20100618

'ओलीजीले जहिल्यै भाँजो हाल्नुहुन्छ, आखिर सबै विभागमा उहाँले भनेकै मान्छे राखेँ फेरि मलाईनै धोका।'

एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्ने कुरामा पूर्णतः विश्वस्त
'अब माधवजी थोत्रिइसक्नुभयो। प्रचण्ड अथवा माओवादीका कुनै पनि नेतालाई भारतले पत्याउँदैन। नेपाली कांग्रेसले माओवादीलाई सँगै लिएर जानसक्दैन। अब मैले जिम्मेवारी लिनुपर्ने बेला आयो।' एमाले अध्यक्ष खनाल गत हप्ता आफ्ना निकट पोलिटब्युरो र केन्द्रीय नेताहरूसँग आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको चर्चा डल्लु निवासमा गर्दै हुनुहुन्थ्यो। ती नेताले बताएअनुसार कांग्रेस र माओवादीले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने भए पनि आफ्नै पार्टीका नेताहरूले असहयोग गरेको खनालको दुःखेसो थियो। खनालले भन्नुभयो, 'ओलीजीले जहिल्यै भाँजो हाल्नुहुन्छ। आखिर सबै विभागमा उहाँले भनेकै मान्छे राखेँ। फेरि मलाई नै धोका।' नेकपा एमालेका एक पोलिटब्युरो सदस्यले यो सातालाई बताएअनुसार झलनाथ खनाल प्रधानमन्त्री बन्ने कुरामा पूर्णतः विश्वस्त हुनुहुन्छ। छलफलका क्रममा भरतमोहन अधिकारी र केपी ओलीलाई चोरबाटोबाट संविधानसभा सदस्य बनाउने...
कुरा पनि उठेको थियो। उक्त विषय उठ्नासाथ खनालले टेबुलमा मुड्की बजार्दै भन्नुभएको थियो, 'अब केही नपाएर यो थपौटो समयमा संविधानसभाको सदस्य बन्ने ? कस्तो लाज नभएको कुरा गरेको? यो सब केपी ओलीले पत्रकारहरूलाई हल्ला फैलाउन लगाएको हो।' छलफलमै सहभागी भरतमोहन अधिकारीले चाहिँ हाँस्दै भन्नुभएको थियो, 'त्यही त मलाई केही थाहा छैन, अध्यक्ष कमरेडले पनि केही भन्नुभएको छैन, एकैचोटि पत्रिकाबाट सभासद् हुने कुरा थाहा पाएँ।'

अध्यक्ष खनालले निचोड सुनाउँदै एमाले सधैँ पछि परेको र ऐतिहासिक जिम्मेवारी लिनबाट चुकेको हुनाले 'अब जसरी पनि' आफू प्रधानमन्त्री बन्ने सुनाउनुभएको थियो। प्रतिक्रियामा एक जना पोलिटब्युरो सदस्यले आफ्नै पार्टीले नेतृत्व गरेको सरकार ढालेर अध्यक्ष कमरेड प्रधानमन्त्री बन्दा राम्रो सन्देश नजाने, पार्टीभित्रको मतभेद अझै बढ्दै जाने र पार्टी फुट्नसक्ने भन्दै उक्त विषयमा विचार गर्न सुझाएका थिए। एक जना पोलिटब्युरो सदस्यले त सरकारमा बसेर ओलीले पार्टी कब्जा गरिसकेको आरोप लगाउँदै ओलीका गतिविधिमाथि निगरानी राख्नुपर्ने बताएका थिए।

खनाल–निकट नेताहरूको अनौपचारिक सो बैठकमा वामदेव गौतम भने उपस्थित नभएको यो सातालाई जानकारी प्राप्त भएको छ। युवराज कार्कीले शुरुमै अध्यक्ष खनाललाई 'महासचिव ईश्वर पोखरेल आउनुहुन्न' भनेर दुई पटक सोध्नुभएको थियो। कार्कीलाई खनालले उत्तर नदिए पनि छलफलका क्रममा भन्नुभयो, 'तपाईं हामीबीचमा हुने गोप्य कुरा पनि माधव र केपीकहाँ पुर्‍याउने मान्छे चिन्नुभएकै होला। कमरेडहरूले अलिक विचार गरेर कुरा गर्नुपर्छ। विशेष गरी ईश्वर कमरेडप्रति मलाई डाउट लागेको छ।'

भेला भएका केही नेताले खनाललाई प्रधानमन्त्री बन्न नसकेमा माओवादी वा कांग्रेसको नेतृत्वमा सरकार बनाउने, तर माधव नेपाललाई सरकारबाट फिर्ता गर्नैपर्ने कुरामा जोड दिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक