20100911

पशुपतिका साथै देशका विभिन्न शिवालयमा हिन्दू नारीहरुको ठूलो भीड, विराटनगरमा पूर्व राजा ज्ञानेन्द्र लाई स्वागत गर्नेको भिड !

हरितालिकाको अवसरमा पशुपतिनाथको मन्दिरका साथै देशका विभिन्न भागमा अवस्थित शिवालयमा हिन्दू नारीहरुको ठूलो भीड छ। अघिल्लो दिन मीठो मसिनो खाएर आज उनीहरु उत्साहका साथ भगवान् शिवको पूजाआराधना गरी धुमधामसँग तीज मनाइरहेका छन्। तीजको अवसरमा विवाहित महिलाहरु श्रीमानको दीर्घायु र परिवारको समृद्धि तथा अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने प्रचलन छ।
यता  पूर्व राजा ज्ञानेन्द्र शाह एक धार्मिक कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका छन्। गणपति महोत्सव उद्‍घाटन गर्न आएका उनलाई......
विमानस्थलदेखि नै ठूलो सङ्ख्यामा जनताले स्वागत गरेका थिए। उनले गणेशको मूर्ति पूजा गरेर गणपति महोत्सवको उद्‍घाटन गरिसकेका छन्। साथै विराटनगर-१२ स्थित जानकी मन्दिरको पूजा पनि गरेका छन्। अहिले उनी होटल रत्‍नमा शुभचिन्तकहरुसँग भेटघाटमा व्यस्त छन्। बुद्ध एयरको विमानबाट साँढे ११ बजे विराटनगर आइपुगेका शाहलाई समर्थकहरुले भव्य स्वागत गरे। उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ जस्ता नारा लगाउँदै राजनीतिमा सक्रिय हुन आग्रह गरेका थिए।
 

२०६५ जेठ १५ गते संविधानसभामार्फत गणतन्त्र नेपालको औपचारिक घोषणा भएपछि जेठ २९ गते तत्कालीन नारायणहिटी राजदरबारबाट बहिर्गमन भएका पूर्वराजा ज्ञानेन्द्रले करिब २ वर्षपछि गएको वैशाखमा राजतन्त्र समाप्त भएको भन्ने कुरा हाइपोथेटिकल भएको भन्दै आफ्नो मौनता तोडे । देशको राजनीतिक अवस्था अस्थिर हुँदै जाँदा राजसंस्थाका सदस्यहरु अहिले जिल्ला-जिल्लामा भ्रमण गरिरहेका छन् । पछिल्लो समय केही राजावादी दल र संघसंगठनहरुले राजतन्त्रको पुनरागमन र नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग गरिरहेका बेला ज्ञानेन्द्रले राजनीति गर्न हिन्दूकार्डको परीक्षण गरिरहेको विश्लेषकहरु बताउँछन् ।
गएको वैशाख महिनामा भएको जनकपुर भ्रमणका क्रममा राजतन्त्र समाप्त भइनसकेको अभिव्यक्ति दिएपछि पूर्वराजा ज्ञानेन्द्रको मौनता भंग भएको हो । नेपालको राजनीतिमा गुमनाम ज्ञानेन्द्र २ वर्षपछि एकाएक विवादमा आए । उनको अभिव्यक्तिलाई फेरि राजनीतिमा आउने अभिष्टको रुपमा हेरियो र माओवादीलगायत विभिन्न राजनीतिक दलहरुबाट उनी आलोचनाको पात्र बने । 
"राजतन्त्र समाप्त भइसकेको छ जस्तो लाग्दैन । यो अलि हाइपोथेटिकल नै भयो । देशको इतिहासका पानाहरु पल्टाएर हेर्दा यो माथि जाने तल आउने, भित्रिने बाहिरिने जस्ता कुरा भइराख्छन् जस्तो लाग्छ मलाई", एक अन्तर्वार्तामा राजसंस्थाको उदय हुनसक्ने संकेत दिएका ज्ञानेन्द्रले त्यसपछि धार्मिक भ्रमणका नाममा विभिन्न जिल्ला दौडाहाको क्रम एक्कासि बढाएका छन् ।






विराटनगरमा ज्ञानेन्द्र

पूर्वी नेपालको जनकपुरपछि अर्को महिना अर्थात जेठको दोस्रो साता ज्ञानेन्द्र हानिए मध्यपश्चिमतर्फ । जेठ ९ गते पत्रकारहरुसँग कुरा गर्दै उनले 'यस क्षेत्रका दाजुभाइसँग भावना बुझ्ने काम भएको र भलाकुसारी गरेको' बताए । निजी तथा धार्मिक भ्रमण भनिए पनि नेपालगन्जको चर्को गर्मीमा करिब १ किलोमिटर पैदल यात्रा गरेर सर्वसाधारणहरुसँग भेटघाट गर्नुलाई धेरैले ज्ञानेन्द्र राजनीतिमा सक्रिय हुन चाहेको संकेतका रुपमा लिए ।
ज्ञानेन्द्रलाई भेट गर्नेहरुले गुनासाहरुसमेत राखेका थिए- मानौं उनी राजाको हैसियतले अझै पनि अभिनन्दन ग्रहण गर्न हिँडिरहेका छन् । 
मध्यपश्चिमपछि फेरि धार्मिक भ्रमण भन्दै उनी लागे पूर्वी तराईतिर । असार २ गते बाराको परवानीपुरमा माँ वैष्णुदेवीको नवनिर्मित मन्दिर उद्घाटन गर्न गएका ज्ञानेन्द्रले त्यहाँ ५ दिन बिताए । उनले बारा, पर्सा र रौतहटका विभिन्न शक्तिपीठमा पूजा गरे । आफ्नो धार्मिक भ्रमणका क्रममा उनले त्यसक्षेत्रका राजावादी, सर्वसाधारण, सञ्चारकर्मी र विभिन्न धार्मिक समुदायका प्रतिनिधिसँग भेटघाटसमेत गरे । तर, उनी पूर्वी तराई भ्रमणमा रहँदा पहिलेको जस्तो राजनीतिक अभिव्यक्ति दिएनन् । बरु आफूलाई बोल्न नदिइएको संकेत गरे । उनले काठमाडौं र्फकनुअघि वीरगन्जमा शनिबार साँझ गरेको ककटेल पार्टीमा पत्रकारहरुमाझ भने, "मैले बोले ढुंगा हानेको ठानिन्छ, त्यसैले अहिले केही नबोलौं ।"
त्यतिमात्र होइन, रौतहटको महम्मदपुर गाविस शिवनगरस्थित शिव मन्दिरमा शनिबार पुगेका ज्ञानेन्द्रले आफ्नो 'फिलान्थ्रोपिस्ट' छविसमेत देखाउन खोजे । क्रिकेट संघ रौतहटलाई १ लाख रुपैयाँ सहयोग गरे, १२५ जना दृष्टिविहीनलाई सेतो छडी र १२५ ज्येष्ठ नागरिकलाई लत्ताकपडा वितरण गरे । त्यसैगरी स्थानीय एक गैरसरकारी संस्थाका महिलालाई १२५ थान सारीसमेत वितरण गर्न पनि भ्याए उनले । 





धार्मिक कार्यक्रमहरूमा पारस


भदौको तेस्रो साता धार्मिक यात्रामा काभ्रे पुगेका पूर्वराजा ज्ञानेन्द्रको दौडाहा अहिले फेरि विराटनगरमा पुगेको छ । ज्ञानेन्द्रमात्र होइन, उनका छोरा पारस धनगढी र बुहारी हिमानी दोलखा भ्रमणमा गए । सामाजसेवी छवि देखाउन दोलखा पुगेकी हिमानीले खानेपानी योजना उद्घाटन गर्ने कार्यक्रममा माओवादी अवरोध भयो । चाहे पारसको धनगढी भ्रमण होस् वा ज्ञानेन्द्रको विराटनगर यात्रा- पूर्व राजसंस्थाका सदस्यहरुको देशदौडाहामा राजनीतिक अर्थ निहित भएको विश्लेषकहरु अड्कल काट्छन् ।







दोलखामा हिमानी 

विश्लेषकहरुका अनुसार ज्ञानेन्द्र नेपाल धर्मनिरपेक्ष भइसकेपछि कट्टर हिन्दूहरुको भावनामा परेको ठेसलाई उपयोग गरी आफ्नो पक्षमा माहोल बनाउने निष्कर्षका साथ धार्मिक भ्रमणका नाममा दौडाहामा लागेका हुनसक्छन् । राजसंस्थाको अस्तित्व र पहिचान हिन्दू धर्मसँग जोडिएकोले उनी आफ्नो राजनीतिक अस्तित्वका लागि धर्मकै बलमा अघि बढ्ने र आफ्नो समर्थनमा 'मास क्रियट' गर्ने सोचमा छन् भन्ने अनुमान गर्न सकिन्छ । धार्मिक भ्रमण यही समयमा हुनु संयोगमात्र नभएको विश्लेषकहरुको बुझाइ छ । "राजालाई फालेका राजनीतिक दलहरुले तोकिएको समयमा नयाँ संविधान दिन नसकेपछि जनतामा निराशा उत्पन्न भएको समयलाई ज्ञानेन्द्रले क्यास गरेका हुन्", एक विश्लेषक भन्छन् ।
प्राध्यापक तथा राजनीतिक विश्लेषक लोकराज बरालका अनुसार पूर्वराजाका बढ्दा धार्मिक भ्रमणहरुले उनीभित्र राजनीतिक महत्त्वाकांक्षा बढेको सन्देश दिन्छन् । भन्छन्, "हिन्दूराष्ट्रका धेरै समर्थक भएकाले यसलाई भजाउन घुमाउरो पाराले उनी जनतामा गएको देखिन्छ ।" पूर्वराजाले राजनीतिक अस्थिरताबाट लाभ लिँदै हिन्दू कार्डलाई 'प्ले' गर्न खोजिरहेको उनको विश्लेषण छ । "ज्ञानेन्द्रले हिन्दू कार्डलाई प्ले गर्ने कसरत गरिरहेका छन्, जो अर्थहीन छ, जनतामा जान सजिलो भएकोले उनले यसको प्रयोग गर्न खोजेका हुन्", उनको ठम्याइ छ ।
विश्लेषक अमर गिरीको विचारमा ज्ञानेन्द्रको भ्रमण विशुद्ध राजनीतिक भ्रमण होइन, उनी आफ्नो पक्षमा जनता छन् कि छैनन् भनी बुझ्न हिँडेका हुन् । त्यसैले उनको भ्रमणमा राजनीतिक महत्त्वाकांक्षाले काम गरेको छ । "राजाको हैसियतले गुमेको अस्तित्व फेरि कायम होस् भन्ने उनको चाहना हो", गिरी भन्छन्, "तर, चाहना हुँदैमा पूरा हुने कुरा भएन, राजतन्त्र ब्युँतिने सम्भावना म देख्दिनँ ।"

गणतन्त्रवादी नै राजाभक्त
राजावादी त भइहाले नै, गणतन्त्रवादी ठूला दलका केन्द्रीय नेताहरुसमेत राजतन्त्रप्रति तटस्थ रहनुले पनि ज्ञानेन्द्रलाई कुनै समयमा राजसंस्थाको गुमेको गरिमा पुनर्जीवित गर्न सकिन्छ कि भन्ने सोच पलाएको हुनसक्छ ।
कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का जनताले नै सबै कुरा निर्णय गर्ने भएकोले यसै भन्न नसकिने बताउँछन् । "मूल जनता नै हुन्, भोलि जनताले राजा आऊन् भन्ने चा≈यो भने आउन पनि सक्छन्," उनले नेपालीपत्रसँग भने, "तर एकपटक दरबार त्यागिसकेपछि फेरि आउन त निकै कठिन हुन्छ ।" धर्मनिरपेक्षता घोषणा गरिएकोमा उनले पनि पटक-पटक गुनासो गर्दै आएका छन् ।
"कुनै सरसल्लाह नै नभई र जनताले नै नमागेको धर्मरिपेक्षता हतारहतार घोषणा गरियो । यसमा मेरो पनि आपत्ति हो । जनतालाई चित्त नबुझेको कुरा हो यो । त्यसैले म पनि चाहन्छु- नेपाललाई हिन्दूराष्ट्र घोषणा गरियोस्", राजतन्त्रप्रति सहानुभूति जनाउँदै खड्काले भने, "हिजोका दिनमा राजा हुँदा सामन्ती राजा भनेर गाली गरिन्थ्यो, आज ज्ञानेन्द्र चुपचाप दरबार छाडेर साधारण नागरिक भइसक्दा पनि खै त किन देशले निकास पाएन ?"
उनीमात्र होइन, गणतन्त्रपक्षधर कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाटलगायतका नेताहरु अनुकूल परिस्थिति परे मध्यममार्गको नाममा राजतन्त्रको पक्षमा रहने सम्भावना पनि कम छैन । इतिहासदेखि नै राजसंस्थाप्रति श्रद्धा राख्दै आएको कांग्रेस गणतन्त्रवादीमा रुपान्तरित भएपनि त्यहाँभित्रको ठूलो समूह कुनैपनि रुपबाट राजसंस्थाको समर्थनमा रहनुले पनि पूर्वराजाको 'कन्फिडेन्स' बढेको हुनसक्छ ।
वर्तमान राजनीतिक खिचातानी र नयाँ संविधान सुनिश्चिताको अभाव भएका बेला २०४७ सालको संविधान ब्युँताउनुपर्ने अभिव्यक्ति कांग्रेसकै संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलगायतका व्यक्तिहरुबाट आएपछि ज्ञानेन्द्रलाई जनतासमक्ष जान अनुकूल परिस्थिति सिर्जना भएको पूर्वदरबार निकटस्थ स्रोतले बतायो । त्यसो त नारायणहिटी छाडेपछि ज्ञानेन्द्रले २ पटक भारत भ्रमण गरिसकेका छन् । नातेदारको विवाहमा सहभागी हुन भारत गएको अवसर पारेर उनले राजनीतिक भेटघाटसमेत गरेका थिए । गतवर्षको भ्रमण उपलब्धिमूलक नभएर निराश बनेका ज्ञानेन्द्र यसवर्षको भ्रमणबाट उत्साहित भएका छन् । दिल्ली भ्रमणका क्रममा उनले भारतीय नेतृ कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग २ पटक भेटवार्ता गरेका थिए भने भारतको प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टी (बीजेपी)का नेताहरुले समेत ज्ञानेन्द्रलाई सकारात्मक आश्वासन दिएका थिए । त्यतिमात्र होइन, कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टिमा भाग लिन काठमाडौं आएका बीजेपीका पूर्वअध्यक्ष राजनारायण सिंहले त राजतन्त्रको गौरवको रुपमा रहेको 'हिन्दूराज्य' कायम हुनुपर्ने धारणासमेत राखेका थिए । एक विश्लेषक भन्छन्, "आफ्नो स्वार्थका लागि दलहरुलाई लडाउने भारतको प्रवृत्ति नै हो, आफ्नो स्वार्थ पूरा गर्न पूर्वराजालाई नेपालका राजनीतिक दलहरुसँग भिडाउने परिस्थिति आए उसले त्यसो पनि गर्नसक्छ ।" 


राजावादीको चर्को स्वर
राप्रपा नेपालका अध्यक्ष कमल थापा
तोकिएको मितिमा नयाँ संविधान नबनेपछि पैदा भएको आम निराशालाई क्यास गर्न राजावादीहरु सक्रिय भएका छन् । राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जनमतबिना नै राजतन्त्र फ्याँकिएकोले राजतन्त्रको फैसला गर्न जनमतसंग्रह गर्नुपर्ने र नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने नारा तीव्ररुपमा अगाडि सार्दै आएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालीपत्रसँग भने, "जनमतबिना नै त्यस्तो महत्त्वपूर्ण निर्णय कसरी लिन सकिन्छ ? जनमतसंग्रह नगरिकन राजालाई पाखा लगाउनु नै गल्ती थियो ।" उनले राजतन्त्र देशका लागि अपरिहार्य भएको दाबीसमेत गरे । 
ज्ञानेन्द्रलाई राजनीति गर्न हिन्दूत्वको सहारा अपरिहार्य देखिएपछि उनको त्यही आकांक्षा पूरा गर्न नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने राजनीतिक नारा बोकेर राप्रपा नेपाल केही महिनायता निकै सक्रिय हुँदै आएको छ । हिन्दू राजनीतिलाई अगाडि सारेर पहिलोपटक संसद्मा ३ सिट प्राप्त गरेको भाजपा त्यही नाराबाट केन्द्रमा सरकार बनाउनसमेत सफल भएको उदाहरणलाई पछ्याउने राप्रपा नेपालको नीति हुनसक्ने विश्लेषण पनि एकथरीको छ । राप्रपा नेपालबाहेक शिव सेना नेपाल, विश्व हिन्दू युवा संघले पनि राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन् । 
विश्लेषकहरुका अनुसार नेपालमा राजतन्त्र ब्युँतिने सम्भावना त छैन तर राजावादीहरुको चर्को स्वर हुँदै जाँदा भविष्यका कुनै दिनमा राजतन्त्रको नाममा हिंसात्मक घटनाहरु हुनसक्ने अनुमान भने गर्न सकिन्छ ।
तस्वीरहरूः इकान्तिपुर, नयाँ पत्रिका, द हिमालयन टाइम्स, नेपालीपत्र



यस पालिको तीजमा
  - Prem Oli

कबिहरुले
लेखकहरुले
शब्दको सिस्नु पानी लगाएर
नाक कान घाटीमा मात्र हैन
गिदिहरुमा घोचे
कलाकारहरुले
आन्द्रै उल्टिनी गरी
प्रहसनहरु कोचे
तर पनि
नेताको घैटोमा घाम लागेन
भ्रष्टाचारमा भाईरस,जाम लागेन।
 

पत्रकारहरुले
कयौ प्रश्नहरु सोधे
जनताहरुले
सयौ जवाबहरु खोजे
तर पनि

नेता कुम्भकर्ण बनी घुरिरहे
कुर्सी कुर्सी भनी कुरिरहे ।


गाएककारहरुले
संबिधान लेखिएन भनी
गीतहरुमा पोखे
संगीतकारहरुले
नेता गतिलो देखिएन भनी
मादलहरुमा ठोके
रैछन कि गोबर गणेश
जे भने पनि बुद्धी नफिर्ने
जस्तो भने पनि सुद्दी नछिर्ने।

यस पालिको तीजमा त
सबै दिदी बहिनिहरु पनि
हे भोले!यी नेताहरु
खसी हुन कि बोके

अब त सुद्दी फिराइ देउ  यीनको
भन्दै पशुपतिनाथलाई ढोके।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक