20100219

राष्ट्रपति शासन लगाउने अभ्यास भइरहेको एमालेका उपाध्यक्ष वामदेव गौतमको आरोप

सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले राष्ट्रपति शासन लगाउने अभ्यास भइरहेको बताएका छन्। आलंकारिक राष्ट्रपतिले कुनै पनि सम्झौता र सहमति गर्न मिल्दैन, तर भारत भ्रमणमा गएर सम्झौता गर्ने कार्य हुनु संविधानको भावनाविपरीत हो, भनिएको छ। एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनको मात्र आलोचना गर्नुभएन, उहाँले वर्तमान सरकारले संविधान निर्माणका लागि राष्ट्रिय सहमति निर्माण गर्न नसके सत्ता त्याग्न पनि तयार हुनुपर्ने बताउनुभएको छ। राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उपाध्यक्ष गौतमले प्रधानमन्त्रीले आफूमा भएको अधिकारसमेत राष्ट्रपतिलाई दिएर कार्यकारी बनाउन खोजेको त होइन भनी प्रश्न गर्नुभएको छ। .....

उपाध्यक्ष गौतमले जेठ १४ गते संविधान निर्माण नगर्ने र राष्ट्रपति शासन लगाउने पूर्वाभ्यासका थुपै्र उदाहरण दिन सकिने भन्दै देशलाई ठूलो दुर्घटनाबाट जोगाउन एमालेले संयोजनकारी महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ। उपाध्यक्ष गौतमले माओवादी र कांगे्रसको पनि कटु आलोचना गर्दै माओवादी उग्रवाम र अतिवादले गर्दा देश अस्थिरतातर्फ उन्मुख भएको छ भने कांगे्रस दक्षिणपन्थी भएको आरोप लगाउनुभएको छ।

बैठकमा वरिष्ठ नेताहरू केशव बडाल र भरतमोहन अधिकारीले पनि निर्धारित समयमा संविधान निर्माण गर्न राष्ट्रिय सहमति निर्माण गर्नुको विकल्प नभएको भन्दै माओवादी संविधान निर्माण गर्ने कार्यमा भन्दा भाँड्ने गरी क्रियाशील भएको भन्दै एमालेले उसलाई वार्तामा ल्याई देशलाई दुर्घटनाबाट बचाउनुपर्ने उल्लेख गर्नुभयो।

बैठकमा वर्तमान सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको कुरा जति उठेको छ त्यत्ति नै मात्रामा यस्तो खिचडी सरकारको नेतृत्व गर्नु कम चुनौतीपूर्ण थिएन भन्ने भनाइ पनि त्यत्तिकै उठेको थियो। केन्द्रीय सदस्यहरूले आफ्नै पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा रहेको सरकारलाई आफ्नै पार्टी असहयोग गरेको कुरा उठाएका थिए।

केन्द्रीय सदस्य भानुभक्त ढकालले त पार्टीको नेतृत्वका कुरा सुन्दा कहिलेकाहीँ प्रधानमन्त्री माधवकुमार नेपाल र पार्टीनेतृत्व बेग्लाबेग्लै पार्टीका हुन् कि जस्तो आभास हुन्थ्यो भन्नुभएको छ।

केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा रघुवीर महासेठ, डा. विजय पौडेल, भरतमोहन अधिकारी, घनश्याम भुसाल, गोरखबहादुर बोगटी, ठाकुर गैरे, वैजनाथ चौधरी, बेदुराम भुसाल, केशव बडाल, नेत्र पन्थी, भानुभक्त ढकाल, कर्ण थापा, अरुण नेपाल, परशुमेघी गुरुङ, भानुभक्त जैसी, गणेश तिम्सिना, झिल्लु तिवारी, वामदेव गौतम, डा. पुष्प कँडेल र चूडामणि जंगलीले बोल्नुभएको केन्द्रीय सचिवालय सचिव युवराज ज्ञवालीले जानकारी गराउनुभयो। केन्द्रीय सदस्य योगेश भट्टराईका अनुसार जेठ १४ गते संविधान नबन्ने खतरा बढ्दै गएकाले एमालेले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा धेरैले राखेका छन्।

बैठकमा केन्द्रीय सदस्यहरूले उच्चस्तरीय राजनीतिक संयन्त्र राजनीतिक षड्यन्त्र गर्ने थलो भएको र त्यो असंवैधानिक पनि भएको बताएका छन्। उनीहरूले संविधानसभामा भएका नेताहरू त्यहाँ गएर छलफल गर्न नसक्ने अनि एउटा बन्द कोठामा बसेर छलफल गर्ने गरी संविधानले कहाँ अधिकार दिइएको छ भनी प्रश्न गरेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक