20090921

प्रधानमन्त्री माधवकुमार नेपाल न्यूयोर्क


प्रधानमन्त्री माधवकुमार नेपाल ६४ औं राष्ट्रसंघीय महासभामा भाग लिन आइतबार राती न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। अढाई दर्जन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गरी गएका उनले असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
महासभामा सम्बोधनका क्रममा उनले जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दीका कारण नेपाल लगायत अतिकम विकसित देशले भोग्नु परेका विविध समस्याबारे धारणा राख्नेछन्। प्रधानमन्त्री नेपाल आउँदो मंगलबार राष्टसंघीय महासचिव बान कि मुनले विश्वका नेताहका निम्ति आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछन्। महासभाका दौरान अमेरिकी राष्ट्रपति बाराक ओबामाको नियमित 'रिसेप्सन'का अतिरिक्त उनले आयोजना गर्ने शान्ति सेनासम्बन्धी विशेष गोलमेचमा सहभागी हुनेछन्। शान्ति सेनामा सहयोग गर्ने प्रमुख १० राष्ट्रका राज्य तथा सरकार प्रमुखबीच ओबामाले गोलमेच आयोजना गर्न लागेका हुन्।

प्रधानमन्त्रीले विश्वशान्तिमा नेपालले साँढे पाँच दशकदेखि पुर्‍याउँदै आएको योगदानको चर्चा गर्ने परराष्ट्र प्रवक्ता मदन भट्टराईले बताए। राष्ट्रसंघीय छातामुनी रहेर शान्ति सेना पठाउने १ सय १८ मुलुकमध्ये नेपाल पाँचौ स्थानमा पर्छ।
महासचिव बानले आयोजना गर्ने 'जलवायु परिवर्तनसम्बन्धी विश्वनेताहरूको सम्मेलनमा प्रधानमन्त्रीले 'विश्वव्यापी ताममान बृद्धिले हिमश्रृंखलामा देखिएका असर र त्यसले पार्ने असरबारे' धारणा राख्नेछन्। उनले यसका कारण नेपालजस्ता देशले भोग्नुपर्ने चुनौति सामानाका लागि धनी राष्ट्रहरूलाई सहयोगका निम्ति ध्यानाकर्षण गर्नेछन्। विश्वका औद्यौगिक राष्ट्रले उत्सर्जन गरेको हरितगृह ग्याँसका कारण विश्वताममान निरन्तर बढिरहेको छ। यसको असर स्वरूप हिमश्रृंखला पग्लिँदै गएको छ भने, हिमतालहरू बढेर फुट्ने र त्यसले ठूलो मानविय संकट निम्त्याउने लगायत खतरा देखिएको छ। ताममान वृद्धिकै कारण अति वर्षा र खडेरीका कारण खाद्य संकट निम्तिँदै गएको छ। नेपालजस्ता कम विकसित देशह यी समस्याका कारक नभए पनि यसबाट सबभन्दा असुरक्षित भएको उनले बताउनेछन्।

प्रधानमन्त्री नेपाल प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयले हरेक वर्ष आयोजना गर्ने 'विश्व नेताहरूको फोरम' बैठकमा किनोट भाषण दिनेछन्। बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन र विश्व बैंकका अध्यक्ष रोवर्ट जुलिकले संयुक्त रूपमा आयोजना गर्ने विश्वस्वास्थ्यसम्बन्धी कार्यक्रममा उनले मातृ र बालमृत्यु दर न्यूनीकरणमा नेपालको उपलब्धी र चुनौतिबारे प्रष्ट्याउनेछन्।
नेपालले श्रीलंका र बंगलादेशी समकक्षी क्रमशः रत्नश्री विक्रमानायके र शेख हसिनासँग 'साइडलाईन' वार्ता गर्नेछन्। सिंगापुरका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने बताइएको छ। अन्य केही देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्रीको भेटवार्ताका लागि न्यूयोर्कस्थित नियोगले समन्वय गरिरहेको छ।असोज १० मा महासभालाई करिब १५ मिनेट सम्बोधन गरेपछि प्रधानमन्त्री स्वदेश फर्किनेछन्। उनी असोज १२ मा यहाँ आइपुग्नेछन्। भ्रमण दलमा प्रधानमन्त्री पत्नी गायत्री नेपाल, परराष्टमन्त्री सुजाता कोइराला, स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र सचिव सुधा शर्मा, परराष्ट्र सचिव, शिष्टाचार प्रमुख, प्रधानमन्त्रीका सल्लाहकार, स्वकिय सचिव, अंगरक्षक, परराष्ट्रमन्त्रीका सल्लाहकार, स्वकिय सचिवलगायत हुनेछन्।
मन्त्री कोइरालाले महासभाका दौरान कम विकसित राष्ट्रहरूको समूह, भुपरिवेष्टिक विकासोन्मुख मुलुकहरूको समूह (एलएलडिसी) र सार्क मन्त्रीस्तरीय वैठकहरूमा भाग लिनेछिन्। उनी प्रधानमन्त्री नेपालभन्दा पाँच दिनपछि असोज १७ मा मात्रै नेपाल फर्किनेछिन्। - नागरिक


"देश खरानी हुन्छ, हामीसबै मसान"

माओवादीले जगाएको मसानलाई अहिले बसाउन गाह्रो

- हरिप्रसाद पोखरेल


एमाले नेता एवम् पोलिटव्युरो सदस्य केपी शर्मा ओलीले विगतमा माओवादीले जगाएको मसानलाई अहिले बसाउन गाह्रो भएको बताएका छन्। नेपालमा भइरहेको जात, क्षेत्र, धर्म र भाषाको लडाईको मसानलाई माओवादीले जगाएको टिप्पणी गर्दै ओलीले भने- अहिले यो मसानले हामीलाई सिध्याउन थालेको छ किनभने मसान जगाउन सजिलो छ, बसाउन गाह्रो । एमाले जापान प्रवास कमिटीको निमन्त्रणामा बुधबार जापान आएका ओलीले शनिबार र आइतबार नागोयामा आयोजित दुई दिने अन्तरक्रिया र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने- यस्ता मसान जागिरहँदा देश खरानी हुन्छ। अनि खरानीमाथि हामीसबै ती मसान पनि हुनेछन्। यसैले भू-बनोटका आधारमा राजनीति गर्न छाडौं। देश संक्रमणकालमा छ, लोकतान्त्रिक प्रणालीमार्फत् नै यो संक्रमणकाललाई टुंग्याउने प्रयत्न गरौं। अन्तर्राष्ट्रिय मूल्य मान्यता, जनताको सम्मान र सुरक्षाको प्रत्याभूतिका लागि सबैलाई एकजुट हुन पनि ओलीको आग्रह थियो।
अहिले जताजतै हिंसाको मूल फुट्दा १ सय १३ वटा हिंसाका बीउ रोप्नेहरु जन्मिएका छन् भन्दै ओलीले भने- ”बैसठ्ठी वटा हिंसाका समूहलाई त म पनि चिन्छु।”माओवादीले भन्दै आएको नयाँ नेपाल र वैज्ञानिक चमत्कारलाई ओलीले घुमाउरो पारामा व्यंग्य पनि गरे।”पढाई लेखाई छैन, यो कस्तो नयाँ नेपाल हो ? मान्छे मार्ने, काट्ने र हड्डी फुटाउने माओवादीको यो कस्तो विज्ञान र राजनीतिक संस्कार हो?” ओलीको प्रश्न थियो। यसैले अन्धविश्वासको होइन, निष्ठाको वैज्ञानिक चमत्कार गर्न माओवादीलाई ओलीले सुझाव पनि दिए। अन्तरिम संविधान संशोधन गर्ने सहमति दलहरुले दिने भए सदन चल्न दिने भन्ने माओवादी अध्यक्षको पछिल्लो भनाईलाई ओलीले बेतुकको माग भनी तर्क गरे। ”पुष्पकमल दाहालका बेतुकका मागलाई संवोधन गरेर बस्ने बेला होइन यो। एउटा समस्या संबोधन गरिदियो भने उनले फेरि अर्को समस्या निकालेर दुख दिन्छन्” उनको कथन थियो।
”संविधान संशोधन गरेर मात्रै पारा लाग्ने भए किन चाहियो नयाँ संविधान? किन चाहियो संविधानसभा?” ओलीको प्रश्न थियो। अस्तव्यस्तताले कसैलाई फाइदा गर्दैन भन्दै उनले भने- ”दैशको नियम कानुन र संविधान भुपि शेरचनको कविता जस्तो केर्ने, मेट्ने र संशोधन गर्ने चिज हो र ? ” राज्य संयन्त्र र एकताका सबै तन्तुलाई तहसनहस गर्ने अभियानमा माओवादी लागिरहेको उल्लेख गर्दै ओलीले भने- जे कामका लागि हो, त्यही कामका लागि लागौं। आजको आवश्यकता भनेको नयाँ संविधान निर्माण हो।
माओवादीको राष्ट्रिय झण्डा फेर्ने प्रस्तावलाई कार्यक्रममा ओलीले कडा प्रतिवाद गरे। झण्डा कुनै राजा महाराजाले बनाएको होइन। कसैले अगुवाई गरेको पनि होइन। नेपाली झण्डा नेपाली जनताले बनाएको हो र यसको छुट्टै विशेषता छ भन्दै ओलीले प्रश्न गरे- देश मानिन्छ भने नेपाली झण्डा किन नमान्ने? केही मान्छेले झण्डा जलाउन थालेपछि आफूले यो झण्डालाई आफ्नै टेबुलमा राखेको स्मरण गर्दै ओलीले राष्ट्रिय झण्डाको बहसलाई काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै हो पनि भने।अन्तरक्रिया कार्यक्रममा एनआरएन जापानका राष्टिय संयोजक डा. सुदीपसिंह अधिकारीले देश निर्माण र नयाँ संविधानको लक्ष्यअनुसार चल्न पार्टीका जिम्मेवार नेताहरुलाई सुझाव दिए। इन्जिनियरिङ एशोसियसन जापान च्याप्टरका पूर्व अध्यक्ष वसन्त गौतमले देशको चरम निराशा र अराजकताले विदेशमा बस्ने सबै नेपालीलाई चिन्तित बनाएको विचार व्यक्त गरे।
एमाले जापान प्रवास कमिटीका सचिव सूर्य पाठकले अराजकता र दण्डहीनताका कारण लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन नसकेको टिप्पणी गरे। कमिटीका उपसचिव डा. दिलिपचन्द्र घिमिरेले नेपाली राजनीतिक लडाईंको कमजोरी खेल्नेले भन्दा हेर्नेले बढी देख्ने भएकाले गैरआवासीय नेपालीहरुबाट आएका सल्लाह र सुझावलाई पनि मनन गरिनुपर्ने राय व्यक्त गरेका थिए। नागोयामा दुई दिनसम्म कार्यक्रम भएको थियो। शनिबार साँझ खुल्ला अन्तरक्रिया कार्यक्रम गरिएको थियो भने आइतबार बिहानको कार्यक्रममा एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेता केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएका थिए। कार्यक्रममा एमाले जापान प्रवास कमिटीका सल्लाहकार लोकनाथ वस्ती, संगठन विभाग प्रमख कृष्ण खड्का, टोयोटा शाखा सचिव बलराम भुषाल, नागोया शाखा सचिव विनोद खनाल, मुल कमिटी सदस्य डा. किशोरचन्द्र खनाल, विजय खनाललगायतको उपस्थिति थियो। कार्यक्रमको संयोजन डा. दिलिपचन्द्र घिमिरेले गरेका थिए।
जापानमा एमाले नेता ओली निकै व्यस्त छन्। उनी विभिन्न कार्यक्रममा सरिक हुनुका साथै जापानी नेतासँगको भेटघाटलाई पनि तीब्रता दिएका छन्। यद्यपि नेता ओलीबाट आफ्नै कार्यकर्तालाई पर्याप्त समय नदिएकोमा भने नागोयाका एमाले कार्यकर्ताले गुनासो गरेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक