20100610

कङ्ग्रेसले माओवादी अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन नसक्ने निष्कर्ष

माओवादी स्थायी समितिको बिहीबारको बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेलगत्तै बसेको नेपाली कङ्ग्रेस बैठकले दाहालको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन नसक्ने निष्कर्ष निकालेको छ। शान्ति प्रक्रिया र संविधान निर्माणको सुनिश्चितताका लागि निश्चित कार्यतालिकासहितको प्रतिबद्धताबिना प्रधान मन्त्रीले राजिनामा दिँदा शान्ति प्रक्रिया भाँडिने पनि उसले निष्कर्ष निकालेको छ। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक माओवादीका अध्यक्षको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने निष्कर्षमा पुगेको पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले....
जानकारी दिए। उनले भने- एकीकृत नेकपा माओवादीले पहिला राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेतृत्वको विकल्प खुल्ला छ भनेर जसरी प्रस्तुत भएको थियो तर पछिल्लो समयमा आएर उसले जुन किसिमको निर्णय गर्‍यो, त्यसले राष्ट्रिय सहमतिको सरकारको परिधिलाई साँघुरो बनाएको छ, जसले राष्ट्रिय सहमति बन्न सक्दैन भन्ने कङ्ग्रेसको ठहर हो। माओवादी स्थायी समितिको बिहीबारको बैठकले अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेको थियो। प्रवक्ता केसीले जेठ १४ गते तीन दलबीच भएको सहमतिअनुरुप शान्तिप्रक्रिया र संविधान निर्माणको सुनिश्चितताका लागि निश्चित कार्यतालिकासहितको प्रतिबद्धताबिना प्रधान मन्त्रीले राजिनामा दिँदा शान्ति प्रक्रिया भाँडिने निष्कर्षमा पार्टी पुगेको बताए।

एकीकृत नेकपा (माओवादी)ले आफनो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार गठन भए पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै नेतृत्व गर्ने निर्णय गरेको छ। 'पार्टीभित्रबाट कसले नेतृत्व गर्ने भन्नेबारे बाहिर विभिन्न हल्ला आएको सन्दर्भमा पार्टी अध्यक्षले नै त्यसको नेतृत्व गर्ने निर्णय गरिएको हो', बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।
यसअघि वैशाख २८ स्थायी समिति बैठकले अध्यक्ष दाहालको विकल्प खोज्नु परे त्यसको निर्णय लिने जिम्मा पदाधिकारीहरूलाई सुम्पिएको थियो। उक्त निर्णयलाई अध्यक्ष दाहाल पक्षधरले 'पार्टीको विकल्प' खुला गरेको भन्दै आएका थिए भने प्रधानमन्त्रीका अर्का आकांक्षी बाबुराम भट्टराईले 'सकभर अध्यक्षकै नेतृत्वमा सरकार बनाउने नभए, आफ्नै पार्टीभित्र विकल्प खोज्ने' निर्णय यसअघि केन्द्रीय समितिबाट भएको व्याख्या गर्दै आएका थिए।

पार्टीका सचिव सीपी गजुरेलले यसअघि पार्टीले गरेको निर्णयमै कायम रहने अडान राखेको जानकारी दिए। यसअघि पार्टीको तर्फबाट अध्यक्ष दाहालले सरकारको नेतृत्व गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले भने, 'त्यही निर्णयमा अडिग रहने निर्णय गरेका हौं।'
बैठकले 'सरकारको नेतृत्वबारे मात्रै कुरा अड्किएको भए त्यसमाथि छलफल गर्दै अगाडि बढ्न सकिने' निर्णय पनि गरेको छ। 'अन्य दलले सरकारको नेतृत्वमा खिचलो निकालेकाले विकल्पबारे छलफल गर्न सकिन्छ भनेका हौं। पार्टीले सरकारको नेतृत्वको दाबी छाडेको भने होइन', गजुरेलले भने।

अध्यक्ष दाहालको निवास, नयाँबजारमा भएको बैठकले शुक्रबार बिहान पार्टी स्थायी समितिको बैठक गरी सेना समायोजन र शान्ति प्रक्रियाका विषयमा आधिकारिक धारणा बनाउने निर्णय पनि गरेको छ। 'जेठ १४ गते भएको तीनबुँदे सहमतिमा उल्लेखित विषयका साथै सेना समायोजन र शान्ति प्रक्रियाबारे स्थायी कमिटीको वैठकपछि आधिकारिक धारणा वाहिर ल्याउछौं', गजुरेलले भने।

बैठकमा कांग्रेस र एमालेले तयार पारेको संयुक्त सहमतिको दस्तावेज पार्टीलाई मान्य नहुने निष्कर्ष निकालेको छ। शान्ति प्रक्रिया र संविधान निर्माणसँग जोडिएका विषयलाई निश्चित कार्यतालिका बनाएर अघि बढाउने भन्ने काग्रेस र एमालेको प्रस्तावप्रति गजुरेलले टिप्पणी गरे, 'त्यस्तो एकलौटी दस्तावेज हाम्रा लागि मान्य छैन।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक