20090712

दीपाले गुनासो पनि गरिन्- ‘एकपटक पनि प्रचण्डसँग खेल्न पाइएन।’

मञ्च र माइक्रोफोन पाउनासाथ एकअर्कालाई सत्तोसराप गर्ने राजनीतिक दलका नेताहरू आपसी जुहारी छाडेर शनिबार राजधानीको रंगशालामा रमाई-रमाई एक भएर हास्य अभिनेताहरूसँग फुटबलमा भिडे। सधैं राजनीतिक जुहारीमा भिडिरहने नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दशरथ रंगशालामा भएको सभासद् र हास्य कलाकारबीचको मैत्रीपूर्ण खेलका लागि झिल्के जर्सी पहिरिएर मुस्कुराउँदै एकसाथ मैदानतिर लम्कँदा दर्शकले तालीले भव्य स्वागत गरे। मृगौलाले काम गर्न छोडेपछि स्वास्थ्यसंकटमा परेका राष्ट्रिय भलिबल खेलाडी दिनेश बानियाँको सहयोगार्थ टेलिभिजन कलाकर्मी मञ्च नेपालको आयोजनामा भएको खेलको प्रारम्भमा वर्षात् भए पनि प्रचण्ड र रामचन्द्र जोसिँदै मैदानमा उत्रिएको पललाई क्यामेरामा समेट्न फोटोग्राफरहरूको घुइँचो लागेको थियो।
प्रचण्डले हात उठाएको केही क्षणपछि नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल पनि जर्सी लगाएर मैदानमा आए। त्यसपछि सबै जना अभ्यासमा जुटे। त्यस क्रममा प्रचण्ड, झलनाथ र रामचन्द्रका खुट्टाले पनि बल भेटे। एकपटक सामुन्ने आएको बल पनि चिप्लिएपछि प्रचण्डले धारेहात लगाएर धिक्कार्दै ‘हत्तेरी’ भन्दा सबै जना मरीमरी हाँसे। प्रचण्ड पनि नहाँसी बस्न सकेनन्। सभासद् र हास्य कलाकारलाई हौस्याउन प्रधानमन्त्री माधवकुमार नेपाल पनि मैदानसम्म पुगेका थिए। मैदानमा प्रवेश गर्नासाथ प्रम नेपालले हान्निँदै गएर खेलाडीहरूको बीचमा उभिएका प्रचण्डसँग हात मिलाए। प्रचण्डले हाँसेर जोडले हात मिलाउँदै प्रधानमन्त्री नेपाललाई पनि जर्सी लगाएर मैदानमा उत्रन आग्रह गरेका थिए। नेपाल भने अर्को कार्यक्रममा जानुपर्ने भएकाले सहभागी मात्र हुन आएको जवाफ दिएर पन्छिँदै क्रमशः पहिले सभासद् र पछि कलाकारको टोलीसँग हात मिलाएर परिचय गरेका थिए। त्यसो त दीपाश्री निरौला र किरण केसीले प्रधानमन्त्री मैदानमा आएपछि उनलाई बोक्ने सल्लाह गरेका थिए। प्रधानमन्त्री आफ्ना अगाडि आइपुगेपछि दीपाश्रीले त्यसो गर्ने हिम्मत नगरे पनि किरणले भने छाडेनन्। किरणले प्रधानमन्त्री नेपाललाई ‘म तपाईंलाई एकपटक बोक्छु है’ भन्दा प्रधानमन्त्रीले ‘हे..हे...हे’ गरेपछि किरणले उनलाई जुरुक्कै बोकेर फोटो खिचाए। प्रधानमन्त्री नेपालले बल पास गरेपछि औपचारिक रूपमा मैत्रीपूर्ण खेलको शुरूआत भएको थियो। प्रचण्ड, झलनाथ, रामचन्द्रजस्ता शीर्षस्थ नेता फुटबलमा भिड्दा दर्शकहरू वर्षामा भिजेर र छाताले छेकिएरै पनि उनीहरूको पक्षमा ताली बजाउन थालेपछि नेताहरू पनि हौसिए। कलाकारको आकर्षाको केन्द्रचाहिँ प्रचण्ड थिए। जसलाई हेर्यो, प्रचण्डसँगै खेल्न चाहिरहेको देखिन्थ्यो। दीपाले त पछि गुनासो पनि गरिन्- ‘एकपटक पनि प्रचण्डसँग खेल्न पाइएन।’ प्रचण्डसँग उनको स्पर्धा नभए पनि उनले हानेको बल प्रचण्डको छातीमा लाग्यो। उता पल्पसा डंगोलको प्रहार युवा सभासद् गगन थापामाथि परेको थियो। वाईसीएल उपत्यका इन्चार्ज तथा सभासद् सागरले कलाकार टोलीले तीन मिनेटभित्रै हानेको पहिलो गोल रोक्न नसकेलगत्तै कांग्रेस नेता पौडेलले मैदान छाडे। प्रचण्ड र झलनाथ भने मैदानमा रमाइरहेका देखिन्थे। गगन थापाले गोल फर्काएपछि भने प्रचण्ड र झलनाथ पनि खुइय गर्दै थकानको भावमा मैदानबाट बाहिरिएका थिए। प्रचण्ड मैदान छाड्ने बेलामा गगनले उनलाई सम्मानका साथ दुई हात जोडेर नमस्कार गर्दै मैदानबाट बिदा गरेका थिए। मैदान छाड्ने क्रममा प्रचण्डले २५ वर्षछि फुटबल मैदानमा पाइला टेक्दा रमाइलो लागेको अनुभव सुनाउँदै भने- ‘दलहरूबीचको एकताका लागि यो खेलले पहल गर्छ।’ झलनाथले पनि रमाइलो लागेको अनुभव सुनाउँदै भने- ‘हामी मानवहितका लागि एकजुट भएका हौं। यस्तो खेलले एकताका लागि पहल गर्छ।’ त्यसै गरी वर्षा पुनको भनाइ थियो- ‘हामी त सहमति खोजेरै जाने हो। गोलमा पनि सहमतिबाटै जान्छौं।’खेलका क्रममा आफूले दिएको बल सभासद्हरूले अलमलिँदै आफ्नै पोस्टतिर लग्न थालेपछि गगनले अर्को दिशातर्फ देखाएका थिए। उनले कलाकारले बल प्रहार गर्ने क्रममा खुट्टामा लागेर पीडा भए पनि पूरै समय मैदान छाडेनन्। खेलको अर्को रमाइलो पक्ष के थियो भने सभासद्को टोलीमा वाईसीएल उपत्यका इन्चार्ज सागरको सहभागिता थियो भने कलाकारको टोलीमा तीतो सत्यमा प्रधानमन्त्री माधवकुमार नेपाल बनेर खेल्ने कमल मैनाली किपरका रूपमा सहभागी थिए। परिचयका क्रममा प्रधानमन्त्री नेपालले मैनालीसँग हाँस्दै सोधे- ‘टीभीमा म बनेर खेल्ने तपाईं होइन-’ २९ नम्बर जर्सी लगाएका कलाकार तथा छायाकार मनराज श्रेष्ठले हयाटि्रक गरेका थिए भने गगन थापाले पनि त्यति नै नम्बरको जर्सी लगाएर एक गोल फर्काए। सभासद्को टोलीमा गगन ‘हिरो प्लेयर’ बन्न सफल भए। खेल सकिएपछि उनले लगाएको जर्सी एक दर्शकले १० हजार रुपियाँमा खरिद गरे। थापाले त्यसमा १० हजार थपी खेलाडी बानियाँलाई उपलब्ध गराउने घोषणा गरेका थिए। - विदुर गिरी


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक