राजालाई दाम राखे होलान्, दरबारमा बिन्तीपत्र पनि चढाए होलान्, प्रधानमन्त्री हुनलाई माधवकुमार नेपालले। धेरै कुरा गरे हुनन् तर कुनै अमानवीय कार्य गरेको थाहा भएन। एक पुरोहितका राजनीतिज्ञ छोराले बेलाबखत आफ्नो सपना साकार हुने दिन आए भनेर केही फुर्ती पनि लाए होलान्, कुनै बेला दलमा आफ्नो वर्चश्व राख्न केही दायाँबायाँ पनि गरेनन् होला भन्न सकिन्न तर कसैलाई बन्दुक देखाएर वा अपहरण गरेर आफ्नो स्वार्थपूर्ति गरेको सुनिएको छैन।
पन्ध्रौं वर्ष एउटा ठूलो दलको शक्तिशाली महासचिव भएर बस्दा होस् वा एमालेको नौ महिने शासन कालमा उपप्रधानमन्त्रीको पदमा रहँदा होस्, कसैले पनि नेपाललाई घुस्याहा, फटाहा र जालसाज भनेर प्रमाणित गरेको याद भएन। यी ५६ वषीय वामपन्थी नेताले आफ्नो जीवन नै कम्युनिष्ट सिद्धान्तका लागि अर्पण गरे पनि बहुदलीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका पूरा गरेकै हुन्। नेपालले आफ्नो युथ फोर्सको कोठे सम्मेलनमा यो देशमा र्सवहाराको अधिनायकवाद ल्याउनुपर्छ भनेर फलाकेको भिडियो कुनै टेलिभिजन च्यानलमा कसैले हेन पाएका छैनन्।
यी नेपालका कथा नेपालीको जस्तै खुल्ला छ। यिनले स्याटेलाइटबाट बिजुली निर्यात गर्न सकिन्छ भनेर बचकना कुरा गरेकै हुन्, नौ महिने शासन कालमा सम्पूर्ण सरकारी संयन्त्रलाई एमालेकरण गर्ने गल्ती गरेकै हुन्, अनि मौका पाउनासाथ प्रतिगमन आधा सच्चियो भनेर राजाले नियुक्त गरेको सरकारमा आफनो पार्टीलाई सामेल पनि गराएकै हुन्। २०४७ मा स्थापित प्रजातन्त्र र संविधानलाई यिनको दलले आलोचनात्मक र्समर्थन मात्र गरेको हो, २०५२ सालमा ९ महिने सरकारबाट निकालिंदा सर्वोच्च अदालतको विरुद्ध जुलुस पनि निकालेकै हुन्।
तर एमालेले कस्तो राजनीतिक धार लिन्छ, जनताको अधिकारका विषयलाई कसरी अगाडि लैजान्छ, बहुदलीय जनवादको भावनालाई कसरी आत्मसात् गर्छ भनेर मदन भण्डारीको मृत्युपछि देखिएको अन्योलमा धैय र जिम्मेवारीपूवक कार्य गरेर एमालेको लोकतान्त्रिक छवि बनाउने श्रेय माधव नेपाललाई नै जान्छ। साथै माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन पनि उनको दलले र नेपाल आफैँले पनि कम महत्वपूर्ण जिम्मेवारी बहन गरेका थिएनन्।
गत वर्षसम्पन्न चुनावमा यिनको दल तेस्रो स्थानमा ओल्र्यो र उनी आफै पनि दुइदुइ ठाउँबाट चुनाव हारे। त्यसैले अहिले प्रधानमन्त्री बन्दा धेरैले जनताबाट तिरस्कृत भनेर नेपालको बदख्वाइँ गर्दैछन्। तर हारेको बेला नेपालले आफ्नो पदबाट राजिनामा दिएर छेउ लागेकै थिए। उनलाई माओवादी र अरू दलले नै बोलाएर देशको भविष्यमा दीघकालीन असर पार्ने संविधान निर्माण समितिको अध्यक्ष बनाएका हुन्। यस्तो महत्वपूर्ण पदमा बस्न चाहिँ हुने तर प्रधानमन्त्री बन्न नहुने भन्ने माओवादीको तर्क पनि बुझिनसक्नु नै छ। त्यसैले जनताको सर्वोच्चता स्थापना गर्ने बहानामा कम्युनिस्ट अधिनायकवाद ल्याउन चाहने दलका नेताले जति चर्को स्वरमा यिनको बदख्वाइँ गरे पनि तिनको भन्दा माधव नेपालको व्यक्तित्व अझै पनि अग्लो छ।
त्यसैले प्रधानमन्त्री माधव नेपाललाई विरोधीले के भन्छन् भनेर बस्ने बेला छैन। अहिलेको अवस्थामा प्रधानमन्त्रीको रूपमा उनको मुख्य जिम्मेवारी माओवादीलाई शान्ति भंग गर्न नदिने, तिनलाई जिम्मेवार राजनीतिक दलको रूपमा व्यवहार गराउने, देशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी विधिको शासन स्थापना गर्ने, र संविधान निर्माणको क्रम अघि बढाउने हो।
विधिको शासनका लागि सक्षम, सबल र स्वच्छ व्यक्ति मन्त्रिपरिषद्मा राखिनु पर्छ। राष्ट्रिय सहमति भंग हुन्छ भनेर कमजोर गृहमन्त्री नियुक्त गर्ने हो, आफ्नै दलका महासचिवर् इश्वर पोखरेल माथि रामेछापमा हमला गर्नेलाई सजाय दिन नसक्ने हो, जुम्लामा नेपाली कांग्रेसको महासमिति सदस्यलाई अपहरण गरेर ज्यान लिने कार्यलाई राजनीतिक रंगमात्र दिने हो भने माधव नेपाल प्रधानमन्त्री हुनु वा वामदेव गौतम हुनुमा केही फरक हुँदैन।
माओवादी जंगल जाउन् वा सहरी व्रि्रोह गरुन्, जबसम्म तिनले जनताको बाँच्न पाउने अधिकारको इज्जत गर्न जान्दैनन्, जबसम्म कब्जा गरेको सम्पत्ति फिर्ता दिन सहमत हुँदैनन्, राजनीतिक विरोधीलाई विस्थापित गरिरहन्छन्, एक दलीय अधिनायकवादको सपना त्याग्दैनन् तबसम्म राष्ट्रिय सहमतिको लागि भनेर सम्झौता गर्नु भनेको केलाई लिस्ने जस्तै हुनेछ।
माओवादीले हरेक ठाउँमा आफ्ना विश्वासपात्र नियुक्त गरेर गएका छन्। त्यसैले अब जुनसुकै निहुँमा होस् काठमाडौंको फोहोर उठ्दैन, राजमार्ग बन्द भएर मट्टतिल, ग्यास र पेट्रोलको हाहाकार हुन्छ, यो वा त्यो बहानामा राजधानीका सडक प्रायः सधै बन्द हुन्छन्, सदन चलाउन सकिन्न, र जिल्ला जिल्लाबाट गैरमाओवादीलाई यातना दिने र विस्थापित गर्ने कार्य हुन्छ।
नौ महिना पहिले पनि एमालेका नेता माओवादीलाई परिवर्तन गर्ने बहानामा उनीहरुको गलत क्रियाकलापलाई बेवास्ता गर्दै मन्त्री पद थाप्न गएकै कारण माओवादीलाई लोकतान्त्रिक चरित्र आत्मसात् नगर्न सजिलो भएको हो। अब पनि राष्ट्रिय सहमति मात्रै भन्दै माओवादी शक्तिसंँग झुकेर देश चलाउने सजिलो बाटो खोज्ने हो भने उनीहरु फेरि शक्तिखोर शिविरमा पुष्पकमल दाहालले बोलेको लागु गर्न नै अगाडि बढ्नेछन्। त्यसैले यी समस्यासँंग जुध्नेबाहेक नेपालसँग अरु विकल्प छैन।
माधवकुमार नेपाल लोकतन्त्रको स्थापना गर्न पट्टी नलागी सजिलो बाटो खोज्न लागे भने उनी प्रधानमन्त्री हुनुको देश र प्रजातन्त्रको लागि केही अर्थ रहदैन। फेरि पनि गैरराजनीतिक, अमानवीय र गैरजिम्मेवार कार्य गर्नेकै बोलावाला हुन्छ र सिद्धान्तभन्दा हतियारको धारले जनताको भाग्यरेखा कोर्छ भने माओवादीलाई सरकारबाट ओराल्नुको कुनै अर्थ रहँदैन। यसै पनि नेपाल करिबकरिब राजनीतिबाट सन्यास लिने अवस्थामा पुगिसकेका हुन्। त्यसैले केही राम्रो गर्न चाहने हो भने अहिले उत्तम मौका छ। सही काम गर्दागर्दै निकालिनु पर्यो भने पनि जनताले त्यस्ता व्यक्ति वा दललाई उपयुक्त समयमा पक्कै पुरस्कृत गर्नेछन्।
हुनत, माधव नेपाल भारतका मनमोहन सिंहजस्तो बलियो प्रधानमन्त्री होइनन्। कांग्रेस, फोरम र अरू दलको कुरा त परैजाओस् उनले आफूले छानेर मन्त्री बनाउनसक्ने अवस्था उनको आफ्नै दलमा पनि छैन।। तर पनि उनको मन्त्रिपरिषद् कस्तो बन्छ त्यसले पनि उनको सरकारले जनताको र्समर्थन पाउने वा नपाउने कुरामा धेरै फरक पार्छ। पुरानै गन्हाएका व्यक्ति मन्त्रीका रूपमा आउने हो भने जस्तोसुकै ठूलो वाचा गरेपनि जनता पत्याउनेवाला छैनन्। भ्रष्टाचार गर्न पल्केका पुराना सिकारीले आफ्नो बानी छोड्नेछन् भनेर ठान्नु हास्यास्पद हुनेछ। त्यसैले नेपालले मन्त्री छान्ने प्रक्रियामा निकै ध्यान दिई सबै पार्टर्ीीट सही मान्छेमात्र लिने अडान राख्नुपर्छ। अहिलेको जनताको माग सरकारमा स्वच्छ छवि भएका, युवा नेताको नेतृत्व हो।
नेपालका लागि नेपालमा केही गरेर देखाउने मौका आएको छ। यसलाई उनले पूरा गर्न सके भने सम्पूर्ण नेपालीले सँधै सम्झनेछन्। होइन, कुनैपनि रूपमा आफ्नो पद जोगाउन सम्झौता मात्रै गर्ने हो भने उनको आगमनले पनि नेपालीलाई त्राण दिने अवस्था देखिँदैन। - प्रतीक प्रधान prateekp@gmail.com
20090526
1 comment:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
मुलुकमा सुरक्ष्या सर्व प्रमुख आवश्यकता हो जस्ले जनता मा सरकारको उपस्थितिको बोध गराउदछ
ReplyDeleteसुरक्ष्याको लागि दण्डहिनताको अन्त्यहुनुपर्छ
शुरुवातको लागि पु.क.दा.को शक्तिखोर भिडियो देशद्रोह, जनतालाइ धोका, हत्या-हिन्शाको प्रशिक्ष्यण र झुठको खेतिको सशक्त प्रमाण भयेकोले पु.क.दा. लाइ महा अभियोग लगाइ कानुनको कठघरामा उभ्याइ कडा भन्दा कडा सजाय दिलाउनुपर्छ; उस्को मतियारहरु लाइ पनि एक एक गरि न्यायोचित सजाय दिनु पर्छ; क्यान्टोनमेन्टका जनसेना लाइ हतियारबाट मुक्त गराइ, हतियार सबै सरकारले कब्जा गरि त्यहाका जवान हरुलाइ कुनै रोजगारि मा लगाउनु पर्छ र जनसेना यसरि भन्ग गर्नु पर्छ
देश को सुरक्ष्या आइपर्दा सरकारको अनन्त शक्ति हुन्छ, माधव कुमारले यो काम सैनिक र प्रहरि मार्फ़त गरेर देखाउनु पर्छ नभये नेपाल रुवाण्डा हुने निश्चित छ