20090802

वाइसिएलको अराजकता कायमै, जि यम र क्याम्पस प्रमुख कुटिए, माओवादीद्वारा फेरी जनबिद्रोहको धम्की !

माओवादी भातृ संगठन वाइसिएलले औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका महाप्रवन्धक गिरिराज भण्डारीमाथि सांघातिक आक्रमण गरेका छन् । आइतबार दिउँसो १:४५ बजे नारा लगाउँदै आएका वाइसिएल कार्यकर्ताले पत्रकार सम्मेलनमा बोल्दै गरेका भण्डारीलाई भ्रष्टाचारीको आरोप लगाउँदै कालोमोसो दलेर कुटपिट गरेका हुन्। दुई दर्जन वाइसिएल कार्यकर्ताले भण्डारीलाई कार्यालयबाट घोक्राउँदै बाहिर लत्ती र मोटरसाइकलको हेलमेटले कुटेका थिए। सांघातिक आक्रमणबाट उनको शरिरभरि चोट लागेको छ। भण्डारीलाई जोगाउन गएका लिमिटेडका कर्मचारी केशव पराजुली, संगीता नेपाली, राजेन्द्र श्रेष्ठ, मदन महर्जन घाइते भएका छन्। पराजुलीको टाउको फुटेको छ।

भण्डारी लगायत कर्मचारीलाई कुटपिट गरेर उनीहरु कार्यालय परिशरबाट बाहिरिएका थिए। घटना भएको ४५ मिनेटपछिमात्र प्रहरी वृत्त बालाजुबाट डिएसपीको नेतृत्वमा प्रहरी पुगेको थियो। वाइसिएलले घरेलु तथा साना उद्योग विकास समितिकी अध्यक्ष सरस्वती बाटीलाई पनि लछारपछार गर्दै कुटेका थिए। महाप्रवन्धक भण्डारी लगायत घाइते कर्मचारीको अहिले मोडल अस्पतालमा उपचार भैरहेको छ। गत सरकारको पालामा नियुक्त भएका बिभिन्न १४ सरकारी संस्थान र समितिका प्रमुखहरुले राजिनामा दिन पत्रकार बालाजु औद्योगिक क्षेत्रभित्र कार्यक्रम डाकिएको थियो। नौ महिना अघि महाप्रवन्धक नियुक्त भएका भण्डारीले आफ्नो कार्यकालमा औद्योगिक क्षेत्रबाट वाइसिएलको क्याम्प हटाएका थिए। त्यही रिसमा वाइसिएलले आक्रमण गरेको अनुमान कर्मचारीले गरेका छन्।

राजधानीको त्रिचन्द्र क्याम्पसका प्रमूख हरिप्रसाद पराजुली केही बेर अघि क्याम्पस हाता भित्रै कुटिएका छन् । त्रिचन्द्र गोली काण्डका आरोपीलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको भन्दै एक हुल व्यक्तिहरु क्याम्पसमा आई पराजुलीलाई कुर्सीले हानेको त्रिचन्द्रका स्ववीयु सचिव सन्जय यादवले जानकारी दिएका छन् । असार २१ गते त्रिचन्द्रमा टेण्डर विवादमा भएको गोलीकाण्डका दुई आरोपी ऐनबहादुर महर र समिक बडाललाई प्रहरीले पक्राउ गरेको हो । गोली लागी घाइते भएका नेविसंघका केन्द्रीय सदस्य भिमसिंह गुरुङले उनीहरुलगायत ६ जनाविरुद्ध प्रहरीमा लिखित उजुरी दिएका थिए ।

एकीकृत नेकपा माओवादीले ४ दिन भित्र राजनीतिक सहमति नभए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएको छ। राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी माओवादीले ४ दिन भित्र नयाँ खालको राजनीतिक सहमति नभए आन्दोलन गर्ने चेतावनी दिएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिको विषयमा छलफलका लागि आफूहरुले गरेको सहमतिको म्याद ४ दिनपछि सकिने हुँदा त्यतिबेलासम्म राजनीतिक सहमति कायम नभए सदन र सडकबाट आन्दोलन गर्ने घोषणा गरेका हुन्। आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै त्यसमा दमन गरिए जनविद्रोह हुनेसमेत चेतावनी दिएका छन्। 'आन्दोलनको स्वरुप शान्तिपूर्ण हुन्छ, त्यसमा दमन गरिए जनविद्रोह हुन्छ'–प्रचण्डले भने।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक