20100831

एक सय ४७ सदस्यीय केन्द्रीय समितिमा प्रचण्डको पक्षमा ८० , उपाध्यक्ष मोहन वैद्यको पक्षमा ३३, उपाध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा २४, स्वतन्त्र १० !

माओवादी भित्र बिबाद झांगिदै, कुनै पनि बेला माओवादी फुट्न सक्छ !
 माओवादी केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा प्रस्ट बहुमत देखिएको छ ।एक सय ४७ सदस्यीय केन्द्रीय समितिमा प्रचण्डको पक्षमा ८० सदस्य देखिएका छन् । प्रचण्डलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव रामबहादुर थापा बादल र सचिव पोष्टबहादुर बोगटी दिवाकरले पनि साथ दिएका छन् ।उपाध्यक्ष मोहन वैद्य किरणको साथमा पदाधिकारीबाट सचिव सिपी गजुरेल गौरव छन् भने अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई पदाधिकारीमा एक्लो छन् । किरणनजिक देखिएका कृष्णबहादुर महरा र देव...
गुरुङमध्ये महराले प्रस्ट रूपमा अध्यक्षको प्रस्तावको समर्थन गरेका छन् भने गुरुङ पनि प्रचण्डनजिक देखिएका छन् । किरण र भट्टराई पक्षधर नेताहरूले भने तीनै पक्ष बराबरी अवस्थामा रहेको दाबी गरेका छन् ।केन्द्रीय सदस्यहरू चलायमान रहेको र बैठकमा समेत नेताहरूले कूटनीतिक भाषा प्रयोग गरेकाले यो समीकरण नै अन्तिम नहुने माओवादी स्रोतले बताएको छ । 'पार्टीमा एउटा बैठकमा एकातिर देखिने अर्को बैठकमा अर्कोतिर देखिने परम्परा छ,' एक पोलिटब्युरो सदस्यले भने, 'विगतका बैठक र नेताको पृष्ठभूमि हेरेर कसको पक्षमा कति नेता आउँछन् भन्ने आँकलन त गर्न सकिन्छ, तर त्यही नै अन्तिम हो भन्न सकिन्न ।'
भिन्नभिन्न लाइनमा देखिए पनि माओवादीका केही केन्द्रीय नेता प्रचण्ड र डा. बाबुरामलाई मिलाउन चाहन्छन् भने केहीले प्रचण्ड र किरणको समीकरण खोजेका छन् । केही नेता भने किरण र डा. बाबुरामबीच सम्बन्ध जोड्न इच्छुक देखिन्छन् । नेतृत्वबीच एकता गर्नुपर्नेमा भने अधिकांश सदस्य सहमत छन् । 'यो बैठकमा व्यवस्थित तरिकाले दस्ताबेज राखिएका छन् र व्यवस्थित तरिकाले नै बहस भएको छ,' माओवादीका एक केन्द्रीय सदस्यले भने, 'पार्टी वर्गसंघर्षमा मात्र होइन अन्तरसंघर्षमा पनि परिपक्व भएको छ ।'
स्रोतका अनुसार किरण र बाबुराम पक्षबाट आलोचना खेपिरहेका प्रचण्डले दुई नेतालाई नै लिखित रूपमै आफ्ना मत राख्न लगाएर जारी केन्द्रीय समिति बैठकमा आफ्नो 'पोजिसन' बलियो पारेका छन् । 'दुईवटा प्रतिवेदन मात्र भएको भए यता वा उता भन्ने हुन्थ्यो तर तीनवटा प्रतिवेदन आएपछि प्रचण्डका लागि सहज भयो,' प्रचण्डविरोधी अर्का पोलिटब्युरो सदस्यले बताए ।
माओवादीको खरिपाटी भेलाले चुनवाङ बैठकबाट तय संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पूरा भएको भन्दै जनताको संघीय लोकतान्त्रिक गणतन्त्रलाई भावी कार्यदिशा बनाएको थियो । तर, जनताको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने विषयमा भने माओवादी नेताहरूबीच मतभेद छ । यसै विषयमा देखिएका विवादलाई माओवादी नेताहरूले जारी केन्द्रीय समिति बैठकमा छुट्टाछुट्टै प्रतिवेदन पेस गरी दस्ताबेजीकरण गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले सडक, सदन र सरकारको मोर्चा र जनविद्रोहको फ्युजनमार्फत जनताको संघीय लोकतान्त्रिक गणतन्त्र हासिल गर्न सकिने बताएका छन् भने किरणले जनविद्रोहमार्फत अगाडि बढेर मात्र लक्ष्य हासिल गर्न सकिने बताएका छन् । अर्का नेता डा. भट्टराईले सडक, सदन र सरकारको मोर्चामार्फत शान्ति र संविधान पूरा गरेर थप उपलब्धिका लागि अगाडि बढ्नुपर्ने आशयको प्रतिवेदन पेस गरेका छन् । उनले शान्ति र संविधान निर्माणमा बाधा पुर्‍याए तयारीका साथ बाध्यात्मक अवस्थामा जनविद्रोहमा जानुपर्ने उल्लेख गरेका छन् । प्रधानअन्तरविरोधबारे पनि नेताहरूबीच मतभेद छ ।
सोमबारसम्म पोलिटब्युरो सदस्यहरूको बोल्नेक्रम सकिएको छ । बैठकमा सन्तुलित धारणा राख्ने नेताहरूको संख्या बढ्दो छ । माओवादीका एक केन्द्रीय सदस्यका अनुसार केही नेताहरूले प्रतिवेदनलाई छलफलका लागि तल्ला इकाइसम्म पुर्‍याउन माग गरेका छन् ।
बैठक मंगलबार पुनः बस्नेछ । बैठकमा स्थायी समिति सदस्यलाई २०, पोलिटब्युरो सदस्यलाई १५ र केन्द्रीय सदस्यलाई १० मिनेट आफ्ना धारणा राख्न समय दिइएको छ । पदाधिकारीलाई भने समय तोकिएको थिएन ।
कसको पक्षमा को-को ?
प्रचण्ड पक्ष

नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, पोष्टबहादुर बोगटी दिवाकर, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, वर्षमान पुन अनन्त, शक्ति बस्नेत, हरिबोल गजुरेल, अग्नि सापकोटा, हेमन्तप्रकाश वली, लेखराज भट्ट, नारायण दाहाल, विकेश श्रेष्ठ, ओनसरी घर्ती, झक्कुप्रसाद सुवेदी, कमला रोका, गणेशमान पुन, रामचरण चौधरी, महेश्वर गहतराज, हितबहादुर तामाङ, कृष्ण सापकोटा, नरबहादुर कर्माचार्य, सन्तु दराई, प्रकाश पोखरेल, धावा लामा, पेशल खतिवडा, जगत पारकी, कृष्ण भुजेल, राजु खडका, अञ्जना विशंखे, ईश्वरी भट्टराई, गंगा कार्की, जीवन गौतम, कमानसिंह लामा, किसन शर्मा, डिआर पौडेल, प्रह्लाद बुढाथोकी, रामकुमार शर्मा, धु्रव पराजुली, जीतवीर लामा, तेजबहादुर वली, महेन्द्र पासवान, श्रवण यादव, कृष्णदेव सिंह, धनबहादुर मास्के, कुमार पौडेल, सर्वोत्तम डंगोल, धर्मचन्द्र लावती, विश्वनाथ शाह, दिलबहादुर श्रेष्ठ, दीनानाथ शर्मा, चन्द्रप्रकाश खनाल बलदेव, नन्दकिशोर पुन पासाङ, जनार्दन शर्मा, कर्णध्जव केसी, नन्दकुमार प्रसाईं, दीपेन्द्र पुन, कालीसिंह मगर, सावित्री काफ्ले, टंक आङबुहाङ, हिमाल किराती, दीपबहादुर योञ्जन, धर्मदत्त देवकोटा, जयप्रसाद शर्मा, हितराज पाण्डे, कृष्ण केसी, दिनेश पन्थी, विश्वभक्त दुलाल, लोकेन्द्र विष्ट, गोपाल किराती, पुष्पविक्रम मल्ल, भक्तबहादुर शाह, भीमबहादुर कडायत, गौरीशंकर खड्का, कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत, ओमप्रकाश पुन, केशव नेपाल र हरि अधिकारी
किरण पक्ष

चन्द्रप्रसाद गजुरेल गौरव, नेत्रविक्रम चन्द, हितमान शाक्य, नारायणप्रसाद शर्मा, हरिभक्त कँडेल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, जयपुरी घर्ती, सूर्य सुवेदी, उमा भुजेल, कुमार दाहाल, अनील शर्मा, कृष्णध्वज खड्का, रेखा शर्मा, सन्तोष बुढामगर, महेश्वर दाहाल, जोखबहादुर महरा, अमृता थापामगर, चन्द्रहरि सुवेदी, सुरेश आले, ईश्वरी दाहाल, सरला रेग्मी, श्रीराम ढकाल, भरत बम, पवनमान श्रेष्ठ, दिनेश शर्मा, राम आचार्य, हर्कबहादुर शाही, दिलीप प्रजापति र पूर्ण घर्तीर्
डा. भट्टराई पक्ष

टोपबहादुर रायमाझी, हिसिला यमी, गंगा श्रेष्ठ, देवेन्द्र पौडेल, स्वनाम साथी, राम कार्की, वामदेव क्षेत्री, लीलामणि पोखरेल, रामप्रसाद बञ्जाडे, भक्ति पाण्डे, डोरप्रसाद उपाध्याय, तेजप्रकाश कँडेल, बाबुराम नेपाली, सविना अर्याल, कृष्ण शर्मा, वेधनिधि अधिकारी, शशी श्रेष्ठ, प्रभु शाह, रामरिझन यादव, श्रीनाथ अधिकारी, खगराज भट्ट, हकिकुल्लाह खाँ र भीमप्रकाश गौतम
तटस्थ
देव गुरुङ, अमिक शेरचन, पम्फा भुसाल, नवराज सुवेदी, लीला थापा, घनश्याम पौडेल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, निनु चापागाईं र पदम राई - naya patrica

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक