20100616

मुलुकमा सङ्क्रमणकालीन अवस्था लम्बिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाहको 'धार्मिक यात्रा' !!!

नागरिक पात्रिका लेख्छ : मुलुकमा सङ्क्रमणकालीन अवस्था लम्बिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाहको 'धार्मिक यात्रा' बढेको छ। तीन महिनाको बीचमा उनको यो तेस्रो धार्मिक यात्रा हो। राजनीतिक हिसावले समेत महत्त्वपूर्ण मुलुकका तीन प्रमुख सहर जनकपुर र नेपालगन्ज हुँदै बुधबार उनी वीरगन्ज क्षेत्र आएका छन्। बिहान ९:३० बजेको बुद्ध एयरबाट बाराको सिमरा विमानस्थलमा आएका शाहले भिआइपी कक्ष ....
प्रयोग गरेनन्। शाहको स्वागतमा विमानस्थल बाहिर भने 'पूर्व भिआइपी' को भने बाक्लो उपस्थिति थियो। उनको स्वागतमा सर्वसाधारणसँगै शाहीकालका सञ्चार मन्त्री टङ्क ढकाल, क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्ती, राप्रपा नेपालका केन्द्रीय सदष्य राजीव पराजुली, भरतकेशर सिंहलगायतको 'सक्रिय' उपस्थिति थियो। राजावादीले पूर्व राजाको आगमनलाई धार्मिक यात्राको रुपमा हेरिदिन आग्रह गरे पनि शाहल दुर्गा मन्दिरको पूजामा भन्दा सर्वसाधारणसँग हात मिलाउँदा बढी खुसी देखिन्थे। जनकपुर यात्राका क्रममा 'राजतन्त्र समाप्त नभएको' धारणा राखेर विवादमा आएका उनले सिमरामा जम्मा भएका सञ्चारकर्मीसँग भने केही बोलेनन्। तर उनी स्वागतमा उभिएका स्कुले विद्यार्थीलाई पढाई र विद्यालयकोबारेमा सोधे भने किसानसँग खेतीपातीको कुरा गरे। लाइनमा जम्मा भएका कतिपयले पूर्व राजालाई सक्रिय हुन आग्रहसमेत गरे।

कुर्ता–पाइजामामा आएका शाहले तराईको चर्को घाममा पसिना निकाल्दै पैदल यात्रासमेत गरे। विमानस्थलबाट १५ किलोमिटर पर रहेको दुर्गा मन्दिरसम्म पुग्ने क्रममा उनले ल्याण्डक्रुजर गाडीबाट ओर्लेर झण्डै ५ सय मिटर दूरी पैदल पार गरे। सिमरा, जीतपुर र परवानीपुरमा स्वागतमा उभिएका सर्वसाधारणसँग उनले पैदलयात्रा गर्दै फूलका गुच्छा समाए। परवानीपुरमा उनलाई छाता ओढाइ चमर हल्लाउँदै यात्रा गराइयो। उनलाई हेर्न काखामा नानी च्यापेका महिलासमेत आएका थिए। स्वागतमा उभिएका भीडबाट कतिपयले 'राजा आउ देश बचाउ' भन्दै नारा लगाउदा उनी मुस्कुराउँदै अघि बढे ।

पूर्व राजाको स्वागतमा साधु–सन्तको समेत बाक्लो उपस्थिति थियो। एक महिनाअघि पूर्व युवराज पारस शाह वीरगन्ज आउँदा युवा जमातको बाक्लो उपस्थिति थियो भने बुधबार पूर्व राजाको स्वागतमा बूढा–पाकाको बाक्लो सहभागिता रह्यो। पूर्व राजाको स्वागतमा आएका राप्रपा नेपालका केन्द्रीय सदस्य राजीव पराजुलीले आफ्नो पार्टी संवैधानिक राजतन्त्रको विश्वास गर्ने भएकाले स्वागतमा आएको बताए। पूर्व मन्त्रीसमेत रहेका पराजुलीले भने – संवैधानिक राजतन्त्रमा विश्वास गर्ने भएकाले आएको हुँ।  पूर्व राजाको स्वागतमा एमालेका जिल्ला सदस्यसमेत रहेका अमर यादवको पनि उपस्थिति थियो। उनी दुर्गा मन्दिर पूजा समितिका संयोजकसमेत हुन। 'म पहिला हिन्दू हुँ, त्यसपछि मात्र कम्यूनिष्ट', यादवले भने– हिन्दू सम्राटलाई स्वागत गर्ने अधिकार सबै हिन्दूलाई छ। स्वागत गरेकै कारण पार्टीबाट कारबाही भोग्नुपरे आफू तयार रहेका उनले बताए। पूर्व राजालाई स्वागत गरे पनि आफू राजावादी भने नभएको उनको दावी छ।


पूर्व राजाको यात्राको क्रममा सिमरादेखि परवानीपुरसम्मको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। सादा पोशाक र बर्दिधारी सुरक्षाकर्मीका बाक्लो उपस्थिति थियो। घरका छत छतमा समेत बन्दूकसहितका सुरक्षाकर्मी परिचालन गरिएका थिए। पूर्व राजा सिमरास्थित प्रभु राणाको घरमा आराम गरिरहँदा ३४ किलोमिटर पर सदरमुकाम कलैयास्थित नाक़पी कार्यालयमा बम विस्फोट भएको छ। दिउसो ४:३० बजेतिर भएको उक्त विस्फोटबाट केही नोक्सान नभएको प्रहरीले बतायो। बिहान ९:३० बजे सिमरा विमानस्थल ओर्लेका पूर्व राजाले स्वागतमा उभिएका स्थानीयसँग भलाकुसारी गरे। उनले सबैका कुरा ध्यान दिएर सुने। त्यहाँबाट उनी वा ४ च ३८०७ नम्बरको ल्याण्डक्रुजर चढेर अघि बढे। ४ किलोमिटर पर जीतपुरमा उनी पुन: गाडीबाट ओर्लेर स्वागतका लागि लाइनमा रहेका सर्वसाधारणसँग भेट गरे। त्यहाँ बाजा–गाजासहित उनको स्वागत भयो। त्यसपछि उनी पौने ११ बजेतिर परवानीपुर पुगे। त्यहाँ उनले १ करोडभन्दा बढीको लागतमा निर्मित माँ वैष्णवी दुर्गाको मूर्तिमा धार्मिक विधिअनुसार 'प्रथम पूजा' गरे। त्यहाँ उनले स्थानीय भोजभगत उच्च माविमा सर्वसाधारण र उद्यमीसँग सामान्य भेट गरे। पौने १२ बजे सिमरास्थित प्रभु राणाको निवासमा फर्के। यहाँ उनले बुधबारको रात बिताउने छन्।

यसै समाचारलाई नेपाल होराइजोन्स यसरी लेख्छ :  
पूर्वराजालाई स्वागत गर्नेको भीड सम्हाल्न गाह्रो

पुर्वराजा ज्ञानेन्द्र शाह पहिलेदेखि नै मन्दिर धाएर पुजाआजा गर्न रुचाउने व्यक्ति हुन् । त्यही भएर राजनीतिक भ्रमण गरेको भनेर आरोप लागेपनि उनको भ्रमण रोकिएको छैन । कहिले पुर्व त कहिले पश्चिम । उनको भ्रमण यथावत छ । यही क्रममा ज्ञानेन्द्रले बाराको परवानीपुरमा नवनिर्मित बैष्णोदेवी मन्दिरको दर्शन र पूजाआजा गरेका छन् । धाम धाउने ज्ञानेन्द्रको लगाव बिछट्टैको छ ।
पूर्वराजा पूजाआजाका लागि परवानीपुर पुग्दा बैष्णोदेवी मन्दिर वरिपरि सर्वसाधारणको ठूलो भीडले भरिभराउ भएको थियो । त्यसो त उनी राजा नै हुँदा कम्तीको भीड हुने थिएन । भीड उनैका समर्थकले भरिएका हुन्थे भने उनको विपक्ष समुदाय भने कुनैबेला विरोधमा पनि उत्रैकै हो । राजतन्त्र समाप्त भएपछि उनी नागरिक बनेपछि विरोध भएको छैन, बरु उनी भ्रमणमा जाँदा रहरै लाग्ने भीड हुने गरेको उनका समर्थक बताउँछन् ।
पुर्वराजा त्यसरी भ्रमणमा जाँदा धनुष्टंकार नमस्कार गर्दै स्वागत गर्ने नै धेरै हुन्छन् । पूर्वराजा बारा पुग्दा पनि ठूलो संख्यामा सर्वसाधारणले स्वागत गरेका थिए । बरु सुरक्षाकर्मीलाई पो भ्याई नभ्याई छ । तराईका सशस्त्र समुहलाई पछ्याउँदा पछ्याउँदै हैरान भएका प्रहरी जवानहरु शाहीकालको कुनै समयमा जस्तो तर कम मात्रामा भए पनि परिचालित हुनुपर्दा फरक महसुस गर्दा हुन् । पुर्वराजाका भ्रमणमा पनि सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मे हम्मे पर्ने गरेको छ ।
ज्ञानेन्द्रको पक्षमा प्रायः लाग्ने नारा भनेको राजनीतिमा आउन उनलाई गरिने आग्रह पनि हो । जब उनी भ्रमणमा जान्छन् उनी राजनीतिमा आउनुपर्ने भनाई तीव्र रुपमा आउँछ । बारामा पनि उपस्थित सर्वसाधारणले राजा आउ देश बचाउ भन्ने नारा लगाएका छन् । राजा भने फुल लिंदै हुन्छ, हुन्छ भन्दै मन्दिर र होटल । सर्वसाधारणको यही नाराका कारण नै हो कि, राजनीति गरेको आरोप लाग्ने ।
अझ उनले सर्वसाधारण, व्यापारी, बुद्धिजीवी लगायतसँग पनि भेटघाट गर्ने गरेका छन् । त्यसो त हिन्दु राज्यका पक्षधर ज्ञानेन्द्रको भ्रमण राजनीति भन्दा धार्मिक हिसाबले पो महत्वपूर्ण छ भन्ने पनि छन् । अझ बीरगञ्जमा हिन्दुवादीहरुको गतिविधि बढिरहेका बेला उनको भ्रमण हुनुले यो शंका पनि बढाएको छ कि पुर्वराजा अब हिन्दु राज्य स्थापना गर्न कस्सिएर लागेका छन् । तर उनको आरोप सामान्य हो कि के हो त्यो भने समय पर्खेर हेर्नैपर्ने हुन्छ । -महेन्द्र ।
कान्तिपुर ले यसरी प्रस्तुत गर्‍यो यो समाचार लाई  :

पूर्व राजा ज्ञानेन्द्र शाह पुजा अर्चनामा व्यस्त

शंकर आचार्य
पर्सा , अषाढ २ - पुजा अर्चनाका लागि भनि आएका पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार परवानीपुरमा माता बैष्णो मन्दिरमा पुजा अर्चना गरेका छन् । शाह पर्सा बाराको मठ मन्दिरमा पुजा अर्चनाको लागि भन्दै बुधबार बिहान यहा आइपुगेका हुन् । बुद्ध एयरको विमानबाट सिमरा विमानस्थलमा विहान साढे नौ बजे ओर्लिएका शाह त्यस लगत्तै करीब तीन घण्टा पुजा अर्चना र समर्थकहरुसंग भेटघाटमा व्यस्त रहेे । विमानस्थलबाट परवानीपुर तर्फ आउदा जीतपुर र परवानीपुर चोकमा करीब पाच पाच सयको संख्यामा उपस्थित स्थानीय बासिन्दाको समूहले उनलाई बाजा गाजा तथा फुल माला सहित स्वागत गरेको देखिन्थ्यो । यसरी स्वागतमा उभिनेमा बढि जसो स्थानीय विद्यालयका विद्यार्थीहरु देखिन्थे । साढे १० बजे परवानीपुरस्थित राधाकृष्ण मन्दिरमा आइपुगेका शाहले त्यहा नवनिर्मित माता बैष्णोको मन्दिरमा करीब आधा घण्टा लगाएर पुजा अर्चना गरेका थिए । त्यस पछि शाह मन्दिर परिसर बाहिर निर्मित मन्चमा करिब आधा घण्टाको औपचारिक समारोहमा सरिक भएका थिए । मन्दिर निर्माण समितिले आयोजना गरेको उक्त समारोहमा शाहले मन्दिर निर्माणमा सहयोग पुर्याउने हरुलाई प्रमाण पत्र प्रदान गरेका थिए भने शाहलाई समितिले कदर पत्र हस्तान्तरण गरेका थिए । त्यस पछि शाहले स्थानीय भोजभगत माबिमा स्थानिय बासिन्दा तथा राप्रपा नेपालका कार्यकर्ताहरुलाई सामूहिक भेटेर त्यस क्षेत्रको अवस्थास्थिति र स्थानिय बासिन्दाहरुको समस्याको बारेमा जानकारी लिएका थिए । सिमरामा उनी प्रभु समशेर जबराको घर 'प्रभु निवास'मा बस्ने कार्यक्रम छ । उनी बिहीबार वीरगंज आउने र त्यस क्रममा आफ्ना शुभचिन्तकहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 
 BBC ले यसरी प्रस्तुत गर्‍यो यो समाचार लाई  :
तराई पुगेका पूर्वराजा भेटघाटमा व्यस्त
पूर्व राजा ज्ञानेन्द्र (दायाँ) पूजा गर्दै
ज्ञानेन्द्रले बारामा वैष्णवी दूर्गा मन्दिरमा पहिलो पूजा गरेर उदघाटन गरेका थिए
राजतन्त्र उन्मूलनपछि तीन वर्ष पूर्णतया मौन बसेका पूर्वराजा ज्ञानेन्द्र शाह तराईका मुख्य शहरका मन्दिर-दर्शनका क्रममा बार पुग्दा उनका समर्थकहरुले "राजा आउ देश बचाउ"को नारा लगाएका थिए।
उनी स्वयं भने मौन रहेका थिए।
पूर्वराजा शाह काठमाण्डूबाट बुद्ध एयरको जहाजबाट बुधबार बारा जिल्लास्थित सिमरामा विमानस्थल ओर्लिएका थिए।
जहाँ ठूलो संख्यामा रहेका समर्थकहरुले उनको जयजयकार गर्दै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै सक्रिय हुन आग्रह गरेका थिए।
जयजयकार गर्नेहरुको भीड विमानस्थलदेखि औद्योगिक करिडोर लिपनीमालसम्म थियो।
उनले भने मुख खोलेनन्।
भेटघाट
त्यसपछि बाराको लिपनीमाल गाउँ विकास समिति पुगेर उनले नवनिर्मित वैष्णवी दूर्गा मन्दिरमा पहिलो पूजा गरेर उदघाटन गरेका थिए।
त्यसपछि उनी आफ्नो स्वामित्व रहेको सूर्य टोबाको कम्पनीको अगाडि रहेको आफन्त प्रभुशम्शेर राणाको आवासमा वास बस्न पुगेका थिए।
प्रचण्ड गर्मीमा त्यहाँ उनले पाँच दिन बिताउने छन्।
उनले पूर्वपञ्च, उद्योगी, व्यवसायी लगायतका समर्थकहरुसित भेँटघाट गर्ने सिलसिलमा शुरु गरिसकेका छन्।
पूजापछि स्थानीय विद्यालयमा केही व्यक्तिहरुसित भेटघाट गरेको मन्दिर निर्माण समितिका अध्यक्ष अमर यादवले बताए।
भेटघाटको निम्ति उनी नजिककैको अर्को शहर वीरगञ्ज पनि पुग्ने छन्।
आफन्तद्वारा सञ्चालित वीरगञ्जको होटेल सम्झनामा उनले सीमित मानिसहरुसँग भेट्ने कार्यक्रम रहेको उनका निजी सचिव सागर तिमल्सिनाले बताए।
बारा र पर्सामा हिन्दूवादीहरु सकृय छन्।
यसअघि वैशाखमा पूर्व युवराज पारस शाह पनि बीरगञ्ज पुगेका थिए ।
करिब तीन वर्ष लामो मौनता र निष्कृयतापछि पूर्वराजा केही महिना अघि जनकपुर र त्यसपछि नेपालगञ्ज गएका थिए।
त्यहाँ उनले सञ्चारमाध्यमलाई अन्तरवार्ता पनि दिएका थिए।
बाल आश्रमलाई धरान अमेरिका समाजको सहयोग
धरान-अमेरिका समाजले धरान स्थित सरस्वती बाल आश्रमलाई आर्थिक सहयोग जुटाएको छ ।आलोपालो डटकमका सम्पादक एव ब्लाष्ट टाइम्स दैनिकका सहसम्पादक देबेन्द्र कार्कीको संयोजनमा मंगलबार असार ०१ गते (June 15th,2010) एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघ सुनसरीका अध्यक्ष राजेश विद्रोहीले आश्रम साचालक समितिका अध्यक्ष तीर्थ राईलाई २० हजार एक सय रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।कार्यक्रममा विजयपुर एफ एम सचालन समितिका सदस्य उपेन्द्र






चाम्लिङ, आश्रम सचालक समितिका पदाधिकारी सल्लाकारहरु स्थानीय बुद्धिजीवी पत्रकारलगायतको उपस्थिति थियो ।कार्यक्रममा धरान-अमेरिका समाजका अध्यक्ष विजय थापाले इमेल मार्फत पठाउनु भएको मन्तव्य संस्थाका प्रतिनिधि देबेन्द्र कार्कीले पढेर सुनाएका थिए । मन्तव्यमा धरान-अमेरिका समाजले आफ्नो उद्देश्यअनुरुप देशबाहिर रहे पनि आफ्नो मातृभूमिमा रहेका सामाजिक संघसंस्थाहरुलाई आगामी दिनमा निरन्तर सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ ।चेक हस्तान्तरणपछि कार्यक्रमका प्रमुख अतिथि एवं ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक विद्रोहीले धरान-अमेरिका समाजको सहयोग प्रशंसायोग्य भएको बताए । यो उहाँहरुको आफ्नो मातृभूमिप्रतिको अगाध प्रेम हो! उनले भनॆ सहयोगको वातावरण मिलाउने र परदेशमा खाइ- नखाइ सहयोग पठाउने धरान-अमेरिका समाजका पदाधिकारीहरु धन्यवादका पात्र बनेका छन् !सहयोग गर्ने संस्थालाई आश्रमका अध्यक्ष तीर्थ राईले धन्यवाद दिएका थिए । सो सहयोग आश्रमभित्र बन्न लागेको भवनमा खर्च गर्ने र दाताको नाम शिलालेखमा लेखिने उनले बताए । कार्यक्रमको साचालन आश्रमका कोषाध्यक्ष एवम् गोरखा सहकारी संस्थाका मेनेजर रत्नकुमार ताम्राकारले गरेका थिए भने आश्रम साचालक समितिका प्रथम उपाध्यक्ष सुन्दरलाल कर्माचार्यले सहभागीलाई स्वागत गरेका थिए !यस् महान पवित्र सहयोगमा सहयोग गर्ने सम्पूर्ण धरान अमेरिका समाजका कार्यकारी समितीका सदस्यहरु,शुभ चिन्तकहरु ,सल्लाहाकारहरु ,बिभिन्न समितीका प्रमुख तथा सदस्यहरु प्रती आभार प्रकट गर्न चाहन्छौ ! बिशेष सहयोग गर्नु हुने र सहयोग जुटाउन संयोजनको भूमिका निभाउने आलोपालो डट कमका सम्पादक एंव ब्लाष्ट टाइम्स दैनिकका सह-सम्पादक देबेन्द्र कार्कीलाई बिशेष धन्यवाद दिन चाहन्छौ ! धन्यवाद - बिजय थापा - अधक्ष्य तथा धरान अमेरिका समाज परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक