20091030

माओवादीद्वारा मन्त्रीहरुलाई प्रबेस निसेध, एमाले कार्यकर्ता भक्कुमार कुटिए, सरकारी कार्यालयमा आगो, माओवादीको उल्टै धम्की, जनता त्रस्त

सत्तारुढदलद्वारा सरकारलाई माओवादी आन्दोलन दबाउन निर्देसन्      
एमाले महासचिबद्वारा माओवादीको प्रतिकारमा उत्रने चेतावनी
एकीकृत नेकपा (माओवादी) को संयुक्त राष्ट्रिय जनआल्दोलन समिति, दोलखाका संयोजक विशाल खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो कुरा जनाइएको छ। यसैगरी दोलखाका गाविस सचिवहरु कात्तिक १६ गते बिहान १० बजे गाविस कार्यालयमा हाजिर हुनुपर्ने अन्यथा जनन्याय समितिको कठघरामा उभ्याउन जनसुरक्षा समिति बाध्य हुने धम्की सोही विज्ञप्तिमार्फत दिइएको छ। यता एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै शुक्रवार धनकुटामा सरकारी कार्यालयहरु र सवारी साधनमा आक्रमण गरी क्षति पुर्‍याएका छन्। माओवादी कार्यकर्ताले

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, धनकुटा र जिल्ला शिक्षा कार्यालय, धनकुटामा आक्रमण गरी क्षति पुर्‍याएका छन्।बन्दकर्ताहरुले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको कार्यालयमा ढुङ्गा प्रहार गरी झ्यालका सिसा फुटाउनका साथै कम्प्युटरसमेत ध्वस्त बनाई दिएका छन् भने जिल्ला शिक्षा कार्यालयमा फर्निचर तथा झ्याल ढोका फुटाउनका साथै केही कागजपत्र जलाइदिएको प्रहरीले जनाएको छ।

उता नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आन्दोलनको नाममा एकिकृत माओवादीले हिंसात्मक गतिविधि गरे प्रतिकार हुने चेतावनी दिएका छन्। एमाले पाँचौ धरान नगर अधिवेशनको शुक्रबार उद्घाटन गदै महासचिव पोखरेलले सो चेतावनी दिएका हुन्। "हामी सहमति गरौं भनेर प्रयास गरिरहेका छौं, तर माओवादी आन्दोलनको घोषणा गदैछ"-उनले भने-"शान्तिपुर्ण आन्दोलन सबैलाई मान्य हुन्छ तर आन्दोलनको नाममा हिंसात्मक भयो भने स्वाभाविकरुपमा प्रतिकार गर्नुपर्ने हुन्छ।" माओवादीले गरेको आन्दोलनको घोषणा सरकार असफल पार्ने नाटक मात्र भएको उनको टिप्पणी थियो। "आन्दोलनको घोषणा सरकार असफल पार्ने नाटक मात्रै हो"-पोखरेलको टिप्पणी थियो-"स्वायत्त गणराज्य घोषणा गरेर वर्तमान सरकार असफल पार्न खोजेका हुन् तर यो मुर्खताबाहेक केही होइन।"
यसैगरी नेकपा एमालेका नेता के.पी शर्मा ओली र अर्थ मन्त्री सुरेन्द्र पान्डेले शुक्रबार माओबादी अवरोध छलेर झापाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। आफुलाई झुक्याएर ओली र मन्त्री पाण्डे बाढी प्रभावित क्षेत्र पुगे पछि राजमार्गमा खटिएका माओवादी कार्यकर्ताले त्यसको रिस एमाले कार्यकर्ता माथि पोखे। एमाले कार्यकर्ता नगेन्द्र संग्रौलामाथि चारपानेमा वाइसिएल कार्यकर्ताले आक्रमण गरेका थिए। निर्घात कुटपिटबाट घाइते बनेका उनको टाउकोमा गम्भीर चोट छ। उनलाई उपचारका लागि शनिवार राजधानी लगिन्दैछ। ओली र मन्त्री पाण्डे झापा आउने जानकारी पाए लगत्तै उनीहरुको कार्यक्रम विथोल्न माओवादी कार्यकर्ता राजमार्ग भरी परिचालित थिए। 
उता सरकारलाई समर्थन गर्ने दलहरुले शान्ति-सुरक्षा कायम गर्दै जनताको जिउ-धनको सुरक्षा गर्न सरकारलाई निर्देशन दिएका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको १० दलको बैठकले माओवादी आन्दोलन हिंसात्मक भए त्यसलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा प्रत्याभूतिका लागि तत्परताका साथ दृढतापूर्वक आवश्यक पाइला चाल्न सरकारसँग आग्रह गरेका हुन्। उनीहरुको बैठकले आन्दोलनको नाममा कुनै पनि प्रकारका तोडफोड र हिंसात्मक र अराजक कामहरु नगर्न माओवादीलाई अनुरोध पनि गरेका छन्। सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाइए पनि १० दलका नेता मात्र त्यसमा उपस्थित थिए। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेकपा माले, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्‌भावना पार्टी, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीको मात्र सहभागिता थियो।बैठकले बजेट पारितमा सहयोग गर्न र आन्दोलन नगर्न माओवादीलाई आग्रह पनि गरेका छन्। उपत्यका नाकाबन्दी र स्वायत्त गणराज्य बनाउने सम्मको कार्यक्रम घोषणा गरेर माओवादीले विस्तृत शान्ति सम्झौता र लोकतान्त्रिक मूल्य-मान्यताको उल्लंघन तथा संविधानसभाको क्षेत्राधिकार समेत मिचेको सत्तारुढ दलहरुको ठम्याइ छ।

उता एकिकृत नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलले राजनीति दलका नेताहरुलाई मन्त्रीसित नहिड्न आग्रह गरेका छन्। मन्त्रीसित नेता हिडेपछि माओवादीको बिरोध खेप्नु परिरहेको उनको भनाई छ।
‘कतै जाँदा नेताहरुलाई मन्त्री नबोक्न आग्रह गरेका छौं, मन्त्री बोक्यो भने कालो झण्डा देखाइन्छ र त्यो क्रममा हुने व्यवहार सहनुपर्छ'-क्रान्तिकारी पत्रकार संघ मोरङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी नेता पोखरेलले भने।-नागरिक


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक