20101222


मञ्चमा रोइदिन सक्ने, बाघझैं अनुहार बनाएर गर्जन सक्ने, मुसुक्क मुस्कुराएर म त हजुरकै हो नि भन्ने शैलीमा गुप्त कोठाहरूमा लुटपुटिन सक्ने प्रचण्डको कलाकारिता !

- देवप्रकाश त्रिपाठी

बाहिरी व्यक्तित्व हेर्दा कलाकारजस्तो देखिए पनि प्रचण्डले अपनाउनुभएको ‘पेसा’ कलाकारिता होइन, उहाँलाई सबैले माओवादीको मुख्य नेताका रूपमा चिन्ने गरेका छन् । एकपटक ‘निर्णायक’ आन्दोलनमा रौनक ल्याउन एउटी हिरोइनसँग सिंहदरबारको अघिल्तिर नृत्य गर्दा प्रचण्ड साँच्चै कलाकारजस्तै देखिनुभएको महसुस देख्नेहरूले गरेका थिए । तर, प्रचण्ड वास्तवमै कलाकार हुनुहुन्छ र उहाँले स्कुलेजीवनमा प्रस्तुत गर्नुभएको कलाकारिता मानिसहरू अहिले पनि स्मरण गर्दै छन् । चितवन जिल्लास्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगितामा प्रचण्डले राम्रो नाचेर पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो । नृत्य मात्र होइन प्रचण्डको अभिनयकला पनि राम्रो मानिन्छ । तर, उहाँले प्रतिभा भएर पनि ....
कलाकारितालाई आफ्नो पेसा बनाउनुभएन, बरु ‘पेसा’ राजनीतिलाई बनाउनुभयो र राजनीतिलाई ‘कलामयी’ बनाउने कसरत उहाँ गर्दै हुनुहुन्छ । अरूले नेता ठानेका मानिसले सिङ्गै राजनीतिक मञ्चलाई रङ्गमञ्चसरह बनाएर कला प्रस्तुत गर्दा कस्तो हुँदोरहेछ भन्ने कुराको ‘लाइभ’ दृष्टान्त यतिबेला प्रचण्ड प्रस्तुत गर्दै हुनुहुन्छ । मञ्चमा रोइदिन सक्ने, बाघझैं अनुहार बनाएर गर्जन सक्ने, मुसुक्क मुस्कुराएर म त हजुरकै हो नि भन्ने शैलीमा विपक्षी नेताहरूसँग गुप्त कोठाहरूमा लुटपुटिन सक्ने प्रचण्डको कलाकारिताले नेपाली राजनीति र यसका दर्शकहरूलाई कायल पारेको छ ।
कुनै पनि कलाकार जब रङ्गमञ्चमा चढ्छन् या कुनै सिनेमाको सुटिङमा हुन्छन् तिनले काल्पनिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, त्यतिबेला जे बोलिन्छ त्यो सत्य नहुन सक्छ, निर्धारित डायलगहरू बोल्दै जाँदा आफ्नो छवि नै डामाडोल हुने स्थिति आउन सक्छ, तर ती कलाकारलाई त्यसको पर्वाह हुँदैन, दर्शकले ताली बजाए कि बजाएनन्, मज्जाले मनोरञ्जन लिए कि लिएनन् र आफूलाई ‘हिरो’ देखे कि देखेनन् भन्ने कुरामा मात्र तिनको चासो र चिन्ता रहन्छ । रङ्गमञ्चमा निर्वाह गर्नुपर्ने शैलीको भूमिका नेपाली राजनीतिक मञ्चमै निर्वाह गरेर प्रचण्ड अल्लारेहरूको दृष्टिमा ‘हिरो’ हुनुभएको छ र प्रचण्ड स्वयम्ले आफू ‘हिरो’ भएको ठान्दै पनि हुनुहोला, तर गैरअल्लारे कित्ताले भने टुँडिखेलमा मान्छे भेला गरेर औषधि बेच्ने ‘कलाकार’ र प्रचण्डबीचको अन्तर देखिन छोडेको छ । राजनीतिमा प्रचण्ड मनोरञ्जन बेच्नुहुन्छ, त्यसले कसैलाई खुसी तुल्याउँछ कसैलाई क्रूद्ध ।र् जर्मनीका महान् राष्ट्रवादी नेता एडोल्फ हिटलर पनि कलाकार हुनुहुन्थ्यो । उहाँको रुचि अभिनय र नृत्यमा भन्दा चित्रकारितामा थियो । चित्रकारितालाई हिटलरले एक समय आफ्नो जीवन-निर्वाहको साधन बनाउनुभएको थियो, पछि देशप्रतिको ममताले अति प्रेरित गरेपछि उहाँ राजनीतिमा केन्द्रित रहनुभयो । जर्मनको स्वाभिमान जगाउन क्रूर कर्तव्य निर्वाह गरिरहँदा हिटलरको भित्री भावना गल्थ्यो, तर उहाँले बाहिरी राजनीतिलाई कलामय बनाउन आवश्यक देख्नुभएन । मानिसहरू ग्यासच्याम्बरमा मरिरहँदा हिटलर असैह्य पीडामा हुनुहुन्थ्यो, उहाँको ध्यान ‘डाइभर्ट’ गर्न मनपर्ने सङ्गीतका धुन उहाँलाई सुनाउने गरिन्थ्यो, तथापि मञ्चहरूमा उहाँले आफूलाई कलाकारझैं प्रस्तुत गर्नुभएन । तर, प्रचण्ड यस्ता कलाकारका रूपमा उदाउनुभयो जसले आफ्नो कला कुनै रङ्गमञ्च या सुटिङ स्पटमा नभएर सम्पूर्ण जीवनमा र समग्र राजनीतिमै प्रस्तुत गर्दै हुनुहुन्छ । कसलाई भेट्दा कस्तो कुरा गर्नुपर्छ र कहाँ थिच्दा कहाँको बत्ती बल्छ या निभ्छ भन्ने कुराको अब्बल प्रयोगकर्ता प्रचण्डको विचारमा सायद यो संसार नै रङ्गमञ्च हो र उहाँ आफू त्यसको एक मुख्य कलाकार । कलाकारहरू कोमल हुन्छन्, तर कहिलेकाहीँ कथाले मागेमा तिनले क्रूरता पनि प्रस्तुत गर्नुपर्ने हुन्छ । हरेक कलाकारले कस्तो ठाउँमा कुन डायलग बोल्ने र कस्तो मुखाकृति बनाउने भन्ने कुराको हेक्का राखेका हुन्छन्, गजब-गजबका डायलग बोल्छन् तिनले मञ्चहरूमा । तर, निजी भेटमा ती अति सामान्य ढङ्गमा प्रस्तुत हुन्छन् र भेट्ने मानिसलाई मञ्च या पर्दामा देखिएका तिनै मानिस यिनी होलान् भनी विश्वास गर्नै गाह्रो हुन्छ । प्रचण्डका बारेमा पनि अन्य दलका नेता, नेपाली जनता र विदेशी समुदायमा यस्तै ‘इम्प्रेसन’ परेको छ । केन्द्रीय समिति या पोलिटब्युरो र विशेष बैठक तथा सभा-समारोहहरूमा प्रचण्डको भाषा, प्रस्तुति, विचार र व्यवहार बेग्लै हुने गर्छ, तर जब कुनै अन्य दलका नेता, प्रतिनिधि या विदेशीहरूसँग निजी भेट हुन्छ त्यस्तो बेलामा निकै नम्र, उदार र फरासिला मात्र उहाँ देखिनुहुन्न, बैठकमा पेस गरेका दस्तावेज र अभिव्यक्त विचार पनि ‘केही होइन त्यो त एउटा बाध्यात्मक अवस्थामा गर्नुपरेको अभिनय मात्र हो’ भनेर जिल्याउने कोसिस गर्नुहुन्छ । अन्य दलका नेता, कार्यकर्ता र विदेशीहरू यसरी पटकपटक जिल्लिँदै आएका छन् । केहीअघि मात्र प्रचण्डले विद्यार्थीको एक कार्यक्रममा भड्किलो भाषण दिँदै विद्यार्थीलाई बन्दुक बोकेर लड्न उक्साउनु मात्र भएन, स्कुल-कलेजहरूलाई ब्यारेक बनाइनुपर्ने धारणा पनि प्रकट गर्नुभयो । मुलुकमा कानुनको शासन भइदिएको भए या राज्य बलियो भएको भए प्रचण्डमाथि गम्भीर ढङ्गले मुद्दा चल्न सक्थ्यो र उहाँ सजायको भागीदार बन्नुहुन्थ्यो, तर यो लाछी राज्यमा त्यस्तो केही हुन सम्भव हुने कुरै भएन । नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालाले एक भेटमा प्रचण्डलाई ‘त्यस्तो’ आपत्तिजनक कुरा किन बोल्नुभएको भनी ध्यानाकर्षण गर्दा उहाँले ‘ए, त्यो त केटाहरूलाई यसो खुसी पार्न बोलिदिएको हो, त्यस्तो केही होइन, गम्भीर रूपमा नलिनुहोला’ भन्ने जवाफ फर्काउनुभएछ । यो एउटा मामुली घटना मात्र हो, प्रचण्डको जीवनमा यो एउटा शैली नै बनिसकेको छ । विस्तारित बैठकमा जनविद्रोहमा जाने निर्णय गराउने, केन्द्रीय समितिको बैठकले विद्रोहका पक्षमा निर्णय गर्ने अनि र्सार्वजनिक रूपमा पनि भड्कावपूर्ण अभिव्यक्ति दिने तर गुप्त कोठामा चाहिँ ‘ती केही होइनन्’ भन्ने र अरूले पत्याउने † गज्जवकै छ प्रचण्डको कलाकारिता ।
आफ्नो ‘कला-यात्रा’मा कतिबेला, कसलाई, कसरी, उपयोगी पात्र बनाउने भन्ने कुरामा पनि प्रचण्ड अत्यन्त माहिर देखिनुहुन्छ । जतिबेला पार्टीमा लडाकुहरूको खाँचो थियो, त्यसबेला उहाँले रामबहादुर थापा मगर ‘बादल’ लाई आफ्नो सबभन्दा नजिक राख्नुभयो । सीधासादा मगरहरूलाई रक्तपातपूर्ण युद्धमा होम्नका लागि बादलको साथ अपरिहार्य ठानियो, त्यसैले बादललाई सैन्य कमाण्डर बनाइयो र आफूपछिको नेता बादल नै भएको ‘इम्प्रेसन’ दिइयो । उहाँले आफूपछिको नेता तपाईं नै हो भनेर त मोहन वैद्य, डा. बाबुराम र नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुन अनन्तसम्मलाई भन्नुभएको छ र ती सबैले प्रचण्डपछिको नेता आफैं भएको ठान्ने गरेका पनि छन् । हिंसात्मक युद्धलाई चर्काउनुपर्दा प्रचण्डले बादलको खुसीका लागि डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्कासनसमेत गरिदिनुभयो । तर, जब हिंसात्मक युद्धबाट उपलब्धि हासिल नहुने ठान्न थालियो, त्यसपछि बाबुराम भट्टराईको झैं कपाल अगाडिबाट पछिल्तिर कोर्दै आकाशे नीलो रङ्गको कमिज लगाएर बाबुरामसँग अङ्कमाल गर्न पनि उहाँले कञ्जुस्याइँ गर्नुभएन । बाह्रबुँदे सम्झौतादेखि आफू प्रधानमन्त्री नभइन्जेलसम्म प्रचण्डले बाबुरामसँग दर्शाउनुभएको मित्रता र प्रेम लैला-मजनुलाई बिर्साउने प्रकारको ठानिएको थियो । मोहन वैद्य र बादलहरू त्यस अवधिमा हेरेकाहेर्‍यै भएका थिए । बितेका दुई वर्षमा प्रचण्डभन्दा बाबुराम जनस्तरमा प्रिय भएको महसुस धेरैले गरेका छन् र सायद प्रचण्डले पनि । लोकप्रियता उकालो लाग्दै गर्दा वैकल्पिक प्रधानमन्त्रीका रूपमा पनि डा. बाबुरामकै नाम उचालियो । बाबुरामको लोकप्रियतामा बढोत्तरी हुँदा माओवादी पार्टी र प्रचण्डले पनि एउटा उपलब्धिकै रूपमा लिनुपथ्र्यो, लिने सक्थे, तर सकेनन् । बाबुरामको व्यक्तित्वले उचाइ लिन थालेपछि माओवादी पार्टी र प्रचण्डमा व्यापक छटपटी देखापर्‍यो । देशमा लोकप्रियता बढ्दै जाँदा आफ्नै पार्टीभित्र भने बाबुराममाथिको आक्रमण तेज पारिएको छ र उहाँलाई एक्ल्याउने प्रयास गरिएको छ । कोही न कोहीसँग नटाँस्सिइकन आफ्नै हैसियत दर्शाउन नसक्ने अवस्थामा रहनुभएका प्रचण्डले बाबुरामलाई एक्ल्याउन र सिध्याउन मोहन वैद्यको झैं सिउँदो छुट्याएर कपाल कोर्दै ‘क्रान्तिकारी’ बनेको अभिनय गर्ने अग्रसरता लिनुभएकोछ । प्रधानमन्त्री पद -सत्ता)का निम्ति ज्यादा लालायित ठानिनुभएका प्रचण्ड कुनै पनि हालतमा सत्ता प्राप्त गर्न नसक्ने निष्कर्षमा पुग्नुभएपछि उहाँले मोहन वैद्यको शरण लिनुभएको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्रीमा बाबुरामको सम्भावना आफ्नोभन्दा ज्यादा देखिँदै गएका बेला मोहन वैद्य पनि प्रचण्डको आलोचक भूमिकामा प्रस्तुत हुनुभएपछि उहाँको अध्यक्ष पद पनि धरापमा पर्दै थियो । प्रधानमन्त्री बन्न नसके पनि करिब दुई दशकदेखि ‘खाइपाई आएको’ प्रमुख कार्यकारी पदचाहिँ जसरी भए पनि जोगाउनैपर्ने ‘बाध्यता’ प्रचण्डलाई आइलाग्यो, त्यसैले आफ्नो कलाकारिता प्रयोग गर्दै उहाँले कपाल पछिल्तिर ढल्काउने कार्य स्थगित गरी सिउँदो छुट्याउँदै नयाँ ‘गेटअप’मा देखापरेर ‘बक्स अफिस’मा तहल्का मच्चाउने तयारी गर्नुभएको छ । प्रचण्डको कलाकारिताले उहाँलाई कति सफल या असफल तुल्याउने हो सो भने प्रतीक्षाको विषय बनेको छ ।
 सत्ता पाउन षड्यन्त्रको सहारा, घुमिफिरी राजनीति पुरानै ठाउँमा
प्रधानमन्त्री पदबाट माधवकुमार नेपालले राजीनामा दिनुभएपछि अवरुद्ध हुन पुगेको नेपाली राजनीतिले फेरि पनि निकास प्राप्त गर्न नसक्ने सङ्केतहरू देखिएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीचको गठबन्धन पुनः सक्रिय हुन थालेपछि राजनीतिमा गतिरोध पैदा हुने स्थिति बनेको हो । खनालले मुलुकलाई राजनीतिक निकास दिनेभन्दा पनि आफू कसरी प्रधानमन्त्री बन्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुभएको छ । माओवादी प्रस्तावलाई फिर्ता लिन लगाउने या फेल गराउने र काङ्गे्रसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन ‘बाध्य’ पार्ने नीति जो खनालले अवलम्बन गर्नुभएको छ यसलाई उहाँको आफू प्रधानमन्त्री बन्नेबाहेक अर्को खेलका रूपमा हेरिएको छैन । खनाल गत सोमबारदेखि नै माओवादीलाई ‘विशेष अधिवेशन’ फिर्ता लिन लगाउन सक्रिय हुनुभएको छ । एमाले पार्टीले माओवादीको ‘समावेदन’ फेल गराउने र रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन लगाउने, नलिएमा उम्मेदवारी खारेज गराउने निर्णय लिएको छ । माओवादीको ‘समावेदन’ फिर्ता लिइएमा वा फेल भएमा संसद्को नियमित अधिवेशन बोलाई पौडेलको उम्मेदवारी पनि खारेज गराउने र ‘स्थिति जिरो’ बनाउने रणनीति खनालले अवलम्बन गर्नुभएको छ । त्यस्तो अवस्थामा र्सवसम्मति नभए बहुमतकै भए पनि प्रधानमन्त्री आफू बन्ने विश्वास झलनाथ खनालमा देखिएको छ । यसैबीचमा प्रचण्डले झलनाथ खनाललाई प्रधानमन्त्री बनाइदिने विश्वास पुनः दिलाउनुभएको छ । माओवादी नेताहरूले खनाललाई प्रधानमन्त्री स्वीकार गरिने र्सार्वजनिक अभिव्यक्ति पनि दिइसकेका छन् । यसरी माओवादीले विश्वास दिलाएपछि झलनाथमा उत्साह थपिएको छ र अब आफैं प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुभएको छ । यद्यपि माओवादीले अनौपचारिक तवरमा खनाललाई प्रधानमन्त्री दिने विश्वास दिलाए पनि औपचारिक रूपमा भने आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय लिएको छ । एमाले र माओवादी निर्णयहरूको सूक्ष्म विश्लेषण गर्दा परिस्थिति पुरानै अवस्थामा फर्किएको देखिन्छ ।
पौडेलको उम्मेदवारी फिर्ता गराउन झलनाथलाई उपयोग गर्ने र त्यसपछि आफ्नै नेतृत्वमा सरकार गठनका निम्ति हरसम्भव पहल गर्ने नीति माओवादीले लिएको छ, जुन माओवादीको पुरानै नीति हो । कदाचित आफ्नो नेतृत्वमा सरकार गठन हुन सकेन भने माओवादीले झलनाथलाई पुनः अघि सार्ने पक्कापक्की जस्तै छ । ‘समावेदन’ असफल भइसकेपछि सरकारले संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने छ, तर भावी सरकारको स्वरूपका विषयमा दलहरूबीच सहमति नभईकन संसद्को अधिवेशन बोलाउनुको कुनै अर्थ देखिएको छैन । काङ्गे्रसलाई पछि हटाएर छिड्के हान्ने दाउमा प्रचण्ड र झलनाथ दुवै नेता देखिनुभएको छ । अहिलेसम्म प्रचण्डले सरकारको नेतृत्व गर्न पाउने परिस्थिति निर्माण भएको छैन । आफूले सरकार गठन गर्न नपाएको अवस्थामा माओवादीले आफूलाई समर्थन गर्छ भन्ने विश्वासमा झलनाथ हुनुहुन्छ, र उहाँको यस्तो विश्वास आधारहीन पनि देखिँदैन । तर, राष्ट्रिय सहमतिको विगुल बजाउँदै आफ्नै पार्टी नेतृत्वको सरकारलाई विस्थापित गराउन निर्णायक भूमिका निर्वाह गर्नुहुने खनालले कुन नैतिकताको आधारमा बहुमतीय सरकारको नेतृत्व लिने अग्रसरता लिनुहोला, यो प्रतीक्षाको विषय बनेको छ । विद्यमान प्रजातान्त्रिक गठबन्धन तोड्नु माओवादीको प्रमुख उद्देश्य हो र यो उद्देश्य पूरा गर्न एमाले अध्यक्ष झलनाथ खनालले मुख्य भूमिका निर्वाह गरिरहनुभएको छ । त्यर्सथ नेपाली काङ्गे्रसले खनालको नेतृत्व कुनै पनि हालतमा स्वीकार नगर्ने निश्चित मानिन्छ । त्यस्तो अवस्थामा माओवादीको मात्र समर्थन लिएर सरकार गठन गर्न झलनाथ बाध्य हुनुहुनेछ । खनाललाई बहुमतीय सरकारको नेतृत्व गर्न उहाँ स्वयम्को पार्टीले अनुमति दिनेछ या छैन, यो भने प्रतीक्षाको विषय बनेको छ । जब बहुमतीय सरकार नै बनाउनु र चलाउनु थियो भने माधव नेपाललाई राजीनामा गराउनुको कारण के थियो भनी एमालेभित्र गम्भीर रूपमा प्रश्न उठ्ने स्थिति छ ।
एमाले पार्टीको निर्णय इमानदारीसाथ कार्यान्वयन भएमा माओवादीको ‘समावेदन’ असफल हुने निश्चित छ । तर, त्यसपछि सहमति नभई संसद् अधिवेशन बोलाउनुको औचित्य नरहने, सहमति बन्ने सम्भावना अहिले पनि नरहेको हुनाले सरकारले तत्काल संसद्को बैठक बोलाउने विश्वास गर्न सकिन्न र, यस्तो अवस्थामा सरकारमाथि संसद् बैठकका लागि दबाब दिए पनि त्यसको कुनै अर्थ रहने छैन । प्रचण्ड र झलनाथले यसैगरी कपटपूर्ण चालबाजी चलिरहेमा काङ्गे्रस तत्काल संसद्को बैठक बोलाउनुपर्छ भन्ने पक्षमा रहने छैन । प्रधानमन्त्री नेपालले यसअघिदेखि नै सहमति बनाएर मात्र संसद् अधिवेशन बोलाउनु उचित हुने धारणा र्सार्वजनिक गर्दै आउनुभएको छ । यदि प्रधानमन्त्री यही धारणमा दृढ रहनुभयो भने उच्च तहमा राजनीतिक सहमति नभई बैठक बोलाइने छैन । संसद्को बैठक नै नबोलाई सरकार अघि बढ्यो भने आगामी जेठपछि संविधानसभा र संसद्को अस्तित्व नरहने, तर सरकारले भने निरन्तरता पाइरहने निश्चितप्रायः छ ।
परिस्थिति आफ्नो पक्षमा ल्याउन माओवादी र झलनाथले संयुक्त र बेग्लाबेग्लै रूपमा जसरी कसरत गरिरहनुभएको छ, उहाँहरूको प्रयास अहिलेसम्म परिणामुखी हुने देखिएको छैन । मधेसकेन्द्रित दलहरू विद्यमान प्रजातान्त्रिक गठबन्धनलाई निरन्तरता दिँदै रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन आन्तरिक रूपमा तयार भएका छन् । माधव नेपालले पनि पौडेललाई नै अबको प्रधानमन्त्री स्वीकार गर्ने र्सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ । यदि माधव नेपाल आफ्नो विचारमा अडिन सक्नुभयो भने एमाले केन्द्रीय कमिटीमा झलनाथ खनाल अल्पमतमा पर्नुहुने स्थिति छ, त्यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धन कायम रहने र पौडेल प्रधानमन्त्री बन्नुहुनेछ । खनालले आफैं अध्यक्ष रहेको पार्टी फुटाउँदै माओवादी समर्थन लिएर प्रधानमन्त्री बन्ने प्रयास गर्नुभएको अवस्थामा भने उहाँ प्रधानमन्त्री बन्नुहुने सम्भावनालाई इन्कार गर्न सकिन्न । प्रचण्डले झलनाथलाई भित्री रूपमा जसरी उचाल्दै हुनुहुन्छ, यसले एमाले पार्टीलाई विभाजित तुल्यायो भने कुनै आर्श्चर्य हुने छैन ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक