"जनताप्रति विश्वास छ भने माओवादी लडाकूहरूसँग रहेका हतियार राज्यलाई बुझाउनुहोस्"
– रुकमांगद कटवाल,पूर्व प्रधानसेनापति
० अब तपाईं रिटायर्ड जीवनमा राजनीतिमा हामफाल्दै हुनुहुन्छ भन्ने सुनिन्छ नि?
– बच्चा हुँदाखेरी दुईचारओटा कान्ला त नाघेको हो। घोडाबाट पनि हामफालेको हो, तर खै राजनीतिमा हामफाल्ने त मैंले सोचेको छैन।
० सेनामा हुँदा त राजनीतिक नेताले जस्तै भाषण गरेर हिंड्यो भनेर खुबै चर्चा भएको थियो नि? – खै अब भन्ने मान्छेले त भने होलान् तर मैंले भाषण गरेर हिंडेजस्तो लाग्दैन। राजनीतिमा आउन त राजनीति बुझ्नुपर्छ।
० तपाईंले राजनीति अलि बढी नै बुझेजस्तो छ। त्यत्रो शक्तिशाली प्रधानमन्त्रीले त कुर्ची छोड्नुपरेको जस्तो लाग्दैन? नतिजाले जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा प्रधान सेनापति रुक्मांगद कटवाल नै शक्तिशाली देखियो नि?
– उहाँहरूले अब म नेपालको मन्त्री (प्रधानमन्त्री) भएँ भनेर देख्नुभएको भए यो सेना हाम्रो हो, राष्ट्रको हो, नेपालीको हो भनेर देख्नुभएको भए यो अवस्था आउने थिएन कि ।.....
० जे भए पनि तत्कालीन सरकार प्रमुखको कतिपय आदेश त सेना प्रमुखले नमानेको त हैन र?
– हैन, सेना प्रमुखले वैधानिक सरकारको आदेश नमान्ने भन्ने त प्रश्नै उठ्दैन।
० त्यसो हो भने नेपाली सेना र माओवादीबीच खटपट शुरु हुनुको कारण के थियो? सेनाको कारणले तपाईंसँग खटपट भएको हो कि तपाईंको कारणले सेनासँग खटपट भएको हो?
– नेपाली सेना सदैव समस्याको समाधान बन्न चाहिरहेको छ। त्यत्रा राजनीतिक दलहरूले हामीलाई परिचालन गरेका थिए। पछिका हरेक सरकारले माओवादीका मुद्दाहरू फिर्ता गरे। माओवादी सरकारका पालामा त उसका सबै मुद्दाहरू खारेज भए। तर नेपाली सेनामाथि तिनै राजनीतिक दलहरू बसेर अनेक किसिमका समितिहरू बने। तर सेनाका मुद्दाहरू न फिर्ता भए न खारेज भए। त्यति हुँदा पनि हामी चुप लागेर बस्यौं। हामीले धेरै कुराहरू सह्यौं। यसको एउटै कारण थियो, शान्ति प्रक्रिया टुङ्गोमा पुग्नुपर्छ। माओवादी मूलधारको राजनीतिमा आएको छ। उनीहरूलाई प्रजातान्त्रिक पद्धतिमा राखेकर हतियारमुक्त बनाउने नै नेपाली सेनाको चाहाना थियो।
० तपाईंले अभिव्यक्त गरेका कुरामा विरोधाभास रह्यो, जनताको वकालत गर्ने तपाईंले जननिर्वाचित सरकारसँग फेरी त्यही संस्थाको प्रमुखको हिसाबले निकै टकराव पनि गर्नुभयो।यो विरोधाभास के हो?
– माओवादी सरकारमा आइसकेपछि उनीहरूको चाहनाहरू हेर्न सकिन्छ। गठबन्धन सरकारमा पोर्टफोलियो विभाजनका कुराहरूमा पनि रक्षा मन्त्रालय उनीहरूलाई नै चाहिने। तपाईंहरूले यो कुरा पनि भुल्नुहुँदैन कि उनीहरू राजनीतिक परिवेशमा आएपछि पनि उनीहरूसँग आफ्नै लडाकूहरू छन्। एउटा राजनीतिक दलसँग हतियारधारी समूह राख्नु कत्तिाको सान्दर्भिक हुन्छ। त्यो अवस्थामा जबसम्म एउटा राजनीतिक दलले अथवा राज्यले बाहेक अन्य एजेन्सीहरूले हतियारधारी समूहहरू राखे भने यो देशमा कसले कसलाई विश्वास गर्ने? अहिले नेपालमा जे भइरहेको छ। त्यो यसैको परिणाम हो। जबसम्म हतियारधारी समूहहरू रहिरहन्छन्, तबसम्म न त्यहाँ शान्ति छाउँछ न प्रजातान्त्रिक पद्धतिले काम गर्छ न जनताका हक अधिकारको रक्षा हुन्छ। यो कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। संसारमा हमास, हेजबुल्लाहका नमुनाहरू हेरे हुन्छ। तपाईंहरूमा जनताप्रति विश्वास छ भने जनचाहनाको रक्षा गर्नुहुन्छ भने जनतामा विश्वास गर्नुस्, राज्यका एजेन्सीहरूलाई हतियार बुझाउनुहोस्। माओवादीका लडाकूहरूसँग रहेका हतियारहरू राज्यलाई बुझाउने हो भने जनताले विश्वास गर्छन् र विश्वासको ठूलो वातावरण पैदा हुन्छ। त्यपछि मात्र प्रजातान्त्रि पद्धति संस्थागत हुनसक्छ र राज्यले अन्य हतियारधारी समूहलाई पनि कारबाही गर्न सजिलो हुन्छ। अहिले हतियारधारी समूहहरूले के मात्र गरिरहेका छैनन्, यो देशमा जबसम्म हतियारधारी समूहहरू रही रहन्छन्। तबसम्म न यहाँ शान्ति बहाली हुन्छ, न प्रजातान्त्रिक पद्दति नै संस्थागत हुन्छ।
० त्यतिबेलाको सरकारले सेनामा भर्ती नगर भन्यो, तपाईंले भर्ती गर्छ भनेर प्रक्रिया अघि बढाउनुभयो? पदोन्नतिको कुरा, आठजना जर्नेलको कुरा उसले रोक्यो, तर तपाईंले चुनौती दिनुभयो? खेलकुमा माओवादी सरकारले खेल्ने आदेश दियो, तर तपाईंले त्यो टिमसँग खेल्दैनौं भनेर आदेश दिनुभयो?
– सबैभन्दा पहिले नेपाली सेनामा तीस वर्षे लगाउने कुरा उठ्यो। त्यो तीस वर्षे लगाउँदा नेपाली सेना प्रायः सबै रिटायर हुन्छ। अर्को कुरा भर्नासम्बन्धी, जर्नेलसम्बन्धी, खेलकुद सम्बन्धी कुरामा कहाँ–कहाँ के–के कानुनी भएन र व्यहारिक भएन, खेलकुदसम्बन्धी मिलेन भनेर एक्स्प्लानेशन गरेर मैंले लेखेर दिएको हो।
० माओवादीसँग कुरा बिग्रिएको खटपट भएको चाहीं राज्यलाई हतियार नबुझाएको भन्ने तपाईंको विश्लेषण हो?
– पदोन्नति आठ जर्नेल, खेलकूद लगायतका कुराहरू प्रशस्त बाहिर आइसकेका छन्। नेपाली सेनाको तर्फ कहाँ–कहाँ के भएको हो भनेर त्यसबेलाको सरकारलाई हामीले स्पष्टीकरण दिइसकेका छौं। त्यस्तै ३० वर्षेका कुराहरू आए। नेपाली सेनामा ३० वर्षे लगाएपछि त हाम्रो रेजिमेन्ट को सुविदार/मेजर पनि ३२ वर्ष खान नपाउने र सबै कुरा खत्तम हुने रहेछ। फूल कर्नेलभन्दा माथि त सबै ध्वस्त हुने रहेछ । भनेपछि त सेनालाई सम्पूर्ण रुपमा खत्तम हुनेरैछ। राष्ट्रको स्थिरता र स्थायित्वको शक्तिलाई यसरी ध्वस्त पार्न लागेपछि नेपाली सेनाको त्यसबेलाको प्रधानसेनापतिको नाताले नियमकानुन बमोजिम आफ्नो सरकारलाई त्यसो गर्नु हुँदैन। यसले राष्ट्रलाई मद्दत गर्दैन, नोक्सान हुन्छ भन्नु त उसको कर्तव्य हो।
० भनेपछि तत्कालीन सरकारले यो कानुनसम्मत छैन भने पनि त्यसको जिम्मा मेरो हो। खेलकूदको काम अगाडि बढाऊ भनेर भन्यो कि भनेन?
– भनेको छैन। लेखेर पठाएपछि नमिले पनि अगाडी बढाउनू भनेर कहिल्यै भनेको छैन। बरु बालुवाटारमा बोलाएर यो रोक्न पाए हुन्थ्यो भने भन्नुभो। मैंले यो–यो कारणले मिल्दैन भनेको थिएँ। त्यसपछि कुनै कुरा आएन। त्यो बेलाकै सरकारको कुरा गर्दा मैंले राजीनामा नदिएको भए ठूलो रक्तपात हुन्थ्यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभयो। कुन हिसाबले रक्तपात हुन्छ भनेर भन्नुभो त्यो मलाई थाहा भएन।
० तपाईलाई हटाउने क्रममा सेना दुई फ्याक हुन्छ। त्यसको एउटा नेतृत्व तपाईंले गर्ने र दुई फ्याकबीच भीषण रक्तपात हुने भनेर र्यापक चर्चा गरिएको थियो नि?
– त्यो कोसिस त भएको देखियो, एउटा व्यक्तिलाई प्रयोग गरेर। तर त्यो सामर्थ्य र शक्ति भइदिएको भए त हुन्थ्यो होला नि। त्यो हुन नसकेर नै कुलबहादुर खड्का जर्साबले गल्ती गरेको महसुस गर्नभो भन्ने लाग्छ मलाई। उहाँलाई प्रयोग गर्नखोजिएको हो, पक्कै पनि। नेपाली सेनामा 'फ्र्याक्सन' ल्याइदिन। खासगरी जसरी हुन्छ यसलाई 'डिस्ट्रोय' गर्न मनसुबा देखियो।
० जे भए पनि आखिरीमा प्रधानमन्त्रीभन्दा प्रधानसेनापति पनि शक्तिशाली भएको देखिएको त हो नि?
– नेपाली सेनालाई पोल्टिसाइज गर्नहुन्न। एउटा पार्टीको क्याडर बनाउन मिल्दैन, यो एउटा राष्ट्रिय सेना हो भनेर 'हेड अफ द स्टेट'मा राति गएर यो बेठिक छ, सर्वम्मत छैन, कानुनसम्मत छैन भनेर भनेको थिएँ। संविधान तोडिन्छ, सल्लाह र सहमति जुन कानुनमा लेखिएको छ त्यो मेटिन्छ भनेर भनेको कुरा सबैलाई थाहा नै छ। नेपाली सेनाले पनि प्रजातान्त्रिक पद्दतिका लागि एउटा अडान लियो। संसारमा कहीँ पनि छैन यस्तो इतिहास।
० यही कुरालाई लिएर तपाईंले विदेशीलाई गुहार्नुभो भन्ने पनि सुनिन्छ। तपाईंको कलेजका साथीहरू थिए रे छिमेकी सेना प्रमुखहरू?
– त्यस्तो कुरा गर्ने हो भने त एउटा आफ्नो देशको कर्मचारीलाई निकाल्न विदेशी एम्बेस्डरलाई दिनको तीनचोटिसम्म बोलाको सबैलाई थाहा छ। विदेशी आठ (आठजनालाई) बोलाएर लौ न यसलाई हटाउनुपर्यो भनेको पनि सबैलाई जगजाहेर छ। विदशी सचिवलाई भेट्न पाइन भनेर प्रधानमन्त्रीले भनेको पनि संसारलाई थाहा छ।
० माओवादी सेना र उनीहरूसँग भएको हतियारको व्यवस्थापन नभई संविधानसभाको निर्वाचन गरिनुचाहिं गल्ती थियो भन्ने नेपाली सेनाको निष्कर्ष हो?
– हामीले भनेकै थियौं, एउटा दलचाहिं हतियार लिएर बसिरहेको छ। अरु निहत्था छन्। त्यसबेला कसरी निष्पक्ष ढङ्गको चुनाव हुनसक्छ? संसारमा कोही पनि मर्न चाहँदैन। झिंगालाई त मार्न खोज्यो भने फुत्त भाग्न खोज्छ। जनतामा डर, त्रास, धम्की कहाँ कहाँ के के भए भन्ने सम्पूर्ण नेपाली जनता र राजनीतिक दलले बुझेको कुरा हो। त्यसकारण हतियार राज्यलाई बुझाउनुपर्छ। हतियारधारी दलहरूको के विश्वास हुनुपर्यो भने हामी जनताको लागि लड्ने हो, जनताले हामीलाई विश्वास गर्छन् भने जनताको बीचमा गएर जित्न सक्नुपर्यो , हतियारको दम्भले होइन।
० नेपालमा चलिरहेको शान्ति प्रक्रियाको अङ्गका रुपमा संविधानसभाको निर्वाचन भयो। शान्तिप्रक्रियामा माओवादी बाहेकका दलहरूले हतियारसहीत निर्वाचन स्वीकार गर्नु नै गल्ती थियो?
– अहिले मन्त्री/प्रधानमन्त्रीहरूले भनिरहनुभएको छ। हाम्रो गल्ती भयो भनेर। त्यसको नतिजा के हुँदो रहेछ भन्ने कुरा पनि उहाँहरूले बुझिसक्नुभएको छ।
० तर हतियार त क्यान्टोन्मेन्टमा थियो नि त?
– क्यान्टोन्मेन्टमा भएका अहिले पनि छन्। त्यसलाई बाहिर निकाल्न कसले रोकेको छ र। उनीहरूलाई चाहिएको बेलामा निकालेकै छन्। मिडियाहरूमा खबरहरू आइरहेका छन्।
० तर त्यस्ता घटना त एकाध मात्र छन् नि?
– डर, त्रास, धम्कीका लागि त एकाध घटना काफी हुन्छन्। लडाकूहरूलाई क्यान्टोन्मेन्टमा राखेर तिनीहरूको भविष्य अन्धकार बनाइदिएका छन्। यतिबेलासम्म उनीहरू सेना, प्रहरी, वैदेशिक रोजगारमा गइसक्थे। कति केटाकेटीहरू स्कुल कलेज जान्थे, कोही व्यापारमा लाग्थे। तीन वर्षअघि ती लडाकूहरूलाई तिमीहरू के के गर्छौं भनेर सोधेको भए, हामी पढ्न पाउँ भन्थे।
० प्रसंग अलिकति बदलौं। तपाईंले यो नेपाली सेना प्रजातन्त्रका लागि प्रतिबद्ध छ भनेर भन्नुभो। तर, माघ १९ को राजाको घटनामा त सेनाले साथ दिएको हैन? त्यो बेला प्रजातन्त्र चाहिएन?
– त्यो बेला म प्रधानसेनापति थिइनँ। म अहिले स्पष्ट भन्छु, यदि त्योबेला म प्रधानसेनापति भइदिएको भए सायद यो अवस्था आउने थिएन होला। तर यहाँनिर के पनि भनुँ भने अहिलेसम्म नेपाली सेनाले त्यो 'पोलिटिकल सेटअप'को आदेश मानिराखेको छ, जोसँग शक्ति छ। १९ गतेको सन्दर्भमा भने म त्यो बेला म 'डिसिजन लेभल'मा थिइनँ।
० एउटा जनरलका हिसाबले राजालाई उक्साउनुभयो। पार्टीलाई विभिन्न लेख लेखेर ठिक लगाउनुभयो भनेर पनि भन्छन् नि?
– चारवटा सुरक्षा प्रमुख राति घरमा जान्थे बारम्बार। र ती चार सुरक्षा प्रमुखलाई मिटिङमा के भनेको छु भनुँ– बारम्बार 'आई होप यु आर नट चिटिङ त फ्युचर अफ नेपाल, मोनार्की अफ नेपाल, एन्ड योरसेल्फ, आई होप यु आर टेलिङ ट्रुथ'। दरबारका मान्छेलाई पनि भनेको छु, यदि राजसंस्थालाई कसैले बचाउँछ भने नेपाली जनता, पार्टीले मात्र बचाउनसक्छ, सेक्युरिटीले हैन भनेर मैले भनेको छु। कुरा सुनुवाई भयो कि भएन अर्कै ठाँउमा छ। तर म फेरि भन्छु म त्यो ठाँउमा भइदिएको भए यो अवस्था आउने थिएन।
० तपाईं दरबारको छत्रछायामा हुर्किनुभयो। तपाईंले दरबारसँग यस्तो कुरा गर्नभयो भनेर कसले पत्याउला?
– त्यसबेलाको महाराजधिराजलाई त मैले हङकङमा चिनेको हो, कर्नेल भइसकेपछि। राजा महेन्द्रले मलाई स्कुल हालेर पढाएको हो। म जस्ता धेरैलाई उहाँले पढाएको छ। तर म मात्रै यस्तो चर्चामा आएको हो।
० यसरी आफूलाई हुर्काउने, बनाउने राजसंस्था जाँदा मुटु चसस्क भएन? कैयन देशमा राजतन्त्र र प्रजातन्त्र सँगै जान सक्छन् भने नेपाल मा किन जान नसक्ने?
– गएको भए राम्रो हुन्थ्यो। तर, यो हुन सकेन। ० नेपाली सेना समस्याको समाधान बन्न चाहेको, संवैधानिक रुपमा कुनै बेला विद्रोही पक्षको खिलाफमा परिचालित भएको थियो। तपाईंको चिफले तपाईं पृतनापति हुँदा तिनीहरूलाई सहमतिमा ल्याउन भनेका रहेछन्। तर तत्कालीन अवस्थामा त यसलाई राजसंस्थाको सेना भनिएको थियो।
० यो प्रक्रियामा राजसंस्थाको भूमिका के रह्यो?
– मलाई प्रधानसेनापतिले जुन कुरा भन्नुभयो, त्यो राजाले भनेर उहाँले मलाई भन्नुभएको होला कि 'यी मेरो जनता हुन्, यिनलाई नमार्नू' भनेर राजाकै कुरा उहाँले मलाई भन्नुभएको होला भन्ने लाग्छ। नेपाली सेनालाई यो एउटा परिवारको सेना हो, राजाको सेना हो भन्ने आरोप–प्रत्यारोप लागिराखेको थियो। म त्यस्तो अवस्थामा प्रधानसेनापति बन्न पुगें। त्यतिबेला मेरो प्रमुख दायित्व राष्ट्रिय हिसाबले 'नेपाली सेना जनताको साझा सेना हो' भन्ने कुरा प्रमाणित गर्नुथियो।
० त्यो प्रमाणित गर्न तपाईंले राजसंस्था नै छाडिदिनुभयो। अन्तिम समयमा राजसंस्था छाडिदिनुभयो भन्ने विश्लेषण पनि भइरहेको छ?
– एकथरीले त्यस्तो विश्लेषण पनि गरेका छन्। तर नेपाली सेनाले त्यति बेलाको अवस्थामा नेपाली जनताको परिवर्तनको चाहाना, हाम्रो भौगोलिक अवस्था, छिमेकी र विश्व समुदायको वातावरणहरूको लेखाजोखा गरेर राष्ट्रिय स्तरमा जनताको परिवर्तनको चाहानाको विरुद्ध जान सकेन। नेपाली सेनाले त्यो बेला जे निर्णय गर्यो, त्यसमा सेनाले पछुतो गर्नुपर्ने कुनै कारण छैन। जनताको सेनाले जनचाहना अनुरुप निर्णय लिन सक्नुपर्छ। त्यही अनुरुप सेनाले निर्णय लियो।
० तपाईंलाई राजतन्त्रले व्यक्तिगत रुपमा त्यत्रो गुन लगायो। तर तपाईं प्रधानसेनापति हुनेबित्तिकै गयो। तपाईंले त नुनको सोझो पनि गर्नपाउनुभएन नि?– मैले त संस्थाको प्रतिनिधित्व गरेको थिएँ। म सम्पूर्ण नेपाली जनातालाई कसरी सेवा दिन सकिन्छ भनेर हेर्थं। नेपाली सेनाले जे गर्यो ठिक गर्यो।
० अहिलेको स्थितिमा तपाईंलाई अतिवादी, दक्षिणपन्थी, राजतन्त्र ब्युँताउने व्यक्तिका रूपमा चित्रित गरिन्छ। के तपाई राजतन्त्र ब्युँताउने व्यक्ति हो?
– मैले ब्युँताएर राजसंस्था ब्युँतिने भए उहिले नै ब्युँतिने थियो। जनताले ब्युँताए भने ब्युँतिने हो।
जनताले ब्युँताउने संभावना देख्नुहुन्छ?
– भोलिको कुरा नगरौं। संसारमा यस्ता घटना भइरहेका छन्।
तपाईं भन्नुहुन्छ नि बेलाबेला, माओवादी आतकंकारी हुन्। यिनलाई ठेगान लगायो भने सबै कुरा ठिक हुन्छ भनेर? के यस्तै गरे ठिक हुन्छ?
– एउटा जुनसुकै सेना प्रमुखले पनि संसारमा यो भनिराख्ने कुरा हो। संसार नै आतंककारीको विरुद्धमा लडिराखेको बेला यसले ठिक भन्यो भनेर स्याबासी दिनुपर्ने बेला। यसको जागिर खोस्नुपर्छ नागरिक सर्वोच्चताको नाममा धम्काउने काम भइरहेको छ।
त्यसो भए माओवादी बुद्धि नभएका, देशभक्ति नभएका परे?
– त्यसो भनौं भने देशभक्तिका नाममा मेची महाकाली हिँडिरहनु भएकै छ। यो त संसारले बुझ्ने कुरा हो।
० एकताका माओवादी, सरकार र दरबारबीच सम्पर्क गराउनु खोजिरहनुभएको थियो भन्ने पनि थियो नि?
– हैन, म चिफ हुँदा दुई–तीनपटक यस्तो अफर आएको हो, मिलाउनुपर्छ भनेर।
के साँच्चिकै तपाई राजनीतिमा नलाग्ने नै हो त?
– धेरै मान्छेले मलाई पार्टी खोल्नुपर्छ भन्छन्।्। धेरैले मलाई पार्टी ज्वाइन गर्न पनि भन्छन्। मैले के भनेको छु भने मसँग त्यस्तो खुबी नै छैन र तपाईंको प्रश्नमा भोलि के हुन्छ भनेर अहिल्यै काल्पनिक रुपमा के भनिहालौं र।राज्यले मलाई स्पेस खडा गर्छर नेपाली जनताले महसुस गर्छन् भने जे पनि गर्नसक्छु। एउटा जरनेल कहिले पनि रिटायर्ड हुँदैन। मेरो अन्तिम सास रहेसम्म नेपाली जनताको निम्ति जे पनि गर्नक्छु। म पछाडि हटि्दनँ। अहिले देशको स्थिति खराब छ। समस्या समाधानका लागि नयाँ जंगबहादुर जन्मिनसक्छ भन्ने पनि गरेका छन्।
तपाईं त्यस्तो जंगबहादुर बन्ने सम्भावना छ?
–जंगबहादुरको समय गइसक्यो। जगंबहादुर जन्मने अवस्था पनि नआओस्। समयमै संविधान बनोस्।समयमै हतियार व्यवस्थापन होस्। समयमै शान्ति आओस।
(पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल र नेकपा माओवादी नेतृत्वको सरकारबीचको टकरावका कारण मुलुकले अप्ठेरो स्थिति सामना गर्नुपर्यो। माओवादी सरकारले ०६६ वैशाखको पहिलो साता वहालवाला प्रधानसेनापति कटवालसँग बिनाकारण राजीनामा माग गरी दोस्रो वरियताका रथी कुलबहादुर खड्कालाई सेनापति बनाउने योजना अघि सार्यो र बनायो पनि। जसका कारण माओवादी र सेनाबीच द्वन्द्व चर्किएको थियो।नेपाली सेनालाई माओवादीकरण गर्ने 'ग्र्याण्ड डिजाइन' को विरुद्ध आफ्नो अडानमा यथावत् कटवालकै कारण माओवादीले सरकार छाडेर विदा हुनुपरेको थियो। ०६६ भदौमा आफ्नो पदावधि समाप्त भएपछि सेनाको नेतृत्व वर्तमान प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई सुम्पेर रिटायर्ड जीवन बिताइरहेका कटवालको नाम विभिन्न प्रसङ्गले नेपालको राजनीतिमा जोडिने गर्दछ। रिटायर भएपछि पनि कमै मात्र आमसञ्चारमाध्यममा आएका छन्। रिटायर्ड भएपछि बीबीसी नेपाली सेवाको 'साझा सवाल' कार्यक्रम र कान्तिपुर टेलिभिजनको बहस कार्यक्रम 'फायरसाइड'का लागि कटवालले दिएको अन्तर्वार्ताको सम्पादीत अंश)- by abc
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक