20100623

के के हुँदैछ नेपालमा ? संबिधान त नबन्ने नै भयो अब को बन्दैछ नयाँ प्रधानमन्त्री ल हेर्नुस् !

संविधान निर्माणको प्रक्रिया ओझेलमा परे पनि सरकार परिवर्तन तथा नयाँ प्रधानमन्त्री चयनको अभ्यासले भने उच्च प्राथमिकता पाएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल मानसिक रूपले पद त्याग गर्न तयार हुनुभएको छ र उहाँले यस कुराको जानकारी सत्ता साझेदारमध्येको प्रमुख दल नेपाली काङ्ग्रेसलाई गराइसक्नु पनि भएको छ । प्रधानमन्त्री नेपालले सङ्केत दिनुभएपछि नेपाली काङ्ग्रेस पनि नयाँ सरकारको नेतृत्व लिन तयार भएको छ । माओवादीले प्रधानमन्त्री पदबाट माधव नेपालको राजीनामा माग गर्दै तेह्र महिनादेखि...
चरणबद्ध रूपमा सङ्घर्ष गर्दै आएको छ र उसले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने धारणा मागका रूपमा अघि सारेकोमा अझै त्यसलाई फिर्ता लिएको छैन । लडाकु व्यवस्थापनसहित शान्ति स्थापना र संविधान निर्माणका पक्षमा ठोस एवम् कार्यान्वयनमुखी प्रतिबद्धता नआएसम्म माओवादीसँग सहमति बन्ने स्थिति नरहेको र सहमति हुँदा पनि प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई स्वीकार गर्ने अवस्था नरहेपछि राजनीतिक दल र माओवादीबीच तत्काल सम्झौताको सम्भावना घटेको छ । अब जसको नेतृत्वमा बने पनि बहुमतकै सरकार गठन हुने सम्भावना बढाएको छ ।
माओवादीले डा. बाबुराम भट्टराईको नाम अघि सारेको अवस्थामा माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने स्थिति अहिले पनि जीवित छ, तर डा. भट्टराईलाई सरकारको नेतृत्व लिन मौका दिने पक्षमा खुद माओवादी पार्टी नै देखिएको छैन । त्यसैगरी माओवादीले नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सहमति जनाउने हो भने पनि राष्ट्रिय सरकारको गठन सम्भव मानिन्छ । तर, माओवादीले अहिलेसम्म प्रचण्डबाहेक अरू कसैको नेतृत्वमा सरकार गठनको परिकल्पनासमेत गरेको छैन । त्यसैले तत्काल राष्ट्रिय सरकार गठनको सम्भावना न्यून भई बहुमतको सरकार गठन हुने सम्भावना बढेको हो ।
माओवादीसँग सहमति नहुने अवस्थामा वर्तमान राजनीतिक समीकरणमा परिवर्तन हुने स्थिति छैन । बरु सत्ता गठबन्धनको वर्तमान समूहमा उपेन्द्र यादव र जयप्रकाश गुप्ताले नेतृत्व गर्नुभएको मधेसी जनअधिकार फोरम पनि अब प्रजातान्त्रिक गठबन्धनमा सामेल हुने सङ्केत मिलेको छ । उक्त समूह पनि सत्ता गठबन्धनमा सामेल भएमा माओवादी राजनीतिक रूपले अरू एक्लिन सम्भव छ । प्रजातान्त्रिक गठबन्धनभित्रबाट नयाँ सरकारमा नेतृत्व लिन सक्ने सम्भाव्य नेताका रूपमा तीनजनाको नाम लिइन्छ । रामचन्द्र पौडेल, झलनाथ खनाल र शेरबहादुरबाहेक अरू कसैको नाम प्रधानमन्त्रीका रूपमा लिइन्छ भने त्यो केपी ओलीको हो, तर तत्काल उहाँ प्रधानमन्त्री बन्ने स्थिति विकास भएको छैन । उपप्रधानमन्त्री विजयकुमार गच्छदार प्रधानमन्त्री बन्न हतार गर्ने पक्षमा हुनुहुन्न । पौडेल, खनाल र देउवामध्ये पनि देउवाको निम्ति परिस्थिति अनुकूल मानिएको छैन । काङ्ग्रेसभित्र देउवा अत्यन्त कमजोर हुनुभएको छ, काङ्ग्रेस संसदीय दल र केन्द्रीय कार्यसमिति दुवैमा देउवा दुर्बल हुनुहुन्छ भने अन्य दलहरू पनि देउवाका पक्षमा उभिने स्थिति छैन । शेरबहादुर देउवाले पार्टी एकीकरण हुँदा साठी र चालीस प्रतिशतका आधारमा जिम्मेवारी तथा अवसर विभाजन गर्ने सम्झौता भएको दाबी गर्दै आफूले सभापति या प्रधानमन्त्री पद पाउनुपर्ने आशय प्रकट गर्नुभएको छ । एउटै पार्टी भइसकेपछि पनि यसप्रकारको धारणा बोक्नुलाई काङ्ग्रेसमा देउवाको गुटवादी र फुटवादी चिन्तन भनी आलोचना भएको छ । देउवाको यस किसिमको चिन्तन र व्यवहारका कारण उहाँप्रति पार्टीमा झनै आशङ्का बढाएको छ । देउवालाई बलियो भए भने पार्टी विभाजन गराउँछन् भन्ने चिन्ता कार्यकर्ता पङ्क्तिमा देखापरेको छ । स्मरणीय छ, यसअघि काङ्ग्रेस विभाजन हुनुको प्रमुख कारण पनि देउवालाई प्रधानमन्त्री बनाइएकैले हो भन्ने धेरैलाई परेको छ । प्रधानमन्त्री माधवकुमार नेपाल आफूले पद त्याग गरेपछि रामचन्द्र पौडेललाई नयाँ प्रधानमन्त्रीका रूपमा हेर्न चाहनुहुन्छ भने अर्का नेता केपी ओलीको साथ र समर्थन पनि रामचन्द्रलाई नै रहने देखिन्छ । ओली र माधवको समर्थन रामचन्द्रका पक्षमा गएपछि झलनाथ खनाल पनि बहुमतको निर्णय नाघेर देउवालाई साथ दिन जाने सम्भावना कम छ । विजय गच्छदारले नेतृत्व गर्नुभएको फोरम, जेपी गुप्ता र उपेन्द्र यादवले नेतृत्व गर्नुभएको फोरम, नेमकिपा, तमलोपालगायतका सबैजसो दलहरू देउवाभन्दा पौडेलकै पक्षमा उभिने सम्भावना बढी छ । काङ्ग्रेसको विधान, मुलुकको संविधान र राजनीतिक परिस्थिति सबै देउवाको चाहनाको प्रतिकूल भएको हुनाले यसपटक काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुँदा रामचन्द्र पौडेलकै नेतृत्वमा हुने सम्भावना बढेको हो । यसअघि पटक-पटक प्रधानमन्त्री भएको र हरेक पटक असफल रहेको हुनाले पनि देउवाप्रति मानिसको आकर्षण घटेको छ । तर, रामचन्द्र पौडेल नयाँ र विचार पक्ष पनि सुदृढ भएको हुनाले पौडेलका पक्षमा परिस्थिति विकसित भएको विश्वास गरिन्छ । यसरी एकातिर नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ भने अर्कोतिर प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा रहनुभएका एमाले अध्यक्ष झलनाथ खनाल भने आफूले प्रधानमन्त्री पद नपाएर त्यसनिम्ति प्रचण्डलाई समर्थन गर्ने सोचमा रहनुभएको बुझिन्छ । सकेसम्म आफैं प्रधानमन्त्री बन्ने, नभए प्रचण्डको नेतृत्वमा सरकार गठन गरेर सरकारमा आफ्नो दरि्बलो उपस्थिति जनाउने योजनामा खनाल रहनुभएको छ । भनिन्छ, झलनाथ खनाल गैरप्रजातान्त्रिक चरित्रको सरकारका पक्षमा हुनुहुन्छ र उहाँले त्यसनिम्ति वामपन्थी गठबन्धनको सरकार गठन गर्ने योजना आफ्ना निकटवर्तीहरूसमक्ष प्रस्तुत गर्ने गर्नुभएको छ । झलनाथको यस्तो योजना कार्यान्वयनको पक्षमा सिङ्गै एमाले पार्टी देखिएको छैन र, प्रजातान्त्रिक शक्तिलाई बाहिर राखेर वामपन्थी गठबन्धनको सरकार बनाउँदा त्यसले सफलता हासिल गर्ने विश्वास पनि धेरैलाई छैन । खासगरी अन्तर्राष्ट्रिय समुदाय त्यस्तो सरकारप्रति सशंकित र सचेत रहने ठानिन्छ । तर, खनालले वामपन्थी गठबन्धनको नाममा माओवादीको या आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने सफलता हासिल नगर्नु भएमा आफ्नो इच्छाविपरीत बन्ने सरकारलाई उहाँले सहयोग पुर्‍याउने सम्भावना रहँदैन । जसरी भए पनि समीकरण भत्काउने र सरकार ढलाउने ‘खेतिपाती’मा नै उहाँको समय बित्ने विश्वास गरिन्छ । आफ्नै पार्टी नेतृत्वको सरकार त सहन नसक्ने खनालले काङ्ग्रेस नेतृत्वको सरकारलाई टिक्न कसरी दिनुहोला ? जिज्ञाशा उत्पन्न भएको छ । एमालेभित्र खनालको स्थिति अत्यन्त कमजोर भएका कारणले मात्र नेपालमा अहिलेसम्म माओवादीलाई छेकबार लगाउन सक्ने स्थिति बनेको छ, एमालेमा खनाल बलियो भएको अवस्थामा नेपालको प्रजातान्त्रिक आन्दोलन थला पर्ने र माओवादी क्रान्ति यात्राले नयाँ उचाइ प्राप्त गर्ने अनुमान विश्लेषकहरूको छ ।
सरकार बदलिने या प्रधानमन्त्रीले राजीनामा दिने स्थिति बनेको भए पनि वर्तमान सत्ता समीकरण भने यथावत् रहने सम्भावना छ । यो समीकरण यथावत् रहेसम्म माओवादीले चाहेर मात्र उसलाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुन सम्भव मानिँदैन । खनाललाई अघि सारेर एमाले विभाजन गराउन सकेको अवस्थामा मात्र माओवादी र खनाल स्वयम्लाई वामपन्थी गठबन्धनको नाममा नयाँ अधिनायकवादी चरित्रको सरकार गठन गर्ने सफलता प्राप्त हुन सम्भव देखिएको छ । माओवादीले काङ्ग्रेसमा शेरबहादुर देउवालाई उचाल्ने काम गरेको भए पनि अब उक्त दलमा विभाजन आउने स्थिति नरहेको हुनाले पनि खनाललाई नै बोकेर गन्तव्य प्राप्त गर्ने योजना माओवादीले बनाएका छन् । तर, तत्काल भने माधव नेपालले जहिले राजीनामा दिनुभए पनि रामचन्द्रकै नेतृत्वमा सरकार गठन हुने सम्भावना छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक