20101227

माओबादीका केन्द्रिय सदस्यले केन्द्रिय सदस्यलाई चिन्दैनन ! माओवादीका बैठक बस्दा पनि सभागृहजस्ता हल चाहिने भए !

Exclusive News... झन्डै कार्य समिती पनि ६०१ को भएनछ बा ! एउटा खोजमुलक र रोचक समाचार  ! - नेत्र पन्थीबाट 
कहीँ नभएको जात्रा माओवादीमा : केन्द्रिय समिती डेढ सयको, कतिपय राज्य र जिल्ला समितीमा चार सय रे ! वाइसियलको केन्द्रिय समितिमा २५५, माओवादीमा जो आउँछ सबैलाई पद ! ....
संगठन विस्तार गर्ने भन्दै माओवादीले ठूला-ठूला कमिटी बनाएपछि पार्टी भद्रगोल भएको छ । केन्द्रमा डेढ सय सदस्य रहेको माओवादीमा राज्यस्तरमा सवा चार सयसम्म सदस्य छन् । माओवादीका जिल्ला र राज्यस्तरीय कमिटीको बैठक बस्दा पनि सभागृहजस्ता हल चाहिने भएका छन् । कुन जिल्ला कमिटीमा कति सदस्य छन् भन्ने हिसाब केन्द्रीय समितिमा छैन । चार सय २० सम्म सदस्य भएका कतिपय कमिटीका बैठक दुई वर्षदेखि बस्न सकेका छैनन् । बैठक बस्दा पनि कमिटीका सदस्यलाई बोल्ने पालो पुर्‍याउन सम्भव छैन ।.....
दस्य धेरै हुँदा कतिपय कमिटीका बैठक वर्षौंदेखि बस्न सकेका छैनन् ।
माओवादी केन्द्रमा एक सय ४८ सदस्य छन् भने राज्यसमितिमा एक सय ५७ देखि चार सय २० सम्म सदस्य छन् । जिल्ला कमिटीमा कति सदस्य छन्- माओवादीमा समेत तथ्यांक छैन ।
पालुङटार प्लेनममा सहभागी सदस्यहरूको आंकडा हेर्दा माओवादीमा सबैभन्दा धेरै राज्यस्तरका नेता मिथिला राज्यमा छन् । मिथिला राज्य समितिबाट विस्तारित बैठकमा चार सय २० जना राज्यसमिति सदस्य सहभागी थिए ।
सबैभन्दा थोरै सदस्य रहेको तमुवान राज्यसमितिमा पनि एक सय ५७ सदस्य छन् । माओवादीका १३ वटा राज्यसमिति छन् । काठमाडौं, ललितपुर र भक्तपुर समेट्ने नेवाः राज्यसमिति तीन सय ३७ जना सदस्य छन् ।
०६५ पुस २८ मा माओवादीले केन्द्रीय समितिमा एक सय ७५ जना रहने निर्णय गरेको थियो, तर सदस्य थप्न बाँकी रहेकोले केन्द्रमा हालसम्म एक सय ४८ जना केन्द्रीय सदस्य छन् ।
केन्द्रीय सदस्य थप्ने विषयमा केन्द्रीय समिति सदस्यबीच नै विवाद उत्पन्न भएपछि यो रोकिएको छ । एकतापछि गत ३ माघ बसेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पहिलो बैठकले ४८ सदस्यीय पोलिटब्युरो र १५ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयलाई हाल स्थायी समिति बनाइएको छ ।
शान्तिप्रक्रियामा आएपछि पार्टीको आकार बढाउने भन्दै माओवादीले कमिटी पनि विस्तार गर्न थालेको हो । पार्टीका सहायक संगठन वाइसिएलदेखि विभिन्न जनवर्गीय संगठनका समिति पनि ठूलै आकारका छन् ।
सदस्य धेरै हुँदा माओवादीको मिथिला राज्यसमितिको बैठक सबैले बोल्न सक्ने गरी नबसेको दुई वर्ष भइसकेको छ । मधेसका धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी मिथिलामा पर्छन् । यहाँका जिल्ला कमिटी पनि चार/पाँच सयका छन् ।
पूरै कमिटीको बैठक बस्न नसकेकाले सचिवालय वा कार्यालयको बैठक बसेर निर्णय लिइन्छ । सबै सदस्यलाई बोलाउँदा प्रशिक्षणात्मक कार्यक्रमका रूपमा आयोजना गरिन्छ ।
'छलफल गरेर निर्णय लिने बैठक दुई वर्षदेखि बसेको छैन । जिल्ला इन्चार्ज सेक्रेटरीहरू बसेर बैठकका निर्णयहरू हुन्छन्,' माओवादी पोलिटब्युरो सदस्यसमेत रहेका मिथिला राज्यसमितिका इन्चार्ज विश्वनाथ साहले नयाँ पत्रिकासँग भने ।
माओवादी नेताहरूले समेत आफ्नो राजनीतिक दस्ताबेजमा पार्टी कमिटीहरू अस्तव्यस्त भएको स्वीकार गर्दै आएका छन् । 'पार्टीको कमिटी प्रणाली अत्यन्त ढिलाढाला, भारिभरकम, अस्तव्यस्त र लथालिंगको दिशातिर अगाडि बढिरहेको छ । कम्युनिस्ट पार्टीको कमिटी प्रणाली छिटो-छरितो, चुस्त-दुरुस्त र आफू मातहतका कमिटी, संगठन र जनसमुदायलाई जीवन्त नेतृत्व प्रदान गर्ने खालका हुनुपर्नेमा हाम्रा कमिटी बैठक बस्नै नसकिने, बैठक बसे पनि सामान्य निर्णय लिन पनि कठिन हुने खालका छन्,' गत वर्ष माओवादीको केन्द्रीय समितिमा पारित राजनीतिक दस्ताबेजमा उल्लेख छ ।
माओवादी पोलिटब्युरो सदस्य रहेको केन्द्रीय कार्यालय सचिव शक्ति बस्नेत पार्टीभित्रका ठूला कमिटीका बेफाइदाभन्दा फाइदा बढी देख्छन् । 'ठूला कमिटी हुँदा कार्यविभाजनमा सजिलो हुन्छ, जनताबीच जान पनि सजिलो हुन्छ, कामकाजमा सजिलो हुन्छ, पार्टीका निर्णय कार्यान्वयन चाँडै गर्न सकिन्छ,' बस्नेतले नयाँ पत्रिकासँग भने, 'तर, ठूलो कमिटी हुँदा बैठक बोलाउन, बसाल्न र टुंग्याउन कठिन हुन्छ, समय बढी लाग्ने हुँदा व्यवस्थापनमा बढी खर्च हुन्छ ।'
माओवादी प्रवक्ता दीनानाथ शर्माको भनाइमा सन्तुलन मिलाउनका लागि बनाइएका ठूला कमिटीबाट पार्टीका आन्तरिक विषयहरू चुवाहट हुने गरेका छन् । शर्माको भनाइ मेल खानेगरी वेलावेलामा माओवादीका गोप्य भनिएका दस्ताबेजसमेत सार्वजनिक हुँदै आएका छन् ।
माओवादी पोलिटब्युरो सदस्य नारायण शर्मा अहिले माओवादीमा ठूला कमिटी हुनुलाई संगठनात्मक नीतिमा पार्टीले अपनाएको उदारपन, खुला संसदीय राजनीतिले पैदा गरेको आवश्यकता र विद्रोहका लागि ठूलो जनशक्तिको खाँचो पूरा गर्ने परीक्षणका रूपमा चित्रण गर्छन् ।
'अहिले हाम्रो पार्टीमा रहेका ठूला कमिटीहरू विभिन्न कोणबाट परीक्षणमा छन्,' शर्माले नयाँ पत्रिकासँग भने, 'पार्टीले उदार नीति अपनाउँदा, खुला संसदीय राजनीतिमा कठिनाइ नहुँदा र विद्रोहको तयारीका लागि ठूला कमिटी बनेका हुन्, यसले निर्णय-प्रक्रिया र कम्युनिस्ट पार्टीको गोपनीयतामा समस्या गराउँछ ।' उनले एकता-प्रक्रियाबाट आएकाहरूलाई जिम्मेवारी दिँदा पुराना पार्टीका नेता तथा कार्यकर्ताको बढुवाले कमिटीहरू बढेको बताउँछन् । माओवादी नेता गोपाल किराती भन्छन्, 'जनवादका हिसाबले ठूला कमिटी राम्रा हुने भए पनि व्यवस्थापनमा अलि जटिलता हुँदोरहेछ ।'
राज्यसमिति र पार्टीका जनवर्गीय संगठनले समितिका कुल सदस्य संख्याको एकतिहाई सदस्य रहने सचिवालय गठन गरेका छन् र सचिवालयबाट नै महत्त्वपूर्ण निर्णय र योजना तयार पार्ने गरेका छन् । 'खास अवस्थामा मात्र पूर्ण समितिको बैठक बस्छ, नत्र सचिवालयले नै निर्णय लिने गरेका छौँ,' भोजपुरा राज्यसमिति सेक्रेटरी अञ्जना विसंखे भन्छिन्, 'सचिवालयको 'कोर' टिम बनाएका छौँ, त्यसैबाट खास निर्णय गर्छौं ।'
भ्रातृसंगठनमा पनि उस्तै
माओवादीमा वाइसिएल र अन्य नौ जनवर्गीय संगठन छन् । ०६५ फागुन १६ गते दुई पार्टीका युवा मिलेर बनेको वाइसिएलको हाल दुई सय ५५ सदस्यीय केन्द्रीय समिति छ ।
चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ २००७ को केन्द्रीय समिति एक सय २९ जनाको छ । हिमाल शर्मा अध्यक्ष रहेको अनेरास्ववियु (क्रान्तिकारी) मा दुई सय एक र जयपुरी घर्तीमगर अध्यक्ष रहेको अखिल नेपाल महिला संघमा एक सय ३५ जनाको केन्द्रीय समिति छ ।
शालिकराम जम्कट्टेल अध्यक्ष रहेको अखिल नेपाल ट्रेड युनियन महासंघमा ९३ जनाको केन्द्रीय समिति छ । उता ईश्वरचन्द्र ज्ञवाली अध्यक्ष रहेको अखिल नेपाल जनसांस्कृतिक महासंघ एक सय ३६ सदस्यीय केन्द्रीय समितिको छ भने गुणराज लोहनी अध्यक्ष रहेको अखिल नेपाल शिक्षक संघमा एक सय ४८ जनाको केन्द्रीय समिति छ ।
खिमलाल देवकोटा अध्यक्ष रहेको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनमा ५५ सदस्यीय केन्द्रीय समिति छ । तिलक परियार अध्यक्ष रहेको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको पनि एक सय ४१ सदस्यीय केन्द्रीय समिति छ । मंगल विक अध्यक्ष रहेको अखिल नेपाल जनस्वास्थ्यकर्मी संघको आकार पनि सय जनाको छ ।

दुई वर्षसम्म बैठक बस्नै सकिएन

विश्वनाथ साह,
इन्चार्ज मिथिला राज्यसमिति
भौगोलिक र जनसंख्याको हिसाबले मिथिला ठूलो छ । हाम्रो पार्टी संगठनमा यो सबैभन्दा ठूलो राज्यसमिति पनि हो । ठूलो कमिटी हँुदा सकारात्मक र नकारात्मक पक्ष हँुदारहेछन् । आवश्यक पर्‍यो भने पनि तुरुन्तै बैठक बस्नै नसकिने रहेछ । बैठक बसाल्यो भने पनि समय धेरै लाग्ने, खर्चिलो हुन जान्छ । १० मिनेट मात्र एकजना सदस्यलाई बोल्न दिँदा पनि हप्ता दिन बैठक चलाउनुपर्ने हुन्छ । आवासदेखि खानपिन सबैका लागि समस्या हुनेरहेछ ।
यसका सकारात्मक पक्ष पनि छन् । राज्यसमितिका सदस्य मात्र पनि कार्यक्रम र आन्दोलनमा सहभागी भए भने उपस्थिति ठूलै देखिन्छ । अर्को कुरा राज्यसमितिमा जतिसुकै धेरै भए पनि कार्यकर्तालाई म राज्यसमितिमा छु भन्ने सन्तोष हँुदोरहेछ । ठूला कमिटी हँुदा जनवादको प्रयोग राम्ररी गर्न सकिन्न भन्ने देखियो । बैठक बोलाउन गाह्रो भएपछि कार्यालय वा सचिवालयको बैठक बसेर निर्णय लिने गरेका छौँ ।
सबै साथीलाई समेटेर बैठक बोलाउँदा निर्णय गर्न नै गाह्रो हुने भएपछि त्यस्तो बैठक बोलाउन सकिएको छैन । निर्णय-प्रक्रिया नै आउने गरी सबै सदस्य सहभागी भएको बैठक बस्न सकेको छैन । सचिवालय वा कार्यालयको बैठक बसेर निर्णय लिइन्छ । सबै बस्नुपर्‍यो भने त्यो निर्देशनात्मक वा प्रशिक्षणात्मक बन्न जान्छ । छलफल गरेर निर्णय लिने बैठक दुई वर्षदेखि बसेको छैन । जिल्ला इन्चार्ज सेक्रेटरीहरू बसेर बैठकका निर्णय हुन्छन् ।
ठूलो कमिटी हुनुको पनि आफ्नै कारण छ । पहाड र मधेसको राजनीतिक संस्कृति, रहनसहन अलि फरक छ । राज्यसमितिमा सदस्य बढुवा गर्ने विषयमा निकै चाप हुन्छ । चाप थेग्न नसकेपछि सबैलाई बढुवा गर्नुपर्छ । त्यसो हुदा स्वतः कमिटी ठूलो हुन्छ ।

समिति
केन्द्रीय समिति
लिम्बुवान राज्य
किरात राज्य
कोचिला राज्य
मिथिला राज्य
भोजपुरा राज्य
अवध राज्य
ताम्सालिङ राज्य
नेवाः राज्य
तमुवान राज्य
मगरात राज्य
थारुवान राज्य
भेरी-कणाली राज्य
सेती-महाकाली राज्य
वाइसिएल
अखिल क्रान्तिकारी
अनेमसंघ
शिक्षक संगठन
सदस्य संख्या
१४८
१९०
२९६
२८९
४२०
२७५
२३८
२२४
३३७
१५७
४०५
२१२
२७७
२२४
१५५
२०१
१३५
१४८
नेत्र पन्थी/


जेलमुक्त भएपछि फेरि सक्रिय भए डन

  image
प्रहरी आक्रामक भएपछि भटाभट पक्राउ परेका काठमाडौंका 'डन’ राजनीतिक हस्तक्षेपले फटाफट छुट्न थालेका छन् । प्रहरीले हाजिर हुन बोलाउँदा कुमार घैंटे त आइतबार कांग्रेस नेता जगदीश्वरनरसिंह केसीलाई लिएर हनुमानढोका पुगेका थिए । घैंटेजस्ता 'डन’ले राजनीतिक छहारीमा हप्ताअसुली, ठेक्कापट्टा र रात्रि-व्यवसाय चलाइरहेका छन् ।
ठूला डन पक्राउ परे पनि नयाँ समूह उनीहरूको सिको गर्दै अगाडि आएका छन्
एसएसपी रणबहादुर चन्द
नयाँ पत्रिका
काठमाडौं, ११ पुस

काठमाडौंमा 'छुट्टै राज्य' चलाइरहेका 'डन' फेरि सक्रिय बन्न थालेका छन् । जेल परेका 'डन'हरू धमाधम रिहा हुन थालेपछि काठमाडौंमा गुण्डागर्दी र हप्ताअसुली बढेको छ ।
राजधानीका चर्चित डन चक्रे मिलन, सगुन श्रेष्ठ, सन्दीप पाठक, सूर्य तामाङ 'शुक्रे, बलराम सापकोटा 'बले', रविन तामाङ 'लुम्बडी' मात्र हाल प्रहरी नियन्त्रणमा छन् । नाम चलेका अन्य डन दीपक मनाङे, गणेश लामा, कुमार घैंटे, राजु गोर्खाली, दिनेश अधिकारी 'चरी', तेजेन्द्र गुरुङ, काजी शेर्पा, बागबहादुर लामा 'बाघे', साजन महर्जन, कृष्ण बुढाथोकी भने बाहिर आएका छन् ।
बाहिर आएपछि उनीहरू राजनीतिक छहारीमा फेरि आफ्नै धन्दामा सक्रिय भएको प्रहरीको भनाइ छ । डान्सबार र म्यानपावरबाट हप्ताअसुलीबाहेक उनीहरू पछिल्लो समयमा हाउजिङ व्यवसायतर्फ आकषिर्क भएका छन् । उनीहरूले हाउजिङमा लगानी गर्नेदेखि घरजग्गा व्यवसायीसँग नियमित पैसा असुल्ने गरेको स्रोत बताउँछ । कतिपय 'डन' होटल तथा डान्सबारमा हप्ताअसुलीमा लागेका छन् ।

स्वयम्भू क्षेत्रका डन बाघे हाल सबैभन्दा सक्रिय रहेको प्रहरी बताउँछ । उनको समूहले १ पुसमा महानगरीय प्रहरी अपराध महाशाखाका असई कुमार रानालाई कुटेको थियो । मोटरसाइकलमा आएका १५/२० जनाले रानाको बाटो छेकेर कुटपिट गरेका थिए ।

समूहका सदस्य सैलेश लामालाई प्रहरीले पक्राउ गरे पनि अन्यलाई पक्रन सकेको छैन । बाघेसहित समूहका अन्य व्यक्तिको खोजी भइरहेको महाशाखाले जनाएको छ । नुवाकोट घर भएका बाघेलाई कांग्रेसका केन्द्रीय नेताले संरक्षण गरेको प्रहरीहरू बताउँछन् ।

जेलमुक्त भएलगत्तै सक्रिय अर्का डन हुन्- कुमार घैंटे । कुमार श्रेष्ठ वास्तविक नाम भएका घैटे सामाखुसी क्षेत्रमा सक्रिय छन् ।

सामाखुसीका कुमार मल्ललाई गोली हानेको आरोपमा उनलाई प्रहरीले डेढ वर्षअघि पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो । कर्तव्य ज्यानजस्तो गम्भीर मुद्दामा धरौटीमा अदालतले छोडिदिएपछि उनी सक्रिय बनेका हुन् ।
जेलबाट छुटिसकेपछि पनि उनी शंकास्पद गतिविधिमा लागेको महानगरीय प्रहरी अपराध महाशाखामा प्रमुख एसएसपी रणबहादुर चन्द बताउँछन् । 'घैंटे जेलबाट छुटेपछि पनि शंकास्पद गतिविधिमा लागेको छ भन्ने सूचना छ, हामी उसमाथि निगरानी गरिरहेका छौँ,' उनले भने ।
महाशाखाले उनलाई आइतबार बोलाएको थियो । तर, उनी हनुमानढोका पुग्दा साथमा थिए नुवाकोटका कांग्रेस नेता जगदीश्वरनरसिंह केसी । नेतासँग गएका घैंटे प्रहरीसँग हात मिलाएर फर्किए ।
त्यसैगरी काभ्रेली समूहका नाइके गणेश लामा पनि हिरासतबाट फर्किएपछि ठेक्कापट्टामा सक्रिय छन् । 'क' वर्गको ठेक्का कम्पनी सिरुवा कन्स्ट्रक्सन बेचेर उनी चार महिना दुबई बसी दुई महिनाअघि फर्किएका थिए । प्रहरीले पिछा गरेपछि उनी विदेशतर्फ हानिएका हुन् ।
उताबाट फर्किएलगत्तै दुई महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । प्रहरीले उनलाई सार्वजनिक मुद्दा चलाई सुधि्रने सर्तसहित दुई सातामै छोडिदिएको थियो । त्यसको दुई हप्तापछि उनी फेरि क्यासिनो र्‍याडबाट पक्राउ परे । त्यतिखेर पनि उनलाई प्रहरीले मुद्दा नचलाई छोडिदिएको थियो ।
राजधानीमा आधा दर्जन डान्सबार चलाएका लामाको बालुवा निकाल्ने र ठेक्कापट्टा धन्दा फस्टाएको छ । काभ्र्रे स्थायी घर भएका लामाको काभ्रेमा हुने सबै ठेक्कापट्टामा एकलौटी छ । अपराध महाशाखाका एक प्रहरी अधिकृत भन्छन्, 'पहिले ट्क्यासी ड्राइभर रहेका लामा अहिले ४०/५० करोडको मालिक बनिसकेका छन् ।'
स्पाइडर गु्रपका नाइके सन्दीप पाठकलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले तीन साताअघि प्रक्राउ गरी लागूऔषधअन्तर्गत मुद्दा चलाइसकेको छ । प्रहरीले उक्त सञ्जाललाई समाप्त गरेको दाबी गरेको छ ।
डनका पनि नाइकेका रूपमा चिनिने दीपक मनाङे गत चैतमा जेलबाट छुटेपछि राजनीतिमा लागेका छन् । लक्ष्मण थारूको अध्यक्षतामा रहेको संघीय गणतान्त्रिक राष्ट्रिय फोरम पार्टीमा उनी केन्द्रीय सदस्य हुन् । जेलबाट छुटेपछि आफू व्यवसाय र राजनीतिमा मात्र रहेको उनको भनाइ छ । तर पनि प्रहरी स्रोत भने नेपाल शिक्षण अस्पतालका औषधि पसलमा हुने भाडाको ठेक्कामा मनाङेकै कब्जा रहेको बताउँछ । आपराधिक गतिविधिमा लागेको आशंकामा उनलाई काठमाडौं परिसरले पक्राउ गरी छोडिदिएको थियो । स्रोतका अनुसार ठमेल क्षेत्रमा अझै उनको हप्ताअसुली जारी छ ।
त्यसैगरी कर्तव्य ज्यान मुद्दामै गत वर्ष पक्राउ परी धरौटीमा छुटेका दिनेश अधिकारी चरी पनि एमालेको युवा संघको संरक्षणमा सक्रिय छन् । नयाँबजार क्षेत्रमा सक्रिय रहेका चरी सोही ठाउँका निरञ्जन सिलवाललाई गोली हानेको अभियोगमा एकपटक पक्राउ परेकोमा लैनचौर प्रभागका तत्कालीन इन्चार्ज दयानिधि ज्ञवालीलाई आठ लाख घुस दिएर छुटेका थिए । आरोप पुष्टि भएपछि प्रहरी निरीक्षक ज्ञवाली कारबाहीमा परेका थिए । पछि प्रहरीमा आत्मसमर्पण गरेका चरी धरौटीमा छुटेका थिए । हाल उनी प्ररायुसंघका अध्यक्ष महेश बस्नेतको सहयोगी बनेको स्रोत बताउँछ ।
त्यसैगरी गत महिना मात्र जेलबाट छुटेका डन तेजेन्द्र गुरुङ सिंगापुरतर्फ लागेका छन् । चक्रे मिलन समूहका यादव डंगोललाई गोली हानी हत्या गरेको र डुण्डुप लामालाई अपहरण गरेको अभियोगका तेजेन्द्र चार महिनाअघि मात्र पक्राउ परेका थिए । गम्भीर मुद्दामा समेत उनलाई अदालतले धरौटीमा छाडिदिएकोमा प्रहरी स्रोतले आश्चर्य व्यक्त गरेको छ । गुरुङ चक्रे मिलनका भाइसमेत हुन् ।
डंगोललाई गोली हानेको आरोप लागेका साजन महर्जन पनि जेलबाट छुटेपछि पछिल्लो समयमा धन्दामा सक्रिय रहेको प्रहरी बताउँछ । महर्जनले बुढानीकलकण्ठनजिकैको सांग्ले खोलाको बालुवा निकाल्ने ठेक्का हरेक वर्ष हात पार्दै आएका छन् । त्यसबाहेक रोडा-गिटीको व्यवसायमा पनि उनी आबद्ध छन् ।
त्रि-चन्द्र क्याम्पसमा पढ्दादेखि नै डनको परिचय बनाएका राजु गोर्खाली भने कांग्रेसको राजनीतिमा लाग्ने तयारीमा रहेको स्रोत बताउँछ । क्याम्पसमा रहँदासमेत नेविसंघनिकट रहेका गोर्खालीको कांग्रेसका वरिष्ठ नेताहरूसँग समेत राम्रो पहुँच छ । आफ्नै व्यावसायिक साझेदार राकेश लिम्बूको हत्याको अभियोगमा उनलाई पक्राउ गरिएको हो । गत महिना मात्र छुटेका गोर्खाली क्याटरिङ खोल्ने तयारीमा रहेको पनि उनीनिकट स्रोत बताउँछ ।
पहिले गणेश लामाको साझेदार रहेका काजी शेर्पा जेलबाट छुटेदेखि नै ठेक्कापट्टामा छन् । खासगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकांश ठेक्का हरेक वर्षजस्तो उनले पाउने गरेका छन् । यो वर्षको उपत्यकामा प्रहरी, सशस्त्र र सेनाको रासनठेक्का शेर्पाले नै हात पारेका छन् ।
पहिले उनी ठमेल किचेन नामक रेस्टुरेन्ट पनि सञ्चालन गर्दथे । दीपक मनाङेको प्रतिद्वन्द्वीका रूपमा एकताका सक्रिय रहेका शेर्पा मनाङे समूहका सहयोगीलाई काटेको अभियोगमा एक वर्ष जेल परेका थिए । उनी नेपाली सेनाका पूर्वमेजर हुन् ।
राजधानीमा क्यासिनो 'किङ'का रूपमा चिनिने बलराम सापकोटा 'बले'लाई भने बिहीबार मात्र प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा एक लाखको दैनिक १० हजार ब्याजमा ऋण दिने र नतिरे अपहरण गर्ने गरेकाले उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्दले बताए ।
सामान्य आर्थिक अवस्थाबाट आएका सापकोटा हाल ५० करोडभन्दा बढीका मालिक भएको प्रहरी बताउँछ । पैसा कमाएपछि उनले काठमाडौंबाट काभ्रे जन्ती लग्न हेलिकोप्टर भाडामा लिएका थिए ।
गणेश लामाको समूहबाट छुटेका रमेश सुनुवार पनि डिस्को सञ्चाउन थालेका छन् । दरबारमार्गमा होटल याक एन्ड यतीको छेउमा उनको इन्सोमेनिया डिस्को छ ।
जेलबाहिर रहेर पनि निष्त्रि



य रहने डनहरूमा कृष्ण बुढाथोकी र विश्वक्रान्तिको समूह रहेको छ । एकताका चाबहिल क्षेत्रमा सक्रिय बुढाथोकी क्षेत्री समाजको राजनीतिमा लागेका छन् भने बानेश्वर क्षेत्रमा सक्रिय विश्वक्रान्ति पनि गुण्डागर्दीमा नरहेको प्रहरी बताउँछ ।
जेलभित्रैबाट पनि धन्दा
केही डन भने जेलभित्रैबाट समेत धम्की दिएर व्यापारीहरूसँग पैसा असुल्न सक्रिय रहेको स्रोत बताउँछ । तिनीहरूमध्ये एक हुन्- शुक्रे भनिने दोलखाका सूर्यबहादुर लामा ।
कर्तव्य ज्यानलगायतका तीनवटा मुद्दामा हाल जेलमा रहेका लामाले आफ्ना सहयोगीमार्फत ठेकेदारहरूसँग अझै पैसा उठाउने गरेका छन् । उनका समूहका सदस्य रमेश तामाङ 'जोर्डन'लाई एक महिनाअघि प्रहरीले पक्राउ गर्दा रहस्य खुलेको हो ।
शुक्रेको निर्देशनमा व्यापारीहरूसँग उनले पैसा असुल गर्दै आएको उनकै फोन रेकर्डमा देखिएको प्रहरी स्रोत बताउँछ । तर, बन्दी प्रत्यक्षीकरणको रिटबाट उनी एक सातामै छुटेका थिए । त्यसैगरी चक्रे मिलन, सगुन श्रेष्ठजस्ता डनहरू पनि जेलमा भए पनि उनीहरूको समूहका केही सदस्य बाहिर सक्रिय छन् ।
चलचित्रका नायक तथा निर्मातासमेत रहेका अर्का डन रोज राणा भने मानव बेचविखन मुद्दाअन्तर्गत पुर्पक्षका लागि नख्खु जेलमा छन् । डान्सबारमा युवतीलाई जबर्जस्ती यौनधन्दामा लगाएको जाहेरीका आधारमा प्रहरीले उनीमाथि मुद्दा चलाएको हो ।
चार महिनासम्म प्रहरीले खोजी गर्दा लुकेर बसेका राणाले आत्मसमर्पण गरेका थिए । १३ पुसमा उनको मुद्दाको पेशी छ । उनको वास्तविक नाम सरोज थापा हो ।
प्रहरी आक्रामक बनेपछि विगत दुई वर्षयता राजधानीमा डनहरूबीच भिडन्त त भएको छैन तर पनि हप्ताअसुली र ठेक्कापट्टामा हुने उनीहरूको गुण्डागर्दी भने यथावत् छ ।
नेपालमा सुरुमा डनका रूपमा कहलिएका थिए मनाङे, गोर्खाली र चक्रे । मनाङे ठमेल क्षेत्रमा, चक्रे त्रिचन्द्र-दरबारमार्ग र चक्रे चक्रपथ क्षेत्रमा सक्रिय थिए । मनाङे जेल परेपछि चक्रेको समूहमा रहेका गणेश लामाले उक्त क्षेत्रमा कब्जा जमाएका थिए ।
पछि पैसा उठाउने विषयमा उनीहरूबीच विवाद हुँदा काटाकाट भएको थियो । तर, केही वर्षयता यस्तो झगडा भने कम भएको छ र पछिल्लो समयमा सबैजसो डन व्यापारिक क्षेत्रमा आकषिर्त हुन थालेका छन् ।
'केही ठूला डन पक्राउ परे पनि नयाँ समूह उनीहरूको सिको गर्दै अगाडि आएका छन्,' महाशाखाका एसएसपी चन्द भन्छन् । जेलबाट छुटेका केही व्यक्ति सक्रिय बन्न खोजेकाले त्यसमा प्रहरी सजग बनेको उनले बताए ।
डनको गतिविधिलाई नियन्त्रण गर्न महाशाखाले दुईवटा कार्यक्रम ल्याएको चन्द सुनाउँछन् । 'पहिले हामीले पर्सनल ट्रयाकर प्रयोगमा ल्याएका छौँ, यसले उनीहरू के गरिरहेका छन् भन्ने थाहा हुन्छ,' उनी भन्छन्, 'दोस्रो सर्वसाधारणमा गएर कुन क्षेत्रमा को-को गुण्डागर्दीमा संलग्न छन् भनेर अनुसन्धान गर्दै छौँ ।' पर्सनल ट्रयाकरमा रहेका कुमार घैंटे कतिवेला कहाँ जान्छन् भन्ने रेकर्ड प्रहरीले प्रविधिबाटै जान्ने गरेको छ ।-नयाँ पत्रिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक