20100222

सरकारले माओवादी लडाकुका लागि भनेर दिँदै आएको तलबभत्ता मध्ये महिनाको दुई करोड माओवादी पार्टीको खातामा

सरकारले माओवादी लडाकुका लागि भनेर दिँदै आएको तलबभत्ता मध्ये कम्तीमा महिनाको दुई करोड रुपैँया माओवादी पार्टीको खातामा जम्मा हुने गरेको भूतपूर्व लडाकुहरुले बताएका छन्। माओवादी लडाकुलाई सरकारले खाना खर्च बाहेक प्रतिव्यक्ति पाँच हजार रुपैँयाका दरले महिनामा दशकरोड रुपैयाँ जति तलब दिँदै आएको छ। तर तलब बुझ्ने क्रममै एकहजार रुपैयाँ पार्टीका लागि भनेर लिइने गरेको लडाकुहरुले बीबीसीलाई बताए। माओवादीबाट विद्रोह गरेर केही महिना अगाडि मात्रै क्रान्तिकारी कम्युनिष्ट पार्टी नामक नयाँ पार्टीमा प्रवेश गरेका लडाकु रमेश खडकाले भने, “पार्टी संचालनका लागि भनेर महिनामा एक हजार रुपियाँ लेवी काट्छन् पहिले देखि नै।” अहिले महिनामा चार हजार रुपियाँ बुझिरहेका नाम खुलाउन नचाहने अर्का एकजना लडाकुले पनि पार्टीलाई एकहजार पहिलेदेखि नै बुझाइरहेको बताए। उनले भने, “पाँचहजार मध्ये केन्द्रका लागि भनेर एक हजार लेवी काटेर चार हजार पाउने गरेको छु।” संयुक्त राष्ट्रसंघीय मिसन...
(अनमिन)ले प्रमाणीकरण पछि १९ हजार ६ सय दुई माओवादी लडाकु रहने तथ्यांक निकालेको थियो। साढे दुइ वर्ष भन्दा बढी समय देखि माओवादी लडाकुहरु शिविरमा बस्दै आएका छन्।

माओवादी नेता बाबुराम भट्टराईले आफु अर्थमन्त्री हुँदा मासिक तीन हजारले नपुग्ने भन्दै लडाकुको तलब पाँच हजार रुपियाँ बनाइदिएका थिए। पूर्व माओवादी लडाकु खडकाका अनुसार तीनहजार तलब हुँदा पनि पार्टीले लेवी काट्थ्यो।
उनले भने, “तीन हजार तलब हुँदा दुइ हजार रुपियाँ हात पर्थ्यो।” माओवादी सेना कमाण्डर नन्द किशोर पुन पासाङले लडाकुहरुको तलबबाट रकम कट्टा गरिएको अस्वीकार गरेनन्। तर त्यसरी लडाकुहरुबाट लिएको पैसा पार्टीमा जाने नभै अयोग्य लडाकुहरुलाई दिइने गरेको उनले बताए। पासाङले भने, “त्यो पैसा हाम्रो पार्टीमा जाने भन्दा पनि अयोग्य लडाकुलाई बाँडीचुँडी गरेको हो।”

अयोग्य लडाकुहरु शिविरबाट बाहिरिएकाले अबको स्थिति फरक हुने उनको भनाइ थियो।

सरकारले यसै साता माओवादी लडाकुलाई जाने गरेको रकम दुरुपयोग भएको आशंका गर्दै उनीहरुलाई दिने गरिएको तलब रोक्न सकिने बताएको थियो।

तर सरकारी संकेत माओवादी लडाकु मार्फत राज्यकोषबाट मासिक रुपमा माओवादीमा जाने गरेको भनिएको रकम माथि भने होइन।

सरकारले त शिविर छोडेर जाने लडाकुको संख्या हजारौं भएको भन्दै तिनका नाममा जाने करोडौं रकम पनि दुरुपयोग हुने गरेको ठानेको छ।

आफ्ना लडाकुलाई दुहुनो गाइ बनाउन पाएकाले नै माओवादी तत्काल लडाकु समायोजन गर्न चाहन्न भन्ने अरु दलहरुको आरोप रहँदै आएको छ।

माओवादीले चाहिं अनावश्यक बखेडा निकालेर सरकार शान्ति प्रक्रिया भाँडन लागिपरेको आरोप लगाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक