20100402

चर्चित नेता लालुप्रसाद यादवले रामदेव पागल भएको भन्दै कडा आलोचना गरे !

भारतको राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख एवम् चर्चित नेता लालुप्रसाद यादवले रामदेव पागल भएको भन्दै कडा आलोचना गरेका छन्। भारतीय टेलिभिजन एनडीटिभीले जनाएअनुसार उनले बुधबार एक कार्यक्रममा बोल्दै आफ्नो राजनीतिक पार्टी खोल्नका लागि रामदेवले अन्य राजनीतिक नेतालाई अनावश्यक आलोचना गरेको बताए। रामदेवले क्यान्सरको उपचार गर्ने दाबी गरेकोमा त्यसको पनि खिल्ली उडाउँदै लालुले भनेका छन्- ‘यो अनुसन्धानको युग हो। योगबाट क्यान्सरको उपचार गर्छु भन्नु जनतालाई ढाँट्ने र मूर्ख बनाउने काम हो।’......

यसअघि भारतकै कम्युनिस्ट नेत्री वृन्दा करातले रामदेवको पतञ्जली योगपीठद्वारा उत्पादित आयुर्वेदिक औषधिमा जनावरको हाडसमेत हाल्ने गरेको भन्दै आलोचना गरेकी थिइन्। त्यस्तै उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले पनि रामदेवको कडा शब्दमा आलोचना गरेकी थिइन्।

रामदेव अघिअघि राष्ट्रपति पछिपछि
माधव बराल, (कास्की), योगविज्ञानमा ख्याति कमाएका स्वामी रामदेव नेपाल आउँदा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाल आवश्यकताभन्दा बढी महत्त्व दिएर थरीथरीका कार्यक्रममा सहभागी हुनुभएको छ। देशका महत्त्वपूर्ण व्यक्तित्व रामदेवको पछिपछि लाग्नु उचित नभएको पोखराका बुद्धिजीवी तथा राजनीतिज्ञहरूले टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौंमा समापन भएको रामदेवको योगशिविरको राष्ट्रपतिले एकाबिहानै उद्घाटन गर्नुभएको थियो भने प्रधानमन्त्री नेपाल पनि रामदेवसम्बन्धी दुईवटा कार्यक्रममा सहभागी भइसक्नुभएको छ।

बुद्धिजीवीहरूले मुलुक जटिल मोडमा रहेको बेलामा दलहरूबीच सहमति जुटाउने वातावरण बनाउनु साटो राष्ट्रप्रमुखलगायत अन्य जिम्मेवार व्यक्तित्व नै झीनामसिना कार्यक्रमलाई महत्त्व दिएर सहभागी हुँदै हिँड्नु कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिरजस्तो भएको टिप्पणी गरे। अन्तर्राष्ट्रिय क्षेत्रमा नै ख्याति कमाएका रामदेवलाई सम्मान गर्नु राम्रै भए पनि उहाँसँगै हरेक कार्यक्रममा राष्ट्रप्रमुख सहभागी हुनु शोभनीय नभएको टिप्पणी उनीहरूले गरेका छन्।

राष्ट्रपति यादव र स्वामी रामदेव योगभवनको उद्घाटनमा सहभागी हुन बिहीबार पोखरामा आएपछि पोखराका बुद्धिजीवी तथा राजनीतिकर्मीले यस्तो टिप्पणी गरेका हुन्। काठमाडौंमा आयोजित योगशिविरको पनि राष्ट्रपति यादवले नै उद्घाटन गर्नुभएको थियो भने स्याङ्जामा पतञ्जली योगसमितिले निर्माण गरेको भवन उद्घाटनका लागि पनि यादव र रामदेव पोखरा आउनुभएको हो।

पृथ्वीनारायण क्याम्पसका प्रमुख गेहेन्द्रश्वर कोइरालाले राष्ट्रको जिम्मेवारी लिएर बसेका कसैको पनि निजी जीवन नहुने भन्दै राष्ट्रकै प्रमुख विभिन्न संघसंस्थाको वाषिर्कोत्सव तथा भवन उद्घाटनजस्ता कार्यक्रममा जानु शोभनीय नभएको बताउनुभयो।
पृथ्वीनारायण क्याम्पसकै सहप्राध्यापक मानबहादुर केसीले यस्ता कार्य राष्ट्रपतिको अकर्मण्यता भएको टिप्पणी गर्नुभयो। एकीकृत नेकपा (माओवादी) कास्कीका सह-इन्चार्ज रामजी बरालले पनि राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेको व्यक्ति योगसाधकका पछि लाग्नु राम्रो नभएको बताउनुभयो।

नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जीसीले मुलुक संवेदनशील अवस्थामा रहेको बेलामा राष्ट्रको जिम्मेवारी लिएका व्यक्तित्व यस्ता कार्यक्रममा हिँड्न नहुने बताउनुभयो। नेपाली कांग्रेस कास्कीका सहसभापति सोभियतबहादुर अधिकारीले भने योगप्रति सबैको आकर्षा बढेकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने प्रतिक्रिया दिनुभयो।

राष्ट्रपति यादव बिहीबार पोखरा आउनुभएको छ। बिहीबार अपराहन साढे ४ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फ उहाँ पोखरा आउनुभएको हो। यादव लेखनाथको विजयपुरमा रहेको पश्चिम पृतनामा रहनुभएको छ।

उहाँ शुक्रबार बिहान ९ बजे हेलिकोप्टरमार्फ स्याङ्जा जाने कार्यक्रम रहेको सुरक्षास्रोतले जानकारी दिएको छ। यादव राष्ट्रपति भएपछि दोस्रो पटक पोखरा आउनुभएको हो। पतञ्जली योगसमिति स्याङ्जाले वालिङ नगरपालिका-३ स्थित सात रोपनी क्षेत्रफलमा करिब २ करोडको लगानीमा भवन निर्माण गरेको हो।
यसैबीच योगगुरु स्वामी रामदेवले बिहीबार पोखरामा आयोजित योगशिविरको उद्घाटनसमेत गर्नुभएको छ। पोखराको रंगशालामा आयोजित शिविरमा रामदेवले करिब एक घण्टा योेगका बारेमा प्रवचनसमेत दिनुभएको थियो।

रामदेवका गाई अलपत्र
राष्ट्रपति, प्रधानमन्त्री र दुई नेतालाई उपहार दिने उद्देश्यले हरिद्वारस्थित पतञ्जली योगपीठबाट ल्याइएका चारवटा गाई कसैले पनि लिएनन्। योगगुरु स्वामी रामदेवको आदेशमा ल्याइएका ती गाई कसलाई दिने भन्नेबारेमा नेपालस्थित पतञ्जली योगपीठले निर्णय समेत गर्न सकेको छैन।

योगशिविर उद्घाटनका दिन राष्ट्रपति र समापनका दिन बिहीबार प्रधानमन्त्रीलाई गाई प्रदान गर्ने निधो गरिएको थियो। ‘तर कसैले पनि गाई लिन मानेनन्’ -पतञ्जली योगपीठका एक पदाधिकारीले नेपाल समाचारपत्रसँग भने। राष्ट्रपति कार्यालयमा भने गाई पठाइदिएको र अन्य स्थानमा पठाउन नसकिएको उनले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक