20100613

बन्द, हड्ताल, बिरोध, चक्काजाम, नारा जुलुस, यि कुराका लागि हामी नेपाली कत्ती अगाडि है !


फोटो आफै बोल्छ, हामीले केही भन्नु पर्ला र ! धन्न हौं हामी नेपाली !!!
_________________________________________________________


- भुवन शर्मा, काठमाडौं, राघव साह, वीरगन्ज 
पूर्वराजा ज्ञानेन्द्र शाहले तीन महिनामा तेस्रो मन्दिरको दर्शन गर्ने भएका छन् । मन्दिर दर्शनका नाममा आफ्ना समर्थकलाई दर्शन दिन उनी बुधबार वीरगन्ज पुग्दै......
छन् । परोक्ष रूपमा आफूलाई राजनीतिमा सक्रिय देखाउन कस्सिएका ज्ञानेन्द्रले जनकपुर र नेपालगन्ज पुगेर जनमत बुझ्ने कोसिस गरेका थिए । यी दुवै सहरमा भव्य रूपमा स्वागत भएको भन्दै उनका समर्थकले वीरगन्जमा पनि त्योभन्दा धेरै सर्वसाधारणलाई जम्मा गर्ने तयारी गरिरहेका छन् । त्यसो त केही समयअघि पूर्वयुवराज पारस वीरगन्ज जाँदा उनका  समर्थकले सिमरा विमानस्थल नै कब्जामा लिएका थिए । स्वागतमा निस्किएको जुलुसले विमानस्थलको संवेदनशील भिआइपी कक्षमात्र होइन, रनवेमै पुगेर पारसलाई स्वागत गरेको थियो । भ्रमणको प्रबन्ध मिलाउन पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिना बुधबार वीरगन्ज पुगेर फर्किसकेका छन् । उनी सोमबार फेरि त्यसतर्फ जाँदै छन् । ज्ञानेन्द्रले वीरगन्जनजिकै बाराको सिमानामा पर्ने परवानीपुरमा निर्मित अष्टभुज वैष्णोदेवी दुर्गा मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ । भर्खरै निर्माण भएको मन्दिरमा पूजाआजा गरेरै उनले मन्दिर उद्घाटन गर्दै छन् । वैष्णोदवी मन्दिरको दुर्गापूजा समितिले ज्ञानेन्द्रलाई आमन्त्रण गरेको हो । समितिको अध्यक्षमा एमाले बाराका सचिवालय सदस्य अमर यादव छन् । उनले हिन्दू सम्राटको रूपमा पूर्वराजा ज्ञानेन्द्रलाई बोलाइएको बताए । वीरगन्जमा उनले एक रात बिताउने र आफ्ना भनाइ राख्ने कार्यक्रम छ । वीरगन्जमा पुगेपछि पूर्वराजा आफ्नो सानैदेखिका साथी प्रभुशमशेर राणाको पुख्र्यौली घरमा जाने भएका छन । त्यही घरमा उनले रात बिताउने कार्यक्रम छ । प्रभु पनि ज्ञानेन्द्रसँगै काठमाडौंबाट वीरगन्ज जाँदै छन् ।
उनीहरू बुधबार बिहान साढे आठ बजे बुद्ध एयरको नियमित उडानबाट वीरगन्ज जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले स्थानीय सञ्चारकर्मीहरूसँग विचार राख्ने स्रोतको भनाइ छ । रामजानकी मन्दिरको दर्शन गर्न भन्दै जनकपुर र बागेश्वरीको दर्शन गर्न भन्दै नेपालगन्ज पुगेका ज्ञानेन्द्रले ती दुवै ठाउँमा राजनीतिक अभिव्यक्ति दिएका थिए । नेपालबाट राजतन्त्र गयो भन्नु 'हाइपोथेटिकल' हो भन्ने जनकपुरको अभिव्यक्ति विवादमा तानिएपछि उनले नेपालगन्ज पुगेर सफाइ दिँदै भनेका थिए, 'जनताको भनाइ यस्तो पनि छ है भनेर मैले भनेको हुँ ।' उनले लोडसेडिङको समस्या आफूले पनि खेपेको गुनासो गरेका थिए । अब वीरगन्ज पुगेर उनले के बोल्ने हुन् ? चासो बढेको छ ।


हिन्दू सम्राटलाई अतिथि मानेका हौँ
- अमर यादव, एमाले सचिवालय सदस्य
तपाईंहरूले पूर्वराजा ज्ञानेन्द्रलाई प्रमुख अतिथि बनाएर बोलाउनुभएछ, होइन ?
हो, म दुर्गापूजा समिति निपनी परवानीपुरको अध्यक्ष हुँ, समितिले निर्णय गरेरै -पूर्व) राजालाई बोलाउने निर्णय भएको हो । उहाँ २ गते वीरगन्ज आउँदै हुनुहुन्छ ।
उहाँलाई प्रस्ताव कसरी राख्नुभयो ?
हामी निमन्त्रणा गर्न काठमाडौं नै गएका थियौँ, तर त्यो दिन उहाँ नेपालगन्ज जानुभएको थियो । पर्खिएर भेट्ने भन्ने कुरा पनि आएको थियो । तर, यता हामीलाई तयारीका लागि छिटो आउनु थियो । त्यसैले हामीले उहाँका सचिव सागर तिमिल्सिनालाई भेट्यौँ र निम्तोपत्र दियौँ । पछि उहाँमार्फत कुराकानी भयो । करिब १० दिनअघि -पूर्व) राजा आउने पक्का भयो ।
तयारी र सुरक्षा के-कस्तो छ भनेर पूर्वराजाका तर्फबाट सोधखोज त भयो होला नि ?
किन नहुनु ? सचिव -सागर) तिमिल्सिनाजी अस्ति बुधबार पनि आउनुभएको थियो, भोलि -सोमबार) पनि आउँदै हुनुहुन्छ । तयारी देखेर उहाँ सन्तुष्ट हुनुहुन्छ । सुरक्षाका लागि हामीले प्रशासनलाई खबर गरेका छौँ । उसले गर्ने व्यवस्था त गरिहाल्ला । तर, खास सुरक्षा त जनताले गर्ने हो, जनताले सुरक्षा गर्छन् ।
तपाईंले राष्ट्रपति, प्रधानमन्त्री अथवा साधु-सन्त, पण्डितलाई नबोलाएर पूर्वराजालाई नै किन रोज्नुभयो ?
नेताहरूलाई त झगडा गर्दैमा फुर्सद कहाँ छ र ? राष्ट्रपति र प्रधानमन्त्रीलाई बोलाउने त कुरै भएन । फेरि पूर्वराजाको राजकाज पो खोसिएको छ, उहाँप्रतिको सम्मान त खोसिएको छैन नि । उहाँ हिन्दू सम्राट हो । हिन्दूको मन्दिरमा हिन्दू सम्राटलाई नबोलाएर कसलाई बोलाउने ?
तर तपाईं त एमालेको नेता हुनुहुँदोरहेछ, पूर्वराजाप्रति यति धेरै आस्था कसरी ?
म एमाले त हुँदै हो नि, बारा जिल्लाको सचिवालय सदस्य हुँ । तर, म हिन्दू हुँ नि, पूर्वराजा पनि हिन्दू । हिन्दू सम्राटलाई बोलाउन मलाई के अप्ठ्यारो ?
पार्टीले केही भनेको छैन ?
खोइ, यत्रो तयारी भइरहेको छ, औपचारिक रूपमा कसैले केही भनेको छैन । अब एक्कादुक्का मान्छेले पूर्वराजालाई नबोला पनि भनेका छन् । तर, मसँग आफ्नै तर्क छ ।
पूर्वराजाको स्वागतमा कति मान्छे जम्मा गर्दै हुनुहुन्छ ?
कम्तीमा डेढ लाख मान्छे जम्मा हुन्छन् ।- Naya Patrika

1 comment:

  1. dear editor you should know about the worth of One horned rhino. If we donot take right action its going to be a history for rest of generations.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक