20090528

"राजतन्त्र पुनर्स्थापना गर्न षडयन्त्र, बेबी किङ बिउँत्याई नारायणहिटी ल्याउने" : माओवादी

एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले अनेकौँ तानावाना र षड्यन्त्र गरी राजतन्त्र पुनर्स्थापना गर्न प्रतिगमनकारी तत्व सक्रिय भएको बताएका छन्। नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिद्वारा गणतन्त्र घोषणा भएको प्रथम वर्षगाँठको उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा दाहालले भने- 'लोकतन्त्र र परिवर्तनका विरुद्ध जुनसुकै मूल्य चुकाउन परे पनि कोही कसैसँग घुँडा टेकिन्न।'

आफ्नो पार्टी प्रतिगमनकारी पक्षविरुद्ध एकढिक्का भई राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पक्षमा रहेको बताए। प्रतिगामी तत्वका चलखेलका कारण स्वाभिमानी प्रधानमन्त्री वीपी कोइराला पदबाट अनाहक अपदस्थ हुनुपरेको स्मरण गर्दै निवर्तमान प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वाभिमानका पक्षमा कसैसँग आत्मसमर्पण नगर्दा आफूले पनि राजीनामा दिनुपरेको बताए।

एकिकृत नेकपा माओवादीले नारायणहिटी दरबारबाट गणतन्त्र शालिक हटाउने सरकारको पछिल्ला निर्णयलाई बेबी किङ बिउँत्याउने षडयन्त्र भनेको छ। राजधानीमा जारी माओवादी सचिवालय बैठकले राज्य पुनःसंरचना र संविधानसभा मन्त्रालय खारेज गर्ने सत्तारुढ दलहरुको निर्णयलाई परिवर्तन आत्मसाथ गर्न नसकेको रुपमा व्याख्या गरेको छ।

बिहीबार बिहान बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले बेबी किङ बिउँत्याई नारायणहिटी ल्याउने षडयन्त्रमा सरकार लागेकाले नारायणहिटीभित्र शालिक नबनाउने निर्णय गरिएको जिकिर गरे।

प्रधानमन्त्री माधव नेपालको सरकारले सर्वसाधारण सबैले सजिलै देख्‍न सकून् भन्दै नारायणहिटीभित्र बनाउन लागिएको गणतन्त्र शालिक रत्‍नपार्कमा बनाउन लागेको प्रधानमन्त्रीले बताएका थिए। माओवादी नेतृत्वको सरकारले नारायणहिटी परिसरमा नै त्यस्तो शालिक बनाउन बजेटसमेत छुट्याएको थियो।

राष्ट्रपतिविरुद्ध माओवादीले संसदमा सूचना दिएको संकल्प प्रस्तावमा छलफल भएमात्र संसद चल्न दिने अन्यथा बिहीबार पनि संसद अवरुद्ध पार्ने जानकारी प्रवक्ता शर्माले दिए।
नयाँ बन्ने संविधानमा पार्टीका तर्फबाट बुझाउने मस्यौदा निर्माणका लागि माओवादी सचिवालयको बैठक बसिरहेको हो। बैठकमा शासकीय स्वरुप र राज्य पुनःसंरचनाका विषयमा नेताहरुले धारणा व्यक्त गरे। बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।



यो पाटीले'नि शान्ति प्रक्रियामा खूब राम्रो भूमिका खेल्यो बा । - राजेश

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक