20100329

प्रचन्ड पछी बादलको टेप प्रकरण्: माओवादीले जेठ १४ मै अन्तिम लडाइको तयारी, सत्ता कब्जा गर्ने नीति फेला

के नेपाली सेनामा विभाजन आउदैछ? के माओवादी पार्टी पनि फुट्दैछ? के जेठ १४ मा वारकी पारनै हुन्छ? यी प्रश्नहरु धेरैलाई अपत्यारिला लाग्न सक्छन्। तर एकीकृत नेकपा माओवादीका महासचिव रामवहादुर थापा 'बादल'का अनुसार यी तीनै सम्भावनाहरु अब निकट भविष्यमै सत्य घटनामा परिणत हुदैछन्। माओवादी पार्टीले देशका सातओटा केन्द्रबाटै एकै पटक 'दुश्मन'माथि...
धावा बोल्दैछ। संविधानसभा निर्वाचनको ठीक दस दिनअघि साँघु साप्ताहिकले २०६४ चैत १८ गतेको अंकमा माओवादीले वैधानिक बुथ कव्जाको तयारी कसरी गर्दैछ भन्ने गोप्य सूचना स्रोतको आधारमा तयार पारिएको समाचारलाई कांग्रेस एमालेलगायतका दलहरुले गम्भिरतापूर्वक लिएनन्। अन्ततः माओवादीले संविधानसभा निर्वाचनमा बैधानिक कव्जा गरेर ती दलहरुलाई भष्म बनाइदियो। २ वर्षपछि माओवादी पुनः त्यो भन्दा खतरनाक तयारीमा जुटेको तथ्य साँघु साप्ताहिकले फेला पारेको छ । माओवादीले जेठ १४ मै अन्तिम लडाइको तयारी गरिरहेको खुलासा भएको छ। यद्यपि त्यो लडाइको तौर तरिकाबारे अझै पनि माओवादी नेतृत्वले राज्य समितिमात्र होइन, केन्द्रीय समिति स्तरका नेता कार्यकर्ताहरुलाई पनि स्पष्ट पारिसकेको छैन। पार्टीको गोप्य योजना विगतमा जस्तो चुहावट हुने डरले माओवादी नेतृत्वले 'जनविद्रोह र सत्ता कब्जा'को तौर तरिकाबारे तल्लो पंक्तिमा प्रवाह गरिसकेको छैन। यद्यपि सबैतिर संकट सिर्जना गरेर सत्ता कब्जा गर्ने नीतिबारे भने माओवादी नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिन थालेका छन्।

बादलको टेपरेकर्ड

यही चैत १२ गते एकीकृत नेकपा माओवादीका महासचिव रामवहादुर थापा बादलले माओवादी सम्बद्ध शिक्षकहरुलाई दिइएको करीव २ घण्टा लामो प्रशिक्षणका क्रममा जेठ १४ मै लडाइ जित्नेगरी पार्टीले रणनीति तयार पारेको खुलासा गरे। प्रशिक्षणमा सहभागी एक शिक्षकले साँघुलाई उपलव्ध गराएको बादलको भाषणको टेप रेकर्डमा उनले सत्ता कब्जानै माओवादी अबको तत्कालिन आवश्यकता भएको स्पष्ट बताएका छन्।

कसरी हुन्छ कव्जा

बादल अगाडि भन्छन ''जनविद्रोह भन्नुस, क्रान्ति भन्नुस् वा कब्जा भन्नुस्, अबको मुख्य तात्कालिन आवश्यकता त्यही हो। जेठ १४ गते या त नयाँ संविधान जारी हुनुपर्छ या त अरु कुनै बिधिबाट त्यसलाई पूरा गर्नुपर्छ, त्यो भनेको क्रान्तिनै हो। नत्र संवैधानिक संकट आउछ। संकटले क्रान्ति जन्माउछ भन्ने कुरालाई हामीले राम्ररी पक्रिन सक्यौं भनें जनविद्रोह हुन्छ र सत्ता पनि कव्जा हुन्छ। सर्वहारा वर्गको सत्ता जन्माउन प्रतिक्रियावादीहरुमा तीब्र संकट जरुरी छ। २०६७ जेठ १४ मा कि त दुश्मनले जितेर प्रतिक्रान्ति हुन्छ, कि हामीले जितेर सर्वहारा वर्गको सत्ता स्थापित हुन्छ।' एक अर्को प्रसंगमा बादलले सबैतिर संकट र फुट पैदा गर्ने क्रममा माओवादी पार्टीभित्रै पनि क्रान्तिकारी फुट गराउन जरुरी छ भनेका छन्। तर उनले त्यो कुन सन्दर्भमा कसलाई इंगित गरेर भनेका हुन् भन्ने प्रस्ट छैन। '...यस क्रममा हाम्रै पार्टीको पनि क्रान्तिकारी फुट गराउन जरुरी छ। जनतामा पनि फुट ल्याउनुपर्छ। जस्तै संघीयताकै विरोधको कुरा गरौं, यहा जातिहरुमा फुटाउने, धार्मिक विखण्डन गराउने जस्ता खेलमा 'कालिबाबा'हरु प्रयोग भएका छन्, हामीले त्यहाँ पनि फुट पैदा गराउनुपर्छ, सबैतिर फुट र तीब्र संकट थपिदै गएपछि क्रान्ति त आफैं सम्पन्न हुन्छ' बादलले भनेका छन्।

सेनामा बिभाजनको योजना


प्रचण्डको नौ महिने सरकारमा रक्षामन्त्री रहेका महासचिव बादलले क्रान्ति सम्पन्न गर्नका लागि नेपाली सेनामा पनि फुट गराउन सकिने तर्क पेश गरेका छन्। सेनाका बारेमा 'बादल' भन्छन् '...दुश्मनको ९०/९५ हजार सेना अहिले ३ कित्तामा बिभाजन भइसकेको छ। कतिपय जर्नेलहरुलाई हामीले आफ्नो बनाइसकेका छौं, उनीहरुभित्रै फुट पैदा गराएर त्यहाँ पनि विद्रोहको वातावरण तयार पार्न सकिन्छ। अहिले नेपाली सेना ३ कित्तामा विभाजित भएको छ। एउटा अभिजात वर्गको छ, अर्को अभिजात वर्गबाट एक स्टेप तल झरेको वर्ग छ भने अर्को चाहिँ जनस्तरबाट गएको छ, जो हाम्रो वर्गको छ।' 'बादल'ले सेनाभित्रको कुन वर्गका कुन कुन जर्नेलले साथ दिन्छन् भन्ने त खुलासा गरेका छैनन् तर उनले 'आवश्यकता पर्दा' सेनाभित्र थुप्रै अफिसर र जवानहरुले क्रान्तिलाई साथ दिने दावी गरेका छन्।

विद्रोहका ७ केन्द्र

काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरका रणनीतिक महत्वका स्थानहरुमा अर्धसैनिक फौज वाइसीएलका क्याम्पहरु खडा गरेर यसअघिनै अखडा जमाइसकेको माओवादीले अब ती रणनीतिक केन्द्रहरुमा थप शक्ति परिचालित गर्ने भएको छ। महासचिव 'बादल'का अनुसार दुश्मनको शक्ति केन्द्रित भएकै ठाउँमा आफ्नो शक्ति केन्द्रित गर्ने र एकै पटक दुश्मनलाई परास्त गर्नेगरी पार्टीले योजना बनाएको छ। 'बादल' भन्छन्–'अहिले मुख्यतः हाम्रो पार्टीले देशका ७ ओटा मुख्य केन्द्रहरुलाई फोर्टिफिकेसनको आधार बनाएर विद्रोहको तयारी गरिरहेको छ। दुश्मनको मुख्य केन्द्रहरुलाईनै हामीले पनि मुख्य केन्द्र मानेर पार्टी, सेना र मोर्चाहरुको मुख्य शक्तिलाईइ केन्द्रित गरिनेछ। अहिले मुलतः काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, बुटवल, नेपालगन्ज र पोखरा क्रान्तिको फोर्टिफिकेसन बनेका छन।' माओवादीले शहरी विद्रोहको कुरा यसअघिनै दस्तावेजमै उल्लेख गर्नु र 'बादल'ले सातओटा शहरलाई फोर्टिफिकेसन बनाउने भन्नुको बीचमा कुनै न कुनै रुपमा तालमेल रहेको बुझ्न सकिन्छ। त्यसो त माओवादीले जनविद्रोह र सत्ता कव्जाकै रिहर्सलका क्रममा २०६६ चैत २४ गते यिनै केन्द्रहरुमा वृहत शक्ति प्रदर्शन गर्ने र मे १ मा मजदूर दिवसका दिन थप शक्ति प्रदर्शनगरी जनविद्रोहको अन्तिम तयारी गर्ने योजना बनाइरहेको पनि चर्चा चलिरहेको छ। यद्यपि त्यसको पुष्टिका लागि भनें अझै केही समय धैर्यता गर्नैपर्नेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक