20110119

अध्यक्ष प्रचन्ड र उपाध्यक्ष किरण अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई कार्वाही गर्ने अन्तिम तयारीमा, भट्टराई पक्षधरहरू प्रतिकारमा

- मान बहादुर थापा
 माओवादीभित्र आन्तरिक विवाद निकै चर्केर गएको छ। पार्टी अध्यक्ष प्रचन्ड र उपाध्यक्ष किरण अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई कार्वाही गर्ने अन्तिम तयारीमा लागेका छन् भने भट्टराई पक्षधरहरू पनि कार्वाही गरिए सशक्त प्रतिकार गर्ने योजनामा रहेको बुझएको छ।  आफ्ना भिन्न मतहरूलाई प्रशिक्षणमा लैजानबाट बन्देज लगाएपछि उपाध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार राजधानीमा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम बहिष्कार गरेका थिए। प्रशिक्षणमा उपाध्यक्ष भट्टराईको भिन्न मत नआएपछि उनी पक्षधर नेता कार्यकर्ताहरूले पार्टी अध्यक्षसँग यसबारेमा बारम्बार जिज्ञासा राखेका थिए। तर प्रचन्डले सम्बोधनको क्रममा ती जिज्ञासाहरूको वास्तै नगरेपछि प्रशिक्षणमा ठूलो विवाद भएको थियो र विवादकै बीचमा सोमबारको प्रशिक्षण समापन भएको थियो।  माओवादीभित्रको विवाद कति उच्च रूपमा चर्केको रहेछ भन्ने तथ्यको एउटा नमुना मंगलबार प्रकाशित जनादेशमा पनि देख्न सकिन्छ। माघ ४ गतेको जनादेशको व्यानरमा उपाध्यक्ष डा. भट्टराईको अन्तर्वार्ता छापिएको छ भने त्यो अंकमा प्रधानसम्पादक कोमलनाथ बरालको नाम हटाइएको छ। अन्तर्वार्तामा उपाध्यक्ष भट्टराईले आफूले प्रशिक्षण बहिष्कार गर्नुको कारण खुलस्त रूपमा बोलेका छन्। जनादेश माओवादीको आधिकारिक पत्रिका मानिन्छ। माओवादीभित्रका विवादहरू अन्य पत्रिकाहरूमा आए पनि यस अघि उनीहरूको आधिकारिक पत्रिकामा यसरी आएका थिएनन्। स्रोतका अनुसार सोमबार साँझ डा. भट्टराईको यस अन्तर्वार्ताको विषयलाई लिएर जनादेश डेक्समा ठूलो विवाद भएको थियो। प्रचन्ड पक्षधर मानिने पत्रिकाका प्रधान सम्पादक कोमलनाथ बरालले “डा. भट्टराईको यो अन्तर्वार्ता कुनै पनि अवस्थामा प्रकाशित गर्न नहुने बरू पत्रिकानै बन्द गर्नुपर्ने, अड्डी कसेका थिए। तर कार्यकारी सम्पादक मनऋषि धिताल लगायतले उपाध्यक्ष भट्टराईको अन्तर्वार्ता प्रकाशित गर्नुपर्ने विचार राखेका थिए। आफ्नो
केही सीप नचलेपछि प्रधान सम्पादक बरालले “अन्तर्वार्ता प्रकाशित गर्ने भए आफ्नो नाम पत्रिकाबाट हटाउनु पर्ने” बताएका थिए। जसका कारण माघ ४ को जनादेशमा प्रधानसम्पादकको नाम हटेको थियो।
पार्टीले जनविद्रोहको कार्यदिशा तय गरेपछि उपाध्यक्ष भट्टराईले त्यसमा असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखेका थिए। भट्टराई शान्ति र संविधानलाई नै तत्कालिन कार्यदिशा बनाएर लैजानुपर्ने पक्षमा छन्। पार्टीभित्र अन्तर्संघर्ष चर्कंदै गएपछि त्यसको व्यवस्थापनका लागि माओवादीले ५ बुंदे विधि पनि निश्चित गरेको थियो। जसको तीन नं. बुंदामा उल्लेख गरिएको छ–“अहिले सम्पन्न हुन गैरहेको केन्द्रीयस्तरका प्रशिक्षणमा मतभेदको स्थितिलाई स्पष्ट पार्ने (तर फोरमको रूपमा होइन) पार्टी निर्णयअनुसार काम कार्वाहीमा एक रूप भएर जानेबारे प्रतिबद्धता जाहेर गर्ने।” त्यस्तै माओवादी विधानको धारा ६(ख) को पहिलो बुंदामा पनि यस सम्बन्धमा भनिएको छ–“विचार एवं अभिव्यक्तिको स्वतन्त्रता काम कार्वाहीमा एकरूपताको नीति अवलम्बन गर्नुपर्ने र केन्द्रीय समिति, पोलिट्व्यूरोमा भएका भिन्न मतहरूलाई पार्टीभित्र तलसम्म प्रवाहित गर्ने अधिकार रहनेछ।” विधान र विधिमा यस्तो व्यवस्था भए पनि सोमबार राजधानीमा आयोजित प्रशिक्षणमा डा. भट्टराईलाई फरक मतका बारेमा बोल्न प्रतिबन्ध लगाइएको थियो। आफ्नो मत माथिको बन्देजलाई भट्टराईले पार्टीको विधान र अन्तर्संघर्ष व्यवस्थापनको विधि विपरीत बताउँदै आएका छन् भने प्रचन्ड–किरण पक्षधरहरूले भट्टराईले पार्टी अनुशासनको उल्लंघन गरी फरक मत बाहिर लगेको आरोप लगाइरहेका छन्।
उपाध्यक्ष डा. भट्टराईले सोमबारको प्रशिक्षण बहिष्कार गरेपछि माओवादीभित्रको विवाद फुटको संघारतर्फ लम्किएको स्पष्ट संकेत देखिएको छ। मंगलबार विहान बसेको माओवादीको स्थायी समिति बैठकले प्रशिक्षणका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरी बुधबार पोलिट्व्यूरोको र विहिबार केन्द्रीय समितिको बैठक डाकेको छ। मंगलबार दिनभर प्रचन्ड–किरण र डा. भट्टराई दुवै पक्षहरूले आन्तरिक गोप्य भेलाहरू गरेको विश्वस्त स्रोतले बताएको छ। प्रचन्ड पक्षधरहरू केन्द्रीय समितिको बैठकमा डा. भट्टराईमाथि कार्वाहीको प्रस्ताव लाने योजनामा छन् भने भट्टराई पक्षधरहरू पनि त्यस्तो त्यस्तो प्रस्ताव आए सशक्त रूपमा प्रतिकार गर्ने योजना बुनिरहेका छन्। परिस्थितिले कोल्टे फेरेन र चुनवाङ बैठकमा जस्तै भट्टराईले प्रचन्डमा समाहित भएको घोषणा गरेनन् भने अबको एक हप्ताभित्रमा माओवादी विधिवत रूपमा दुई टुक्रा हुने सम्भावना प्रबल देखिएको छ। thapa1_mb@yahoo.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक