20100923

नेकपा एमाले फेरि एकपटक प्रचण्डको चालबाजीको सिकार !!!

प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा सातौंपटक पराजित भएर गल्नुभएका प्रचण्डले आफ्ना निम्ति परिस्थिति अनुकूल बनाउन रच्नुभएको जालमा नेकपा एमाले फेरि एकपटक परेको छ । एक्लै हिँड्न र आफूले तय गरेका एजेण्डामा अरूलाई घिसार्न माहिर मानिनुहुने प्रचण्डले अप्ठ्यारो परेपछि कहिले काङ्ग्रेसको त कहिले एमाले र कोही नपाए मधेसी तथा अन्य साना दलको वैशाखी टेकेर भए पनि आफ्नो भूमिका जोगाउने गर्दै आउनुभएको छ । यसपटक उहाँले एमालेलाई गोटी बनाएर आफ्नो साधना पूरा गर्ने इरादा राख्नुभएको छ । लामो प्रजातान्त्रिक अभ्यासमा खारिएको मानिने एमाले अचानक प्रचण्डको चालबाजीको सिकार भएको...
छ र प्रजातान्त्रिक गठबन्धन तोड्न सक्ने अवस्थामा पुगेको छ ।
गत शुक्रबार -असोज १) नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य प्रकट गर्ने क्रममा प्रचण्डले प्रधानमन्त्री पदका लागि भइरहेको निर्वाचन-प्रक्रियाबाट आफू बाहिरिने घोषणा गर्नुभएपछि नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ । कतिपयले प्रचण्डको यस्तो घोषणालाई उदार तथा आवश्यक कदम ठानेका छन् भने केहीले नयाँ चालबाजी भनी टिप्पणी पनि गरेका छन् । वास्तवमा प्रचण्डको घोषणा काङ्ग्रेसलाई राजनीतिक रूपले अप्ठ्यारोमा पार्ने, एमाले अध्यक्ष झलनाथ खनालको ‘अडान’लाई प्रोत्साहित गरी काङ्ग्रेससँगको गठबन्धनमा सामेल हुन जानबाट रोक्ने र आफू अत्यन्त उदार तथा समझदार भएको सन्देश दिने उद्देश्यले भएको हो । असोज दश गते हुने निर्वाचनमा एमाले तटस्थ रहने सम्भावना कम हुँदै गएको थियो र प्रधानमन्त्री माधव नेपालको अभिव्यक्ति तथा क्रियाकलापले पनि एमालेले काङ्ग्रेस नेतृत्वको सरकार गठनमा सघाउने सङ्केत दिइरहेको थियो । माधव नेपाल प्रजातान्त्रिक गठबन्धनका पक्षमा उभिनेबित्तिकै एमालेभित्र झलनाथ खनाल अल्पमतमा पर्ने र बहुमतले काङ्ग्रेस नेतृत्वको सरकारमा सामेल हुने निर्णय गर्न सक्ने आधार बलियो हुँदै गएको थियो । खनाल एमालेभित्र पछिल्लो चरणमा उत्पन्न दबाब थेग्नै नसक्ने अवस्थामा पुग्नुभएको थियो । यसअघि महासचिवर् इश्वर पोखरेललाई रुघा लागेका कारण पार्टीको बैठक नै स्थगित गर्नुहुने अध्यक्ष खनालका निम्ति दश गतेअघि गर्ने बैठकको सामना कसरी गर्ने भन्ने मुख्य चिन्ताको विषय बनेको थियो । यसरी चिन्तित बन्नुभएपछि प्रचण्डसँग एउटै विकल्प थियो- उम्मेदवारी फिर्ता लिने घोषणा गरेर खनालको ‘अडान’ लाई अक्सिजन दिनु । स्मरणीय छ, प्रचण्डले उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुअघि झलनाथ खनालसँग प्रचण्डनिवास नयाँबजारमा रात्रिभोजसहित विशेष बैठक भएको थियो । खनालसँगको विशेष बैठकपश्चात् माओवादी र एमालेबीच रहस्यमयी ढङ्गले तीनबुँदे सम्झौता भएको छ । दुई वामपन्थी कम्युनिस्टहरूबीच सम्पन्न उक्त सम्झौतालाई नै राष्ट्रिय सहमतिको सम्झौता बनाउने कसरत दुवै दलहरूबाट भइरहेको छ । गत सोमबार सुरु भएको एमाले पोलिटब्युरो बैठकले पनि दुई पार्टीबीचको सम्झौतामा अन्य दलहरूलाई पनि सामेल गर्ने आसयसहितको निर्णय गर्दै काङ्ग्रेसलाई पनि हट्न आग्रह गरेको छ । काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिएमा ‘स्थिति जिरो’मा आउँछ र त्यसपछि राष्ट्रिय सहमतिको या बहुमतकै भए पनि आफ्नै नेतृत्वमा सरकार गठनको नयाँ अवस्था सिर्जना हुनसक्छ भन्ने माओवादी विश्वास रहेको छ । उता झलनाथ खनाललाई भने प्रधानमन्त्री चयनको वर्तमान प्रक्रिया अन्त्य गर्न सकिएमा प्रधानमन्त्री बन्ने मौका आफूलाई प्राप्त हुनेमा पूर्ण विश्वास रहेको बताइन्छ । तर, माओवादी र एमालेबीच भएको सम्झौताले काङ्ग्रेस झनै सचेत भएको छ र उनीहरूबीच सम्झौता भएकै कारण प्रधानमन्त्री चयनको वर्तमान प्रक्रियाबाट काङ्ग्रेस पछि हट्न या भाग्ने सम्भावना अत्यन्त क्षीण छ । माओवादीसँग विगतमा पनि अनेक आकार-प्रकारका सम्झौता भएका, तर ती सम्झौताहरूको कार्यान्वयन हुन नसकेको पृष्ठभूमिमा काङ्ग्रेस माओवादीप्रति किञ्चित विश्वस्त हुन सकेको छैन । माओवादी नागरिक पार्टीमा रूपान्तरित नभएसम्म विश्वास गर्न नसकिने र फोस्रा सम्झौताहरूले मात्र शान्ति स्थापना प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसकिने ठहर काङ्ग्रेसको छ । त्यसैले काङ्ग्रेसले प्रधानमन्त्रीमा प्रस्तुत गरेको उम्मेदवार रामचन्द्र पौडेललाई फिर्ता गराउन सम्भव देखिएको छैन । प्रचण्डले पनि उम्मेदवारी फिर्ता लिने निर्णय लिएको घोषणा मात्र गर्नुभएको हो, उहाँले फिर्ता नै लिइसक्नुभएको स्थिति छैन । कदाचित प्रचण्डले उम्मेदवारी फिर्ता लिनुभएमा रामचन्द्र पौडेल निरि्वरोध प्रधानमन्त्रीमा चयन हुनुहुनेछ । संसदीय प्रचलनअनुसार उहाँले आफू प्रधानमन्त्री बनेपछि विश्वासको मत भने लिनुपर्नेछ । त्यस्तो अवस्थामा तीन महिनाभित्र विश्वासको मत लिएर अघि बढ्ने सुविधा प्रधानमन्त्रीलाई हुनेछ । जसरी भए पनि सत्ता प्राप्त गर्न र सत्तामा सम्पूर्ण नियन्त्रण कायम गर्न उद्यत् झलनाथ खनाल र प्रचण्डले रामचन्द्र पौडेललाई यति सजिलै प्रधानमन्त्री बन्न दिनुहोला भन्ने कुरामा विश्वास गर्न सकिँदैन । त्यसैले अन्ततः कुनै बहानाबाजी गरेर प्रचण्डको उम्मेदवारी फिर्ता लिने घोषित निर्णयबाट नै पछि हट्नुभयो भने कुनै आर्श्चर्य हुनेछैन ।
प्रचण्डको निर्णयले केही हदसम्म भए पनि काङ्ग्रेसलाई अप्ठ्यारोमा चाहिँ पारेको छ । उम्मेदवारी फिर्ता लिँदा लोकतान्त्रिक विधि र प्रक्रिया निरुत्साहित हुने र नलिँदा पदप्रति आशक्ति भएकोझैं देखिने हुँदा काङ्ग्रेसलाई अप्ठ्यारो परेको हो । जे भए पनि काङ्ग्रेस प्रधानमन्त्री चयन प्रक्रियाबाट र्फकने, भाग्ने या पछि हट्ने स्थिति छैन । प्रचण्डको पछिल्लो निर्णयले एमालेलाई आफ्नो जालमा पार्ने काम मात्र गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक