20100515

माओवादीका घरघरमा गएर लेखेट्ने एमाले काभ्रेका अध्यक्ष गोकुल बाँस्कोटाको चेतावनी

७२ वर्षीय लछे चुनारा कामीलाई बिहीवार साँझ  माओवादीले निर्घात कुटे

माओवादी अब पनि नसच्चिए र एमालेको धैर्यलाई कमजोरी ठानिरहे आफूहरु चूप लागेर नबस्ने चेतावनी काभ्रे एमालेका नेताले दिएका छन्। एमाले कार्यकर्तासँग जबर्जस्ती चन्दा माग्ने कार्य नरोके माओवादीका घरघरमा गएर लेखेट्ने धम्की पनि उनीहरुले दिए। 'एमालेका कार्यकर्ताको ज्यान र पाखुरीमा रगत नै बग्छ। उनीहरुले जुन जुन गाउँमा हाम्रा कार्यकर्तालाई दुःख दिएका छन्, लखेटेका छन्, हामीले पनि माओवादीका घरघरमा गएर उनीहरुलाई लखेट्नु नपरोस्'- एमाले काभ्रेका अध्यक्ष गोकुल बाँस्कोटाले चेतावनी दिए। 'अब आइन्दा
माओवादीले धम्काउँदैमा एमालेका कुनै पनि कार्यकर्ताले चन्दा दिने छैनन्', बास्कोटाले भने- उद्योगी–व्यापारीले समेत समाजमा आतङ्क मच्चाउनका लागि माओवादीलाई चन्दा नदिनुहोला। गत वर्ष जेठ २५ गते माओवादीले एमालेको काभ्रे जिल्ला पार्टी कार्यालयमा आक्रमण गरेको थियो। त्यस दिनदेखि एमालेले जिल्ला तहमा पार्टी सम्पर्क टुटाएकाले माओवादीहरुसँग कुरा गर्नुको औचित्य नभएको बाँस्कोटाले बताए। एकीकृत माओवादीले काभ्रेका विकट गाविसमा चन्दा उठाउने कार्यमा तीब्रता दिएको छ। शिक्षक, व्यापारी तथा स्थानीय सर्वसाधारणसँग माओवादीले चन्दा असुल्दै आएको छ। पछिल्लो समयमा माओवादी चन्दाको निसाना सत्तारुढ दल एमालेका नेता तथा कार्यकर्ता बन्न थालेका छन्। एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी पौडेललाई माओवादीले एक लाख रुपैंयाँ चन्दा बुझाउन पत्र पठाएपछि उनी बनेपास्थित पार्टी कार्यालय आइपुगेका छन्। 'वैशाख २८ गते स्कूले विद्यार्थीमार्फत् माओवादीले चन्दा माग गरेर पत्र पठाएका छन्'- पौडेलले जानकारी दिए। काभ्रे १ नं. निर्वाचन क्षेत्रीय समितिको लेटरप्याडमा माओवादीका सेक्रेटरी बिछोडले हस्ताक्षर गरी रकम तोकेर 'स्वेच्छिक' चन्दा दिन अनुरोध गरेका छन्।

माओवादीले कानपुर–३ काभ्रेस्थित उनको घरमै चन्दाको पत्र बुझाएका हुन्। उनीसँगै सो गाविसका १४ जना एमाले कार्यकर्तालाई ५० हजारदेखि १ लाख रुपैंयाँसम्म चन्दा माग गरी माओवादीले पत्र बुझाएको छ।

माओवादीले यसरी काभ्रेका कानपुर, मेच्छे, बोल्देफेदिचे, सर्स्युंखर्क, मेथिनकोटलगायतका दर्जनौं गाविसका एमाले कार्यकर्तासँग चन्दा मागेका छन्। आफ्ना गाउँ कमिटीका पदाधिकारीलाई त्रसित पार्ने र चन्दा माग गर्ने काममा तीब्रता दिएको भन्दै नेकपा एमाले काभ्रे जिल्ला कमिटीले एकीकृत माओवादीको आलोचना गरेको छ।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष गोकुल बाँस्कोटाले भने- आन्दोलनमा ऋण लाग्यो भनेर जबर्जस्ती चन्दा माग गर्नु माओवादीको गैरकानुनी काम हो।

'अब विद्रोही पार्टी नरहेको माओवादीले कानुन उल्लङ्घन गर्छ भने उसले युद्धविराम भङ्ग भएको घोषणा गर्नुपर्छ। अन्यथा शान्ति प्रक्रियामा आएको र अन्तरिम संविधान मान्ने प्रतिबद्धता गरेका पार्टीले मनपरी गर्न पाइन्न'- उनले थपे।

सरकारले उनीहरुलाई कारबाही गर्न नसके जनताले नै कानुनी प्रक्रियामा लैजानुपर्ने उनको भनाई छ। 'अन्य राजनीतिक दलहरुले पनि शान्ति प्रक्रिया बिथोलिन्छ भनेर माओवादीलाई मनपरी गर्ने छुट दिनुहुन्न'- उनले थपे।


सामान्य विवादमा यहाँका एक वृद्धलाई माओवादीका कार्यकर्ताले निर्घात कुटपिट गरेका छन्। दाङ हापुर गाविस- २ गुर्जे निवासी ७२ वर्षीय लछे चुनारा कामीलाई बिहीवार साँझ स्थानीय माओवादीले निर्घात कुटेका हुन्। वृद्ध कामीको टाउको तथा हातमा खुर्पाले हिर्काएको गहिरो चोट छ। कामीका अनुसार जग्गाको विषयमा सामान्य विवाद हुँदा उनीहरुले कुटपिट गरेका हुन्। ऐलानीपर्ती जग्गामा उनले आफ्नोलागि छाप्रो बनाउन लाग्दा माओवादीले अवरोध गरेपछि समान्य विवाद भएको थियो। ती माओवादी कार्यकर्ताले त्यहाँ किन घर बनाएको भन्दै वृद्धलाई लात्ती तथा खुर्पा प्रहार गरेका थिए।

उनले घर बनाउन खोजेको ऐलानीपर्ती जग्गामा उनलाई कूटपिट गर्ने माओवादी कार्यकर्ताले पसल थापेका छन्। 'मैले घर बनाउँदै थिए, एकाएक उनीहरु आए' कामीले भने 'यो जग्गा छोड्स् कि छोड्दैनस् भन्दै लात्तीलात्तीले हाने।' उनको आफ्नै जग्गा पनि छ। तर छोराछोरीसँग जग्गा विवाद भएपछि उनले नजिकैको खाली ऐलानी जाग्गामा घर बनाउन लागेका थिए। त्यहीबेला माओवादीका कार्यकर्ता आएर उनलाई कूटपिट गरेका हुन्। 'यो जग्गा छोड्छस् कि छोड्दैनस् भन्दै कुटे' आफनो शरीरभरी चोटका डाम देखाएर रुदैं गरेका कामीले भने 'लौ अब त मर्छस् भन्दै घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने।'

'जमीन नछाडे मार्छौ' उनीहरुले ती वृद्ध कामीलाई रुखको फेदमा उभ्याएर लात्तीले भकुरेका थिए। 'कहाँ हाने कहाँ, पत्तै भएन' उनले भने, 'म बुढोलाई मारेर के पाउँछौं भनेँ तर किन सुन्थेँ र मैले घर बनाउन काठ काटिरहेको खुर्पा पनि खोसिदिए, त्यसैले हिर्काए।' उनी कम्मरमा खुर्पा राख्ने खुर्पेटो भिरेरै अस्पताल आइपुगेका थिए। 'म पल्टेको थिएँ, बसका ड्राइभर खलासीले यहाँ(अस्पताल)सम्म ल्याइदिए' उनले भने।

यसैबीच कामीले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा माओवादी कार्यकर्ता मानबहादुर बुढा र चित्रबहादुर थापाविरुद्ध आफूमाथि कुटपिट गरेको भन्दै किटानी जाहेरी दिएका छन्। प्रहरीले ती दुई युवाहरुलाई पक्राउ पनि गरिसकेको छ। उनी कांग्रेसका पुराना सक्रिय कार्यकर्ता हुन् ।

माओवादीको स्थानीय नेतृत्वले भने राजनीतिक पूर्वाग्रहबाट नभइ गाउँघरको विवादमा सामान्य हातपात गरेको बताएको छ। माओवादीका हापुर गाविस इन्चार्ज राजु नेपालीले घरजग्गाको विषयमा विवाद मिलाइदिन गएका माओवादी कार्यकर्तालाई कामीले तल्लोस्तरको शव्दमा गालीगलौज गरेपछि सामान्य हातपात गरेको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक