20100614

गोली हानेर चार दिनमा ३ जनाको हत्या, धनुषाको सुरक्षास्थिति कमजोर, जनताहरु आतंकित

केही गुन्डासँग डीएसपी को साँठगाँठ !!!
धनुषाको प्रहरीले सक्रियता बढाएका कारण तराईको सशस्त्र समूहको गतिविधि केही समय निस्तेजजस्तै देखिए पनि अहिले आएर फेरि उग्ररुप लिएको छ। यसले यस क्षेत्रका जनताहरु आतंकित भएका छन्। उनीहरुले सुरक्षास्थिति कमजोर हुन थालेको गुनासो गरेका छन्। धनुषाको सदरमुकाम जनकपुरमा गत चार दिनमा ३ जनाको हत्या भएको छ भने एक जना घाइते भएका छन्। गत मंगलबार धनुषाको ललिया-७ घर भएका तथा शहीदचोकनजिक बस्दै आएका ४० वर्षीय रामेश्वर साहलाई मोटरसाइकलमा आएका हतियारधारी समूहले ‘जग्गा किन्नुछ’ भन्दै घरबाट राति करिब ८ बजे लगेका थिए। उनलाई पुल्चोकभन्दा एक....
किलोमटिर अगाडि लगेपछि गोली हानी हत्या गरेको प्रहरीले बताएको थियो। कन्चटमा गोली लागेका साहको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार रामेश्वर साह र हत्याका आरोपीहरुसँगै खानपिन गरेका थिए र पछि पुल्चोकभन्दा झन्डै १ सय मिटर उत्तर गढीमाई मन्दिरनजिक लगेर गोली हानेका थिए।

प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी बिहीबार सशस्त्र हतियारधारी समूहले जिल्ला विकास समिति धनुषाका पियनलाई गोली हानी हत्या गरेको छ।
धनुषाको महुवा-३ निवासी ३० वर्षीय शिवनारायण भण्डारीलाई बिहीबार राति करिब ८-३० बजे कुवारामपुरमा रहेको शिक्षा कार्यालयअगाडि गोली प्रहार गरी हत्या गरेको थियो। मृतक भण्डारीको छातीमा एक राउन्ड गोली लागेको छ। निजलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको हो। उनी दिदीको घरबाट आफ्नो घर फर्किरहेको अवस्थामा गोली प्रहार गरिएको थियो।

त्यसैगरी शुक्रबार राति सखुवा महेन्द्रनगरका गाविस सचिव रामपुकार यादवलाई लक्षित गरी चलाइएको गोली उनको अगाडि खेलिरहेको ४ वर्षीय अमितकुमार कापडीलाई लागेको थियो। उनलाई राति नै उपचारका लागि धरान रिफर गरिएको थियो। निजको उपचारको क्रममा शनिबार करिब ३ बजे मृत्यु भएको थियो।

त्यसैगरी शनिबार राति यातायात कार्यालय धनुषाका कार्यालय पूर्वप्रमुख यमुना पजियारका छोरा २८ वर्षीय राजकुमार पजियारलाई सशस्त्र हतियारधारी समूहले गोली प्रहार गरी घाइते बनाएको थियो। राति आफ्नै घरमा रहेको अवस्थामा दुई जनाको समूहमा आएका व्यक्तिले उनलाई मेरो लाइसेन्स के भयो भन्दै उनीमाथि गोली प्रहार गरेका थिए। पेटमा गोली लागेका उनको अहिले धरानमा उपचार भइरहॆको छ।

प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले हरेक घटना ६ बजेदेखि ९ बजेको बीचमा हुने गरेकालॆ यस बारेमा सबै चिन्तित हुनुपर्ने बताउँदै उहाँले यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो। उहाँले क्रमिक रुपमा घटना हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न करिब २ सयको संख्यामा सादा पोसाकका प्रहरी नगर सुरक्षाका लागि परिचालन गरिएको बताउनुभयो।

प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले आफू आएपछि जिल्लाको शान्तिसुरक्षा सुधारका लागि सशक्त पाइला चालेका कारण आफूहरुलाई असफल पार्न नियोजित रुपमा यस प्रकारको घटना गराइन थालेको बताउनुभयो। उहाँले केही गुन्डा तत्वसँग तत्कालीन डीएसपी रुपकुमार न्यौपानेको साँठगाँठ रहेकाले उनलाई हटाइएपछि घटनामा वृद्धि भएको बताउनुभयो।

डीएसपीनजिकका परिचित व्यक्ति साजीव झालाई प्रहरीले पक्राउ गरी हातहतियारअन्तर्गत मुद्दा दर्ता गरिएका कारणले उनलाई छुटाउन न्यौपानेले अनावश्यक दबाबहरु दिन थालेको बताउँदै आफ्नो विभागले उनलाई काजसरुवा गरेपछि घटनामा एक्कासि वृद्धि भएको बताउनुभयो।

गत २४ गते सोमबार जनकपुर नगरपालिका-१ स्थित पुल्चोक बस्ने साजीवकुमार झा र सोही ठाउँ बस्ने सुनील यादवलाई पेस्तोलको गोलीको खोका १ थानसहित प्रहरीले पक्राउ गरेको छ।
उनीहरु शनिबार राति पौने १२ बजे बा२९प २९१९ नम्बरको मोटरसाइकलमा घर आइरहेको अवस्थामा अज्ञात समूहले आफूहरुलाई गोली प्रहार गरेको भनी टेलिफोनमार्फत प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरी टोलीले शंका लागि बुझ्दा घटना कल्पित रहेको खुल्न आएको र १ थान पेस्तोलको खोका फेला परेको थियो।

झामाथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ। प्रहरीले दिनानुदिन घटनाहरु हुन थालेपछि आवश्यक सहयोगका लागि सर्वपक्षीय बैठक बोलाई सबैसँग सहयोगका लागि अपिलसमेत गरेको छ। यसैबीच सशस्त्र हतियारधारी समूह र प्रहरीबीच आइतबार साँझ ७-३० बजे नेपाल टेलिकमको पछाडि दोहोरो गोली हानाहान भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार प्रहरी टोली चेकजाँच गरिरहेको अवस्थामा ४ जनाको समूहमा रहेको हतियारधारी समूहले प्रहरीमाथि एक्कासि गोली प्रहार गर्न थालेपछि प्रहरीले समेत जबाफी फायर गरेको थियो। प्रहरीको जबाफी फायरमा एक जना सशस्त्र हतियारधारी घाइते भएका छन् भने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घाइते हुनेमा जनपा-६ का अवधेश मण्डल रहेको प्रहरीले जनाएको छ। उनी केही समय पूर्वजनतान्त्रिक गोइत समूहबाट अलग्गिएर राजन मुक्ति समूहमा लागेका थिए। उनको शरीरका विभिन्न भागमा ६ राउन्ड गोली लागेको छ। उनको अवस्था गम्भीर रहेकाले उपचारार्थ धरान पठाइएको छ। प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले घाइतेको अवस्था गम्भीर रहेको बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक