20100227

बागलुङका खगेन्द्र थापामगर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा लेखिए, १८ वर्षमा उचाइ २० इन्च तथा तौल ४.५ किलोग्राम

बागलुङका खगेन्द्र थापामगर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा लेखिएका छन्। नेपाली समयअनुसार शुक्रबार बिहान एक बजेर १५ मिनेट जाँदा विश्वकै होचो व्यक्तिका रूपमा उनको नाउँ गिनिज बुकमा लेखिएको हो। यद्यपि आगामी असोज १८ गतेपछि मात्र उनले यसको स्थायी प्रमाणपत्र पाउनेछन्। ‘अहिले १८ वर्षपूरा नगरेकाले ‘बेबी’ भनेको छ’, इटालीमा रहेका खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानालाई उद्धृत गर्दै प्रतिष्ठानका सल्लाहकार हरि धमलाले भने- ‘अहिले अस्थायी प्रमाणपत्र प्राप्त भएको हो, ६ महिनापछि फेरि त्यहाँ जानुपर्नेछ।’२०४९ असोज १८ गते जन्मिएका खगेन्द्रको उचाइ २० इन्च तथा तौल ४.५ किलोग्राम.....
रहेको छ। यसअघि चिनियाँ नागरिक २४ वर्षीय हे पिङपिङ (२९ इन्च) को नाउँमा होचो मान्छेको विश्व कीर्तिमान थियो। भारतीय गुल मोहम्मद (२२.५ इन्च) को मृत्युपश्चात् चिनियाँ पिङपिङले गिनिज बुकमा होचो व्यक्तिको मान्यता पाएका थिए।

युरो टेलिभिजनको विशेष प्रयासमा खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना र बुबा रूपबहादुर थापामगरसँगै गत आइतबार इटालीको रोम प्रस्थान गरेका थिए। त्यहाँ सम्पूर्ण स्वास्थ्य परीक्षण गरेपश्चात् दर्ता नं. १५४८९४६ का खगेन्द्रले विश्वका होचो व्यक्तिको अस्थायी प्रमाणपत्र बुझ्न पाएका हुन्।

‘छोराले आफ्नो मात्र हैन, राष्ट्रकै नाउँ चिनाउन सफल भयो, म अत्यन्त खुसी छु।’ खगेन्द्रकी आमा धनमायाले टेलिफोनमार्फ नेपाल समाचारपत्रसँग भनिन्- ‘यो हामी सबैका लागि गर्वको कुरा हो।’ धनमायाका अनुसार उनीहरू सोमबार नेपाल र्फकनेछन्। बागलुङको धुल्लुबास-६, उर्लेनीमा रूपबहादुर थापामगर र धनमायाका ज्येष्ठ सन्तानका रूपमा जन्मिएका खगेन्द्रले गत असोजमा मात्र नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।

पोखरा-८ निवासी मीनबहादुर थापाको पहलमा खगेन्द्र २०६२ फागुन २५ गते पोखरामा पहिलोपल्ट सार्वजनिक हुँदै चर्चा बटुलेका थिए। सगरमाथा आरोहणका अलावा कमै नेपालीले गिनिज बुकमा नाउँ लेखाएका छन्।

नेपालबाट यसअघि फुर्वा शेर्पा, निमा शेर्पा, पेम्बा छिरिङ शेर्पा, आङछिरिङ शेर्पा, काजी शेर्पा, कुसान शेर्पा, लाक्पा शेर्पा, मिङ्मा शेर्पा, पेम्बादोर्जे शेर्पा, आप्पा शेर्पा, बाबुछिरिङ शेर्पा, मीनबहादुर शेरचन, हरिबहादुर रोकाय (एभरेस्ट म्याराथन), प्रतिष्ठा अमात्य विष्ट, रोहित तिमल्सिना र दीपक शर्मा बजगाईंले विभिन्न विधामा गिनिज बुकमा नाउँ लेखाइसकेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक