20100628

मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापाको नयाँ समीकरण, पुष्पकमल अल्पमतमा !

"आफ्नै भन्नेहरुले घेराबन्दी गरे" : माओवादी अध्यक्ष पुष्पकमल दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नजिकका व्यक्तिहरुले पनि घेराबन्दी गरेको बताएका छन् । दाहालविरुद्ध पार्टीका तीन बरिष्ठ नेताहरु मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापाले नयाँ समीकरण बनाउने जानकारी दिएपछि अध्यक्ष दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् । कलाकार माहिला लामाको 'मातृभूमि' नामक भिसीडीको सोमबार राजधानीमा विमोचन गर्दै अध्यक्ष दाहालले राष्ट्रियताको मुद्धा उठाउँदा आफूलाई चौतर्फी घेराबन्दी गरिएको भन्दै आफ्नै भन्नेहरुले घेराबन्दी.....
गर्ने अवस्था भएपछि स्थिति निकै पीडादायी भएको बताए । अध्यक्ष दाहालले आफ्ना वरिष्ट नेताहरुको स्वर दुस्मनसँग मिलेको आरोप लगाउदै भने–'दुस्मन भन्नेहरुसँगै आफ्ना भन्नेहरुको स्वर मिलेको देखिएपछि अहिलेको राजनीतिक समस्यासँगै गाँसिएको हो कि भन्ने देखिन्छ ।
एनेकपा माओवादीको २०६७ असार १ देखि ११ गतेसम्म चलेको पोलिटव्युरोको बैठकमा अति विश्वासपात्र मानिएका सदस्यले समेत अध्यक्ष प्रचण्डलाई साथ नदिएर धोका दिए।
मतदानमा गएका भए प्रचण्ड यसपटक अल्पमतमा पर्ने थिए। उनले मतदानको साटो बाबुरामकै लाइनलाई आधिकारिकता दिएर इज्जत जोगाएका छन्। पार्टी जीवनको इतिहासमा प्रचण्डका आफ्नै र उनले नै बोकेर पोलिटव्युरो, सचिवालयसम्म पुर्या्एका सदस्यले पार्टी अध्यक्ष प्रचण्डलाई साथ नदिएपछि माओवादीभित्र यसको कारण खोजी हुन थालेको छ। प्रचण्ड २०४८ सालदेखि एकछत्र पार्टी नेतृत्व सम्हाल्दै आएका छन्। तर उनको जीवनकालमा यति धेरै संकटपूर्ण अवस्था पहिलोपटक आइपरेेको चर्चा माओवादीमा छ।
  पोलिटव्युरो बैठकमा उपाध्यक्ष बाबुराम भट्टराईले प्रचण्डको राजनीतिक प्रतिवेदनमा यति दह्रो रुपमा चुनाैती दिएको पनि पहिलो पटक नै हो। माओवादीको संगठनात्मक संरचनमा अलि कमजोर नेतामध्येका एक मानिएका बाबुराम भट्टराई यसरी एकाएक पोलिटव्युरोमा बहुमतको अवस्थामा पुग्नुको रहस्य पनि खोजी हुन थालेको छ। बैैठकमा सरकारभन्दा सघर्षको कार्यनीति मुख्य बनाएर जानुपर्ने र त्यसका लागि पार्टी प्रतिपक्षमै बस्नु उपयुक्त हुने प्रचण्डको राजनीतिक प्रस्ताव थियो। तर उपाध्यक्ष भट्टराईले तत्काल संघर्षभन्दा सरकार निर्माण प्रक्रियामा गएर संविधान र शान्तिप्रक्रियालाई किनारा लगाउनुपर्ने प्रस्ताव गरी प्रचण्डको प्रतिवेदनलाई चुनौती दिएर असफल पारेका थिए। भट्टराई पक्षमा २७ जनाभन्दा बढी पोलिटव्युरो सदस्यले समर्थन जनाएका थिए।  पोलिटव्युरो वैठकमा प्रचण्ड किन अल्पमतमा परे भन्ने कुराको खोजी माओवादीमा सुरु भएको छ। आजसम्म प्रचण्डले पेश गरिएका प्रतिवेदन कहिल्यै अल्पमतमा परेका थिएनन्। तर, यसपटक भने प्रचण्डले नै विश्वास गरेका र विगतदेखि साथ दिदै आएका सदस्यले साथ नदिनुमा भने स्वयं प्रचण्डको आनीवानी जिम्मेवार रहेको पेरिसडाँडातिर चर्चा चलेको छ। माओवादी स्रोतका अनुसार यस पटकको बैठकमा त प्रचण्डको फोटोकपी भनेर चिनिएका नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि साथ दिएनन्। एक एमाओवादी नेताका अनुसार प्रचण्ड अल्पमतमा पर्नुको कारण नेता कार्यकर्तालाई 'युज एण्ड थ्रो'को रणनीतिकै कमाल मानिएको छ। आफ्नो आवश्यकता अनुसार नेतालाई प्रयोग गर्ने प्रचण्डको रणनीतिले पार्टी आन्दोलनलाई संकटमात्र होइन पार्टीलाई नै बुख्याँचा बनाउँछ भन्ने लागेपछि प्रचण्डको समर्थनमा लाग्न नसकिएको नेताहरूले बताउने गरेका छन्। एमाओवादी स्थायी समिति सदस्य र पदाधिकारी समितिमा प्रचण्ड बहुमत रहेका भएपनि पोलिटव्युरो समितिमा भने कमजोर देखिए।

पदाधिकारी समितिमा बाबुराम एक्लै छन् भने स्थायी समितिमा पनि बाबुरामको एक्ला समर्थक टोपबहादुर रायमाझी हुन। वर्षमान पुन पछिल्लो समयमा मात्र उनको पक्षमा लागे हुन्। स्थायी समितिमा प्रचण्डको समर्थनमा नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, गिरिरराजमणि पोखरेलमात्रै देखिएका छन्। मोहन वैद्यको पक्षमा भने चन्द्रप्रकाश (सीपी) गजुरेल, कृष्णबहादुर महरा, देव गरुङ, नेत्रविक्रम चन्द देखिएका छन्। अमिक शेरचन, लीलामणि पोखरेल पनि प्रचण्डको पक्षमा छैनन्। यद्यपि बादल कतिपय अवस्थामा तटस्थ देखिए पनि यसपटक भने प्रचण्डनिकट उभिए। माओवादी स्रोतका अनुसार नारायणकाजी र गिरिराजमणिको सदाबहार विपक्षमा अमिक र लीलामणि देखिने गरेका छन्। सोही कारण यस पटकको वैठकमा उनीहरू केही मुद्दामा बाबुराम पक्ष र केहीमा किरण पक्षधर देखिएका थिए। जनयुद्धमा प्रचण्डका अति प्रियपात्र वर्षमान पुन भने अहिले बाबुरामकित्तामा छन्।

यता, पोलिटव्युरोमा पनि प्रचण्डको पक्षमा देखिने सदस्य कममात्रै भएनन्, प्रचण्ड पक्षधर भनी चिनिएकाहरू समेत तटस्थ रुपमा उभिए। प्रचण्डलाई अंगालो हाल्नेहरूमा पोष्टबहादुर बोगटीपछि अग्नि सापकोटा र हेमन्तप्रकाश ओली, शक्तिबहादुर वस्नेत, हरिबोल गजुरेलमात्रै थिए ।
  माओवादी जनमुक्ति सेनामा पाार्टी अध्यक्ष प्रचण्डको निकै पकड छ। २०६५ को  खरिपाटीको राष्ट्रिय कार्यकर्ता भेलामा मोहन वैद्य किरणको फरक दस्तावेज पनि सेनाको समर्थनकै कारण पारित हुनबाट रोकिएको थियो। तर, तिनै सेनाका कमाण्डर भने अहिले प्रचण्डको विपक्षमा देखिए। जनमुक्ति सेनाका चारजना डेपुटी कमाण्डर नन्दकिशोर पुन, चन्द्रप्रकाश खनाल (बलदेव), जनार्दन शर्मा र वर्षमान पुनले प्रचण्डलाई साथ दिएनन्। स्रोतका अनुसार, नन्दकिशोर पुन, चन्द्रप्रकाश खनाल तटस्थ रुपमा देखिए भने वर्षमान पुन र जनार्दन शर्मा बाबुरामपक्षमा लागे। नन्दकिशोर र वर्षमानलाई आजको अवस्थासम्म प्रचण्डले नै ल्याएका हुन्। शान्तिप्रक्रिया आरम्भपछि प्रचण्डले वैदेशिक मामिला हेर्न सीपी गजुरेलको विकल्पका रुपमा पनि वर्षमानलाई बनाउने कोसिस गरेका थिए।  
सांगठनिक रुपमा प्रचण्ड बहुमतमा रहन किरणको साथ नभई नहुने भएको छ। एक पोलिटव्युरो सदस्यका अनुसार विगतमा बाबुरामलाई तह लगाउन किरणलाई उचाल्ने र किरणलाई तह लगाउन बाबुरामलाई प्रयोग गर्ने प्रचण्डको रणनीति यस पटक असफल भएपछि प्रचण्ड अव कुनै कित्तामा लाग्नैपर्ने भएको छ। सांगठनिक संरचनामा किरण निकै बलिया छन्। तर, अचेल किरण पनि मुद्दाका हिसावमा मात्रै प्रचण्डलाई समर्थन गर्न थालेका छन्। यसपटक प्रचण्डको राजनीतिक प्रतिवेदन पास गर्न किरण पक्षले त भोटिङ गरेर निर्णयमा पुग्न समेत प्रचण्डलाई सल्लाह दिएको स्रोतले जानकारी दिएको छ। अल्पमतमा पर्नेले 'नोट अफ डिसेन्ट' लेखेर जान सक्छन्, त्यसकारण खुट्टा नकमाउन किरण पक्षले प्रचण्डलाई सुझाव दिएको थियो। 
बैठकमा केही पोलिटव्युरो सदस्यले त अव युद्ध नै आवश्यक भइसकेको पनि विचार राखेका थिए। धर्मेन्द्र वास्तोला, खड्गबहादुर विश्वकर्मा, गोपाल किराँती, लेखराज भट्टलगायतका नेताले सरकार निर्माणका नाममा क्रान्तिलाई थाँती राख्न नहुने तर्क प्रस्तुत गरेका थिए। तर बैठकले न त प्रचण्ड र किरणको लाइन नै पारित गर्योस, न त तेस्रो धारको। न त हुबहु बाबुरमको लाइन नै पारित भयो। हाल पार्टीमा देखिएको विवादलाई बिस्तारित बैठकसम्म थाँती राखेर माओवादीले बाबुरामको लाइन अंगिकार गरेको चर्चा चलेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक