20090830

नयाँ नेपाल, गणतन्त्र नेपाल अझ के के जती हो कुन्नी... का महामहिम उपरास्ट्रपतीको चर्तिकला हेर्नुसत !!!

मन्त्रिपरिषद्को निर्णयपछि उपराष्ट्रपति परमानन्द झा सपथ खान आइ हाल्लान कि भनेर राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री मन्त्रीहरुसहितका अन्य विशिष्ट अधिकारीहरु चिया पिएर फर्केका छन । उपराष्ट्रपति झाले दिउँसै आफूले सपथ ग्रहण नगर्ने बताइसके पनि सबै तयारी भएकाले प्रधानमन्त्रीसहितका अधिकारीहरु राष्ट्रपति कार्यालय पुगेका थिए । राष्ट्रपतिको कार्यालयमा पूर्वनिर्धारित कार्यक्रम बमोजिम आइतबार दिउँसो उपराष्ट्रपतिलाई सपथ गराउने समारोह आयोजना भए पनि उपराष्ट्रपति झा भने त्यहाँ गएनन् । झालाई सपथ गराउने कार्यक्रममा प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, र केही मन्त्रीहरु पुगेका थिए । ४ बजे सपथ ग्रहण कार्यक्रम राखिए पनि त्यहाँ पुगेकाहरु १ घन्टा भन्दा लामो समय कुरीरहे । ५ बजेर १० मिनेट जाँदा झा नआउने जानकारी प्रधानमन्त्रीको कार्यालयबाट आएपछि सबैजना फर्केका थिए । उक्त कार्यक्रममा राजनीतिक दलका नेताहरु र नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरु भने गएका थिएनन् ।

उपराष्ट्रपति परमानन्द झाले मन्त्रिपरिषद्ले आग्रह गरे पनि नेपालीमा सपथ नलिने भएका छन् । आइतबार दिउसो पत्रकार सम्मेलन गरी झाले नेपालीमा सपथ नलिने बताएका हुन् । उनलाई एक हप्ताभित्र नेपालीमा सपथ लिन सर्वोच्चले दिएको आदेशको अवधि आइतबार सकिन्छ। सर्वोच्चको फैसला बमोजिम सोमबारदेखि उपराष्ट्रपतिको पद स्वत: निष्क्रिय हुनेछ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपतिलाई नेपालीमा सपथ लिन आग्रह गर्दै अपराह्न ४:१५ बजेका लागि सपथको तयारी गरिरहेका बेला उपराष्ट्रपति झाले पत्रकार सम्मेलन गरी पुन: सपथ लिनुको औचित्य नभएको बताएका हुन् । पत्रकार सम्मेलनका क्रममा उपराष्ट्रपतिले राजिनामा दिने या नदिनेबारे भने केही बताएनन् । उनले सर्वोच्च अदालतका न्यायाधीशहरुले कानुनको अपव्याख्या गरी आफूमाथि घोर अन्याय गरेको आरोप पनि लगाए। पत्रकार सम्मेलनको अधिकांश समय उपराष्ट्रपतिले सर्वोच्चको आदेशको खण्डन र भाषिक अधिकारको बचाउ गर्न बिताएका थिए । सर्वोच्चको आदेशको उद्देश्य भाषिक विवाद सिर्जना गर्नु रहेको आरोप पनि उपराष्ट्रपति झाले लगाए ।

झलनाथ खनाल र केपी ओली पक्षबीच बिबाद

नेकपा एमालेमा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली पक्षधरहरुबीच चर्केको बिबाद शनिबार राजधानीमा फेरि देखिएको छ। एमालेका शिर्ष नेताहरुबीच आपसमा आरोप प्रत्यारोप र घोचपेच मात्र भइरहेका बेला काठमाडौं जिल्लामा फरक फरक संगठन र भेला समेत भयो। राजधानीमा काठमाडौं जिल्लाको छुट्टै भेला डाकेर नेकपा एमाले नेता ओलीले पार्टी अनुशासनभन्दा माथि आफूले अहिलेसम्म केही पनि नगरेको बताउँदै कारवाही धम्की नदिन अध्यक्ष खनाललाई चेतावनी दिए। आफू पार्टीको जुनसुकै कमिटी बसेर काम गर्न तयार रहेको भन्दै उनले अहिले हाँगाको टुप्पामा बसेर पार्टीका नेताहरुले हाँगा काटेर अनुशासनको धम्की दिइरहेको बताए। डमरुलाई चलाए बघिनीले नछोड्ने भन्दै ओलीले आफूलाई चलाए दर्हो झाप्पु हान्ने चेतावनी दोहोर्याए। वर्तमान सरकार आफ्नै पार्टी भित्रका कतिपय नेताहरुले असंवैधानिक भनिरहेको प्रति टिप्पणी गर्दै ओलीले संसदबाट बनेको सरकार संवैधानिक नभए रोल्पाबाट ल्याएको सरकार संवैधानिक हुन्छ त भन्दै प्रश्न गरे। माओवादी र खनाल पक्षका नेताहरुप्रति अत्यन्त आक्रमक रुपमा प्रस्तुत भएका उनले भने, "माओवादीका दुईटा बन्दुकका छेस्का देख्ने बित्तिकै उसलाई क्रान्तिकारी देख्नुपर्दैन।"
अध्यक्ष खनालले पार्टीको म्यान्डेटभन्दा बाहिर गएर देशव्यापी भेला र बैठक गरिरहेको उनले बताए।

यस्तै सोही भेलामा एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अनुशासनको कारवाही सबैभन्दा पहिला अध्यक्ष खनाल र दुइ जना उपाध्यक्षलाई गर्नुपर्ने बताए । अध्यक्ष खनाल, उपाध्यक्ष वामदेव गौतम र अशोक राईलाई गुटबन्दी गरेको अभियोगमा कारवाही गर्नुपर्ने श्रेष्ठले बताए। श्रेष्ठले पार्टी अध्यक्ष खनालले जनताको बहुदलीय जनवादको सिद्धान्तभन्दा विपरीत काम गरिरहेको आरोप लगाए। साथै उनले मालेबाट आएका गौतमले एमालेमा रहेर माओवादीमा कार्यकर्ता पठाउने गरेको आरोप लगाए। आफूहरुले गरेको भेला वैधानिक र आधिकारिक भएको दावी गर्दै उनले यही भेला आउँदो असोज ३ र ४ गते जिल्ला अधिवेशन गरी सबै विवाद टुंगो लगाउने बताए। डिल्ली बजार स्थित सांस्कृतिक केन्द्रमा चलिरहेको भेलामा एमाले स्थायी समिति सदस्य ओलीलगायत केन्द्रीय सदस्यहरु रहेका छन् । एमाले संस्थापन पक्षले काठमाण्डौ जिल्ला कमिटी पुनरगठन गरेपछि पार्टीमा बिवाद चुलिदै गएको हो । संगठन पुनरगठनका क्रममा अध्यक्ष खनालले ओली पक्षका सचिव रामेश्वर फुयाललाई हटाएपछि असन्तुस्ट पक्षले शनिबार अलग भेला बोलाएको थियो। दुई दिन अघि संस्थापन पक्षको कार्यकर्ता भेलाले जिल्ला संगठन कमिटीको संयोजक गोविन्द कृष्ण अधिकारीलाई चयन गरेको थियो । खनाल पक्षले ओली पक्षको शनिबारको भेलालाई गुटबन्दी मात्रै भएको बताएका छन्। ७३ मध्य २६ जना सदस्य मात्रै ओली पक्ष संग भएकाले उनले गरेको भेला गुटबन्दी भएको खनाल पक्षको दावी छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक