20091203

"मुलुक विखण्डनतर्फ, पुष्पकमल दाहाल 'प्रचण्ड' मुलुकमा श्रीपेचविनाको राजा बन्न खोजे"


नेपाली काङ्ग्रेसका उपसभापति तथा पार्टी संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मुलुकमा श्रीपेचविनाको राजा बन्न खोजेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ, स्याङजा शाखाको प्रथम साधारणसभा उदघाटनका लागि आएका उपसभापति पौडेलले भने- 'मुलुकमा हत्या, हिंसा र आतङ्कलाई केन्द्रीकृत गरेर अर्काको मेहनतमा मोजमस्ती गर्ने नयाँ वर्ग जन्मन खोजेको छ, त्यसमा हामी सबै सतर्क हुनु जरुरी छ।'शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान जारी गर्ने काम गर्नुभन्दा पहिले माओवादी लडाकूको समायोजन गरिनुपर्ने बताउँदै क्यान्टोनमेन्टमा हतियार राखेर चाबी आफूसँग भएकाले माओवादीले अन्य दलहरुलाई धम्क्याएको आरोप लगाए। उनले भने-'माओवादीको हतियार र लडाकूलाई समायोजन गर्नका लागि सर्वसाधारणले पनि दबाब
दिनुपर्छ, अनिमात्र नयाँ संविधान जारी हुन्छ।'

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक विखण्डनतर्फ गइरहेको बताएका छन्। राजनीतिक दलबीचको असमझदारीले तोकिएको समयमा संविधान बन्ने सम्भावना क्षीण हुँदै गएको पनि उनले बताए। संविधान निर्माण प्रक्रिया माओवादी, कङ्ग्रेस र एमालेको गलत नियतका कारण ढिलाई भएको अरोप पनि उनले लगाए। राप्रपा नेपाल कैलालीको चौथो जिल्ला अधिवेशनमा बोल्दै उनले राजनीतिक दलबीच बढेको असमझदारीले मुलुक भयाबह स्थितिमा गुज्रिरहेको बताए। राजनीतिक दलले जनतामाथि खेलवाड गरिरहेको उनको भनाइ थियो। 'संविधानसभामा जनताले भोट दिएर पठाएका दलका प्रतिनिधिले जनताको अभिमतको कदर गर्नुको सट्टा जनतामाथि खेलवाड गरिरहेका छन्'- उनले भने अहिले मुलुकमा अशान्ति, भ्रष्टाचार, ब्रह्मलुट कायम छ। पार्टीगत स्वार्थभन्दा सबै राजनीतिक दल माथि उठेर राष्ट्र र जनताको हितमा जानु आवश्यक छ- उनले भने। अध्यक्ष थापाले तीन वर्षअगाडि निरंकुशता अन्त्यका लागि सुरु भएको आन्दोलन संविधानसभापश्चात अधिनायकवाद, सर्वसत्तावाद र नागारिक सर्वोच्चताका लागि भइरहेको बताए। राजसंस्थालाई पाखा लगाउने काम असंवैधानिक तरिकाले भएको उनको आरोप थियो। राजसंस्था फर्किने/नफर्किने जनताको हातमा भएको उल्लेख गर्दै जनता बलिया भयो भने राष्ट्रियता बलियो हुने उनले बताए। अहिलेको महत्वपूर्ण प्रश्न भनेको स्वतन्त्र अखण्ड प्रजातान्त्रिक मुलुक बनाउन सकिन्छ कि सकिँदैन भन्ने हो। मुलुक विखण्डनतर्फ गइरहेको छ- उनले टिप्पणी गरे। माओवादी सेनाको टुङ्गो नलगाई संविधानसभाको चुनाव गरेकाले माओवादीको जनविद्रोह र शान्ति प्रक्रिया एउटा सिक्काका दुई पाटा बनेको उनले बताए। राजनीतिक दलहरुको गल्तीले माओवादीसँग सेना भएको अवस्थामा संविधानसभाको चुनाव गरेकाले अब देशमा शान्ति हुन्छ भन्ने कुराको कल्पनासमेत गर्न नसकिने अध्यक्ष थापाको भनाइ थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक