20100519

माओवादीको भूमिका द्वैध र विरोधाभाषपूर्ण रहेको मधेसी जनअधिकार फोरमको आरोप

'१० दलको संयुक्त मोर्चा' बाट अलग हुने घोषणा
मधेसी जनअधिकार फोरम एकीकृत माओवादीको मोर्चामा सामेल नहुने भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नगरे संविधानसभाको म्याद नथप्ने बरु जेठ १५ मा सडकबाटै जनसंविधान घोषणा गर्ने माओवादी निर्णयप्रति असहमति जनाउँदै फोरमले '१० दलको संयुक्त मोर्चा' बाट अलग हुने घोषणा गरेको हो। 'सरकारको नेतृत्व परिवर्तन भएन भने संविधानसभाको म्याद नथप्ने भन्नु अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्ति हो,' बुधबार फोरम सभासद्हरूको अनौपचारिक बैठकपछि फोरम सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले भने, 'यसबारे हाम्रो गम्भीर मतभिन्नता छ।' संविधानसभाको औचित्य समाप्त हुने कुनै पनि काम...माओवादीले गर्न नहुने उनले बताए। 'माओवादीले गम्भीर विषयमा ठूलो खेलाँची गरेको छ,' उनले भने, 'फोरम र माओवादीबीच यसमा गम्भीर मतभेद बढेको छ।' सरकारको नेतृत्व संविधानसभाको म्याद थपको सर्त बन्न नहुने उनको धारणा छ।
माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्माले गुप्ताको भनाइमा 'केही नयाँ राजनीतिक विकास' को संकेत पाएको बताए। 'यो नयाँ राजनीतिक डेभलपमेन्ट हो,' उनले भने, '१० दलको बैठकमा माओवादीका तर्फबाट म पनि सहभागी थिएँ, तर केही संकेत देखिन्छ।' संसदीय दलको कार्यालयमा भएको अनौपचारिक भेलामा २५ सभासद् रहेको फोरमका १० जना मात्र उपस्थित थिए। भेलामा सभासद् गुप्तासहित चन्द्रिकाप्रसाद यादव, आत्मारामप्रसाद साह, रामसहायप्रसाद यादव, जयराम यादव, श्रवणकुमार अग्रवाल, सुरिताकुमारी साह, सवितादेवी यादव, सल्मा खातुन मिकरानी, राजकिशोर यादव मात्र उपस्थित थिए।
मधेसी जनअधिकार फोरमको एकपक्ष माओवादीसँगको गठजोड त्यागेर कांग्रेस-एमालेसँग सम्बन्ध बढाउन चाहेको आशंका सुरु भएको छ। फोरम नेता आत्मारामप्रसाद साहले त्यस्तो सम्भावना नभएको बताए।
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादव भने पार्टी कामको सिलसिलामा बारा जिल्लामा रहेकाले आउन नसकेको आत्मारामप्रसाद साहले जानकारी दिए। बैठकमा काठमाडौंमै रहेकी रेणुकुमारी यादव पनि उपस्थित थिइनन्। 'मेरो अर्कै बैठक थियो, त्यसैले अनौपचारिक भेलामा गइनँ,' रेणुले भनिन्।
अध्यक्षनिकट मानिने बाराकै सभासद् आत्माराम र रामसहाय भेलामा सहभागी थिए। 'अध्यक्षजीलाई आवश्यक परे खबर गर्नू भनी हामीलाई यहाँ पठाउनुभएको हो, मतभिन्नता भएकाले नआएको होइन,' आत्मारामले भने। उनले वर्तमान सरकारले राजीनामा नगरेसम्म यो सरकारमा सामेल हुने कुनै सम्भावना नभएको पनि बताए। माओवादीले आमहडताल फिर्ता लिएलगत्तै संघीय गणतन्त्रात्मक संविधान निर्माण, राष्ट्रिय स्वाधीनता र धर्म निरपेक्षताका पक्षधरसँग संयुक्त मोर्चाको तयारी गरेको थियो।
१० दलको वैशाख २७ र जेठ १ को बैठकमा अरु दलहरूलाई समेत सहभागी गराउँदै लैजाने बताइएको थियो। 'माओवादी संविधानसभाको निरन्तरता दिने पक्षमा छैन, यो राम्रो बाटो होइन,' गुप्ताले भने।
उनले सरकारले एकपक्षीय रूपमा विधेयक ल्याएको र त्यसको पारित गर्ने विषयमा पहल नगरेकोमा विरोध जनाए। 'जुनसुकै अवस्थामा पनि संविधानसभाको म्याद थप्नुपर्छ,' उनले भने, 'संविधानसभा रहेमा सरकार त संवैधानिक प्रक्रियाले पनि हेरफेर हुनसक्छ।' माओवादीको भूमिका द्वैध र विरोधाभाषपूर्ण रहेको उनको आरोप थियो।
पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालको प्रभाव सकिन्छ भन्ने भयका कारण संविधानसभाको म्याद थप्न नचाहेको उनले बताए। 'उनकै कारण डेडलक हुनुहुँदैन,' उनले भने।
दाहालको नाममा सहमति नहुने भएपछि माओवादीभित्रै र त्यसबाहिरबाट पनि प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने उनको धारणा थियो। उनले भने, 'कि आफ्नो नाममा सहमति जुटाउन सक्नुपर्छ, नभए आफ्नो तर्फबाट विकल्प दिनुपर्छ।'
आफ्नो पार्टी विभाजन नभएको भए समाधानको लागि निर्णायक पहल गर्न सक्ने बताउँदै उनले ठूला तीन दललाई विध्वंसकारीको आरोप पनि लगाए। उनले भने, 'यी तीन दल ओसामा बिन लादेनजस्तै विध्वंसकारी हुँदैछन्।' म्याद नथपिए देश विध्वंसमा जाने पनि उनले बताए।
संशोधन विधेयक संसद्मा प्रवेश गरिसकेकाले अब बल सरकारको कोर्टमा मात्र नरही सबैभन्दा ठूलो दल माओवादी र सभामुख सुवासचन्द्र नेम्वाङको समेत कोर्टमा आएको बताए। उनले भने, 'सभामुखले सबै दलका नेताको बैठक राखी सहमति जुटाउन पहल गर्नुपर्छ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक