला, पत्रकार सम्मेलन हुँदै दिउँसो जिल्ला परिषद् उद्घाटन गरेका थिए। सोमबार प्रकाशित कान्तिपुर दैनिकमा गुल्मीबाट घनश्याम गौतमले लेखेका छन् : राजधानीबाटै गएका सभासदसहितका टोली राष्ट्रिय झन्डासहितको नाइन एन आर ए एल र नाइन एन आर ए आई हेलिकप्टरमा आउजाउ गरेका हुन् । रक्षामन्त्री तम्घास आउँदा यहाँ रहेको भैरवप्रसाद गणका सैनिकहरू भने स्वागतका लागि बाहिर आएनन् । मन्त्री आउने जानकारी पाएपछि गणका प्रमुख सेनानी उपेन्द्रजंग कुँवर भने सोही दिन बिहानै इस्मा गाविसको सैनिक क्याम्पतर्फ लागेका थिए । सैनिक स्रोतले ´माथिको आदेश त्यस्तै भएकाले´ गणपति हिँडेको बतायो । गणका तर्फबाट सहसेनानी बरुणदर्शन धारीले अनौपचारिक स्वागत गरेका थिए । गणले मन्त्रीको कार्यक्रमको सुरक्षामा सादा पोसाकमा २० सैनिक जवान दिनभर तम्घास बजारमा परिचालन गरेको थियो ।

पत्रकारहरूले सेना नआएको विषयमा सोध्दा थापाले त्यो कुरा सेनाकै भएकाले आफूले भन्न नमिल्ने बताए । ´अहिले सुरक्षा दिने काम प्रहरीको हो, मलाई पनि प्रहरीले नै सुरक्षा दिइरहेको छ,´ उनले भने । उनले काठमाडौंमा आइतबार सुरु भएको पृतनापतिहरूको सम्मेलन नियमित भएको बताए । मन्त्री थापाले आठ जर्नेलको विवाद कानुनी प्रक्रियाबाट समाधानका लागि मन्त्रालयले अदालतमा रिट दर्ता गरेको बताए । ´राजनीतिक समाधान पनि हुन सक्थ्यो,´ उनले भने, ´तर हामीले कानुनी बाटो अवलम्बन गरेका छौं ।´
पत्रकार महासंघ गुल्मीले आयोजना गरेको भेटघाट कार्यक्रममा थापाले सेनाले अहिले पनि जनप्रतिनिधिलाई थर्काउने गरिरहेकाले केही दूरी बढेको बताए । ´पञ्चायतमा सेनाले जनप्रतिनिधिलाई थर्काउने, जनतालाई दुःख दिने, तल्लो तहका सैनिक जवानहरूलाई पेटिकोट धुन लगाउनेजस्ता सामन्ती क्रियाकलाप गर्ने गरेको र अहिलेको सेनाले पनि त्यस्तै गर्न खोजेकाले मन्त्रालय र सेनाबीच दूरी बढेको हो,´ उनले भने, ´अब हिजोको अवस्थामा जस्तै थर्काएर रक्षा मन्त्रालय र सरकार थर्कनेवाला छैन ।´

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक