20100301

फेरी अर्का पत्रकारको गोली हानी हत्या !

कठैबरी मेरो नेपाल कती अशान्ति है, केबल दु:खद समाचार !,
Breaking News.....
updated... हिजो सम्साँझै जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियालाई गोली हानी हत्या गर्नेका बारेमा प्रहरीले केही पनि पत्ता लगाउन नसकेको बेला दुई सशस्त्र समूहले यसको जिम्मा लिएको छ। तराई जनतान्त्रिक पार्टी मधेशका केन्द्रीय अध्यक्ष अर्जुन सिंहले स्थानीय संचार संस्थाहरुमा मोबाइलबाट फोन गरी आज बिहान घटनाको जिम्मा लिएका हुन्। अर्जुनपछि तराई जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजमुक्तिले पनि हत्याको जिम्मा लिएको जनकपुर टुडे दैनिकका सम्पादक वृजकुमार यादवले जानकारी दिएका छन्। जनकपुर टुडे दैनिकका प्रकाशक तथा टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिंहानियाको हत्याले जनकपुर....
स्तब्ध छ। उनको शोकमा आज बिहानैदेखि जनकपुरका छ वटै रेडियोमा शोकधुन प्रसारण भइरहेको छ। शोकमा स्तब्ध पत्रकारहरुले आज टुडे पत्रिका पनि प्रकाशन गर्न सकेका छैनन्। जनकपुरका एक प्रतिष्ठित व्यापारी समेत रहेका सिंहानियाको हत्याविरुद्ध जनकपुर उद्योग वाणिज्य संघले सम्पूर्ण बजार बन्द गराएको छ। यसैबीच नेपाल पत्रकार महासंघ धनुषा शाखाले विशेष बैठक गरी प्रशासनविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ। महासंघका धनुषा अध्यक्ष उमेश साहले हत्यारा पक्राउ नगरिएसम्म आन्दोलन नरोकिने बताए।

मारवाडी सेवा समिति जनकपुरका अध्यक्ष समेत रहेका सिंहानीयालाई सोमबार साँझ ६४० बजे मध्य जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो। चोकबाट घरतर्फ जाँदै गरेका सिंहानियालाई एक जना अपरिचित व्यक्तिले होलीको शुभकामना दिँदै निधार र गालामा रातो रंग लगाएर गोली हानेको प्रत्यक्षदर्शी एक युवकले बताए। उनका अनुसार सिंहानियालाई रंग लगाएर अंगालो हाल्ने बहाना गरी उनको निधारमा पेस्तोल भिराएर गोली हानेको थियो। घटनास्थलबाट सय मिटर पर खटेको प्रहरी बिटले हत्यारालाई नियन्त्रणमा लिन नसकेको प्रति जनकपुरका स्थानीय आक्रोसित छन्।
सिंहानियाका एकमात्र छोरा दिल्लीमा एमबीए पढिरहेका राहुल आइसकेपछि मंगलबार दिउँसो दुई बजे जनकपुरको गंगासागर डिलको घाटमा दाहसंस्कार गर्ने परिवारिक स्रोतले जनाएको छ। सिंहानियाको परिवारमा एक छोरा, एक छोरी, श्रीमती र आमाबाबु छन्।
सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याको विरोधमा पत्रकारहरुले गृहमन्त्रीलाई आज  'बाँच्न र लेख्‍न देऊ' लेखिएको एक वाक्यको ज्ञापनपत्र बुझाउने  भएको छ। नेपाल पत्रकार महासंघको भर्खरै सम्पन्न बैठकले  महासंघले भोलि देशव्यापी प्रदर्शन गर्नेसमेत निर्णय गरेको छ।
....................................................
जनकपुर टुडे दैनिकका प्रकाशक अरुण सिंहानियाको साँझ ६ बजे गोली हानी हत्या गरिएको छ। जनकपुरको एफएम रेडियो टुडेका समेत अध्यक्ष रहेका सिंहानियामाथि सोमबार साँझ शिव चोकमा गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो। उनको जिउमा तीन गोली लागेका छन्। साथीहरुसँग होली खेलेर घर फर्कने क्रममा दुई मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि आक्रमण गरेको जनकपुर टुडेका पत्रकार ईश्वरचन्द्र झाले बताएका छन्। उनको टाउकोमा दुई र छातीमा एक गोली लागेको छ। घटना लगत्तै सिंहानियालाई केयर मेडिकल नर्सिङ होम पुर्‍याइएको थियो। चिकित्सकले उनलाई तत्काल मृतक घोषणा गरेका थिए। सिंहानिया सो नर्सिङ होमका अध्यक्ष समेत थिए। उनका एक छोरा र एक छोरी छन्। हत्याराहरु गोली प्रहार गरी शिवचोक पूर्वतर्फ तीव्र गतिमा मोटरसाइकल चलाउँदै भागेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै झाले बताए। 'गोली प्रहार भएको ठाउँभन्दा ५० मिटर पर प्रहरी समूह थियो', झाले नागरिकन्युजसँग भने- 'तैपनि हत्यार भाग्न सफल भए।'धनुषा प्रहरी प्रमुख श्याम खड्काले हत्याराको खोजी भइरहेको बताए। हत्या अभियोगमा कसैलाई पक्राउ नगरिएको बताउँदै उनले भने, 'सबै नाका थुनेर खोजी कार्य भइरहेको छ।' हत्यापछि जनकपुर क्षेत्रको सुरक्षास्थिति कडा पारिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक